केवल गफहरु

मेरो जात

हजुर टाड़ैबाट पाल्नुभा’ जस्तो देख्छु, पानी पिउनु हुन्छ?

के भन्नु भो? मेरो जात?

मेरो रङ्गले भन्दैन र? भर्खरै चारवटा खुकुरी बनाएँ,

के गर्नु हजुर, हामीलाई त देउताले छुट्याएको भन्छ,

तपाईंको तृष्णा मेटाउन सकिनँ…

अहो! तपाईंको भाँडो चुहुने भएको छ’रे,

ल्याउनुहोस् न बनाइदिन्छु

गरीब आत्मा

ए दाई, यो शोकेशमा राखेको आत्मा कति हँ?

बेच्नलाई राखेको हो कि शो-पीस मात्रै?

ए बेचिसक्नु पो भएको छ,

कुनै गरीब आत्मा बिक्री मण्डीमा छ भने

मेरोलागि पनि एक पीस ल,

हवस त, धन्यवाद.

दाम

ए बहिनी, यो अखबारको दाम कति हँ?

दाममा के छ र दाई, यसको दाम मेरो एक भोक,

बजार-भाव हेर्दा एक असीम शोक,

मेहनत हेर्दा हाम्रो एक सागर पसीना,

समाचारमा भएको हिंसा र रगतका रेखाहरुको तुलनामा-

धेरै सस्तो, केवल दुइ रुपियाँ.

भिन्नता

पुजा गर्दै थिए, एउटा धर्मकार्य
छिमेकीको घरमा आगलागी भयो
बचाऊ कार्यमा पुग्न उनले भ्याएनन्.
लाश लगिँदै थियो, एउटा सामाजिक कार्य
भक्त धेरै भएकोले होला त्यहाँ
मलामी हुन देउता आएनन्.

 फ्री

‘वेटर खाने कुरा के-के छ? मेनु ल्याउ त हेरौं’
मेनुमा थियो-
रहर स्यान्डविच, शिक्षाको मोमो,
फ्राइड लेबर एक्ट, ताजा मानव भ्रूणको रोस्ट
ब्रेकेटमा थियो ‘व्यभिचार मसला लेपन गरिएको’
यस्तै-यस्तै धेरै, अनि फेदमा लेखिएको थियो
कुनै पनि पाँच आइटम अर्डर गरे
एउटा मृत्यु फ्री

अति

राज्य प्राप्तिको लक्ष्य थियो

सबै गुट एक थिए

मत अलग अलग भयो|

विवाद तन्कियो

तन्किँदै गयो…

तन्किँदै गयो|

निक्कै तन्किएछ…

माझबाटै चुँडियो,

राज्य एकापट्टी उछिट्टियो,

प्राप्ति अर्को पट्टि वेहोश…|

शरण + अर्थी

सिंगै पृथ्वी रोजेथें,

देशमा पो आइपुगें,

नागरिकता भन्ने थाहै थिएन-

शरणार्थी पो बनेँ|

सबैको आ-आफ्नै देश रहेछ,

म पृथ्वी खोज्दै थिएँ,

खोजि यात्रामा टेक्ने माटोसम्म नपाई-

म मृत्यु रोज्दै थिएँ|

पाप

साँपको एकटक दृष्टि थियो बिचरा भ्यागुत्तामाथि

पाप धुरीमा चडेको थियो-

चिलको एकटक दृष्टि थियो त्यस साँपमाथि|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: