टिस्टा आक्रोश बनेर बग्दैछिन

टिस्टा आक्रोश बनेर बग्दैछिन

–    बी पी बजगाईं

नाम्ची, १९:२५ ३१ जनवरी २०१३

 

टप्प आँशु खस्छ, मातृत्व पग्लन्छ,

पाँच वर्षे नानीको पेटमा भोक कोक्याउँदा

‘कोइरी’ -मा ढुँगा कुट्ने आमाको मन झस्किन्छ|

पीडा आमाको मात्र होइन यहाँ, प्रकृति पनि रोएकै छिन,

प्रवाहको विरुद्धमा मान्छे उभिँदा, भक्कानिएको मन थामेकी छिन|

अँह, टिस्टा रुँदिनन्, चाहे डुबेको कोइरी नदेखेर आमा रुँदै बसुन,

उसको नानीको भोकको रोग छिप्पिएर चाहे बज्रपात खसुन|

सुमधुर सुसेलीसंग हिजो बग्ने टिस्टा आज

शान्त छिन, सुसेल्न छोडेकी छिन

ढुंगाहरुमा ठोक्किँदै, उच्छृंखल बरालिने टिस्टा

आज बग्न छोडेकीछिन|

कसले बनाए कोनी ती पापी बाँधहरु? सुसेल्न छोडेकी छिन टिस्टा,

गर्भमा थुप्रै व्यथा लुकाउनु पर्दा, बोल्न छोडेकी छिन टिस्टा|

यता आमा पनि बेहाल छिन, नानीको भोक कसरी टार्नुपर्ने?

बग्दो टिस्टा पोखरी बनेपछि, कोइरी कुट्न कहाँ जानुपर्ने?

अब त कोइरी कुट्ने ढुंगाहरु पनि सबै टिस्टाले आफैभित्र लुकाइन

मेरो नानी भोकै छ आमाले कसलाई भन्नु पर्ने?

आमाको दुख आफ्नै छ, टिस्टा उत्तिकै छिन पीडित

कसले कसलाई बुझ्न पर्ने हो, दुवैको सहनशीलता असीमित|

कसैले नसुने सरकारले सुन्छ भन्छन,

न्याय नपाए गोर्खा जानु भनेको अहिले होइन है,

अन्याय चुलिएर आकाश ढाक्दा पनि

नाक-कान-आँखा भएको सरकार भेटिएन है,

जहाँ बग्थ्यो टिस्टा रंगीत, थियो कन्चनजंघा असीम

गाउँथे जहाँ चरीहरुले हाम्रो प्यारो सिक्किम

कालेबुंगपाखा गाउँदै चरी टिस्टा खोला धाउँथिन

टन्न अघाएको छोरो देखेर कोइरी आमा हाँस्थिन

अपुई! हो र टिस्टा बग्न छाडिन?

कहाँ हो र? जीवनका अध्यायहरुमा टिस्टा त बग्दैछिन नि,

दैनिक ज्यालाजिवी मजदुरको आँखामा टिस्टा बग्दैछिन नि,

दुइ थोपा आँशु तिम्रो आँखाको टिस्टा कै पानी त हो नि

कोइरी आमाको तृषित खाँचोहरु टिस्टा कै भेल त हो नि|

भविष्य यस्तो भन्छ-

भोकाएर कोइरी आमाको छोरो खस्यो,

टिस्टामा माछाहरु छट्पटाउँदै थिए|

नदी किनाराका घरहरु ढल्दा,

थुप्रै भावीहरु सुकसुकाउँदै थिए|

अस्तिमात्र टिस्टामा गाडी झ्वाम्मै खस्यो

शरीरहरु कहाँ भासिए कोनी

प्रकृतिले रिसले होला जीवनको भाउ कस्यो|

हो र? साँच्चै टिस्टा बग्न छोडिन?

अहँ, होइन, टिस्टा बग्दैछिन आक्रोश बनेर|

टिप्पणी छोड्नुहोस्