पहिरो

– बी पी बजगाईं|

पारी भीरमा पहिरो जाँदैछ,

हेर त साथी, कत्रो ठूलो पहिरो जाँदैछ|

थाहा छ तिमीलाई,

अस्ति नै हामीले नाम राखेका थियौं नी,

त्यहाँका ढुंगाहरूका-

धने, मने, लोब्जांग, धनमती भनेर…

उ हेर त!

झर्दै गरेको त्यो ठूलो कालो ढुंगा

त्यो धने हो|

त्यसको पछि-पछि उछिट्टिएर झर्ने

वीरे हो त्यो|

उ अर्को पनि झर्न थाल्यो,

उ अझै अर्को पनि…

हन ढुंगाको गाउँ नै पो झर्न थाल्यो|

हैन-हैन,

धने, मने, वीरेको वास मेटिएको होइन र?

तल खोलाको चप्लेटी ढुंगामा

बजारिन्छन् ढुंगाहरू, अनि चोइटिन्छन्…

उ हेर त तल,

सानुमाया र धनमतीहरु चोइटिएको|

के गर्नु र?

हामीलाई चोइटाउन सक्ने ठूला चट्टानहरु

सबै तलतिर नै छन्|

जति वेगमा झर्छन मनेहरू

त्यति नै धेरै टुक्रा हुन्छन् उनीहरु|

किन जान्छन् हँ साथी यस्ता पहिरोहरू?

ढुंगाको भर माटो माटोको भर ढुंगा भन्थे,

ढुंगा र माटो सँग-सँगै पो झर्दैछन त…

किन जान्छन् हँ साथी यस्ता पहिरोहरू?

ए, धने र मनेको जात मिल्दैन पो…

लोब्जांग र धनमतीको त जाति नै मिल्दैन रे’

पारी पाखाको माटोको के जात साथी?

माटो बाँध्ने रुखका जराहरू कुन जातिका साथी?

रातभरि परेको झरीमा त

सबै सँगै रूझ्थे होइन र?

दिनभरिको तातो घाम पनि त

सँगै सहन्थे होइन र?

हेर त चोइटिएको सानुमायाको सानो टुक्रा

उछिट्टिएर खोलामा पस्दैछ,

गर्भमा भएको भ्रूण होइन र त्यो टुक्रा?

सानुमाया बाँझै मर्दैछे|

उ माथि हेर त पहिरोमा

दुइवटा ढुंगा एक-अर्कामा ठोक्किएको,

फुट्दैछन् आफै ठोक्किएर उनीहरु|

माटोले झ्वाप्पै छोप्यो उनीहरुलाई…

झर्दैछन् माटोका कणहरू प्रशस्तै|

पहिरोले माटो जति सबै झार्यो भने

रुगरुगे भीर बन्नेछ साथी मनेको गाउँ

बाँदर लड्ने भीर के गर्नु र?

यो पहिरो थामिएर केही माटो उब्रियो भने

यो पहिरो थामिएर केही ढुंगा उब्रिए भने

गह्रा र कान्लाहरु बनाएर ढुंगा र माटो बाँधौं होइन र?

जङ्गली विरुवा नै भए पनि

जरा हान्ने रुखहरु रोपौं होइन र?

तर, यो पहिरो थामिनु त परयो नी,

यो पहिरो रोकिनु त परयो|

अचल बस्नलाई होइन भनेको यो कुरा

यो त गति हो नी विरुवा विस्तारणको

बारुद पड्काए पनि पहिरो नजाने

गठिलो भू-सुरक्षाको|

जानी-जानी भड्खालोमा पस्ने सचेत होइनन् र?

बरु अचेत नै बसौं,

तर भड्खालोमा नपसौं…

त्यसैले त…

मन बाँधेर हेर्दैछु साथी,

पारी भीरमा पहिरो गएको,

सानुमाया बाँझै मरेको| (सितम्बर १, २०१०)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: