‘विवरुका कथाहरु’मा विजय सागरको समाज चेतना

समालोचना:

राजेन्द्र पहाडी

कथाकार विजय सागर नेपाली साहित्यमा स्थापित भैसकेका स्रष्टा हुन् । उनको सिर्जनसाधना उनी जत्तिकै पुरानो, परिपक्व र अनुभवी भैसकेको छ । इतिहास विषयमा स्नातकोत्तर सागरको कथा लेखनको आफ्नै विशिष्ठ शैली र पहिचान बनिसकेको छ । मनोरम पहाडी जिल्ला पाल्पाको तानसेनमा विसं. २००६ सालमा जन्मे हुर्केर हाल रुपन्देहीको सिद्धार्थनगरमा स–परिवार बस्दै रचनाकर्ममा रत्तिंदै आएका सागर एक सिद्धहस्त आख्यानकार र कविको रुपमा नेपाली साहित्य फाँटमा सुपरिचित छन् । सहलेखनका रुपमा यिनीसहित बनमाली निराकार र रुद्र ज्ञवालीकृत कथासङ्ग्रह विवरुका कथाहरु (२०६६) यिनको तेस्रो कृति हो । यस अघि यिनका चौतारो (हवाई पत्र) लघुकथा सङ्ग्रह भाग १ र २ (२०३४) सहलेखन, सागरका कथाहरु (२०६०) र सागरका कविताहरु (२०६१) प्रकाशित भैसकेकाछन् । यिनले नेवा: सँस्कृति र उपत्यका बाहिर बस्ने नेवारहरु (२०६६) प्रकाशन गरेर आफ्नो जातीय पहिचानलाई उधिन्न पनि खोजेकाछन् । जागिरे कार्य व्यस्तताका कारणले यिनले विक्रम सम्वत् साठीको दशकमा आएर मात्र आफूलाई साहित्य साधनामा बढी दत्तचित्त भई लगाएको देखिन्छ । अहिले पनि यिनी भैरहवालाई कार्यथलो बनाएर उक्तिकै सक्रियताका साथ लेखन कार्यमा जुटिरहेकाछन् । यस आलेखमा यिनै जुझारु कथाकार सागरका विवरुका कथाहरु भित्र समाविष्ट पाँच कथाहरुको समाजशास्त्रीय आँखीझ्यालबाट अनुशीलन गर्ने जमर्को गरिएको छ ।

विवरुका कथाहरु त्रिमूर्ति प्रकाशन, सिद्धार्थनगर, रुपन्देहीले प्रकाशन गरेको कथासङ्ग्रह हो । यस सङ्ग्रहभित्र कथाकार विजय सागरका जम्माजम्मी ५ वटा कथाहरु अटाएकाछन् । सङ्गृहीत ५ वटै कथाहरु कथानकका दृष्टिले सिनित्त परेका, सुस्वादु, मार्मिक र जीवन्त छन् । यी कथाले कुनै न कुनै कोणबाट मानव जीवनको तितो सत्यलाई उदाङ्ग पार्न भरपुर प्रयास गरेको देखिन्छ । कथाको भाष्य सुललित छ भने श्रृङ्खला संयोजन सलल बगेको छ । जसका कारणले पाठकले कथा पढ्दा रोमाञ्चको अनुभव गर्दै आफूलाई कथाभित्रको पात्रको रुपमा देख्न पुग्दछ । वास्तवमा कथालाई समाजपरक, विषयनिष्ठ, कारुणिक र भावमय बनाउनुमा विजय सागरको लामो जीवन अनुभवले मद्दत गरेको होला भनी अनुमान गर्न कुनै कठिन छैन । लम्बेतान सरकारी सेवाको क्रममा देशदर्शन गर्दाका उहापोह, हण्डर–ठक्कर र दु:ख सुखका कालजयी मर्मलाई उनले कथामा निष्ठापूर्वक लिपिबद्ध गरेकाछन् । यस सङ्ग्रहमा परेका यिनका सबैजशो कथाले ग्राम्य र सहरीया जीवनका उल्टासुल्टा परिस्थितिहरुलाई जीवन्त ढंगले उजागर गरेकाछन् भने मानिसलाई सकारात्मक दृष्टिकोण राख्दै बाँच्नका लागि पुट प्रदान गरेकाछन् । परिस्थिति जे जस्तो भएपनि आफ्नो मनस्थिति परिवर्तनका माध्यमबाट मौजुदा अवस्थालाई आत्मसाथ गर्न यिनका कथाले सुझाएकाछन् । वस्तुत दृष्टिका माध्यमबाट सृष्टि बदल्नका लागि ऊर्जा प्रदान गर्नु र चहराइरहेका कतुषित मनहरुमा मलमपट्टि गर्नुमा धर्म देख्ने कथाकार सागरको यो यत्न साच्चिकै प्रशंसनीय कदम हो भन्न सकिन्छ ।

समाजमा व्याप्त असंगति, बेथिति, बदमासी र खुराफाती अभ्यासलाई सच्च्याउन कथाको माध्यमबाट इन्धन भर्ने तथा खबरदारीका स्वरहरु नि:सृत गर्ने कुरामा कथाकार सचेत देखिन्छन् । अतिशय अचाडुपन, एकलकाटे प्रवृत्ति, मैमत्ताभाव र लोभीपापी भावनाको उछितो काड्दै त्यस्ता खराब तत्व र तिनका पिछलग्गुहरुको दोहोलो काड्न कथाकार सागरले कहीँ न कहीँ लल्कारको कोर्रा चलाएकै भेटिन्छ कथाभित्र । यस मानेमा यिनका कथाहरुले मान्छेका लागि सार्थक, सभ्य र सबल नियतिका साथ जीउनका लागि त्राण सम्प्रेषण गरिरहेकाछन् । सङ्गृहीत कथाहरुले दिन खोजेको प्रकटीकृत सन्देश निराशा होइन, बल्की आशा हो, अँध्यारो होइन, अपितु चम्किलो उज्यालो हो, धोका र बेइमानी होइन, फगत आस्था, प्रेम र विश्वास हो । तसर्थ पुराना अनुभव, जीवनभोगाइ र नजिकबाट देखेका कुरालाई आत्मसाथ गरेर रचना गरिएका यी कथाहरुभित्र गहिरो अन्तर्य लुकेको छ झरल र सरल जीवनको ।

मूलत: विजय सागर सामाजिक यथार्थवादी कथाकार हुन् । उनका कथामा कल्पनाको उडानभन्दा यथार्थको मैदानले प्रचुरता पाएको हुन्छ । उनी कथामा समाजलाई टप्प टिपेर विषयवस्तुका रुपमा राख्न लालायित हुन्छन् । आफ्नै परिवेशका पात्र/पात्राको प्रयोग उनको लेखनीको विशेषता बनेको देखिन्छ । कथाहरुभित्र प्रयोग गरिएका जतिपनि पात्र/पात्राहरु छन्, तिनले नेपाली समाजको यथार्थ तस्वीरलाई प्रकट गर्न खोजेकाछन् । चाहे गाउँको सन्दर्भ होस् चाहे सहरको सन्दर्भ पात्र/पात्राहरु नेपाली जनजीवनलाई दुरुस्त उतार्न सक्षम छन् । उनीहरुको भाषा, शैली र सम्बादमा नेपाली डाँडापाखा, लेकबेसीको गन्ध मग्मगाइरहेको भेटिन्छ । कथालाई चुसुक्क मनछुने बनाउन उनले कथानकलाई झर्रो खस्रो रुपमा नै प्रस्तुत गर्न रुचाउँछन् । राम्रा र सकारात्मक पात्रको अतिशय चिप्लो दल्ने र नराम्रा तथा नकारात्मक पात्रको उछितो काड्ने उनको लेखकीय वैशिष्ट्य हो भन्न सकिन्छ । यसै भएकाले उनका सबै कथाहरु चोपिला, रसिला, भरिला र तेजिला छन् । सागरकृत कथाहरु निश्पक्ष, निर्भिक र निडरताको लेशमा अघि बढेकाले नै यिनलाई उम्दा कथाकारको दर्जा मिल्न सकेको हो शायद ।

विवरुका कथाहरु भित्र सङ्गृहीत कथाकार सागरको पहिलो कथा हो ‘दान’ । ‘दान’ एउटा दार्शनिक मानसले शिताङ्ग भएको मनोविश्लेषणवादी परिघटनामा आधारित कथा हो । यस कथामा मानवीय जीवनको साङ्गोपाङ्गो अवस्थितिलाई इमान्दार ढंगले उधिन्ने, छिमल्ने र प्रगेल्ने प्रयत्न गरिएको छ । जीवनको सतत् उज्यालो पक्षलाई देख्न नसकेर दिग्भ्रमित भएको (?) पात्रलाई उसैको बाबुको दीक्षाले झस्काएको, मस्काएको र चस्काएको तथ्यलाई उजागर गर्दै कथाले सुमधुर जीवनवृत्तिको सरस सुरसुधा पस्केको अनुभूति हुन्छ पाठकलाई कथा पढ्दै जाँदा । उमेरशुलभ मनोविज्ञानबाट निर्देशित युवावयको छोरो र बाबुबीचको अत्यन्त भावग्राही अन्तरसम्बन्धबाट अघि बढेको कथाले अन्तत्वगत्वा जीवनवादी निश्कर्ष निकाल्छ । समय, संस्कार, परम्परा र सामयिकतालाई उलङ्घन गर्न नसकिने बाध्यात्मक चुनौतिलाई स्वीकार गर्न तयार भएर छोरो पात्रले आफ्नो पूर्व मान्यताहरुसँग सम्झौता गर्न पुग्दछ । मूलत: सम्झौता, सहकार्य र बन्धुबान्धव बीचको एकता जीवनका अनिवार्य खुट्किला हुन् भन्ने सत्यलाई पनि यो कथाले कतै न कतैबाट पुष्टि गर्न चाहेको प्रतित हुन्छ ।

 

यसका अलवा परिवार, नातासम्बन्ध र तिनले सिर्जना गरेका खास–खास शर्त, रीति र अनुशासनलाई तोडेर अघि बढ्न सोचेजस्तो सजिलो नभएको तथ्यलाई पनि प्रस्तुत कथावस्तुले छर्लङ्ग पारेको छ । परिवारलाई प्राथमिक पाठशालाको रुपमा स्वीकार गरिएको सन्दर्भमा पनि यो कथाले उठान गरेको विषय हृदयग्राही र मर्मस्पर्शी छ । आफ्ना बाबुआमा, दाजुभाइ, श्रीमती, छरछिमेकी सबैलाई त्यागेर वा बिर्सेर जीवनको भिन्दैधारमा हिंड्ने आँट गर्नु सर्वस्वीकार्य नहुनेतर्फ पनि ‘दान’ कथाले ध्यानाकर्षण गर्न चाहेको देखिन्छ । परन्तु, कथाको आरम्भ खण्ड अलिक बेसी क्लिष्ट भएको भान पर्न सक्ने सम्भावनालाई पनि नर्कान मिल्दैन भने कथाको समापन बिन्दु पनि अतिशयोक्तिपूर्ण लाग्न सक्छ सामान्य पाठकलाई । यसैगरी शिर्षक सान्दर्भिकताको कसीमा पाठक अलमलमा पर्ने सम्भावना पनि त्यत्तिकै छ यस कथाभित्र ।

सङ्ग्रहभित्र दोस्रो कथाका रुपमा ‘दरिद्र’ शिर्षकको कथा रहेको छ । यो कथा हामी नेपालीहरुको सन्दर्भमा अत्यन्तै मार्मिक र यथार्थ विषयमा आधारित कथा हो । ‘दरिद्र’ नामैले कथाको सारलाई बुझ्न, आँकलन गर्न र धेरैथोरै अनुमान गर्न सहयोग गरेको अवस्था पनि छ । नेपाली बृहत शब्दकोषले निर्धन, कङ्गाल र गरिबलाई दरिद्रका रुपमा परिभाषित गरेको छ । आफ्नो भन्ने कोही पनि नहुनु र केही पनि नहुनु पनि दरिद्र अवस्था हो । सबै कुराले तन्नम, रित्तो र फुक्काफाल भएको परिस्थिति दरिद्र अवस्था हो । वास्तवमा पौने तीन करोड नेपाली मध्ये अहिले पनि लगभग ३४ प्रतिशत नेपालीहरु गरिबीका रेखामुनी रहेकाछन् । दूरदराजमा बस्ने, पछाडि पारिएका, सीमान्तकृत, दलित, महिला, अपाङ्ग, बालबालिका, पिछडावर्ग र उपेक्षित समुदायका मानिसहरुको अहिले पनि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र मनोरञ्जन जस्ता आधारभूत आवश्यकताहरु सम्बोधन हुन सकेको छैन ।

बारा, कलैयातिरको घटनामा आधारित भएर लेखिएको यो कथाले त्यहाँको नाङ्गो चित्र उतारेको छ । समग्र देशकै अवस्था अपेक्षाकृत राम्रो त छैन नै, तराई–मधेश क्षेत्रमा अवस्था झनै दुरुह छ । त्यहाँका तल्लो र अछुत जातका भनिएका बासिन्दाहरुको अवस्था पशुतुल्य छ । ७२ प्रतिशत दलितहरु भूमिहीन छन् । भूमि भएका मध्ये पनि ९७ प्रतिशतलाई आफ्नो उब्जनीले तीन महिना पनि खान पुग्दैन । देशभरीका तीनलाख हली मध्ये ९९ प्रतिशत दलित समुदायका छन् । जमिन नभएका कारण तराईका दलितले नागरिकता नपाएर आफ्नै देशमा विदेशी बन्नु परिरहेको अवस्था छ । भूमी लगायत राज्यका कैयन क्षेत्रमा दलित समुदायको पहुँच पुग्न सकेको छैन । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारजस्ता जीवनयापनका आधारभूत पक्षबाट समेत यो समुदाय वञ्चित हुनुपरेको छ । अहिले पनि लोहार, सुनार, कामी, दमाई, सार्की, बादी, गाइने, कसाई, कुसुले, कुचे, च्यामे, चमार, पोडे, धोबी, पासवान (दुशाद), तत्मा, डुम, बटार, खतवे, मुसहर, सन्थाल, सतार, हल्खोर जस्ता दलित जातिको अवस्था माथि उठ्न सकिरहेको छैन । यही समुदायको एउटा प्रतिनिधि कथा हो ‘दरिद्र’ ।

‘कोही त भने जहाजमा सरर, कोही त भने पसिना धरर’ को नियति आज लोकतन्त्र आइसक्दा पनि फेरिएको छैन र फेरिने सम्भावना पनि न्यून बन्दै गएको अवस्था छ । हाम्रो मुलुकमा आवश्यकताभन्दा धेरै खाएर रोगी हुने र मर्नेहरुको संख्या खान नपाएर मर्नेहरुको भन्दा धेरै छ भन्दा पत्यार नलाग्न सक्छ तर सत्य यही हो । अहिले पनि बहुसंख्यक नेपालीहरु बिहान खाए बेलुका के खाने भन्ने समस्याबाट पिरोलिइरहेकाछन् । मुठ्ठीभर मान्छेहरुले भोजभतेर गरिरहेको बेला दूरदराजमा रहेका आदिबासी जनजाति समुदायका पछाडि परेका अनागरिकहरु जीवनजल, सिटामोट र एकछाक खाना नपाएर तड्पी–तड्पी मर्नुपर्ने अवस्था छ । हो यही अन्यायपूर्ण सामाजिक संरचना र वितरण प्रणालीको जीवन्त प्रस्तुति गरिएको छ ‘दरिद्र’ कथाभित्र । प्रस्तुत कथा नेपाली समाजको जीउँदोजाग्दो चित्राङ्कन हो । कथाले नेपाललाई जस्ताको तस्त्रै उधिनेको छ र बहुसंख्यक श्रमजीवी वर्गको जीवनचित्रको उद्वोधन गरेको छ । कथाका पात्रको रुपमा जो सुकै खडा गरिएको भएपनि तिनले आधाआधी नेपालीको सपाट प्रतिनिधित्व गर्न सकेकाछन् । चाहे ति बाबुको भूमिकामा हुन्, चाहे आमाको या निम्छरा लालाबालाको । ति सबैले दुखिया नेपाली जनताको व्यथा र वेदनाको उद्घाटन गरेकाछन् । यसरी सिङ्गो नेपालको वास्तविक तस्विर आफ्नो कथामार्फत अनावरण गर्न सक्नु कथाकार विजय सागरको अब्बल पाटो हो ।

 

हुने खाने, सत्ता, शक्ति र सम्पत्तिमा नियन्त्रण र पहुँच भएकाहरुको हालीमुहाली र बर्चश्व भएको समाजमा निमुखाहरुको नियति कथाका पात्रहरुको भन्दा भिन्दै हुने कुनै सम्भावना हुँदैन पनि । मुखिया, जिम्मुवाल, जमिन्दार र साहु–महाजनहरुको बोली बिक्ने ठाउँमा निम्छराहरुको अस्तित्व कसरी जोगिन सक्छ र ? यस कथाभित्र धनीया, कहार, कहारनी र अन्य भुन्टाभुन्टी तिनै निरिह पात्रहरु हुन् जसले श्वास धान्नका मारे जेनतेन गरिरहेछन् । तिनीसँग न बिकाउ बोली छ, न काम गर्ने शक्ति छ, नत अधिकारको खोजी गर्ने चेतना नै छ । यो कथा पढ्दै जाँदा पाठकको मन धेरै ठाउँमा अमिलो बन्छ, उसमा दयाभाव जागृत हुन्छ, ऊ अन्यायी समाज व्यवस्थाप्रति र त्यसको संरक्षणमा लागेका कथित समाजसेवी ठेकेदारहरु प्रति क्षुब्द हुन्छ, आक्रोशित हुन्छ । कथाले जो कसैको पनि पनि छुन्छ, किनकि कथामा नाटकीयता छैन । कथाभित्र कृतिमता भेटिंदैन । कथा सरल, सम्प्रेष्य, सुबोध्य, सुस्पष्ट र गम्भीर छ । कथाभित्र नेपाली जनजीवनको वस्तुगत समाजशास्त्र भेटिन्छ । समाजको असमानता, विभेद, अन्याय, अत्याचार र अतिसार व्यवहारका अव्यवस्थित श्रृङ्खलाहरु कथाभित्र मनग्गे भेट्न सकिन्छ । यो कथाको रुप र सार पक्ष दुबै दमदार र जर्वजस्त छन् । वास्तवमा ‘दरिद्र’ कथा नेपाली समाजको त्यस्तो एैना हो, जसमा पूर्व मेचीदखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराई–मधेशसम्मको सोलोडोलो परिवेश जस्ताको तस्तै अवलोकन गर्न सकिन्छ । यो अर्थमा प्रस्तुत कथाले समाजको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक शक्ति संरचनाको छिन्द्रान्वेशण गरेको छ । सम्भवत: जागिरको सिलसिलामा कलैया, बारामा बस्दा कथकार विजय सागरले यस्तो मार्मिक कथाको रचना गरेर नेपाली कथाका पाठकहरु प्रति हदैसम्मको न्याय गरेकाछन् भन्न सकिन्छ ।

प्रस्तुत कथा सङ्ग्रहमा तेस्रो क्रममा रहेको सागरको कथा हो ‘हुरी थामिए पछि’ । श्रीमान–श्रीमतीको पारिवारीक सम्बन्धमा घटिरहने सामान्य कथाबस्तुलाई बढो रोचक र कौतुहलतापूर्ण तरिकाले पस्किइएको कथा हो यो । कथाले बिछोडको पीडा कति असह्य, कारुणीक र दयालाग्दो हुन्छ भन्ने कुरा कथाका पात्र श्रीमान–श्रीमतीबीचको सम्बादका माध्यमबाट देखाइएको छ । वास्तवमा स–साना कुरामा ठाक्कठुक्क गर्ने र एकले अर्कालाई धम्क्याउने हिसाबले बिना सोचविचार अन्यथा निर्णय लिने र त्यसलाई कार्यान्वयन पनि गरिहाल्ने कुराले कस्तो अकल्पनीय परिस्थिति सिर्जना हुन पुग्दो रहेछ भन्ने घतलाग्दो दृश्य प्रस्तुत कथामा उजिल्याइएको पाइन्छ ।

जात–थर नमिल्दा नमिल्दै पनि मन–पेट मिलेर गन्धर्व विवाह गरेका दम्पतिका बीचमा वैचारिक मतभेदले एकै थलोमा बस्न नसक्ने अवस्था बनेपछि भगवतीले माइत गएर बसेको र रामप्रसाद लामो समयसम्म टुहुरोजस्तै बनेको हालतमा पुन: दुईजनाबीच सम्बन्ध जोडिन पुगेको कथाले पाठकलाई बाँधेर राख्छ कथा नसकिने बेलासम्म । यो कथाभित्र पनि नेपाली समाजको ठोस यथार्थलाई बिना सिंगारपटार प्रस्तुत गरिएको छ । समाजमा तोडिंदै गएको जातीय मूल्य मान्यता, विवाहका लागि थर, गोत्र मिलाउने प्रचलन, मागी विवाहको प्रधानता, घरपरिवार परित्याग गरेर भएपनि आफ्नो मायाप्रेम सहितको बन्धनलाई निरन्तरता दिने त्यागी भावना आदिलाई कथामा उठान गरिएको छ ।

 

यसका साथै पचासको दशक पछि नेपाली समाजमा आएको राजनैतिक उतारचढाव, चेतना र सशक्तीकरणको कारणले आफ्नो वैचारिक धरातलमा जस्तै बाधा अवरोध आए पनि विचलित नहुने मान्यतालाई पनि कथामा रोचक पारामा संलेषण गरिएको छ । रामप्रसाद र भगबतीका बीचमा खट्पट हुनुको प्रमुख कारण नै उनीहरुका बीचको राजनैतिक वैचारिक भिन्नता बन्न पुगेको देखिन्छ । जबकि उनीहरु विद्यार्थीकालमा सँगसँगै आन्दोलनमा होमिएका थिए । यसरी राजनैतिक दर्शन र विचारका लागि परिवार र आफ्नो अत्यन्त नजिकको भनिएको मान्छेलाई पनि त्याग्न सक्ने एउटा पक्ष र यस्तो सतही त्यागका कारणले जीवनमा भित्राएको दु:ख, अवसाद, वेदना, एक्लोपन र विछोडको पीडालाई समानान्तर कोणबाट उठान गरिनु कथाको प्रशंसनीय पक्ष हो । कथा पढ्दा पाठकले प्रष्टसँग के बुझ्छ भने आफ्नो पतिलाई समेत छोडेर क्रान्तिको मार्गमा होमिएकी भगबतीले अन्तिममा आएर गरेको निर्णय सहि छ । किनकि उनले आफै आफ्नो व्यवहारप्रति असन्तुष्टि जाहेर गरेकी छन् । क्रान्तिका लागि सबैथोक त्यागे पनि सोचेजती उपलब्धी केही नभएको प्रति उनमा कुण्ठा र निराशा पलाएको देखिन्छ ।

कथाभित्र प्रष्ट नभनिएता पनि भगबती नेकपा एमाओवादी नामक दलमा काम गर्ने कार्यकर्ता हुन् भन्ने अनुमान गर्न कठिन छैन । वास्तवमा उनले प्रदर्शन गरेको व्यवहार एमाओवादीमा काम गरेका धेरै लडाकु र कार्यकर्ताले देखाउने प्रतिनिधि व्यवहार हो भन्न सकिन्छ । के के न हुन्छ भनेर क्रान्तिमा दिलोज्यान दिएर लागेकाहरु अन्ततोगत्वा सामान्य पारिवारीक जीवनमा फर्कदै गरेको तथ्यलाई यो कथाले सुविचारित ढंगले उजागर गरेको छ । खासमा ठूला कुरा गर्नु, बेशी क्रान्तिकारी देखिनु र यथार्थको धरातल फरक–फरक हुँदा रहेछन् र त्यसलाई बुझेर अघि बढ्दा मात्र जीवनलाई सुखी, शान्त, समृद्ध र सफल बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ यो कथाले । कथानकभित्र राजनैतिक रङ्ग भएपनि यो कथाले जवर्जस्त नेपाली समाजको लुकेको व्यथालाई प्रस्तुत गरेको छ।

नेपाली समाजमा थुप्रै त्यस्ता रामप्रसाद र भगबतीहरु छन् जसले आफ्नै अहम, सनक र अर्काको लहैलहैमा लागेर आफ्नो घर भताभुङ्ग र लथालिङ्ग बनाएकाछन् । कहिल्यै नमिल्ने गरी ‘हामी नदीका दुई किनारा’ भएकाछन् । वास्तवमा यस्तो परिस्थिति सिर्जना हुनु कुनै पनि बहानामा ग्राह्य कुरा होइन । आफन्ती–आफन्तीका बीचमा फुट ल्याउने, घर–घरमा झगडा भित्राउने र ‘जीउँदाको जन्ती–मर्दाको मलामी’ भन्ने कथनीलाई भत्काउने राजनीति हाम्रो समाजको माग होइन र हुनु पनि हुँदैन । भाइचारा, बन्धुत्व र भ्रातृत्वभावलाई तिलाञ्जली दिएर नेपाली समाजमा अमनचैन कायम हुन सक्दैन । सुर न तालको हुरी थामिनुको कुनै विकल्प छैन । तसर्थ विछोडिएका थुप्रै रामप्रसाद र भगबतीहरुको स–सम्मान पुर्नमिलन हुन जरुरी छ र यिनीहरु समाजमा पुनस्र्थापित हुन आवश्यक छ । यो कथाले आत्मसाथ गरेको विषयले साँचो अर्थमा समाजप्रति न्याय गरेको छ । अब हाम्रो समाजमा घमण्डी, आरिसे, उपबुज्रुक र घोकाइएका सिद्धान्त पढेर व्यवहार विगार्ने भन्दा पनि सिद्धान्तलाई जीवनोपयोगी बनाउने सद्बुद्धि भएका रामप्रसाद र भगबतीहरु निर्धक्क देखापर्दै जानुपर्दछ । यसैमा समाज र राष्ट्रको कल्याण निहित छ । सामाजिक सद्भावका पक्षमा कथा लेखेर मिलन र सह–गमनका पक्षपाती कथाकार विजय सागर साधुवादका पात्र भएकाछन् यतिखेर ।

नेपाली समाजको अन्तरकुन्तर खोजतलास गर्न सफल ‘जिजीविषा’ सङ्गृहीत कथा मध्येको चौथो कथा हो । यो कथाले नेपाली समाजमा व्याप्त बालबिबाह, बहुबिबाह र त्यसबाट उत्पन्न हुने नकारात्मक/सकारात्मक अवस्थाहरुको छर्लङ्ग विवेचना गरेको छ । कथाका पुरुष पात्र रामप्रसादले सानै उमेरमा बिबाह गरेको र समयको गतिसँगै दोस्रो बिबाह गरी सहर/बजारको सुख सयलमा लागेर पहिलो श्रीमती, छोरी र बाबुआमालाई बिर्सिन पुगेको तर पछि दु:खको समयमा सहरीया श्रीमतीले छोडेर अर्कैसँग हिंडेपछि पुन: अघिल्लै श्रीमती र पुरानै घरमा फर्कनु परेको दृष्टान्त कथाको मुल विषयवस्तु हो ।

 

कथाकार विजय सागरले यो कथामा पनि समाजपरकतालाई पछ्याएका छन् । समाजप्रतिको दायित्वबोधले ओतप्रोत भएर आफ्नो लेखनीका माध्यमबाट समाजलाई केही न केही सन्देश दिन यिनी आतुरतापूर्वक लागेको प्रष्ट संकेत पाइन्छ यिनका कथा पढ्दा । यो कथामा समाविष्ट कथावस्तु कुनै काल्पनिक कथा हुँदै होइन । बरु हाम्रो समाजका धेरैजशो परिवारमा घटिरहने घटनाको प्रतिनिधि गुत्थी हो यो कथा । प्रायश: ग्रामीण समुदायमा विविध कारणले गर्दा सानै उमेरमा बिबाह हुने र उमेर परिपक्क हुँदै जाँदा र कार्य जिम्मेवारीमा विविधता आउँदै जाँदा जानेर या नजानेर बहुबिबाह प्रथाले स्थान पाउने गरेको कुरा तितो सत्य हो । प्रस्तुत कथामा पनि रामप्रसादको प्रारम्भिक जीवनचर्या सामान्य र गाउँले प्रकृतिको भएको अवस्थामा उनको १३ वर्षकी सीतासँग बैबाहिक सम्बन्ध गाँसिन पुग्दछ तर पछि शिक्षकको जागिर छोडेर ठेकेदारी गर्न लागेका उनी र उनको बसउठको संगत फेरिंदै जाँदा सहरकी बासिन्दा ऐलिशासँग दोस्रो बैबाहिक सम्बन्ध जोडिन पुग्दछ । ऐलिशातर्फ एउटा छोरा पनि जन्मिन्छ तर रामप्रसादलाई नियतिले कंगाल बनाएपछि ऐलिशाले आफैले जन्माएको छोरो र रामप्रसादलाई एक्लो छोडेर पलायन हुन्छिन् । अन्तत: रामप्रसाद छोरो राकेशलाई लिएर आफ्नै जन्मथलो फर्किन्छन् र पहिली श्रीमती सीता, छोरी ममता र बृद्ध बाबुआमाको लाडप्यारमा रमाउँछ । कथावस्तु यहि हो ।

प्रस्तुत कथा सुखान्त–वियोगान्त र पुन: सुखान्तमा अन्त्य भएको छ । तथापी, स्वार्थी ऐलिशाले पनि रामप्रसादलाई वियोगमा पारेर आफ्नो खुशी प्राप्तीका लागि अन्तै लागेकी देखिन्छे । वास्तवमा ‘जिजीविषा’ ले जे जस्तो अवस्था भए पनि निराश नभै परिस्थितिसँग जुध्नुपर्ने आँट र हिम्मत जुटाएर अघि बढ्नुपर्ने सन्देश सम्प्रेषण गरेको छ । परिपक्क उमेरमा बिबाह बन्धनमा बाँधिनुपर्ने, बहुबिबाह प्रणालीलाई निरुत्साहित गरिनुपर्ने, क्षणिक सुख, मोजमस्ती र बाहिरी सौन्दर्यको प्रलोभनमा परेर घरपरिवार प्रतिको दायित्व बिर्सन नुहुने जस्ता सन्देश पनि यो कथाको अन्तर्यमा पाइन्छ । यो कथाभित्रकी पतिव्रता सीताजस्ता सहनशील, धैर्यवान र सचेत पात्र आजको समाजको खाँचो हो । सीताजस्ता श्रीमतीलाई बिर्सेर ‘घरकी मुर्गी दाल बराबर’ भन्दै दोस्रो बिहेको बहाना खोज्नेहरु प्रति कसिलो व्यङ्ग्य प्रहार गरेको छ कथाले । ‘घरकी श्रीमती बाबुआमाका लागि र परकी श्रीमती आफ्ना लागि’ भन्दै मनपरी गर्दा रामप्रसादको नियति व्योहर्नु पर्नेतर्फ पनि यो कथाले सचेत गराएको छ ।

यसका साथै कुनै पेशा व्यवसायमा हात हाल्दा सोचविचार गरेर काम गर्नुपर्ने अन्यथा अकल्पनीय नोक्शानी खेप्न पर्ने अवस्था आउनेतर्फ पनि यसले सुझाव प्रस्तुत गर्न चाहेको छ भने देवता सरावरका बाबुआमाले भनेको कुरा मान्नुपर्ने कुरामा जोड दिएको छ । कथा सिनित्त अगाडि बढेको छ । कथाको आरम्भदेखि अन्तिमसम्म पाठकका आँखा टपक्क कथाका पानामै अडिन्छन् र कथाको उत्कर्षमा पाठक भावविह्वल हुन्छ, द्रवित हुन्छ र एकखालको अव्यक्त पीडाले छियाछिया हुन्छ । वास्तवमा पाठकमा यस्तो भावको सिर्जना हुने वातावरण बनाउनु कथाकारको उच्च सफलता हो । यस दृष्टिबिन्दुबाट नियाल्दा यो कथाभित्र कथाकार विजय सागर मस्तले जमेका देखिन्छन् ।

कथाकारले यो कथामा केवल एकसरो कथामात्र पस्केका छैनन् । बरु कथाको माध्यमबाट नेपाली समाजमा भित्रभित्रै सल्केको डढेलोलाई निभाउने यत्न पनि गरेकाछन् । कथाभित्रै पाठकलाई नेपालका विभिन्न महत्वपूर्ण स्थलहरुको भ्रमण गराउन सफल हुनु पनि कथाकारको अर्को स्तुत्य प्रयत्न हो । कथाकारले अनेक बहानामा पाठकलाई पाल्पा, काठमाण्डौ, धरान, जनकपुर, महेन्द्रनगर हुँदै पोखरासम्मको सयर गराउन भ्याएकाछन् । यसकथाभित्रको अर्को सुन्दर उपहार के हो भने यसले देशमा अशान्ति र बेथिति हुँदा के कस्तो क्षती हुने रहेछ भन्ने कुरालाई पनि वस्तुसत्यका आधारमा उठान गरेको छ । वस्तुत: १२ वर्षभन्दा लामो समयसम्म चलेको हिंसात्मक द्वन्द्वका कारणले देश र जनताले ठूलो नोक्शानी बेहोर्नु पर्‍यो । विद्रोहमा लाग्ने र उनीहरुलाई दबाउन प्रहरी र सेना परिचालनमा मर्नेको संख्या १३ हजार २ सय ७० (८३३९ राज्य पक्षबाट र ४९३१ माओवादी पक्षबाट) पुगेको थियो । अपहरण गरेर वेपत्ता भएका (राज्यबाट १ हजार ७ सय र माओवादीबाट ५ सय २७) मध्ये झण्डै ६ सय नागरिकको अझै खोजखबर छैन । युद्धले हजारौंँलाई अङ्गभङ्ग बनाएको छ, अपाङ्ग बनाएको छ । त्यत्तिकै संख्यामा विधवा र टुहुरा भएका छन् । २ लाखभन्दा बढी विस्थापित भएका छन् । अहिले दृश्यमा युद्ध अन्त्य भैसकेको अवस्था छ । तर त्यसले दिएको घाउ अझै पुरिएका छैनन् । माओवादी वा सुरक्षाकर्मीका बर्बर यातना भोगेका कसैले सायदै त्यो पीडा छिट्टै भुल्नेछ । अभिभावकत्व गुमाएका टुहुरा वा सिउँदो पुछिएका युवती अथवा काख रित्याएका आमाहरु कसैले पनि युद्धले दिएको पीडा भुल्ने छैनन् । सधैंको बन्द र हड्तालका कारणले सामान्य जनजीवनलाई मात्र प्रभावित पारेन, बरु साना–ठूला सबै निर्माण कार्यहरुमा त्यसले दिर्घकालीन प्रभाव पार्‍यो । यदि यस्तो अवस्था सिर्जना हुँदैन्थ्यो भने रामप्रसाद जस्ता काम गरेर खाने पात्रहरु रातारात करोडपतिबाट सडकमा झर्नु पर्ने थिएन । तसर्थ कथाले शालिनतापूर्वक शान्ति, अमनचैन र सामाजिक/आर्थिक सुरक्षाका पक्षमा वकालत गरेको छ । यो कथामा पनि कथाकारले आफूलाई जमेर समाजको रुपान्तरणका पक्षमा उभ्याएकाछन् । आफ्ना पात्र/पात्राहरुको मार्फत दीगो शान्ति र समृद्धिका पक्षमा नारा लगाएकाछन् । याचना गरेकाछन् ।

विवरुका कथाहरु सङ्ग्रहभित्र सङ्गृहीत विजय सागरको अन्तिम तथा पाचौं कथा हो ‘गुरु आसन’ । ज्ञान, ध्यान र धर्मको आवरणमा हुने गरेका व्यभिचार, कुकर्म र असामाजिक व्यवहारलाई उदाङ्ग पार्नु प्रस्तुत कथाको लक्ष्य रहेको देखिन्छ । कथामा कलिलै उमेरमा विधवा हुन पुगेकी पात्र ईला आफूमाथि अनायासै आइपरेको पीडा समनका लागि गुरु आश्रममा पुग्छिन् । रहँदाबस्दा उनी गुरुका प्रेम, सेवा, करुणा, इश्वर आदिसँग सम्बन्धित साश्वत प्रवचनहरुबाट प्रभावित हुन्छिन् र आफ्नो बाँकी जीवनलाई धन्य सम्झिन्छिन् । तर एक दिन उनको निश्चल आस्थामाथि बज्र प्रहार हुन पुग्छ, जब आफूले पूजा, आरधना र अनन्य विश्वास गरेका गुरुदेव नै उनीमाथि हिंश्रक बनेर जाइलाग्छन् र यौनशोषण गर्दछन् । ईला निराश हुन्छिन् र प्रतिरोधको लागि कोठाबाट बाहिरिन्छिन् । कथाको गुह्य विषयवस्तु यही हो ।

समाजमा यदाकदा सुन्ने गरिएका यस्ता प्रकृतिका घटनाहरुलाई टपक्क टिपेर कथाकारले सुन्दर ढंगले आफ्नो कथा ‘गुरु आसन’ मा समेटेकाछन् । वास्तवमा पित/श्वेतबस्त्र धारण गरी धर्म, कर्म, स्वर्ग प्राप्ती र मोक्षका कुरा गर्ने ढोंगीहरु नै मौका पाउनासाथ हदैसम्मका अनैतिक, अधम, दूराचारी र पाखण्डी बन्ने गरेको दृष्टान्त हाम्रै समाजको सत्य हो । यसलाई अनेकौ बहानामा लुकाउने, दबाउने र छिपाउनेहरुका लागि कथाकार सागरले दर्बिलो जवाफ दिएकाछन् । अनेक नाममा खुलेका बग्रेल्ती आश्रम, कुटी, मठ आदिभित्र हुने गरेका असामाजिक एवं गैरकानुनी कृत्यहरुलाई बाह्य आवरणमा प्रकटीकरण गर्न कथाकारले खुट्टा कमाएका छैनन् । त्यसो त सबै मठ, मन्दिर, गुम्बा, आश्रम आदिमा यस्तै दुष्कर्म हुन्छन् भनी सामान्यीकरण गर्न खोजिएको किमार्थ होइन । तथापी केही त्यस्ता सुकिलामुकिला लोभीपापीहरुले आफूलाई धर्मका नाममा शोषकका रुपमा स्थापित गरिरहेको पक्षलाई उजागर गर्न यो कथाको सन्दर्भ पर्याप्त छ ।

एउटी नारीले अर्की नारीको दु:खमा साथ दिने र संरक्षण गर्नुपर्नेमा उल्टै व्यभिचारी पुरुषका पक्षमा लागेर नारी अस्मितामाथि खेलवाड गर्न सघाउने कुटिल नारी शिलाको चरित्र आलोच्य छ यो कथाभित्र । भक्तिनी शिला र उनको समूहका महिलाहरुले ललाई फकाई र हुँदा नहुँदाका कुरा गरी विश्वासमा पारेर ईलालाई कथित गुरुको यौनप्यास मेट्ने साधन बनाउन पुग्दछन् । आफूहरु पनि निरिह बनी लुटिनु र अर्कालाई पनि लुटिन बाध्य पार्नु अत्यन्त निकृष्ट कर्म हो यो । यस्तो वृत्तिमा लागेकाहरु जबसम्म सच्चिने र सुध्रिने दिशामा लाग्दैनन् तबसम्म समुन्नत, समृद्ध र सभ्य समाज व्यवस्था स्थापित हुन सक्दैन । महिलालाई केवल भोग्य वस्तुका रुपमा परिभाषित गर्दै पुरुषहरुको कठ्पुतली बनाइनु जायज व्यवहार हुनै सक्दैन । ज्ञान, धर्म र मुक्तिका कुरा गर्दै सिधासोझा नागरिकको चरम शोषण गर्ने जुक्ति दण्डनीय हुनुपर्दछ सभ्य समाजमा ।

महिला जागरण, सवलीकरण र सशक्तीकरण आजको अपरिहार्य विषय बन्दै गएको तथ्यलाई पनि प्रस्तुत कथाले सम्बोधन गर्न चाहेको छ । यदि आधा आकाश र आधा धर्तीका जिम्मेवार भनिएका महिलाहरुले आफ्ना लागि के उचित र के अनुचित भनेर सीमाङ्ककन गर्न सक्दैनन् भने कथामा उल्लेख गरिएकाजस्ता स्वघोषित गुरुहरु थप उत्साहित बन्दै र छाडा बन्दै जानेछन् । तसर्थ महिलाहरुले पनि आफैभित्र सशक्त हुने र ‘नाई’ र ‘हुन्न’ भन्ने संस्कृतिलाई आत्मसाथ गर्न तथा मौनताको संस्कृतिलाई तोड्न ढिला गर्न नहुनेतर्फ कथाले ध्यानाकर्षण गर्न चाहेको देखिन्छ । हुनत महिलालाई मात्र दोष थोपरेर अरु पन्छिन मिल्ने अवस्था छँदै छैन । परिवार, समाज र राज्य व्यवस्थाले नै नारीहरुको महत्तालाई संरक्षित गर्न सामाजिक सुरक्षाको वातावरण प्रत्याभूत गर्न जरुरी छ । महिला हक, हित र अधिकारको सुरक्षण गर्दै उनीहरुलाई मूलप्रवाहमा नल्याउने हो भने देशले एकपक्षीय ढंगले मात्र कोल्टो फेर्न सक्दैन । रोटी दोहोरै पकाउन सक्दा मात्र राम्ररी पाक पुग्न सक्छ, अन्यथा काँचो पिठोले पखाला चलाउने सम्भावना हुन्छ । महिला–पुरुष सम–विकासको सम्बन्धमा पनि यही सत्यलाई बोध गरी अघि बढ्नु समिचीन देखिन्छ ।

कथाले सम्प्रेषण गर्न खोजेको अर्को छिपेको प्रश्न के पनि हो भने बैराग्यमा परेका, बिछोडिएका, दु:ख, यातना पाएका, परित्यत्त भएका, पारिवारीक बहिष्करणमा परेका तथा अन्य यस्तै अफ्ठ्यारो परिस्थितिमा परेकाहरुले मानसिक शान्तिका लागि जाने ठाउँ केवल मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद, चर्च वा विविध नाममा खोलिएका आश्रमहरु मात्र हुन त ? यसको विकल्पमा सकारात्मक दृष्टिकोण विकास गर्न सघाउने तालिम केन्द्र, प्रशिक्षण केन्द्रहरु राज्यको तर्फबाट व्यवस्था गर्न सकिंदैन ? के आध्यात्मिक कुराले मात्र मानिसको बैराग्यलाई शान्त पार्न सक्दछ ? व्यक्तिको श्रम गर्ने र उत्पादन गर्ने क्षमतालाई भुत्ते बनाउँदै पाठ, जप र ध्यानमा लगाउनु कति जायज हुन्छ ? खाउँ–खाउँ र लाउँ–लाउँ उमेरका ईलाहरुलाई यसरी धर्म कर्मका नाममा सडाउनु र केही मुठ्ठीभर नरपशुहरुको यौनकामना पूरा गराउनु उचित विषय हो ? राज्य संयन्त्रले धर्मको आवरणमा सञ्चालनमा रहेका यस्ता स्थानहरुको आवधिक अनुगमन गरी बस्तुस्थितिको जायजा लिने र आवश्यक कारबाही गर्नु पर्दैन ? यि यस्ता गम्भीर सवालहरु हुन् जसको जवाफ ढिलोचाँडो खोज्नुपर्ने भएको छ ।

‘गुरु आसन’ को आरम्भ दु:खद कथ्यबाट हुन्छ र अन्त्य पनि दु:खद दृश्यबाटै भएको देखिन्छ । परन्तु, ईला कथित गुरुप्रतिको प्रतिरोधको भावना सहित फलफुल काट्न राखिएको छुरा लिएर आफ्नो कोठाबाट बाहिरिएकी छन् । तर उनको मिशन सफल हुन्छ कि हुँदैन ? पाठकलाई एक खालको नमेटिने र बिर्सनै नसकिने कौतुहलता बाँकी रहन्छ । पाठक चाहान्छ ईलाले गुरु नामको नरभक्षीलाई सशक्त पाठ सिकाओस् कि त्यसउप्रान्त उसले कुनै नारीलाई दुर्नियत राखी आँखासम्म जुधाउने हिम्मत नगरोस् । तर कथा यसरी टुङ्गिन सकेको छैन । कथाकारले पाठकको खुल्दुलीलाई अनन्तसम्म कायम राख्न चाहेकाछन् । अब यसो भैदिए हुन्थ्यो भन्ने पाठकको अपेक्षा आफूमा समाहित गर्न सक्नु कथाकारको कथालेखनीको अर्को उल्लेख्य पक्ष बनेको छ ।

विवरुका कथाहरु मा सङ्गृहीत विजय सागरकृत पाँचवटै कथाहरुले नेपाली अर्ध–शहरीया जीवनमा भेटिने पारिवारिक ढाँचा, नातासम्बन्ध, बिहेवारी, मिलन–बिछोड, धर्म–संस्कार, दु:ख–सुख आदिका ’bout कुनै न कुनै कोणबाट विषयछेदन गरेको देखिन्छ । प्रस्तुत कथाहरुले कुनै न कुनै कोणबाट संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका आधुनिक नेपालीजनहरुको बहुलवादी तथा दोधारे जीवनशैलीका विविध पाटाहरुलाई अभिव्यञ्जित गरेको देखिन्छ । वास्तवमा हाम्रो समाज चुस्तदुरुस्त र चिरिच्याँट्ट ढंगले अगाडि बढेको अवस्था छैन । हाम्रा सामु थुप्रै गाह्रासाह्रा, नराम्रा र कुरीतिपूर्ण अभ्यासहरुको खातैखात छ । त्यस्ता दुस्कर फोहोरमैला र कसेरहरुलाई बडारबुडुर पार्नुपर्ने आजको अपरिहार्यता हो । तर यस दिशामा हाम्रो समाज र यसका निकायहरु उद्दत छैनन् । त्यसैले आफ्ना कथाहरुभित्र कथाकार विजय सागर असन्तुष्ट छन्, बेखुशी छन् र विद्रोही बन्न चाहेका छन् ।

विजय सागरका कथाहरुले सामाजिक/आर्थिक असमानता र विसमताबाट उत्पन्न बिप्ल्याँटो मानवीय परिस्थितिको तिख्खर चित्रण गरेकाछन् । तन्नम खालको गरिबीको दुष्चक्र, विपन्नता, बेरोजगारी र दुरुह पारिवारीक समस्याले समाजमा पार्ने असरको खुल्ला प्रस्तुति कथाहरुमा भेट्न सकिन्छ । कतिपय कथाहरुमा कठिनसाध्ये जीवन संघर्षबाट निसृत मानसिक अस्थिरता, असन्तुलन, पीडा, तनाव आदिको सपाट वर्णन गरिएको छ । ‘दरिद्र’ कथा यस्तै विषय वरिपरि घुमेको तिख्खर कथा हो । यसका अलवा ‘दान’ कथामा जस्तो पुरानो पुस्ता र नयाँ पुस्ताबीचको मान्यतागत एवं वैचारिक द्वन्द्व प्रकटीकरण गर्नु तथा विद्रोहको स्वर प्रतिध्वनित गराउनु सङ्ग्रहित कथाहरुको बलियो पाटो हो । ‘गुरु आसन’ जस्ता कथामा कथाकारले वैयक्तिक चेतना र शसक्तीकरणप्रति जोड दिएकाछन् । सारमा यिनका प्राय: सबै कथाहरु सामाजिक यथार्थवादी ढाँचाका छन् ।

सङ्गृहीत कथाहरु मार्फत कथाकारले सद्भाव, सहकार्य, सहमती, शान्तिप्रियता, सदाचार, कर्तव्यपरायणता, अनुशासन जस्ता नैतिक मूल्यहरु स्थापित गर्न चाहेकाछन् । कथामा प्रयुक्त सहज, सन्तुलित र सम्प्रेष्य पङ्तिहरुले पाठकको ध्यान कथाको अन्त्य नहुञ्जेल खिचिरहन सक्षम छन् भन्ने विश्वास गर्न सकिन्छ । देश र जनताले भोग्नुपरेका चुनौतिपूर्ण वास्तविकता, गिर्दो मानवीय सम्बन्ध र ठूलाठालू भनाउँदाहरुको कुटिल, भ्रष्ट तथा निच चरित्रको पर्दाफास गर्न कथाहरु प्रयत्नरत देखिन्छन् । मूलत: विकासको मूलधारबाट बञ्चित गरिब र निमुखाहरुको अन्तरव्यथा र मर्मलाई अवलोकन गर्न कथाहरु सहयोगी बन्न सकेकाछन् । सागरका कथाहरुले एकातर्फ समकालीन समाजको विद्रुप यथार्थको चित्रण गर्न प्रयत्न गरेको देखिन्छ भने अर्कातर्फ सामाजिक न्यायका लागि दृढतापूर्वक वकालत गरेको भेटिन्छ । नागरिकका वैयक्तिक पीडा, क्रन्दन, शोक र आक्रोशहरुलाई कथाका माध्यमबाट सामान्यीकरण गर्दै तिनका विरुद्ध आवाज बुलन्द गर्न सक्षम छन् कथाकार । तर कतिपय कथाको सामान्य खालको टुङ्ग्याउनीले धेरै कुराको अपेक्षा गरिरहेको पाठकलाई हिस्स बनाउन सक्दछ । यतातर्फ कथाकार सचेत हुन बान्छनीय देखिन्छ ।

आफ्ना कथाहरु मार्फत कथाकार सागर सर्वेभवन्तु सुखिन: को पक्षमा उभिन चाहान्छन् । सत्यम्, शिवम्, सुन्दरम्को पक्षमा निष्ठापूर्वक लाग्ने मनशाय राखेर नै कथाकारले आफ्ना पात्र/पात्रालाई समाज, कानुन, मर्यादा र आत्मिक अनुशासनमा बस्नका लागि उक्साइरहेका भेटिन्छन् । सुख, समृद्धि, सफलता, सम्पन्नता, साथ, समर्थन, सद्भाव, स–हृदयताका पक्षमा कथाकार दृढतापूर्वक दरिन चाहन्छन् । कथाको माध्यमबाट अन्याय, अत्याचार, असमानता, अस्तव्यस्तता, अभाव, अप्ठ्यारो, अचाडुपन, बेथिति, बेढंगीपन आदिप्रति हुँकार छेडेकाछन् कथाकार सागरले । वास्तवमा ‘दान’ देखि ‘गुरु आसन’ सम्मका पाँचै कथा अत्यन्त मार्मिक छन्, सन्देशमूलक छन् र घोचिला–पेचिला छन् । समाजलाई जागृत र झङ्कृत गर्ने सामथ्र्यका छन् । विजय सागरका कथाले औंल्याएका नकारात्मक विषयवस्तुलाई सकारात्मक ढंगले फेर्ने हो र सकारात्मक कुरालाई निरन्तरता दिन सक्ने हो भने हामीले चाहेको सामाजिक न्यायमा आधारित सुन्दर, शान्त र समुन्नत समाज बनाउन धेरै समय नलाग्ने निश्कर्ष निकाल्न सकिन्छ । कथाकार विजय सागरको कथाकारिताले थप उचाई चुम्न सकोस् हार्दिक सुभेच्छा । अस्तु :

(समालोचक पहाडी शिवालय बहुमुखी क्याम्पस, कुश्मा, पर्वतसँग सम्बद्ध छन् ।)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: