जहाँ दोस्रोको मूल्य छ

वर्षौंदेखि निर्जन, सुनसान, पुरानो सडक

एक जोडी पैताला पर्खिरहेछ,

आफूमाथि टेकीमाग्नुको

पीडादायक सुखानुभूति कल्पिरहेछ.

रित्तो आकाशबाट बर्सिने पानीको प्रहारले

सडक कोत्रिएको छ, खण्डित छ;

अब जोडिदिने र कालो छाप्ने

मजदुरहरुको प्रतिक्षा मात्र छ.

त्यस कालो छापेको माथि,

जिउँदाहरुले टेकेर हिंडीदिउन् भन्ने आशा छ,

नवीकरण गरिएको त्यस सडकमा

चेखवका मफलरधारी मान्छेहरु

हिँड्न सक्ने छैनन्, उ विश्वस्त छ.

यसैले सडक पीडादायक सुखानुभूति कल्पिरहेछ

त्यहाँ त थुप्रै-थुप्रै उन्मुक्तिका

जिउँदा नाराहरु चिच्याउँदै,

भोलि जिउने मृत्यु अँगाल्दै,

भोलिका बचाईहरु हिँड्नेछन,

सुदुर यात्रामा जहाँ बाँच्नुको मूल्य छ.

जहाँ एकत्रित भीडमा दोस्रोको मूल्य छ.

टिप्पणी छोड्नुहोस्