राजनैतिक–सामाजिक बेथितिमाथिको ‘थकालीझटारो’

समीक्षा :        

राजेन्द्र पहाडी

गाउँका सबै दाजुभाइले काम पाउनुपर्छ
काम जस्तो भए पनि नाम पाउनुपर्छ
धेरै–थोरै, सानो–ठूलो काम बराबर हो
काम गरिसके पछि दाम पाउनुपर्छ ।

प्रस्तुत मुक्तक सुशील थकालीको पछिल्लो कृति ‘सचेतन’ मुक्तक सङ्ग्रहभित्रको एउटा झिल्को हो । सुशील थकाली ‘अनुरागी’ हिमाल पारीको

 

जिल्ला मुस्ताङका एक नवोदित स्रष्टा हुन् । उनको सिर्जनयात्रा यतिखेर कालीगण्डकीको प्रवाह जस्तै नित्य निरन्तर अघि बढिरहेको छ । गतवर्ष २१ औं भूपि जयन्तीको सन्दर्भ पारेर गीत/गजल सङ्ग्रह ‘अनुराग’ (२०६७) प्रकाशन गरेका यिनले यसपटक पनि २२ औं भूमि जयन्तीको अवसरमा एकसयवटा मुक्तक समेटिएको मुक्तक सङ्ग्रह ‘सचेतन’ (२०६८) साहित्यानुरागीका सामु पस्केकाछन् । सम्बत् २०४५ साल माघ २६ गते मुस्ताङ जिल्लाको कोबाङमा

जन्मिएका सशील हाल म्याग्दी बहुमुखी क्याम्पसमा बि. एड. दोस्रो वर्षमा अध्ययन गर्दै आफ्नो साहित्य साधनालाई अघि बढाइरहेकाछन् ।
युवावयका अति नै मिलनसार, उत्साही, जागरुक र लगनशील सर्जक सुशील थकालीको मुक्तक सङ्ग्रह ‘सचेतन’ को पाण्डुलिपि सरसर्ति हेर्दा मे

रो मानस उनलाई धन्यवाद दिन आतुर छ यतिखेर । म मेरै समाज वरिपरी देखिरहेछु सुशीलकै उमेरसमूहका थुप्रै युवा पिंढीका साथीहरु अचेल अनेकानेक विचलनका सिकार भैरहेकाछन् । जानेर या नजानेर अरुको गोटी बन्ने या अरुको रोटी खोस्ने काममा यो उमेरका नौजवानहरुलाई प्रयोग गर्ने गरिएको अवस्था एकापट्टि छ भने अर्कापट्टि चोरी, चकारी, छलकपट, गुण्डागर्दी, हुलहुज्जत, द्रोह, विद्रोह सबैतिर यही उमेरका युवालाई परिचालन गर्ने गरिएको दृष्टान्त पनि प्रशस्तै देख्न पाइन्छ । लागू औषधको दुव्र्यशन, सामाजिक अमनचैनमा खलल पुर्‍याउने, झै–झगडा गर्ने आदि जस्ता काममा कैयन युवाहरुले आफ्नो उर्वर समयलाई खेर फालिरहेको परिस्थिति पनि हाम्रै आँखा अगाडि छ । यस्तो अवस्थामा भर्खरै एकबीस दुई काट्दै गरेका सुशील थकालीले आफ्ना अन्तर हृदयका भावना, अनुभव र अनुभूतिहरुलाई कपीका पानामा लिपिबद्ध गरिरहेछन् । म ठान्दछु उनी हिंडिरहेको बाटो सही छ । उनको यात्रा प्रेमिल र बास्नादार छ । उनी प्रचुर सम्भावना सहित लेखनयात्राको शिखर उक्लिरहेछन् । सकारात्मक सम्भावनाको विपुलताले यिनी अटेसमेटस छन् । यो अर्थमा थकाली भाइ धन्यवादका पात्र छन् । यिनको लेखनयात्रालाई लाख–लाख आडभरोसा मेरोतर्फबाट ।
अब पसौं यिनको मुक्तक सङ्ग्रहका ’bout समाजशास्त्रीय गन्थन–मन्थन गर्नतर्फ । सामयिक सापेक्षतामा दृष्टिगोचर गर्दा मुक्तकलाई समकालीन सिर्जनफाँटको अतिशय रुचाइएको विधा/उपविधाको रुपमा स्विकारिएको देखिन्छ । भन्न खोजेको कुरा सिनित्त, सजिलै, च्वाट्ट–झ्वाट्ट, चोपिलो र चोटिलो शैलीमा भन्न सकिने भएकाले मुक्तकीय मोहिनी बुझिनसक्नुको बन्दै गएको छ हिजोआज । कुनै पूर्वशर्त या परिचयको आवश्यकता बिना नै छोटो प्रस्तुतिले मनछुने गरी आफ्ना भावना प्रस्तुत गर्न सकिने भएकाले स्वनामधन्य अग्रजदेखि भर्खर बामे सर्दै गरेका अनुज पुस्ताका कवि/कवयित्रीहरुले मुक्तकलाई स्वच्छन्द रुपबाट पछ्याइरहेको देखिन्छ । मूलत: मुक्तक लयबद्ध भाषिक अभिव्यक्ति हो, जसको भाव–उत्कर्ष अन्तिम हरफमा हुने गर्दछ । एउटा राम्रो मुक्तकमा कविले सम्प्रेषण गर्न चाहेको विषयवस्तुको उठान, विस्तार र समापन यसैभित्र हुने गर्दछ । यसअर्थमा मुक्तकलाई एकश्लोकी प्रभावकारी लघु कविताको रुपमा पनि अथ्र्याउने गरिएको पाइन्छ । जेहोस् मुक्तक लयबद्ध र लघुत्तम भाषिक अभिव्यक्ति भएकाले थाहा पाएर या नपाएर धेरैले आफ्ना कथनीहरुमा मुक्तकीय हरफहरु प्रयोग गरिरहेको सुनिन्छ पनि ।
समकालीन नेपाली साहित्यमा मुक्तक सिर्जनामा जुटेका स्रस्टाहरुको संख्या अधिक छ । स्थापित पाका–पुराना हस्तीदेखि नवीन पुस्ताका कवि लेखकसम्मले मुक्तकलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाइआएको स्थितिलाई अस्वीकार गर्न सकिंदैन । यही लाममा लामबद्ध हुन आइपुगेकाछन् मुस्ताङ्गे ठिटो सुशील थकाली पनि ‘सचेतन’ मुक्तक सङ्ग्रह मार्फत । प्रस्तुत मुक्तक सङ्ग्रह विषय र सन्दर्भ विविधताले भरिएको छ । यसभित्र राजनीति, मायापिरती, देश, धर्म, जातजाति, स्थान परिचयदेखि संस्कृति र अर्थनीतिका कुरा समेत समेटिएकाछन् । बहुविविध विषयको प्रारम्भिक तथा सिकारु सञ्चयनको रुपमा यो मुक्तक सङ्ग्रहलाई बुझ्दा सुशीलमाथि न्याय हुन्छ भन्ने म ठान्दछु ।
सङ्ग्रहलाई अन्तरछेदन गर्दै जाँदा थकालीको ‘सचेतन’ ले साच्चिकै समाज र राष्ट्रप्रतिको खबरदारी, होशियारी, रखबारी तथा इमान्दारीको प्रक्षेपण गरेको छ भन्ने देखिन्छ । सामाजिक बेथिति, कुरीति, बेढंग, कुप्रचलन, कुसंस्कार, अराजनीति र अव्यवस्थाप्रति उनको सरोकार मुक्तकहरुमा छरप्रष्ट भएकाछन् । वस्तुत: यिनका अधिकांंश मुक्तकहरुले देशमा बढ्दै गएको राजनैतिक बाचा, इमान र विश्वास क्षयीकरणप्रति गम्भीर चासो अभिव्यक्त गरेकाछन् र सबैखाले अतिवाद, बेइमानी र कुत्सित व्यवहारका प्रति झटारो हानेकाछन् । नेता र तिनी सम्लग्न राजनैतिक दलहरुको दिशाहीनता र चरम सत्तालिप्साबाट देश र जनताले दु:ख व्योहर्नु परेकोप्रति उनले सरोकार प्रकट गरेकाछन् सुललित शब्दको सहारा लिएर :
