अदृष्टि, अवाद अनि अकविता बनेर उभिएका बिबश बिप्रका विचार तरंगहरु

– बी० पी० बजगाईं

विवश बिप्र

“दृष्टिहरु आँखाका लागि |

आँखा अदृष्टिका खातिर |”

वस्तुता अनि त्यसलाई सापेक्षिक मुल्यांकन गर्ने तराजु आँखा जहाँ तराजु आफैं भने जोखिएको हुँदैन| मूल्यवोधको कसी कोरिएको हुनुपर्छ, नत्र तराजु नजोखेको राम्रो, चेताउनी दिएका छन् कवि विवश बिप्रले आफ्नो कविता “अदृष्टि, अवाद अनि अकविता” –मा|

“सभ्यताको कठघरामा

अर्धनग्न मेरो घाट

आफ्नैँ छातीको उतारचढाव  देख्न चाहन्छ |

आँखाहरु अदृष्टिका खातिर …..

ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण |”

आज उचित लागेको मान्यताभन्दा पर टाइम मशिनमा भविष्य हिंड्दै कवि बिप्र आजको मान्यतालाई सापेक्षताको टाइम फ्रेममा सजाएर हेर्छन अनि मानवीय मूल्यको कसौटी कमजोर छ भन्छन्| तथस्टताको रेखा कोर्न उतारचढाव हेर्छन र पुनः मूल्यवोधको कसी समझाउँछन् विजेता बनेको क्षणहरुलाई पछि फर्केर हेर्दै|

“अस्थिर अदृष्टि भित्रका आँखाको घम्साघम्सीले

जन्माएको अपक्षीय  बलिदान

अर्थात,

बलिदानीको बहनामा

अदृश्य  एक आँखाको  दाहसंस्कार हुन्छ

जन्मन्छ

एक अर्को अदृष्टि

म यसलाइ असंस्कार भनिदिन्छु  |”

भविष्यप्रतिको अपेक्षित सामाजिक संरचनालाई वर्तमान वास्तविकतासँगको सम्बन्धमा अध्ययन गर्ने शिखर प्रयास गरेकोछ “अदृष्टि, अवाद अनि अकविता” –ले| चेतन र अचेतनको सामुहिक यात्रा नाप्दै बिप्र ज्यूले संस्कारित गरिनुपर्ने असंस्कार होइन तर संस्कारको खाँचो नपरेको असंस्कारलाई उभ्याउँछन् अनि टाइम फ्रेमभित्रका अचाहिंदा आवश्यकताहरुलाई प्रष्ट्याउँछन्| विचारको पछिल्लो दैलोबाट निस्किएको कविता लाग्ने “अदृष्टि, अवाद अनि अकविता” –ले सङ्क्रमण अवस्थाको सामाजिकतालाई बग्रेल्ती छरिनबाट जोगाउने कोशिस गरेको छ|

“एक प्रख्यात असंस्कार

जहाँ

अवशेष खरानीका धुल

सालनालनै नकाटिएको

दुधे  नव-अदृष्टिको आसपास

यता-उता

उता-यता

गरि

/

रहन्छ  |”

यहाँ बिप्र ज्यूको टाइम मशिनले वर्तमान देख्दैछ| सङ्क्रमणका अचाहिंदा आवश्यकताहरुले प्रत्येक भ्रूणहरुलाई प्रभावित पारिरहेको व्यथा देखाएर प्रतिरोधको अशब्द विद्रोह बोल्न सक्षम छन् कवि बिप्र उपरोक्त पङ्क्तिहरूमा|

“कुशका मुर्कुट्टाप्रति समर्पित

सलामीका  छिमेकी झिल्काहरु

स्थानान्तरणको बाहनामा  फलामे टिलाको

घनिभूत ब्यापार-ब्यायाम  गर्दै-रहन्छन |

ठिक त्यस बखत

चि

च्या

छु……”

अब आएर कवि ज्यू विसङ्गतिको खुलेर विरोध गर्छन्| स्थायी संयोजनहरुको समग्रतामा सम्बन्ध विश्रृंखल भएको वोध गरेर कविताले पनि सर्विकतावादी दृष्टि राखेर पल र क्षणहरुका खण्ड-खण्डको वस्तुताको शल्यक्रिया स्वयम गरेको छ| झुटो (कुशका मुर्कुट्टा) आवश्यकतामा प्रक्षेपण (झिल्काहरू) –ले विसङ्गति बोकेकोमा उनको कविताले विरोध बोलेको छ|

“अदृष्टिको भ्रुण चित्ताबाट सुरु हुन्छ |

बलिदानीको ब्यापार सालनाल सँगै अन्त्य हुन्छ |”

अन्त्यमा आएर भूत र वर्तमानको विषयको विकासको क्रमको तार्किक अन्तर्वस्तु अध्ययन गरेर वस्तुगत वातावरणमा अचाहिंदा आवश्यकताहरुको परिणामलाई भयानक देखाउन सफल छन् कवि बिप्र|

“प्रतिफलमा

पुनर्जिवित हुन्छ

—————-अपूर्व अदृष्टि |

म यसलाइ त झन अमर भन्छु  |

नेपथ्यमा  एक्लो अ-प्रकाश

रुख पात-पतिङ्गरमा अखेटो रोप्दैहोला |

यही

असमयको साइत  पारि

अमरत्वको असंस्कार ब्युँझाउन

आँफै उखल्छु आफ्नै परेला |

आफ्नै परेला आँफै उखल्छु |

आँफै आफ्नै |

आफ्नै आँफै  |”

यस कवितामा मेरो विचार टुंग्याउँन अघि कवि विवश बिप्रको चिन्तनले वर्तमानलाई उछिनेर धेरै पर पुगेर सोच्दैछ भन्न चाहन्छु| कला र सापेक्षिक स्व- अस्तित्व’bout सर्विकतावादको सूत्रले सापेक्षिक स्व- अस्तित्व बचाईराख्न कुनै पनि वस्तुता अथवा विचारधारात्मक अवस्थाले उसको नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरुको सम्पर्कबाट आफूलाई विछिन्न राख्नु हुँदैन भन्छ| ठीक त्यहि चिन्तन बोकेको कविता “अदृष्टि, अवाद अनि अकविता” –ले नजिकको वस्तुगत वातावरण अथवा नजिक वा टाढ़ाको विचारधारात्मक क्रियाशील शक्तिहरू रुपान्तरण गर्ने सल्लाह दिएको छ “रुख पात-पतिङ्गरमा अखेटो रोप्दैहोला, यही असमयको साइत  पारि अमरत्वको असंस्कार ब्युँझाउन” भनेर| आँफै आफ्नैको स्वबोध अनि अलग चिन्तन बोकेर|

१ टिप्पणी (+add yours?)

  1. Baldev Bhatta
    अक्ट 03, 2010 @ 04:05:26

    काव्यिक दर्शनमा खरो व्यक्तित्व कवि विप्रको यो युगिन बिचारले नेपाली साहित्य लाइ नया उचाई थपेको छ वा भनु युगिन उचाई तिर उचालेको छ! उनि सस्ता फेहरिस्त लेख्ने कवि हैनन्, कविताको सक्कली पाटोको अपेक्षाकृत आंकलन यिनै बिचारहरु मा पनि प्रष्ट देख्न सकिन्छ! बजगाईं जी लाइ हार्दिक धन्यबाद अनि कवि विप्र लाइ मेरो बधाई छ!!

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: