पर्खाल पारिका कुराहरु
रहरमानको छोराको गम्बुट च्यातिएको होइन
त्यो त तिम्रो मेरो वास्तविकता च्यातिएको,
धनबहादुरको भाइको स्कूल फीस नपुगेको होइन
हाम्रो जिउँदो लाशले तर्साएको मात्र हो.
उफ्! हेर त माइच्याङहरु बेचिने मण्डी-
गोरी माइच्याङ पचास रुपियाँ,
पुष्ट माइच्याङ साठी रुपियाँ,
काली तर पानपाते तीस रुपियाँ.
त्यो त तिमी र म-हरुमा उपियाँ सल्केको हैन र?
धनमतीले रोटीको निम्ति जन्माएको बतासे छोरो
के त्यहाँ तिम्रो र मेरो बाबु हुनुको सत्यता छैन र?
अर्थको अर्थ कहिले लगाउँछौ हौ तिमी?
बाँच्नुको आत्मबोध कहिले कहिले गर्छौ तिमी?
भोलिका माइच्याङहरुमा तिम्रो-हाम्रो समाजको देह नहोस् है…,
त्यहाँ त विस्फोटक मस्तिस्क अँटाएको होस् क्रान्तिबीजको.
भोलिको धनबहादुरहरुले अभाव रुन नपरोस् है
उसको भाइमा हाम्रो अवरोध हाँस्दैन र?
रहरमानको छोराको गम्बुटबाट विवशता रुँदा
हाम्रो अकर्मण्यता र लाचारी बोल्दैन र?
ए कति दिन जिउँदै मर्ने हो?
कति रात अनिदो सुत्ने हो?
कति घाम बादल छेक्ने र?
कति वर्षा खडेरी पार्ने र?
तिमी अस्तित्वको मिर्गौला बेचेर जिउने कि…
अस्तित्वको माटोमा रगतका रेखाहरु कोर्ने?
नत्र त रहरमानका रहरहरु मुर्दा बाँच्नेछन्,
धनबहादुरका भाइहरुका निर्धन इच्छाहरु जल्नेछ्न्,
हरे, माइच्याङहरुका त के कुरा-
कल्पनासम्म गर्न सकिंदैन,
मुटु पोलेको हो कि चिसिएको हो,
बोधै गर्न सकिंदैन.
टिप्पणी छोड्नुहोस्