रङ्गमञ्च नै बनायौ यो देशलाई ए नेता हो
बाँदरले झैं कनायौ यो देशलाई ए नेता हो
अझै कति रमिता देखाउँछौ यो रङ्गमञ्चमा
वार्षिक उत्सव झैं मनायौ यो देशलाई ए नेता हो ।
थकालीको यो अभिमतमा विमति जनाउने ठाउँ नै देख्दैन पाठकले । अगुवाहरुले नै बेइमानी गरेपछि देशले सुमार्ग तय गर्ने सम्भावना नै हुँदैन । तसर्थ दलका नेताहरुलाई मातृभूमिलाई साक्षी राखेर अघि बढ्न सविनय आग्रह गरेकाछन् सुशीलले आफ्ना मुक्तकमा । नेताहरुलाई सच्चिएर अघि बढ्न सचेत गराएकाछन् यिनले । अन्याय, अत्याचार, दुराचार, पापाचार, अन्धकार, अन्धविश्वास, अज्ञानता र अशिक्षाको विरोधमा यिनले हुँकार छेड्न चाहेकाछन् अव्यवस्थित प्रस्तुतिकै रुपमा भएपनि । सबै मुक्तक संगठित लाग्दैनन् तर पनि भावार्थ बुझ्न सकिन्छ । सामाजिक, राजनैतिक र सांस्कृतिक असंगतिप्रतिको यिनको नाराजगी प्रसस्तै छ मुक्तकभित्र । विकृत र विसंगत समाजचित्रणमा यिनी लालायित देखिन्छन् । वास्तवमा युवा सर्जकले खुट्टाएको यो व्यथालाई सच्याउन तथा उपचार गर्न यिनैका पुस्ताका युवायुवती लागिदिने हो भने कति जाती हुन्थ्यो होला । संविधानप्रतिको जनचासोलाई एउटा मुक्तकमा यसरी उठाएकाछन् सुशीलले :
देश बनाउने नेताको पारा कस्तो भो ?
संविधान दिन्छु भन्ने यिनको बोली सस्तो भो
जहाँ तहीँ जेजे आउँछ त्यही बोल्दै हिँडेपछि
हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भो ।
कतिपय मुक्तकमा थकालीले आफ्नो मनको राग, अनुराग, तृष्णा र विपरित लिङ्गीप्रतिको आकर्षणलाई पनि छताछुल्ल पोखेकाछन् । किशोरवयको रोमान्टिक छाप अझै पनि कायम छ उनीसँग । यसबाहेक लगभग उमेरशुलभ बुझाई, दोधारे दृष्टिकोण र मायाप्रेम प्रतिको रुचीलाई कतै न कतै यिनले आफ्ना मुक्तकभित्र छिराएकाछन् । वास्तवमा मायावी संसार ठम्याइनसक्नुको हुँदो रहेछ । यसै भएर होला सुशील थकालीहरु पनि आफ्नो प्रेमी/प्रेमिकाप्रति यसरी शंका व्यक्त गर्दछन् :
मलाई भुल्ने मात्र एउटा रात थियो होला
अंगालोमा टाँस्सिदै झुल्नु घात थियो होला
कहिले तिम्रो कहिले मेरो, माया साट्दा खेरि
माया नै माया बीचमा हाम्रो, मात थियो होला ।
सङ्ग्रहमा परेका धेरैजसो मुक्तकभित्र सुशील थकाली आफ्नो राष्ट्र, राष्ट्रियता, देश, भेष, समाज, संस्कार र संस्कृतिप्रति निकै नै सजग, सर्तक र प्रतिबद्ध देखिन्छन् । वर्तमानको मानिस अतिसारो छाडा, बेइमान, कृतघ्न, चेपारे, कामचोर, अल्छी, ठग र मतिहीन भएको थकाली भाइले रुचाएका छैनन् । देश र जनताप्रति जवाफदेही हुनु नपर्ने अराजक राजनैतिक परिदृश्यप्रति यिनले जोडदार विमती राखेकाछन् आफ्ना मुक्तकहरुमा । पराइभक्ति र अर्काको सम्पत्तिप्रतिको आशक्ति यिनलाई कत्तिपनि मन परेको छैन । मातृभूमिलाई विदेशीले हेपेको, कागती निचोरेझैं निचोरेको सहन नसकी आएका मुक्तकीय अभिव्यक्तिहरु साच्चिकै हृदयग्राही र सुन्दर छन् :
आजभोलि देशको इज्जत नासिएझैं लाग्छ
मै हुँ भन्ने नेताज्यूको मति भासिएझैं लाग्छ
भ्रष्टाचार र घुसपैठको सीमा बढ्दै जाँदा
कताकता विदेशीसँग नाता गाँसिएझैं लाग्छ ।
थकालीलाई देशको सीमा मिचिएकोमा, मुठ्ठीभर मान्छेहरुले देशको ढुकुटी रित्याएकोमा, भ्रष्टाचार तथा अनियमितता बढेकोमा र देशलाई खेलौनाझैं बनाइएकोमा अचम्मै पीडा छ । समयमा संविधान बन्न नसक्नु, जलश्रोतको धनी देश भएर पनि चौध घण्टा लोडसेडिङको मार खेप्नुपर्ने स्थिति बन्नु, राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्ने संस्कारको विकास गर्न नसकिनु, अर्काको दु:ख कष्टमा समवेदना राख्न नसक्नु र आफैमात्र ठूलो भन्ने प्रवृत्तिको बोलवाला हुनुजस्ता कुराप्रति सुशिल थकालीले असन्तोष र आक्रोश प्रकट गरेकाछन् मुक्तकहरुमा । यिनी आफ्ना मुक्तकहरुमा पेशा व्यवसायमा लागेकाहरुलाई इमान्दारीपूर्वक आफ्नो कर्ममा जुट्न सन्देश दिन्छन् । जस्तै :
शिक्षक हौ तिमी विद्यार्थीलाई ज्ञान दिनुपर्छ
राम्रा राम्रा काम गरेमा सम्मान दिनुपर्छ
सही मार्गमा हिंड्न सिकाई स्वावलम्बी भएमा
बेला बेलामा उत्कृष्टलाई इनाम दिनुपर्छ ।
सुशासनको अभाव, युवावर्गमा देखापरेको विदेशमोह, कृतिम जीवनशैली, कुरौटे, अल्लारे र सुकुलगुण्डे संस्कृतिको भण्डाफोर गर्न चाहेका छन् यिनका मुक्तकले । गरिबी, बेरोजगारी र शोषणका चित्र कुधिएकाछन् मुक्तकहरुमा । न्याय, समानता, प्रेम, सद्भाव र समर्पणका लागि अनुनय विनय गरिएको छ । अशान्ति, भय र हिंसाको मारले आक्रान्त भएका तीनकरोड नेपालीको प्रश्न यिनले पनि सोधेकाछन् – किन होला शान्ति पनि नआउने यो देशमा ? वास्तवमा प्रश्न गर्न सक्नुमात्र ठूलो कुरा होइन, तसर्थ सुशिलले उपाय पनि सुझाएकाछन् । यिनी आफ्ना मुुक्तकमा यसरी आग्रह गर्छन् :
हामी त वीर नेपालीका छोरा हौं कर्म गर्नुपर्छ
गरीव, दिनदु:खी र असहायलाई धर्म गर्नुपर्छ
मरी लानु केही पनि छैन होला सायद
बाँचुञ्जेल भाइभाइमा अर्मपर्म गर्नुपर्छ ।
‘सचेतन’ मा सुशीलले आफ्नै समाजको विचित्रतालाई उदाङ्ग पार्ने यत्न गरेकाछन् । समाजमा व्याप्त आशा–निराशा, मिलन–बिछोड, प्रेम–घृणा, छायाँ–प्रतिच्छायाँ, सफलता–असफलता, आरोह–अवरोह, घात–प्रतिघात, हर्ष–विस्मात, नयाँ–पुरानो आदिका बीचको अन्तरसम्बन्ध केलाउँदै सत्य र समभावयुक्त सामाजिक पद्धतिका पक्षमा वकालत गर्न यिनका मुक्तक आतुर देखिन्छन् । मुक्तकभित्र यिनी कहिले आशाका कुरा गर्दछन् भने कहिले हदैसम्मका निराशाका कुण्ठाहरु ओकल्छन् । हैरानी, निराशा, पलायनवादी सोच र पराजित मानसिकताका छालहरु उठिरहेको देख्न सकिन्छ यिनको सङ्ग्रहमा । आफ्ना केही रचनामा वैयत्तिक अविश्वास र अनास्थाको चरोमोत्कर्ष यसरी पोख्छन् यिनले :
विकृतिले गरो गाड्यो, अब हट्ने छैन
सडेगलेका संस्कार यी, अब घट्ने छैन
बिउ राम्रो भए पो, विरुवा राम्रो हुन्छ
विरुवा राम्रो बनाउन, अब खट्ने छैन ।
आफ्नो जिल्ला र जन्मभूमिको स्थान परिचय दिन पनि थकाली भाइले मुक्तकको सहयोग लिएकाछन् । सङ्ग्रहमा परेका पछिल्ला मुक्तकहरुले यो वा अर्को ढंगले मुस्ताङ जिल्लालाई चिनाउन खोजेको प्रष्ट बुझ्न सकिन्छ । त्यहाँको प्रकृति, उत्पादन लगायत अन्य विशेषताहरु औंल्याउँदै यिनले मुक्तक रचना गर्ने प्रयत्न गरेकाछन् । यसका साथै मुक्तकका माध्यमबाट प्रेमगाथा पस्कने र आफ्नी मायालुलाई जिल्लामा भित्रिन खुल्ला आव्हान गर्न पनि यिनी पछि परेका छैनन् । यिनी भन्छन् :
मुक्तिनाथ मन्दिर हेरी फर्के हुन्छ सानु
आफ्नो मनको धोको फेरी फर्के हुन्छ सानु
हनिमुन मनाउन अन्त कतै जाउँला नि
मेरो तस्बिर दिलमा बेरी फर्के हुन्छ सानु ।
झट्टहेर्दा सुशील थकालीको मुक्तक लेखनको यो पहिलो यात्रा हो । यसो भएकाले उनको लेखनीमा निखार आउन बाँकी रहेको तथ्यलाई अन्यथा सोचिनु हुँदैन । प्रस्तुत सङ्ग्रहमा पनि हटाउनुपर्ने, थप्नुपर्ने, ढाँचा बदल्ुनपर्ने र मुक्तकीय रीति पालना गर्नुपर्ने थुप्रै ठाउँ अवश्य छन् । सचेत पाठकका आँखाले सङ्ग्रहीत मुक्तकहरु गोडमेल गर्दा मुक्तकीय ढाँचा, शैली, अनुशासन र मर्मलाई आत्मसाथ गर्न यिनी ठाउँ–ठाउँमा चुकेका भेटिन्छन् । मुक्तकको उठान र बैठानमा तादम्यता स्थापित हुन नसक्दा सामान्य कुराकानीका प्रसङ्गजस्ता लाग्दछन् केही मुक्तकहरु । सिलसिला नमिलेका, भन्न खोजिएको कुरा च्वाट्ट सम्प्रेषण गर्न नसकिएका र कनिकुथि अर्थ लगाउनु पर्ने मुक्तकहरुको सीमाले कुनैकुनै मुक्तकमा पाठकलाई असजिलो महशुष हुन सक्दछ । यस अर्थमा सङ्ग्रहमा परेका केही मुक्तकहरु यहाँ नराखेको भए बेश हुने थियो भन्ने निश्कर्ष निकाल्न पाठक बाध्य हुन्छ । यस्ता कुरामा आगामी लेखनीमा सुशीलको ध्यान अवश्य पुग्ने विश्वास गर्न सकिन्छ । तथापी आफ्नो सोचाइका उकुस–मुकुसहरुलाई मुक्तकका नाममा लिपिबद्ध गर्ने यिनको जाँगर, समय र लगनलाई भने यथेष्ठ स्राहना गर्ने पर्दछ । कमीकमजोरी प्रतिको यिनको स्वीकारोक्ति :
वास्ना धेरै आएपछि फूलहरुको
शोभा पनि हराउँछ कुलहरुको
धेरै धनको पछि लाग्दा नासियो नाम
अबदेखि वास्ता गरौं है भूलहरुको ।
एकसरो रुपमा हेर्दा यिनका मुक्तकहरुले कतै प्रणयभावलाई विषय बनाएकाछन् त कतै देशप्रतिको चिन्तालाई जाहेर गरेकाछन् । मुक्तक संयोजन गर्दा कतै यिनले सोझै झटारो प्रहार गरेकाछन् भने कतै घुमाएर व्यङ्ग्यबाण कसेकाछन् । देशको मूल कानुन मानिएको संविधान जारी हुन नसक्नुप्रतिको यिनको जिज्ञाशा धेरैजसो मुक्तकमा भेटिन्छ । विषयभेद कायम गर्न नसक्दा अधिक मुक्तक संविधानकै सेरोफेरोमा दोहोरिएका र नेताहरुकै दोहोलो काड्नमा सीमित बनेको पाठकले सजिलै भेउ पाउन सक्दछ । जे जस्तो विषय रोजे पनि र जे जसरी अभिव्यक्त गरे पनि या सङ्गृहीत सामग्री मुक्तक बने पनि/नबने पनि सुशीलले खर्चेको समयको यथोचित कदर हुनै पर्दछ । थुप्रै सुन्दर सम्भावनाहरुलाई काखी च्यापेर अघि बढ्दै गरेका सुशीलको सिर्जनक्षेत्रको भविष्य फराकिलो बन्दै जान सक्नुपर्दछ । प्रभावशाली कवि भूपि शेरचनको जन्मथलो मुस्ताङको नामलाई अझै उचाईमा पुर्‍याउन सुशीलजस्ता युवाहरुको पहलकदमी समयको माग पनि हो । यस दिशामा सबै मुस्ताङबासीको ध्यानाकर्षण हुनु पनि जरुरी छ ।
अन्त्यमा यसै मुक्तक सङ्ग्रहभित्र समस्त मुस्ताङ्गीजनहरु बीचको अटुट एकताका पक्षमा उनले व्यक्त गरेको भावना उदृत गर्दै युवापुस्ताका जुझारु, उत्साही र प्रतिबद्ध सर्जक सुशील थकाली ‘अनुरागी’को लेखनयात्रा धवलागिरि हिमाल जस्तै उच्च, कञ्चन र सादृश्य हुन सकोस् मेरो अञ्जुली भरिभरिको शुभेच्छा ।
फापर पाक्यो मकै नि पाक्यो उवा पाक्न बाँकी छ
थकाली हामी मिर्मिरे खोज्दै अघि लाग्न बाँकी छ
मुस्ताङ जिल्ला भनेर सब्ले दिल खोली लागेपछि
विहानीपख उज्यालो खोज्न छिट्टै नै जाग्न बाँकी छ ।
१९ बैशाख, २०६८
कुश्मा, पर्वत

(समीक्षक पहाडी शिवालय बहुमुखी क्याम्पस, कुश्मा, पर्वतसँग सम्वद्ध छन् ।)

टिप्पणी छोड्नुहोस्