रोडम्यापभित्रका कृष्ण बजगाईं

रोडम्यापभित्रका कृष्ण बजगाईं: एक अवलोकन (भाग-१)

-बी पी बजगाईं, गान्तोक।

Mr. Krishna Bajgain

परिचय: आजको विश्व विकासको द्रुत गतिमा अघि बढ्दो छ। यो विकास कै लागि हो की विध्वंसको लागि हो भन्ने उत्तर समयको गर्भमा छ। तर मानिसहरु द्रुत विकासको गतिमा आफ्नो पाइलाहरुको गति मिलाउनमा व्यस्त छन। फुर्सद छैन कसैलाई। वर्तमान व्यस्त जीवन-शैलीमा साहित्य पड़ने फुर्सदसम्म छैन आज। मानिसहरुले साहित्य पड़ने मन गरे पहिले मनको इन्ची-टेपले लेखनको लम्बाई नाप्छन अनि लामो भए पडन अल्छि गर्छन।

अब त भन्न मन लागेका कुराहरु छोटोमा भन्ने थालनी हुनु पर्छ, लेख्न मन लागेका कुराहरु छोटोमा लेख्ने बानी बसाल्नु पर्छ। त्यसै गरेका छन कथाकार कृष्ण बजगाईंले आफ्नो लघु कथा-संग्रह ‘रोडम्याप’-मा।

लेखकीय चिन्तन: साहित्य संसारमा दुइ थरिका लेखक हुन्छन्। पहिलो थरिका लेखक कुनै निश्चित वादभित्र बसेर त्यसै परिधिमा लेख्छन अनि वादले कथा-खेतीमा थुप्रै विरुवाहरु उम्रन दिएको हुँदैन। दोस्रो थरिका लेखकहरु पहिले लेख्न मन लागेका कुराहरु वाद परिधिबाट बाहिर बसेर लेख्छन अनि अन्य समालोचकले भन्छन् लेखकले कुन वादको प्रयोग गरे भनेर। मेरो आफ्नै व्यंग कविताको पंक्तिले कवि गोष्ठी शीर्षक कवितामा भनेको छ, “कविको कलम पछि-पछि कुद्न् पर्ने वादहरू, अघि-अघि कुदिदिन्छन्, परैहरु कुन्नि के वादी कवि यसरी बनिदिन्छन्।”

कथाकार कृष्ण बजगाईंले रोडम्यापभित्रका कथाहरुको लेखनमा आफूलाई स्थापित मान्यताहरुबाट अलग राखेर कथा लेखेका छन्। उनको रोडम्यापभित्र अलग-अलग ६२ वटा कथाहरुभित्र भिन्दा-भिन्दै दर्शन लुकेको छ। यहाँ स्थानाभावको कारणले सबै कथाहरुबारे चर्चा गर्न नसकेतापनि यसभित्रका दश कथाहरुलाई भने यस लेखमा समाहित गरिएको छ।

प्रयोगहरु: वर्तमान यथार्थ जस्तो छ ठीक त्यस्तै लेखिएका कथाहरु धेरै पाएँ संग्रहमा। यान्त्रिक भौतिकवादको अनुपम उदाहरण प्रस्तुत गर्दै ‘यन्त्रवत २’ कथामा बजगाईंले क्लासिकल जर्मन दार्शनिक हीगेलको द्वन्दात्मक प्रत्ययवाद अनि फायरबाखको यान्त्रिक भौतिकवादको सम्मिश्रण गरेर मार्क्सको द्वन्दात्मक भौतिकवादभन्दा भिन्दै यथार्थ पाठकलाई पस्किन सफल बनेका छन्। यस्ता यथार्थहरु समयको गतिसंगै कुद्ने भएकाले यिनीहरु सापेक्षिक यथार्थ हुन्। यसरीनै उनको कथा ‘बिमार’ अस्तित्ववादको परिधिभित्र रहेर जीवन सत्य बखानेको कथाको रुपमा उभिन सफल भएको छ। कथा संग्रह पड्दा थाहा लाग्छ, कथाकार कृष्ण बजगाईंमा दैनन्दिनीको अनुभव गर्ने अनि मानव जीवन शैलीको तिक्ष्ण निरीक्षण गर्ने कला नैसर्गिक रुपमा छ। समाजका गतिहरुलाई अध्ययन गरेर कलात्मक अभिव्यक्ति गर्न सक्षम बनेका कथाकार बजगाईंले कथा ‘सल्लाह’-मा यथार्थवादी राजनैतिक व्यंग बोकेका छन।

सार्विकतावादको पक्षमा खरोरूपमा उभिएको कथा ‘मानवियता’ –ले सापेक्षिक स्व- अस्तित्व बचाउने भरमग्दुर कोशिष गरेको छ। सापेक्षिक स्व- अस्तित्व बचाईराख्न कुनै पनि वस्तुता अथवा विचारधारात्मक अवस्थाले उसको नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरुको सम्पर्कबाट आफूलाई विछिन्न राख्नु हुँदैन भनेर सर्विकतावादमा सापेक्षिक स्व- अस्तित्वबारे भनिएको छ। कथामा बिरामी छोरी बोकेको पात्रले क्रियाशील शक्तिहरुको सम्पर्कबाट आफूलाई अलग राख्नु हुँदैन भन्ने बुझेको छ।

यसरी नै सामाजिक चेतावनी बोकेको कथा आश्वाशन मानव व्यवहार मापने एउटा राम्रो कथा हो। परस्पर सम्पर्कहरुमा रहेका कथा वस्तुहरुले प्रतिकात्मक रुपमा अर्कै अर्थ बोकेर उभिएको छ यस कथामा। तर यो कथा प्रतिकवादी कथा भने होइन, यो एउटा नवप्रयोग भने हुन् सक्छ।

कथा मित्रता -मा बौद्धिक साम्राज्यवाद कसरी चल्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गर्न सफल बनेका छन कथाकार बजगाईं। यदि समाज, राज्य अनि राष्ट्रमा बौद्धिक साम्राज्य फैल्याउनु परे साम्राज्यवादी शक्तिले दुइ बौद्धिक शक्तिलाई कहिल्यै मिल्न दिदैनन भन्ने तर्क प्रस्तुत गर्न यो कथा सफल बनेको छ।
राजनैतिक भौतिकतामाथि व्यंगात्मक प्रहार गर्दै राजनैतिक विकृति अनि विभत्सता दर्शाउन आफ्नो संग्रहमा कथाकारले कथा रोडम्याप –लाई विषय कथाको रुपमा राखेका छन्। प्रकृतवादको सफल उदाहरण लेख्न सकेका छन उनले यस कथामा। यसरी नै दर्शन कथा पनि यसै परिधिभित्र उभिएको पाइन्छ।

संग्रहमा भएको स्वच्छन्दतावादी कथा भित्री जाडो केवल स्वच्छन्दतावादको परिधिभित्र नबसेर यौनप्रति जीवहरूबाट उत्पादित मानसिक तरंग पनि शक्ति रुपान्तरणको आवश्यक शर्त हो भन्ने सर्विकतावादी चिन्तन बोकेर अंकित भएको छ कथासंग्रहमा।

यसरी नै समाजमा घटिरहने अवसरवादी स्तिथिहरुलाई चित्रण गर्न कथाकार बजगाईंले रोडम्याप कथासंग्रहमा प्रतिनिधि स्वरुप ‘त्रास’ कथा लेखेका छन्। वस्तु, तथ्य अनि तात्कालिक वातावरणको आयामिक अध्ययन गर्न सक्षम बनेका छन् उनी यस कथामा।

उपसंहार: समग्रतामा भनौं भने सार्विक तथ्यहरु बोकेको कथा संग्रह ‘रोडम्याप’ कथाकार कृष्ण बजगाईंले समाजलाई दिएको दर्पण हो, जहाँ पाठकहरुले विभिन्न परिस्थितिमा स्वयंलाई पाउनेछन भन्ने मलाई विश्वास छ। म स्वयंद्वारा प्रतिपादित सार्विकतावाद वर्ष २००१ मा सार्वजनिक गरेको भएतापनि यसको प्रयोग अथवा यसको दर्शन अहिलेसम्म नेपाली साहित्यमा कम मात्रामा पाइएको छ। रोडम्यापमा भएका कथाहरुभित्र भने सर्विकतावादी चिन्तनहरु प्रशस्तै मात्रामा पाइनुले यस कथासंग्रहले सार्विकतावादको पृष्ठलाई बलियो धरातल दिएको देखापरेको छ। समाजमा चलेका चालू प्रयोगहरुलाई वस्तुतासँग जोडेर राखेकाले समग्रतामा सकारात्मक नयाँ तथ्यहरुको सृजना गर्न सफल बनेको छ ‘रोडम्याप’।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: