हस्तक्षेप प्रस्तावना

हस्तक्षेप प्रस्तावना – १

आग्रह

हस्तक्षेप तत्त्वहरू

  • हस्तक्षेप लेखनले अभिव्यक्तिको नयॉं भाषा, नयॉं बाग्धारा, नयॉं मूडको प्रस्तावना गरेको छ। यसमा लोकलबज एउटा मुख्य तत्त्व हो। त्यसपछि यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य, व्यावहारिक दार्शनिकता, घुलनशील वैचारिकता, प्रस्तुतीको कॉंचोपन, लचिलो संरचना, उत्पीड़ित सौन्दर्यमान वाञ्छित तत्त्व हुन्‌।

प्रतिरोध लेखन

  • हस्तक्षेप लेखन भनेको कालबोधविहीन कोरा भावुकता, इतिहासचेचविहीन शब्द उक्ति चातुर्य, समाज अस्पृश्य विम्बजालले आजसम्म लेखिएका वा भोलिपर्सि लेखिने साहित्यको प्रतिध्रुवमा उभिने प्रतिलेखन हो। इतिहास र वर्तमानको समयप्रवाहमा सामन्ती सङ्कीर्णता, औपनिवेशिक दबदबा र सांस्कृतिक साम्राज्यवादको मातहतमा थोपिएको हेजिमोनी चिन्तनको प्रतिचिन्तन गर्छौँ हामी। यही प्रतिचिन्तनको प्रतिफलन हो हस्तक्षेप लेखन। यस अर्थमा हस्तक्षेप लेखन भनेको प्रतिरोध लेखन पनि हो, जसले थोपिएको लेखन मानकको सट्टा एउटा नयॉं लेखन मानकको पैरवी गर्नेछ।

सिर्जनात्मकता र वैचारिकता 

  • हस्तक्षेप विषम व्यवस्थाको त्यो दलनशील दुुर्गद्वारमा सिर्जनात्मक दस्तक दिने तयारीमा छ, जो दलिएका, हेपिएका, पिसिएका, खोसिएका, चुसिएकाहरूको आक्रोशित दस्तक हुनेछ। हस्तक्षेप हल्ला होइन, विचारको हबिगत हो। हस्तक्षेप भीड होइन, सचेत सर्जकहरूको जुझारू लश्कर हो। जनपक्षीय विचारले लैस सचेत लेखन गर्ने समकालीन जिम्मेवार पुस्ताको लेखन भनेको शिक्षा, मिडिया र बजारको माध्यमद्वारा व्यवस्थाले प्रोग्राम गरिने गरिएको पाठकको सोच्ने व्यवस्थाभित्र एउटा सृजनात्मक हस्तक्षेप हो हस्तक्षेप लेखन।

व्यावहारिक एप्रोच

  • हस्तक्षेप पेण्डुलम होइन। आजसम्मका नेपाली भारतीय लेखनमा पेण्डुलमीय प्रवृत्ति विद्यमान थियो। हस्तक्षेप हल्लिने छैन यो दर्शनको किनारदेखि त्यो किनार। नेपाली भारतीय लेखनलाई पेण्डुलमीय व्यवस्थादेखि चौथो आयाम समयको चुल्ठो समातेर हस्तक्षेपले व्यावहारिक एप्रोच दिन खोज्नेछ।

प्रति-हस्तक्षेप

  • हस्तक्षेप त्यो दार्शनिक उजाड़ भीरमा फलेको त्यो चिण्डो हो, जुन खस्छै खस्छ। जनताको मस्तिष्कमा हस्तक्षेप गरेर गजधम्म बसेको सत्ताको हस्तक्षेपमाथि प्रति-हस्तक्षेप भएर। हस्तक्षेप पहिल्यैदेखि विद्यमान छ। जनताको मानसिक जगतमा सत्ताको हस्तक्षेप। यो अर्थमा हस्तक्षेप वास्तवमा प्रति-हस्तक्षेप हुनेछ।

 

सामाजिक मनोवैज्ञानिक एप्रोच

  • ग्लोबलाइजेशनको मारले थलिँदै गएको हुँदा एकालाप, एकरूपीयता, एकावाजले एक्लिँदै र खोक्रिँदै गएको अलगावपीड़ित समाज छ हामीसित। हामीसँग आज आएर समष्टिभन्दा व्यष्टि ठूलो महत्त्वमा पुगेको स्थिति छ। व्यक्तिभन्दा व्यक्तिनिर्मित समाज माथि छ। व्यष्टि महत्त्वपूर्ण छ, तर यसभन्दा बढ़ी महत्त्व बोक्ने जुन समष्टिको एकाइ व्यक्ति हो, उसैको उपलब्धि र पराजय दुवैले। समाजको एकाइ व्यक्तिको ऐतिहासिक पीड़ा, सामयिक घाउ र स्थानगत चोट बुझ्न व्यक्ति मनोविज्ञानले मात्र पुग्दैन। समाज र व्यक्तिलाई नजिकबाट सूक्ष्म कैरन गर्न जसरी इतिहास, राजनैतिक आदर्शवाद, राजनैतिक अर्थनीति आदि जरूरी छन्‌, त्यसरी नै उत्तिकै जरूरी छ सामाजिक मनोविज्ञान। अन्यान्य क्षेत्रले देखाउन नसकेका केही जरूरी पाटा देखाउने क्षमता छ यससँग। सामाजिक मनोवैज्ञानिक एप्रोचको जुन खाड़ल छ नेपाली भारतीय साहित्यमा, त्यही खाड़लमा एउटा पुल हुनेछ हस्तक्षेप।

काइजेन एप्रोच

  • काइजेन अर्थात्‌ निरन्तर विकास। साहित्यलाई निरन्तर विकासको दिशामा अघि बढ़ाउनुपर्ने दर्शनको वकालती गर्छ हस्तक्षेप। यो अद्यावधिको साहित्यमा छँदैछ भन्ने निस्केलान्‌। तर धेरजसो लेखन नै पश्चगामी र प्रतिक्रियावादी छन्‌। हस्तक्षेपले समाजको रूप, त्यसको संस्कृति, समाजको प्रभाव क्षेत्रहरूको अध्ययनमा प्रगतिशील वैचारिकताको दावा गर्दछ।
%d bloggers like this: