ब्युरोक्रेट सूर्य र क्लर्क ताराहरु

                                                                                                                        राजेन्द्र भण्डारी

तिम्रो घाम दफ्तरमा झुल्किन्छ

र दफ्तरमै अस्ताउँछ।

खडेरीले पट्पटी फुटेको खेतमाथि

बादलहरु घुमिरहेछन् तिम्रो सही पर्खेर।

गोरेटाहरु सडक बन्ने सपनामा

तिमीलाई हेर्दैछन्।

नाङ्गाभुतुङ्गा ढाँडहरु शरम छोप्ने चाहनामा

तिमीलाई नै देख्दैछन्।

तिमीले सही गरेपछि कतै चट्याङ पर्छ

इन्द्रेणी लाग्छ कतै।

हर्कबीरको खेतको सिरान-सिरान हुँदै बग्नु कि

मण्डल बुढाको टारीखेत भएर बग्नु

नहरहरु तिम्रो नोटिङ पर्खिरहन्छन्।

तिम्रो पार्थिव शरीर नष्ट भएर गए पनि

तिम्रा सिग्नेचरहरु बाँचिरहनेछन्

शहरका बिल्डिङ भएर

पुल, टावर, सडक, पाठशाला, मन्दिर

अनाथाश्रम, पुस्तकालय बनेर।

स्टेयरिङमा रमाएका तिम्रा मुलायम औंला

र खिड्कीनेर हावासँग जिस्किरहेको तिम्रो टाइलाई

फुटपाथबाट हत्केलाहरु सलामी दिन्छन्।

तिम्रो गाडीले उडाएको शक्तिशाली धूलो

पैदल हिंड्नेका आँखामा परेर बिझाउँछ।

तिम्रो अट्टालिकाको खिड्की बजारपट्टि खुल्छ।

’cause बजारमा तिम्रो सहीको मोल धेरै हुन्छ

’cause बजारमा धेरै मान्छे छन्

जसमाथि चढेर शिखर नाप्न सकिन्छ

मान्छेमाथि चढेर मान्छेकै हतियारले

मान्छेलाई नै ताक्नसकिन्छ।

तिम्रो अट्टालिकाको पछिल्तिरको खिड्की

सधैँ बन्द रहन्छ।

त्यतापट्टि भिरालो गाउँ छ धानबारी छ

तल खोला छ मास्तिर वन छ

वनमा केही मिर्गहरु छन्

किन चाहियो वन तिमीलाई?

तिम्रो बैठक कोठामा

छँदैछ नि वन र मिर्ग भित्ताभरिको।

अनि तिमीलाई खुशी पार्न

आफू सधैँ खुम्चिरहेको बोन्साइ पीपल।

छँदैछ नी छङ्छङे छहरा भित्ताभरिको।

छँदैछ नी सानो घर, लिङ्गे पिङ र बाँसघारी

भित्तामा सजाइएको।

आकाश टेबल।

पपरवेट सूर्य।

कलमदानी, कागजातका वनजङ्गल

र कुनै निरङकुश देशका जनताझैं

निदाएका, सुतेका, उठेका, बाँधिएका

फुस्काइएका फाइलहरुमाझ

एउटा असन्तुष्ट राजा तिमी। अनि तिम्रा वरिपरि

क्लर्क प्रजाहरु।

सूर्यझैं प्रदीप्त तिम्रो तेजमा हराइरहेका

धेरै ताराहरु

अनि तिम्रो कलबेलमा नाचिरहेका कफी-प्यालाहरु।

तिम्रो कलम तरवारभन्दा धारिलो

र युद्धक्षेत्रभन्दा भयानक फायलका पन्नाहरु।

तात्तिइरहेका रक्तकण, हर्मोनहरु

नोटसिटमा मौलाएका कीर्ति, यश र अपयशहरु।

अङ्कहरुका खेल अक्षरका जादुहरु।

शब्दका, वाक्यका, अर्थ-प्रतीकार्थका भाष्यकार सिद्धात्माहरु

दफ्तरभरि ओहोर-दोहोर गरिरहेका।

फायलहरु दौडमा प्रथम भइरहेका।

दगुर्दा-दगुर्दै बाटैमा थला परेका।

फायलहरु मेलामा नानीझैं हराइरहेका।

विधानमाथि नियम-अधिनियमहरु बुइ चडिरहेका।

अधिनियम चार सय सन्तानब्बे अनुसार

आज बाह्र बजे पानी पर्नुपर्ने हो।

वित्तीय आयोगको पछिल्लो सिफरिश अनुसार

सबैलाई अब रातभरि निद्रा लाग्नुपर्ने हो।

तिम्रो कलमको मलमा

प्रार्थनाहरु फल्छन्-फुल्छन्।

कति प्रार्थानाहरु असमयमै कुहिएर फत्फती झर्छन्।

तैपनि कहिलेकाहीं तिमी दुखी बन्छौ

कि घामलाई यति बजे आकासमा हाजिर हुनू

अनि पानीलाई यति ठाउँ यति डिग्री वर्षिनू

भन्ने आदेशको नोटिङ लेख्न

तिमीसँग कुनै कलम छैन।।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: