पोर्टर

(१)

हो यहि माटो हो मेरो सालनाल गाडेको

अहिले पसिना झार्दैछु

उ अघि अघि हिँड्ने माइकल सा’प

डलर फुक्दै सिगार उडाउँदैछन्

म रुपियाँ फुक्दै कटुवा उडाउँदैछु

मेरो छेन्जीको आमा सायद

चुल्हा फुक्दै धुवाँ उडाउँदै होली.

पक्कै पनि त्यहाँ बाध्यताको ढेंडो पाक्दै होला,

अझै हिंड्नु छ म त,

सगरमाथाको बेस क्याम्प यहाँ हो र?

बेस क्याम्पबाट सगरमाथालाई ढोगेर हामी फर्कन्छौं,

सगरमाथा हाम्रो शिरको टोपी हो.

माइकल सा’पहरु नढोगी चड्छन्

टोपी कुल्चन पाउने कर सरकारले तोकेको छ भन्छ…

यसैले त हाम्रो टाउको दिन दिनै

गह्रौं अझै गह्रौं बन्दै गइरहेछ

माइकल सा’पहरु हाम्रा टाउकाहरुमा

आइस-एक्स प्रहार गर्दै चड्दैछन्.

मेरो स्वदेशी डोकोले विदेशी सामान बोक्दै

चुइंय-चुइंय चुइंकेको धेरै वर्ष भएछ,

अत्याधुनिक विदेशी सामानहरुले मेरो डोको

जगा-जगा भाँचेको छ,

मेरा करंङहरुलाई झैं सायद

डोकाहरुलाई पनि दुख्दो हो,

मलाई दुखेको पटक्कै छैन

मेरो करङहरुलाई पो दुखेको त,

मलाई कहाँ दुख्छ र?

म त छेन्जीको बाबु हुँ,

कसरी दुख्छ मलाई?

करंङ दुखेर के पो हुन्छ र?

त्यो त माइकल सा’पहरुको सम्पति हो.

बेचिसकेका छौँ उनीहरुलाई

हामीले त राखिमात्र दिएको.

(२)

पोहोर माइकल सा’पहरुसंग

स्वदेशी दुइ भाइहरु आएका थिए

उनीहरुसँग माइकल सा’पहरु पनि

नेपाली मै गफ गर्दै थिए.

एउटा ढल्न लागेको घरको फोटो खिचे

पोष्टर बनाए राम्रो दाममा बिक्छ भन्थे.

मेरो कुर्कुच्चा छरछरी रगत बग्दो,

खडेरीको खेत झैं फुटेको छ भन्थे

एउटा डोकोमेन्टरी न के पो हो

फिलिम बनाउने पो भन्थे.

मेरो कुर्कुच्चाको, मेरो पसिनाको

मेरो ढल्दो घरको र मेरो विपन्नताको

‘डलर त जोड़ कमाइन्छ नि’

एक नेपाली भाइ अर्कोलाई भन्दैथिए.

ए अँ! ती एक भाइले त

नाम्लोले कुच्याएको मेरो टोपी

एकक्षण मागेर लगाए अनि फोटो खिंचे पनि,

मलाई खुशी लाग्यो

मेरो कुर्कुच्चाको रगतको फिलिम

हजारौं डलरमा बिक्ने रहेछ,

मेरो खुट्टाको रगत हजारौं डलरको

म स्वयं कति डलरको?

आउ विदेशी सा’पहरु तोक मेरो दाम

कमारो बाँच्नु र कमारो बिक्नुमा फरक छैन

म कमारो बिक्न तयार छु-

करङ त बेचें नै, सम्पूर्णता बेच्दैछु.

मेरो बाबु भरिया बाँचे,

मेरो पदोन्नती भयो,

म स्वयं पोर्टर बनें.

अझै पदोन्नती गराउंदैछौ भने

कमारोलाई तिम्रो भाषामा के भन्छ

त्यहि नाम देउ

म कमारो बिक्दैछु.

(३)

म बिक्न धरि नपाउने भएछु

मेरो हिंडाइको, मेरो पीडाको

ढल्न लागेको घरको, मेरो डोकोको

डोकोमेन्टरी फिलिम विदेशमा हेरियो रे’

सबैले चुक्क चुक्क गरे भन्छन्

संसारमा यस्तो पनि हुँदो रहेछ

कस्तो मार्मिक दृश्य हेरिरहुँ लाग्ने.

भविष्यमा डोकाहरु हराउलान,

मान्छेहरुले यस्ता घरहरु नबनाउलान्,

दु:खहरु नगर्लान, कुर्कुच्चा नफुट्ला,

यस्ता दृश्य हेरेर मान्छेहरुले

बिचरा नि भन्न नपाउलान

–    जस्ता समस्याहरु जन्मेछन्,

विचार विमर्श भएछ.

यसैले पोर्टर, उसको जीवन,

अवस्था, उसको घर,

पहिरन, साधन सबै सबै

‘वर्ल्ड हेरिटेज’ बन्ने रे.

म कमारो बिक्न धरि नपाउने

म ‘वर्ल्ड हेरिटेज’

मेरो कुर्कुच्चा जाति हुनु हुँदैन

त्यत्तिकै राख्नु पर्छ,

बाटोको घर ठडिनु हुँदैन,

तोक्चे लगाएरै भए पनि तेर्सै रहनुपर्छ,

किनभने कुर्कुच्चा र बाटोको मेरो घर

‘वर्ल्ड हेरिटेज’.

मेरो टाउकोमा नाम्लोले कुच्याएको टोपी

सिधा पार्न नपाउने भएँ,

कारण कुच्चिएको टोपी पनि ‘वर्ल्ड हेरिटेज’

मेरो छेन्जीको ‘आपा’ र ‘आँशु’

ती सबै ‘वर्ल्ड हेरिटेज’.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: