पात्र आश बहादुरले आफैलाई भेट्टाएपछी

पात्र आश बहादुरले आफैलाई भेट्टाएपछी

आश बहादुरको छोरा आश बहादुर ठूलो पदमा पुगेको धेरै भयो

सुख सयलका साधनहरुले घर परिपूर्ण भयो

हिजो नाम काड्नेहरुले आज भेट्दा ‘सर’ भन्छन

कटुवा तान्ने आश बहादुर आज चुरोट तान्छन|

तर हिजो शान्त बाँचेको उसको मन आज अशान्त छ

थुप्रै चिन्ताका विषयहरुले उ पिरोलिएको छ

उसले देख्दैछ, आश बहादुरहरु गड्तिरमा ‘कोइरी’ कुट्दैछन्’

उसले देख्दैछ, आश बहादुरहरुको थाप्लोमा घाँसको भारी छ,

पल्लो गाउँको आश बहादुरको छोरा ड्रग्स ‘ओडी’ भएर मर्यो’रे,

बाटो खराब भएकोले आश बहादुरहरु चडेको गाडी भीरबाट झर्यो’रे,

त्यसैले आस बहादुरलाई पटक्कै चैन छैन’रे

अस्पतालमा दवाईको ‘प्रेसक्रिप्सन’ हातमा च्यापेर आश बहादुर विदा भयो

सरकारले सहुलियत बाँडेको कागजको टुक्रा गर्व गर्दै लिँदा भयो|

सहुलियत नपाएर के भयो र? सहुलियतको कागतको टुक्रा त हातमा छ

विकास जो-सुकैको गोजीमा पसोस्, नेताको आश्वासन त साथमा छ|

आश बहादुर यस्तै के के सोच्दैछ, आँखाभरी आँसु बोक्दैछ,

आफ्नै छोरा ठूलो मान्छे भएरपनि उसलाई चैन पटक्कै छैन|

पल्लो गाउँको आश बहादुरको छोरा आश बहादुरले परिवर्तनको गीत गाउँदैछ’रे

आश बहादुरले ढाँटेका कुराहरु विधानसभामा खोज्दैछ’रे,

अब त यो आश बहादुरको बाबुले पनि त्यो आश बहादुरलाई नै सघाउने’रे

छोराभन्दा ठूलो परिवर्तन हो भन्ने कुरा सबैलाई उसले बताउने’रे

आश बहादुरका आमाहरु जाँतोमा पिसिन नपरोस,

आश बहादुरका स्वास्नीहरू घाँस-दाउरामा बलात्कृत हुन नपरोस,

आश बहादुरका छोराहरु पाठ्यपुस्तकको अभावमा रुन नपरोस,

आश बहादुरका भाइहरुले आत्महत्या गर्न नपरोस,

आश बहादुरका भरोसाहरु बेकारी जीवन बाँच्न नपरोस|

आश बहादुरका आशाहरु सदैव  हरियो जाग्नुपर्छ,

यसैले त आश बहादुरहरु मिलेर परिवर्तन फलाक्नुपर्छ|

धेरै अघिदेखि छोरा ठूलो मान्छे भएर के भो र?

परिवर्तनको आवश्यकतालाई आश बहादुरले स्वीकार्नुपर्छ,

ठेला उठेका हातहरुले क्रान्ति पूल्ठोको समात्नुपर्छ,

चाउरी परेका अनुहारहरु एकपटक हाँस्न पाउनुपर्छ|

गरीबको पनि दिन फर्किन्छ भन्ने सबैले थाहा पाउनुपर्छ|

–    बी पी बजगाईं

(सिङ्लिंङ, पश्चिम सिक्किम, १९:२५ ३१ जनवरी २०१३)

टिप्पणी छोड्नुहोस्