सार्विक सत्यमा उभिएर खगेन्द्र पन्धाकको ढुङ्गा बोल्छ

सार्विक सत्यमा उभिएर खगेन्द्र पन्धाकको ढुङ्गा बोल्छ

-बी० पी० बजगाईं (७ फरवरी २०१२, राती १०:०३ बजे IST)

कमिलाबाट सिकेको ज्ञान-बाटोहरुको  कुनै अन्त्य छैन…., म एउटा कथा पड्दैछु| खगेन्द्र पन्धाक लिम्बू ज्यूले आज मात्रै मेरो फेसबुक वालमा उनको कथा ट्याग गरेका रहेछन्| ‘ढुङ्गा बोल्छ’ शीर्षकमा लेखिएका कथाका विभिन्न वाक्यहरुमा सार्विकतावादको निम्ती न्याय बोलिएको झैं लाग्यो मलाई| हुन त खगेन्द्र ज्यूले सार्विकतावाद पढेर अथवा त्यसको घेरोभित्र रहेर उक्त कथा लेखेका होइनन्, तर कथाले कसरी न्याय बोलेको छ भन्ने केही दृष्टान्त यहाँ दिन गइरहेछु|

सार्विकतावादले भन्छ: “वर्तमानसम्मको वस्तुगत वास्तविकता, त्यसको गतिका सबै रुपहरुको भूत द्रव्यलाई स्पष्ट र बौद्धिक तर्कको आधारमा सामयिक लेखनको परिपाटी नै सार्विकतावाद हो|”

कथामा लेखिएको छ: “यो आत्मलघुताभाष पनि हो र म भित्रको एक चुनौती पनि हो । “

न्याय यसरी बोल्छ: आत्मलघुताभाष बोकेर चुनौती उभिनु चाहिने मुख्य सामग्रीहरु नै वर्तमानसम्मको वस्तुगत वास्तविकता, त्यसको गतिका सबै रुपहरुको अध्ययन हो|

सार्विकतावादले भन्छ: “उत्तर-आधुनिक भनेको वर्तमानभन्दा अघाड़ि बढेको स्थिति हो| वर्तमानभन्दा अघाड़ि बढेको स्थिति भनेको भविष्य हो| यसैले उत्तर-आधुनिकवाद भनेको भविष्य सम्बन्धी वाद भनेको हो| तर उत्तर-आधुनिकवादको प्रवृत्ति भने भविष्य सम्बन्धमा ठयाम्मै मेल खाँदैन| यसरि नाम एकातिर अनि काम अर्कोतिर कुदिरहेको उत्तर-आधुनिकवादले वैचारिक विश्रृंखलता बोकेको छ|”

कथामा लेखिएको छ:  कायाकल्पबाट  कायापलटको  परिवर्तनसम्म  आउँदा कमिला  वा  एउटा  कितपतङ्ग  जत्ति पनि हुन नसकेको उत्तर आधुनिक एउटा मान्छे ।

न्याय यसरी बोल्छ: उत्तर-आधुनिकवादले वैचारिक विश्रृंखलता बोकेको हुन्छ र नै कथामा उभिएको मान्छे कायाकल्पबाट  कायापलटको  परिवर्तनसम्म  आउँदा पनि एउटा  कितपतङ्ग  जत्ति पनि हुन सकेको छैन|

सार्विकतावादले भन्छ: “वर्तमानमा घटित नियमसंगत आरोहको मात्र अध्ययन नगरेर नियम विपरित अवरोहको पनि सार्विकतावादले जाँच गर्दछ र त्यसको कारणको पत्तो लाग्दछ| यसरी उपलब्ध भएका त्यस्ता कारणहरु अनि निवारणलाई यस वादले सापेक्ष सौन्दर्यको रुपमा प्रस्तुत गर्दछ|”

कथामा लेखिएको छ:  तर मलाई पनि कुनै आपत्ति रहनेछैन कि त्यो बलात्कृत गर्भवती केटी स्वयं मै हुँ। जो, न्यायको बाटोमा सफलता प्राप्त गर्न दुई जीऊ सहित य यहाँ छु । मेरो पेटको बच्चालाई यो प्रशासन, देश र भविष्यले कसरी सम्बोधन गर्छ ? म पनि हेरुँला ! अन्तिम सत्य त मसँग नै छ ।

न्याय यसरी बोल्छ: बलात्कृत हुनु सामाजिक अवरोह हो| “मेरो पेटको बच्चालाई यो प्रशासन, देश र भविष्यले कसरी सम्बोधन गर्छ ? म पनि हेरुँला ! अन्तिम सत्य त मसँग नै छ” कथन क्रान्ति घटित भएको सौन्दर्य हो| अन्तिम सत्य भनेको कथा लेखनकालको अथवा पठनकालको सापेक्षिक सत्य हो| ’cause यहाँ पात्र वर्तमानकालमा बोलेकी छे|

सार्विकतावादले भन्छ: “अनुमान अमुर्त हुन्छ, यसैले बेग्ला बेग्लै मान्छेको बेग्ला बेग्लै दृष्टिपरक डिग्रीमा चेतनाबाट चिन्तन परावर्तन भइरहेको हुन्छ| भविष्य’boutमा संज्ञानको कुनै निश्चितता हुँदैन भन्ने कुरा सार्विकतावादले मान्दछ|”

कथामा लेखिएको छ:  एउटा अपराधीलाई भगाएर अपराधलाई छुपाउन सकिन्न । हरेक सत्यहरु आफैं कुनै वेला महान विजय बनेर देखा पर्नेछन् । त्यो सत्य म हुँ म र विजय पनि मै हुँ ।

न्याय यसरी बोल्छ: अनुमान अमुर्त हुने भएकोले नै अपराधीलाई भगाएर अपराधलाई छुपाउन सकिन्न| किनकी भविष्य’boutमा संज्ञानको कुनै निश्चितता हुँदैन| यसैले कथामा बेग्ला बेग्लै दृष्टिपरक डिग्रीमा चेतनाबाट चिन्तन परावर्तन भएकोले नै सत्यले अर्को सापेक्षिक सत्य गर्भ बोकेर सत्य र विजय उभ्याइएका छन्|

सार्विकतावादले भन्छ: “आरोहित अथवा अवरोहित मानिलिइएका सबै परिवर्तनहरुमा अर्थक्रियात्मक रचना अथवा विरचना हुँदछ| विरचना पनि नवरचनाको प्रमुख संघटक अवस्था भएकोले विनिर्माणलाई पनि व्यावहारिकतावादकै सममूल्यभित्र सार्विकतावादले हेर्दछ|“

कथामा लेखिएको छ:  हनुमानढोका जेलमा अँधेरो भित्ताको कालो पृष्ठमा सेतो अक्षरले लेखिएको यो पूर्ण लघुवाक्य जुन अर्थले लेखिए पनि मैले एक शक्तिशाली लघुकविताको रुपमा लिएकोछु ।

न्याय यसरी बोल्छ: ‘ढुङ्गा बोल्छ’ लघुवाक्य अर्थक्रियात्मक रचना बन्न सक्षम बनेको कथा ढुङ्गा बोल्छ’| ’cause सामाजिक प्रतिष्ठा विरचना भएर गर्भको रुपमा नवरचनाको प्रमुख संघटक बनेको छ यहाँ बलात्कार| विनिर्माणलाई पनि व्यावहारिकतावादकै सममूल्यभित्र हेर्ने सार्विकतावादको सुन्दर उदाहरण बनेको छ यो कथा|

सार्विकतावादले भन्छ: “प्रतिरोधात्मक क्रियाकलापमा प्रतिफलित उर्जाले वस्तुताको मान्यताहरुसँग अन्तरक्रिया गर्दछ र वस्तुको केन्द्रिय तत्वसँग नयाँ संरचनाको विकास गर्दछ|”

कथामा लेखिएको छ:  तर मलाई पनि कुनै आपत्ति रहनेछैन कि त्यो बलात्कृत गर्भवती केटी स्वयं मै हुँ। जो, न्यायको बाटोमा सफलता प्राप्त गर्न दुई जीऊ सहित य यहाँ छु ।

न्याय यसरी बोल्छ: अन्तमा कथाको पात्रालाई बलात्कृत गर्भवती हुनुमा कुनै आपत्ति रहेको छैन| बलात्कार, घृणा, ठोकर, सामाजिक चाप र जेलको कालो कोठाको सम्मिश्रणले चेतनाको केन्द्रिय तत्वसँग नयाँ संरचनाको विकास गर्न सक्षम बनेको छ कथा ढुङ्गा बोल्छ’| वर्तमान प्रयोगांशको रुपमा यो कथा पड्दा नेपाली साहित्य अझै धेरै लामो बाँचिरहने छ भन्नसक्छु| ||समाप्त||

उपरोक्त समिक्षामा परेको मूल कथा जस्ताको तस्तै-

ढुङ्गा बोल्छ

-खगेन्द्र पन्धाक लिम्बू

कमिलाबाट सिकेको ज्ञान-‘बाटोहरुको  कुनै अन्त्य छैन । त्यसैले यात्राको पनि कुनै समाप्ति छैन ।’  जान्दा-जान्दै पनिआफ्नै यात्रा चाहिं  हर घुम्ति,गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ । कायाकल्पबाट कायापलटको परिवर्तनसम्म आउँदाकमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन नसकेको उत्तर आधुनिक एउटा मान्छे । यो आत्मलघुताभाष पनि हो र मभित्रको एक चुनौती पनि हो ।

हिंड्दा-हिंड्दै आफैं जन्मे-हुर्केको माटोमा होस्, या,  कोलम्बसले  भेटेका  भूमिमा होस। वा  बर्षौ  लडेर  मान्छेले आफ्नोअधिनस्थ घोषणा गरेको साम्राज्य नै होस् । मान्छेले स्वतन्त्र  टेक्न कठिन भएकोछ । लघुताभाषको ढाकरले थिचिंदै विष्मयको अक्करेभीरमा पुग्छु । उँभो आकास ढाकेर ढुङ्गे पहरा अहमवादमा निर्लिप्त छ । तल खोँचभित्रको गहिराईमा कोशी कहाली लगाउँदै मभित्र भयवादको जरा गाड्न खोज्छ । भित्तातिर फर्किएर तुर्के लाउँछु । बुझ्छु-गतिशीलताको एउटा पाठ, जो कोशी झैं आफ्नै पिसाब निरन्तर बग्ने कोशिसमा छ । पिसाब बगे झैं म अघि बढ्छु ।

यो साला काठमाडौ ! मैले बुझ्न नसकेको वा  मलाई बुझ्न नसक्ने सहर ! मलाई यहाँ फाप्दैन । गाउँलेलाई ठगेर  बलियो भई आएका बदमासहरु यहिं बस्छन् । दलाल, चाकडी, लेखक, कलाकार, नेता, विध्यार्थी सबै कोचिएका छन् यहाँ । गाउँबाट सपनाको ढाकर बोकेर आएका मै जस्ता विलखवन्दहरु भविष्य खोज्दै गल्ली र सडक नापिरहन्छन् यहाँ । कोहि न्यायनिसाफ खोज्दै आइपुगेका हुन्छन यहाँ । अचेल मेरो डेरा पनि यहिं छ । प्राईभेट कार्यालय, मन्त्रालय, सडक, गल्ली कतै पनि म अट्दिन ।

‘ढुङ्गा बोल्छ ।’

हनुमानढोका जेलमा अँधेरो भित्ताको कालो पृष्ठमा सेतो अक्षरले लेखिएको यो पूर्ण लघुवाक्य जुन अर्थले लेखिए पनि मैले एक शक्तिशाली लघुकविताको रुपमा लिएकोछु ।

‘ हो, मैले राज्यमन्त्रीलाई चड्कन हानेकै हो ।‘

ढुङ्गा बोल्छ, म किन नबोलूँ ? तर त्यो मौखिक थप्पड थियो । त्यसैले मानहानीको  मुद्धामा मलाई यहाँ ल्याईएको थियो ।

मन्त्रालयभित्र नै एसो भनेको थिएँ-

‘तँ चोर होस् । सारा गाउँलेलाई लुटेर यहाँ आएको गुण्डा होस् । यसर्थ: कि जनताको नागरिक अधिकार दुरुपयोग गर्ने तँ बदमास् होस् । चोर,गुण्डा र अपराधी पाल्ने तँ महापापिष्ठ होस् ।‘

ऊ हामीले नै बनाएको शक्तिशाली मान्छे  । हिजो, ऊ हाम्रो सहयोग माग्थ्यो । आज ‘गाउँमा बलात्कृत एउटी युवतीको न्यायको निमित्त बोलीदिनु पर्यो’ भनेर अनुरोध गर्दा हामीलाई घोक्ररठ्याक लगाएर बाहिर निकाल्ने आदेशवाला ब्यक्ति । उसको कार्यालयमा पनि हामीलाई दमन गरिएकोले प्रतिकारमा त्यो गालीको थप्पड फर्काएको थिएँ ।  थाहा थियो कि उसका सहोदर भाञ्जा नै त्यो बलात्कारी थियो । त्यसैले पनि उसैको निर्देशन बमोजिम अदालतबाट त्यो मुद्धालाई तुहाउने कोशिस भएकोथियो ।

बितेको सात महिना अघिको त्यो बलात्कारको मुद्धा अहिले पनि उस्तै छ । अपराधीले न कुनै सजायँ पाएको छ, न पीडकले कुनै न्याय नै  । सात महिनामा त महिलाहरुको गर्भमा नयाँ जीवन नै निर्माण भइसकेको हुन्छ, किन नदेखुन अरुले दुईज्यान भइसकेको ! बलात्कार भएकैदिन दर्ता भएको मुद्धा आजसम्म पनि कतैबाट पनि नहेरिएकोले गाउँलेहरु फेरि त्यस्ता अपराधहरुबाट पीडित हुने भयले निरस भएता पनि म भने त्यसको न्याय निसाफ निकाल्न अझै जागरुक नै थिएँ । मभित्रको दृढ संकल्प भने अझ बढ्दोथियो ।

सत्ता र शक्तिको दुरुपयोग गरेर रातो पासपोर्ट्मा आफ्ना भाञ्जालाई अमेरिका पठाएको तथ्य पनि थाहा भएकै हो । गततीनहप्ता अगि मात्र ऊ त्यहाँको ग्रीनकार्ड होल्डर पनि भईसक्यो । एउटा अपराधीलाई भगाएर अपराधलाई छुपाउन सकिन्न । हरेक सत्यहरु आफैं कुनै वेला महान विजय बनेर देखा पर्नेछन् । त्यो सत्य म हुँ म र विजय पनि मै हुँ ।

जेलमा मलाई खाना पुर्याउन आउने एक आफन्तको हातबाट यो लेख बाहिर पठाएपछि पत्रिकामा ठूलै ठाउँ पायो । मेरै हस्तलिपीमा छापिएको यै लेखको कारण जनताको एकोहोरो दबाबले बाध्य बनेपछि प्रशासनले पक्रिएर ऊ पनि अहिले यै जेलमा पुगेको छ । उसले मसँग मिल्न धेरै प्रतक्ष-अप्रतक्ष सूचनाहरु मलाई बाँड्दैछ अहिले  । र, वेला-वेला  खिस्स-खिस्स मुस्कान दिईरहन्छ । म भने यै लेख उसले सुन्नेगरी ठूलो आवाज निकालेर वाचन गरिरहन्छु । मलाई थाहा छ-चाँडै उ यहाँबाट छुटेर जानेछ । तर मलाई पनि कुनै आपत्ति रहनेछैन कि त्यो बलात्कृत गर्भवती केटी स्वयं मै हुँ । जो, न्यायको बाटोमा सफलता प्राप्त गर्न दुई जीऊ सहित य यहाँ छु । मेरो पेटको बच्चालाई यो प्रशासन, देश र भविष्यले कसरी सम्बोधन गर्छ ? म पनि हेरुँला ! अन्तिम सत्य त मसँग नै छ ।

सत्यलाई जालझेल गरेर कुनै ठाना र जेल बन्धक गर्न सकिंदैन । म थुनुवा छैन म, सत्य हुँ, मेरो पेटको बच्चा सत्य हो ।

मेरो नोटको यो लेख  जब ठूलो स्वरले वाचन गर्छु- ऊ पल्लो पुरुषकक्षमा बहुलाईरहन्छ एकोहोरो ।

‘ढुङ्गा बोल्छ ।‘

भित्ताको यो वाक्य कसैले उच्चारण गर्दा उ पागल झैं बोल्छ –

‘हो ! हो ! हो ! ढुङ्गा बोल्छ । मेरै भाञ्जा हो त्यो बलात्कारी ! उसले सजायँ पाउनैपर्छ ।‘

एतिखेर मैले कमिलालाई सम्झिरहेकै थिएँ । हो, यात्राको अन्त्य छैन नि । हो,ढुङ्गा बोल्यो ।

स्वविश्वासले आफ्नै बगेको पिसाब झैं संकल्पलाई गतिशिलता दिईरहेकोले आफैं हौसिएको थिएँ ।

‘ ढुङ्गा बोल्छ ‘

उसको एकोहोरो आवाज जेलभरी थर्किरहेथ्यो ।

———————————————-    बैंकक, थाईल्याण्ड

Advertisements

१ टिप्पणी (+add yours?)

  1. pragati rai
    फेब 08, 2012 @ 05:11:05

    ramro bicharko lagi sadhuvad yahalai !

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: