ठाकुरबारी, मान्छे अनि भगवान

ठाकुरबारी, मान्छे अनि भगवान

–    बी पी बजगाईं|

यो मान्छे भन्ने प्राणीलाई मागेर कहिल्यै पुग्दैन,

उसको मनको स्वार्थी झोडा हिउँदमा पनि सुक्दैन|

दिनहुँ प्रार्थना गर्छ ऊ, हे भगवान मलाई पैसा देउ,

मन्दिरमा हात जोड्छ ऊ, मेरो काम फत्ते गराउ|

माग्नु मात्रै जानेको छ, लोभ लालच मै बाँचेको छ,

तिमी यदि छौ भने भगवान, उसले आशामात्रै साँचेको छ|

हो, मेरो कुरा सुनिराख तिमीले, उसले आशामात्रै साँचेको छ|

मान्छेको घर अधुरो छ, मेरो विचारमा सायद मन अधुरो होला,

मेरो घर छिट्टै पूर्ण होस्, भव्य होस्, डिमाण्ड लेटर तिमीलाई दिन्छ,

तिमीले कहाँबाट दिन्थ्यौ र भगवान यहाँ तिम्रै घर त अधुरो छ|

ठाकुरबारी अर्थात् भगवानको घर, मान्छेले नै देख्दैछ अधुरो उभिएको,

अनि म परैबाट देख्दैछु, तिम्रो पिठ्यूँमा मान्छेको आशाहरु लादिएको|

के छैन र यहाँ मान्छेकोमा भगवान, जिउने साधन सबैथोक छ,

कानुन तोडेर बनाइएका अग्ला-अग्ला घरहरु, के तिमीले देखेका छैनौ र?

ठाकुरबारीको छ्यांगछ्यांगती झ्यालबाट छिरेको हिउँदे चिसो तिमीले भोगेनौ र?

तिम्रो पीडा कसले देख्ने र भगवान, यो व्यस्त शहर गान्तोकमा?

जहाँ प्रत्येक मान्छे उभिएका छन् लालच किन्ने रहरमा|

सम्पन्नताको सूचक मोटो ज्याकेट, ओभरकोटले मान्छे न्यानो उभिएको छ,

चिसोमा निर्वस्त्र उभिएको तिमीप्रति उसको आँखा लोभिएको छ|

होश गर्नु है भगवान, उसले तिमीबाट खोस्न मात्र जानेको छ,

आफु नांगै रहेर अरुलाई दिने तिम्रो त्यागलाई आम्दानीको स्रोत ठानेको छ|

हो, तिम्रो त्यागलाई मान्छेले केवल आम्दानीको स्रोत ठानेको छ|

वर्षौंदेखि ठाकुरबारी अधुरै हुँदा एक सूत हल्लिएन मान्छेको मन,

तिम्रै सिर्जना बालुवा, सिमेन्ट र रड तिमीलाई नै दिन सकेन उसले,

अब भन त भगवान, अन्तर्मन यहाँ मान्छेको, झक्झकाउने कसले?

के तिमी साँच्चै छौ भगवान? मनका अदेखा मैलहरु, टकटकाउने कसले?

मलाई कता-कता बोध भए झैं हुँदैछ, के यहाँ मान्छे साँच्चै छ?

मेरो बोधित्व त बोलेको हैन अहिले, के यहाँ मान्छे साँच्चै छ?

(नोट: सिक्किमको राजधानी गान्तोकको मुटुमास्तिर वर्षौंदेखि ठाकुरबारी मन्दिर अधुरो अवस्थामा उभिएको छ| त्यसै मन्दिरको दोस्रो तल्लामा वसन्त उत्सव २०१२ मनाइंएको थियो| यसै अवसरमा त्यहाँ १२ फरवरी २०१२ को दिन विचार कला संगमले राखेको साहित्यिक कार्यक्रममा मलाई निम्तो थियो| म स्वयम् सर्विकतावादी भएकोले भगवानको पारम्परिक स्वरुपलाई मान्न सक्दिन| तर रुमानी लेखनको प्रयोग गर्दै भगवान नामलाई अघि राखेर मानवतालाई बोक्ने उदेश्यले भगवानप्रति मान्छे सन्दर्भमा यो कविता लेखेर वचन गरें|यो कविता १९ फरवरी २०१२ मा गान्तोकबाट प्रकाशित हुने दैनिक ‘हिमाली बेला’ -मा पनि प्रकाशित भईसकेको छ|)

%d bloggers like this: