‘यन्त्रवत्’ क्याफेटोरियाबाट देखिएका केही दृश्यहरू

– बी पी बजगाईं, गान्तोक

यो कथालेख तयार गर्नु भन्दा पहिले म फेसबुक बनाउनेहरुलाई धन्यवाद दिन चाहन्छु| मैले कृष्ण बजगाईं भन्ने व्यक्ति छन् अनि उनले राम्रा-राम्रा कथा लेख्छन् भनेर थाहा पाएको थिइनँ| नेपाली साहित्य विदेशतिर पनि लेखिन्छ भन्ने सोचेकै थिइनँ| नेपाली साहित्य विस्तारमा फेसबुकले कतै सहयोग पुर्याउँछ कि भनि यसको प्रयोग गर्न शुरु गरेको केही दिन पछि यस यात्रामा कृष्ण बजगाईं र सन्जु बजगाईंका कथाहरु, राजा पुनियानी र मनोज बोगटीका कविताहरु पड़ने मौका पाएँ| यसरी नै फेसबुक यात्रामा प्रवीन राई ‘जुमेली’ जस्ता भोलिको साहित्यको नौलो संघार भेटें अनि समीर भाइ जस्ता पुराना नेपाली गीतहरुका संरक्षक पनि पाएँ| यहाँबाट शुरु हुन्छ एका-अर्कालाई राम्ररी चिन्ने अनि हातेमालो गरेर अघि बढ्ने नयाँ यात्रा|

हामी फेसबुक भन्ने सडकमा युनिकोड भन्ने बसमा सवार भएर यात्रा गर्दैछौं| झ्यालबाट बाहिर हेर्दा दशैं आउन लागेको सितम्बर महिनाको मौसममा बादलहरुले कपासे रुप लिनथालेका छन्|

सुदुर गाउँमा जन्मेर कहिल्यै शहर नआएको मान्छे शहर आउँदा अलमल्ल परे झैँ भारतेली नेपाली साहित्य पनि विदेश भ्रमणमा गए अलमल्ल पर्ला कि भन्ने लाग्छ मलाई, युनिकोड बसमा सवार मेरा सहयात्री जुमेली ज्यूलाई भन्छु|

हामी मध्ये कसैले गाइड भएर सँगै हिंडाउनु पर्ला, उनी सहजभावमा बोल्छन्|

हुन् त हाम्रो साहित्यको उमेर छिप्पिएको कम्ता भएन, अलिक बुद्धि पुरयाएर नै यात्रा गर्ला जस्तो पनि लाग्छ, मेरो विचार राख्छु|

यस्तैमा बसको छप्पर तलतिर भएका केही स्पीकरहरुबाट एकै चोटी आवाज आउँछन, “हामी केही क्षणमा नै यन्त्रवत् भन्ने क्याफेटोरियामा पुग्नेछौं, थकान हटाउन कफी पिउने अनि स्न्याक्स खानेहरुका लागि केही मिनेट त्यहाँ गाडी रोकिने छ|”

यन्त्रवत् भन्ने क्याफेटोरिया अग्लो बनाइएको रहेछ| वरिपरी पारदर्शी शीशा लगाईएको यहाँबाट धेरै टाडा-टाडासम्मका जीवन दृश्य हेर्न सकिँदो रहेछ|

केही पर एउटा भीडभित्र हलुंगेका भाँडाहरु पगालेर भगवानका मुर्तिहरु बनाउदै थियो एक कारिगर| ‘दिग्भ्रमित स्वप्न’ बोकेको भिखारी लिलावादमा परेर यथार्थवाद भन्दा धेरै टाडा उभिन आफ्नो भीख माग्ने हलुंगेको भाँडा पगाल्न दिँदैछ, लक्ष्मीको मूर्तिले खान दिन्छ भन्ने भ्रम भरे नानीहरुको यथार्थ रुवाइले तोड्ने छ|

त्यसै भीडमा वर्तमानसँग आफूलाई सन्तुलित राख्न अर्को भिखारी रोबोटको खोल ओडेर ‘यन्त्रमानव’ भएर उभिएको छ| सन्तुलनको आवश्यकता बोकेको यथार्थले यन्त्रमानव घनत्ववादी परिवेशमा रहेको बोध हुन्छ| कलमले होइन तर रंग र कुचीले निर्माण गरिए झैँ आधुनिक भिखारी यन्त्रमानव ठिंग उभिएको छ भीडमा|

यस्तैमा सँगै बसेर कफी पिउँदै गरेका मेरा मित्र जुमेली ज्यूले मलाई नजिकैको टेबलमा बसेको एउटा मान्छे तर्फ इंगित गर्दै भन्नु भयो, “उ त्यो मान्छेको रवाफ हेर्दा यहाँको नेता जस्तो पो छ त…”

हाम्रो गफ सुनिरहेका कृष्ण बजगाईं कौतुहलतावश त्यस मान्छेको छेउमा जान्छन् र आफ्नो कलम जानी-जानी झारेर कलम टिप्ने बहानामा त्यस मान्छेको जुत्ता नजिक आफ्ना आँखा र कान लान्छन्, अनि कलम टिपेर फर्कन्छन्|

“तपाईंहरुले ठिकै ठम्याउनु भयो, उ नेता मात्र होइन मन्त्री पो रहेछ,” कृष्ण ज्यूले हामीलाई भन्छन्| “पलिश दलेर टल्काएको ‘मन्त्रीको जुत्ता’ -मा थुप्रै गरिबहरुको बिम्ब छ| अनि पीडाका आवाजहरु आइरहेको छ जुत्ताबाट,” उनी अझै थप्छन् जानकारी| प्रभाववादी छ उनको परिक्षण|

“सित्तैमा…सित्तैमा…! आउनुहोस हजूर सित्तैमा एकभारी दाउरा लैजानुहोस्| राम्रो सुकेको दाउरा छ….,” क्याफेटोरिया बाहिरको आवाजले मेरो ध्यान झ्याल बाहिर जान्छ|

देख्छु, सित्तैमा दाउरा लाने मान्छेको भीड जम्मा हुन्छ त्यहाँ| एउटा बलियो मान्छेले दाउरा लान आँटेको बेला श्रमको ‘मूल्य’ बताउँदै उ भन्छ, “दाउरा सित्तैमा लानुहोस तर बोकेर ल्याएको ज्याला ३० रुपिंयाँ भने दिनुहोस|” प्रगतिवादी चिन्तन बोकेर उभिएको दाउरे देख्दा म दंग पर्छु| सित्तै लीलामा थुप्रिएका मान्छेहरुको भीड स्वतः घटेर जान्छ सापेक्षिक यथार्थसँग डराएर| सार्विक जीवन दर्शाएको छ ‘मूल्य’ –ले|

यस्तैमा अलि पर तीन जना पुरुषहरु आँखाभरी आँसु बोकेर कफी अर्डर गर्दैछन्| सबैसँग सबै घटनाको सम्बन्ध हेरिदिने चरित्र बोकेका कृष्ण ज्यू उनीहरुसँग गएर सोध्छन् अनि केही जाने जस्तो गरी हाम्रो टेबलमा आएर भन्छन, “एक जनाको पत्नी, अर्कोको प्रेमिका अनि तेस्रोको नानीको आमाले आजै आत्महत्या गरिछे|”

“कस्तो संयोग! एउटै पीडामा रहेका अलग-अलग तीनजनाको भेट कसरी भएको होला?” मेरो उत्सुकता|

“अलग-अलग होइन, पत्नी, प्रेमिका अनि नानीको आमा भने एउटै महिला हुन् रे…, यी तीनै जना अपूर्ण पुरुष भएकोले पूर्ण पुरुषको यात्रामा आत्महत्या गरेकी रे…,”

विसंगत अस्तित्व बोकेकी महिलाको ‘पूर्णता’ खोज्ने आत्महत्याले आत्मपराजयी जटिलतालाई खोतल्ने प्रयास गरेको छ अनि विसंगतिको बोधमा तीनै जना अपूर्ण पुरुषहरु सँगै उभिएका छन अन्तसम्म|

पर काउन्टरमा अर्का एक नेताजी विदेश भ्रमण सकेर स्वदेश आई पुगेका रहेछन| अहिले उनले पिएको एक कप कफिको बील तिर्न करेन्सी नोटको एक बिटा निकाल्दैछन| मन्त्रीले सारंगी पेट भएका आफ्ना जनताका लागि मोटोपन रोक्न तयार पारेको औषधि ल्याएका छन रे’, भरे राहतको रुपमा बाँड्ने अरे| वैयक्तिक प्रतिकवादी सारंगी पेट सोच्दै हुन्छु, तल बसले हर्न बजाउँछ| हामी हतारिँदै काउन्टरमा गएर बील भुग्तान गर्छौं| क्याफेटोरियाबाट अझै दृश्यहरु देखिंदैछन्, तर बसले हर्न बजाएकोले यतिमात्र हेर्ने मौका पाएँ|

यहाँ देखिको अघिको यात्रामा जुमेली ज्यू र मेरो माझमा बसेर गफिन थाल्छन कृष्ण बजगाईं| मृत्यु पछिको व्याखा-अपव्याखाले वलात्कृत बन्न पुग्छन् मृतकहरु, ‘बलात्कार’-को परिभाषा अनि गाँठो खोल्छन् उनी| मान्छे मात्रमा लागु हुने analytico-synthetic character of imagination processes –को मिठो उदाहरण दिन्छन कृष्ण ज्यू|

साना शिशुहरुले म आमालाई सुनाउन रोएको हुँ, तिमीलाई सुनाउन होइन भने झैं non-formal communication ‘घुम्ने कुर्सी’ – ले दिएको हुन्छ भन्छन् उनी| केवल सत्ता परिवर्तनको उराठ लाग्दो उदाहरण सजिलो दिन्छन उनी|

उनी धेरै कुराहरुका रहस्य खोल्छन्| psychological defence of self concept –मा मान्छेले अरुलाई ‘कुकुर’ देख्छ, reality in form of concrete images भन्ने मनोविज्ञानको कल्पना अनि समस्याको अवस्थामा ‘नयाँ सुट’ लगाएको कर्मचारीलाई अधिकारीले हेर्छन भन्छन उनी| प्रत्येक ठोस वस्तुहरुमा उनले देखेको आयामहरूको जानकारी दिँदै हुन्छन उनी| यस्तैमा तकनिकी गडबडीले गर्दा होला मेरो इन्टरनेटको लाइन डिस्कनेक्ट हुन्छ| कृष्ण ज्यूका धेरै कुराहरु थाँतीमा नै रहन्छ| फेसबुक सडकमा युनिकोड बस टक्क रोकिन्छ| पर क्षितिजमा बिहानीको ठूलो घाम कलिलो देखिन्छ| मेरो, कृष्ण ज्यूको अनि जुमेली ज्यूको अनुहारमा बाहिरको सुनौलो प्रकाशले झ्यालबाट छिरेर उज्यालो छरिरहेको हुन्छ|

बिहानीको त्यस प्रकाशमा हिज्जेहरुमा केही ध्यान पुरयाउनु पर्ने यन्त्रवत लघु कथा संग्रहभित्रका कथाकार कृष्ण बजगाईंको गुरु विचारहरु उनको आँखामा प्रतिबिम्बित बन्दैछन्|

Advertisements

१ टिप्पणी (+add yours?)

  1. Raja Puniani
    सेप 08, 2010 @ 05:20:26

    Prayog ramro cha hai Bajgaidajyu…

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: