घाउका आवर्त्तहरु

घाउका आवर्त्तहरु

प्रवीण राई जुमेली

प्रकाशक: निर्माण प्रकाशन, गुम्बा घुर्बिसे, नाम्ची, दक्षिण सिक्किम

आवरण तथा रेखाङ्कन: प्रवीण राई जुमेली

पहिलो संस्करण: ११०० प्रति, १९९५

मूल्य: सजिल्द रू. ३५/अजिल्द रू. २०

मुद्रक: जयभारत प्रिन्टिगं प्रेस, डी. ५१/१६८ सी-२ सूरजकुण्ड, वाराणसी-२२१०१०

नोट: कवि प्रवीण राई जुमेलीको कविता संग्रह घाउका आवर्त्तहरुबाट सातवटा कविताहरु यहाँ राखिएको छ यो कविता संग्रह सन् १९९८ -मा पहिलो शोभाकन्ति थेगिम स्मृति पुरस्कारद्वारा पुरस्कृत भइसकेको छ

बुढ्याँइहरु

दिनहरु व्यर्थै बितिसकेपछि यता

हिंड्नलागेको छु साँझहरु। अवकाशको एउटा यात्रा

केही साथीहरु भेट्छु टेकेर उभेका गोंधुलीपखहरु रिट्रिटका धूनहरु

सिह्रानी हुन्छ विश्रान्तिलाई अब केहीक्षण अनुहार नभएर कल्पनाहरु मेरा

मखुन्डाहरु फ्याँकेर सम्झनाहरु मेरा

मन सबै पुरिदिन केही भावुकता

रक्सीका बोतलहरु भएर आउँछन्। सीमान्तर और्ल्हिँदै आउँछन्

कताकति मेरै बन्धनहरु तोडेर भाग्दै हुन्छु म ओर्हालै ओर्हालो

मैले छाड्दै लगेको काँचुली उठेर पछिल्तिर

हाँस्दै हुन्छ मेरो नाङ्गोपन केही अट्टहास केही धमिलोपन

पहाडका हरेक अग्लाइ छोएर

भुईं नहुनपर्ने केही भुईंहरुलाई तानी समान्तर उभ्याउँछु भन्ने कसम झूट भइसकेका छन्

म आगो हूँ भन्दा मभित्रै भैंचालोको प्रतिरुप खोज्ने बैंसहरु

समुद्रबीच अरल्लिरहने डुँगाहरु भएका छन् पतवारहरु खोसिएपछि यता

भमराहरु दास बनेका हुन् एकपल्ट

एकपल्ट फूलको तरुणाइ चाटेर बसेका हुन्

खरानीको धुलो मात्र थिएछ ती पनि

क्षितिज देखाएर क्षितिज भइदिने संकल्प सबै

चट्टानको बरदान पाएर लडिरहेछन् आज व्यर्थै फूलका भमराहरु बिचरा

केही आशिर्वाद नै भइदिएन नाता नातीनीहरुलाई

भइदिएनन् दिने केही दक्षिणाहरु नै

व्यर्थ भो प्रतिमा नउभिनु यहाँ हिमाल नहुनु नै व्यर्थ भो

बिहान हुन अगि सन्त पत्रुसका हजारौं अस्वीकृतिहरु सहन पनि

यातना भइदिएको छ आत्मालाई

त्यस्तै अस्वीकृतिहरु मात्र आधार भए यात्राका

येसूको क्रुसिफिक्जन झैं भएर मुक्ति आएन मेरो लागि

रगत बगेर पनि पाप मोचन भएन

गाडीको पहियामुनि परेर सडकमा

भ्यागुताको एउटा लास हुनु झैं भयो यो मर्नु पनि

फेरि केही दिन गन्हाएपछि अलकत्र झैं हुनु मात्र भयो

यो मर्नुको पछिल्तिर पनि

व्यक्तिदेखि उब्रिएर अलिकति पनि अरुको मुटु भइनँ म

यो हिंड्नु पनि एउटो ठाँडो मात्र भयो

आफ्नै छायाँ हेरेर पानीमा नार्सिसस रमाइरहनु झैं मात्र भयो।।

दिनचर्या आफ्नै स्मृतिकथाको

केही दिन झर्दिनँ उँधोतिर पनि

पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म

टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु

गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ

बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु त्यतातिर

पैयुँका फूलहरु टेक्दै हिउँदका केही साँझ

ढिलाएर फर्किदिनँ उचेल केही एक्स्ट्रा क्लासहरु

र केही शिक्षक दिवसहरु पनि

रातो माटो टेकेर चिप्लोहरु पनि खेल्दै

जुकाहरु केलाउँदै र एक झोला चामल

बिसाउँदिनँ अचेल मानेडाँडाहरु गोलफेकाहरु

भन्दिनँ पवनकुमारहरुलाई आँगने ढुँगातिर जाऔं पनि

केही छुट्टीहरु रमाउन जाऔं भन्दिनँ

लाबरका लाप्टाहरु फूकेर बेलुनका केही रहरहरु

बोक्दिनँ अचेल कल्बुङबाट हलुङ्गेका केही गाग्रीहरुसित पानी हुँदिनँ

कहिल्यै हुँदिनँ त्यतातिर अचेल म

बदमासीका दिनहरुमा आमाका केही थप्पड र आँसुहरु हुँदिनँ

खोज्दैनन् पनि अचेल भीमप्रकासहरुले त्यो ठूलेलाई यहाँ

कुल्लाका दिनहरुमा खोज्दैनन् रिङपाटका अमराइटहरुमा खोज्दैनन्

केराको पात पात पात सडकको नाली नाली नाली

बादलले पोखाइदिएर पनि नअडिएर थोपाहरु

झरिजान्छन् भुईंतिरै बिलाइजान्छन्

बग्नुहरु सबै उक्लेर तरेली तरेली तरेली

टेकेर पनि झरिजानुहरु बगानबेलिया भएर फुल्दिनँ वर्षभरि

अचेल डाइरीका केही पृष्ठहरु बाँधिन्छु मात्र

हातका केही कम्पनहरु रोइदिन्छु मिर्गौलाको केही दोष

सधैं दुख्नु यो टाउको र एउटा चस्मा

घण्टीबाजाका सबै साँझ-बिहानहरु अनुवाद भएर रहे इन्क्रिमेन्टका वर्षहरुमा

अधुरोहरुनै बाँधेर अचेलभरि पातहरु झरिजानु युक्लिप्टस भएर छ

भिखारी भएर रहेको छु कता बित्यौ नी मेरा क्याटिसको साँझहरु

टेक्दै टेक्दै टेक्दै फेरि विस्मृतिहरु पनि

सुकेका पातहरु बज्दै पदचापहरु पत्रदल खिल्ने कोसिसहरु केही छन्

सुकेका डाँक्लाभरि रीक्तता पुर्दै धाउनु यो

पोस्टअफिससम्मको गोरेटो र केही चिठ्ठीहरु

केही शुभकामनाहरु केही पोस्टकार्डहरु

फर्किन्छु पनि स्टेरियो डेकहरुबाट हार्दै म सहनाइको दिनहरु

बिजुलीको छेउमा निष्प्रतिभ उभ्दै म धिब्रीको रातहरु

खबरकागजको केही क्याप्सन केही घूँट चियाको र एउटा कलम

बस् केही दिन सोंच्दिनँ हाडेको फूलहरु अनि घुम्दिनँ लप्सीको गेडाहरु पनि

फलेदोको फूलहरुनै धाउँदिनँ अचेल कहीं जाँदिनँ म

ब्लाउजहरुबाट खेदिएर म चारुलता

अबला चौबन्दी चोलीको हीनता हाँसिरहने म हूँ लुसी

खोलाको बगर बगर बगर आयुको प्रहर प्रहर प्रहर

पोखिँदै अविरल मटियाहरुबाट चुहिँदै पनि

सकिएनन् तरलताहरु सबै बाँकी रहे मात्र चट्टान

निख्रिएनन् सजलताहरु सबै बाँटिएर चट्टानहरुलाई पुगेनन्

मेलोबाट खत्रक्क थाकेर आउने एउटा कृषक हुँदिनँ

किन हो जाउलोका केही गाँस र भाते निद्रा आउँदैन अचेल गाथमा

बियरको साँझहरु भएर हाँस्छु भीडहरुमा केही दिन

केही दिन रुन्छु भुटेको मकै भएर एकलोपनहरुमा

फुल्दिनँ अचेल धुप्पी भएर केही हरियो

धोबीनी चरी भएर गाउन आउदिनँ बिहानहरु अचेल

केही दिन झर्दिनँ उँधोतिर पैयुँको फूलहरु टेक्दै घुम्तिको चप्लेटी ढुँगासम्म

घिच्रोसम्म टेकाएर एउटा टाउको सधैं हिँड्दछु पछिल्तिर मात्र

अहँ अचेल कहीं जाँदिनँ म।।

विसंगति

पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि

त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई

कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि

त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई

तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर

पानीको कुवासम्म पुरयाइदिने

बाँदरको प्रतीक्षा गर्दै बसेको छु म

आशाका टापुहरु लिएर केही बाँच्ने उम्मेदहरु पनि

देखिँइदैन टाडातिरसम्म

यो विशाल जलाशयमा

कुनै मरुद्यानको दिशा बताएर

खुट्टाहरु कसले लगाइदिने यी क्याक्टसहरुलाई

एकातिर गएकी कुख्रापोथी खुशीहरुलाई

अर्कोतिर खोजिरहनु स्याल मान्छेले

खुशीहरु पनि अचेल सपनाहरु जतिकै झूटा हुनथालेका छन्

आकासका ताराहरु जतिकै टाडा बस्न थालेका छन्

चैत बैसाखको भाभरमा पनि

झरी नपरेर बुङबुङ उडिरहने धुलोहरुबीच

मकैले टुसा हानिछाड्छ

अनि असारको झरी पर्खेर बाँचिरहन्छ।।

युद्धरत

उद्घोषित हुन्छ अचानक नै एउटा पीडापूर्ण कारावासको समाप्ति

दुर्बल हात-खुट्टाहरु बेडीमुक्त हुन्छ अचानक नै

अचानक नै उघारिएको पनि हुन्छ फलामे ढोका

जहाँबाट देख्छु क्षितिजले छेकिएको

सानो टुक्रा आकाशलाई देख्छु निर्धक्क

जब कारागारको संघार बाहिर राख्छु पयरहरु अनि

कुन्नि कसले भनिरहेको हुन्छ पछाडिबाट

कि अब त्यहाँ स्वतन्त्र भएँ ‘रे

कि अब म जान सक्छु कहीं पनि र गर्न सक्छु ‘रे केही पनि

अलमल्ल छन् ब्रेलमाथि अन्धा औंलाहरु कठै

अनुभूति हराएको स्पर्शहरुले पनि रोइदिन्छ केवल अक्षमता

स्वतन्त्रता नाम नै कहीं छैन कुँदिएको मैले पढेको किताबभित्र

ओ शिक्षक म एउटा बुद्धु छात्र हूँ तिम्रो

सफलता समेट्न असफल रहेको सधैँ तिम्रो पलायनपछि यता

अनि बेसीनै दुख्न लाग्छ जब मनको घाउहरु यहाँ

उच्छवासहरु फुत्किहिँड्छ आकाश खोज्दै

जब बादलको उन्मुक्त उडानहरु पनि हेर्छु त्यहाँ

सोंच्छु अनि आकाशनै सायद स्वतन्त्रताको अर्को नाम हुनपर्छ

मनले पनि लुटिएको आफ्नो घरबारको सम्झना गर्दो रहेछ

यसैले त यो आगोसितै खेलिरहन्छ सधैँ

अनुवाद भएर आवाजबाट बमहरुमा

बाहिर सडकतिर गश्ती लगाइरहेको गेस्टापोहरुबीच पड्किन तयार छ

भ्यागुता बाँच्ने कुवाको परिधि नभन्नू मलाई

नभन्नू निस्सहाय आँखाहरु धृतराष्ट्रको

एउटा जबर्जस्त योद्धाको अनावरण हुँदैछ मभित्र

असत्य र अनास्थाको विरुद्धमा लड्नलाई

बिलीन हुँदैन कदापी सीमान्तको प्रच्छेदनले पिता र ईश्वरले दिएको उज्यालोहरु

ब्यर्थ भएर रहनेछ विभाजन र द्रोहको मिथ्यारोपहरु यहाँ

अंगालेर अनि त्यही पराजयलाई

कदापि युग-युग रुँदिनँ म

जब मरिसकेका छन् पिताले उडाएका परेवाहरु सबै

आफ्नै विवेकको आधारमा भूकम्प निर्माण गर्दैछु म

मलाई सम्झौताको कुटनीतिज्ञले नफकाउनू

सुरक्षाका ढालहरुले पनि नबार्नू मलाई जाकिन दिनू मलाई सीमान्तहरुमा

असमानताका जङ्गलहरु फाँडेर आस्थाको बस्ती बसाउन सकूँ म

हरेक पल हरेक ठाउँ यो विशाल जमातभित्र

उत्खनन गर्छु केही निचोर्छु केही

अनि सधैं झैं हत्केलाभरि समेटिन आइपुग्छ एकलोपनकै त्यही पुराना गन्धहरु

म त केवल एउटा सानो पिंजडाबाट ठूलो पिंजडामा सारिएको रहेछु

जहाँ विचारहरुलाई माटोविहीन सानो गमलाभित्र

दुइ थोपा पानीको भरमा जिवित राखिँदो रहेछ

जब आर्तनादहरु चिच्चाइउठ्छ आफन्तहरुकै हेला-होंचोमा दमित आत्माले

अन्धाधुन्ध आक्रमण पनि बोलिदिन्छु भत्भत पोलिएर वीरगतिको इच्छाले

भो नग्नता नदेखाउनू मलाई तरुणीको

नदेखाउनू मलाई महलका तलाहरु पनि मृत्युतिर औंल्याएर नडराउनू मलाई

म मृत्यु बोकेर आएको योद्धा होइन जिन्दगी फर्काउन आएको फकीर हूँ

म पनि खुप चिन्छु जिन्दगीलाई

यसैले त जबरजस्त उठान भइरहेछ यो युद्धको

यस युद्धले उडाँएको धुलो हेरेर कुनै खण्डहरबीच उभेर

चिच्चाइरहेको एउटा भग्न बौलाहा नसोंच्नू मलाई

किनकि कुनै आँगननजिकै छाडिएको कुनै बतासे नानीको अनुवाद होइन म

मेरो त भन्न मिल्ने आमा पनि छिन् एउटी भन्न मिल्ने बाबु पनि छन् एउटा

निस्केर आउनू मनको उज्यालो बोकेर अब त विचारको किल्लाबाट बाहिर

खनेर निकाल्नू आफैलाई पुरिएको चिहानबाट

ए आवाद गर्नपर्छ अब त यो श्मशानघाटलाई पनि।।

व्यतिक्रम

१ ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा

यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु

पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता

मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि

तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर

बर्षाका केही थोपा बनी पोखिदिने बादल इच्छा

कहींबाट अत्तालिँदै आएको हुँडरीसितै बेपत्ता भएपछि

मनको खोलाले पनि गाउन छाडिदिएको छ उछृंखल प्रवाहहरुलाई

२ यता एकताको ट्यांकीतिर आउने प्रेमको पाइपमा

घृणाको ठेंडी ठोकिदिएपछि

ढुक्कै बस्ने माथिल्लो गाउँलेहरुको बानी छ

सद्भावनाको रेन्च बोकेर ती ठेंडीहरु निकाल्न जाने

धेरैजना हतभागी फिटरहरु पनि रगतपच्छे भएर फर्केका छन्

अपूर्णताका गाग्रीहरु भराउन धारा आउँदा जाँदाको दिनचर्यासितै

पोखिँदैछु उमेरको टिनबाट छचल्किँदै बाटैभरि।।

प्रतीक्षारत

सहरले केही दिन पाहुना डाक्यो। सायद

त्यसैले हलोजुवा थन्काएर एकातिर

सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै  समृद्धि कमाउन

बुढी गाउँ मात्र हर्दम एकली सधैं

हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र

छोरी गुनासरीहरुका विरहले क्षुब्ध

आफ्ना चिथ्रा चिथ्रा फाटेका कपडाले छोप्न नपुगेर सर्वाङ्ग

आफैदेखि पनि भागिरहेकी छे लाज मानेर त्यो बुढी गाउँ

सम्झना गर्न छाडिसकेकी छे उसले हिजआज

-गोठको नजिक सखारै एक भारी घाँस

चिलाउनेको सियाँलमुनि थाकेका सुसेलीहरु

भुटेको मकैको दाउनी भएर सिन्कीको झोल

कठै सकी नसकी भुईं टेकेर उभ्ने बिफल उसको प्रयास यहाँ

अनि सहरको अट्टहासअगि आत्मसमर्पण पनि कराइरहेछ

-उसका तमाम सपना उसका तमाम इच्छा तमाम प्रतीक्षा उसका

एउटा भयानक रहस्य लुकाएर पछिल्तिर

पलायनहरु सबै निल्न उदाङ्गो छ सहरको मुख

अनि जति जति बोझिल बन्दै जान्छन् आँखाहरु सहरको तिलस्म पिएर

त्यति त्यति सहरले सहरलाई सहरभित्रै खोजिरहेको हुन्छ

-कुनै मोडमा एक खोल माचिस भएर

-लास भएर गल्लीनिर कुनै अपरिचितको

-कुनै होटलको कोठाभित्र सम्भोगहरु उच्चिएर

मेलोबाट फर्किँदा मनमायाको घर निस्की

सिकुवाको डीलमा एक मग कालो रङ्ग

केही थकान र गफहरु

-त्यहाँ कहिल्यै नखोज्नू सहरलाई

जहिल्यै एक पैसाभन्दा बेसी भएर मात्र

मुस्कान बेच्दछ सहरले

सहर सधैं अँध्यारो आकास छेलिएर

हिमाल नभएर सहर सधैं उत्तप्त पनि

उज्यालो देख्दा मुख छोपी छप्छप्ती अँध्यारैतिर मात्र दगुर्छ सहर

-डे अफ दि ज्याकलका चक्चकीहरु

-जग्जगीहरु दि बार्न आइडेन्टिटीका

यसैले बिर्खसिङकी आमा बिरामी पर्दा

सहानुभूतिको नाम्लो लिएर बोक्न जाँदैन सहर

कालुमानको घर डड्दा बोकेर आउँदैन

सहरले सद्भावनाको आँसु पनि

यसैले सहरभित्रै हिंडिरहेर पनि कहिले नपुग्नुको सत्य हो सहर

ब्ल्याकहोल गमनको पीडा खप्नु हो त्यो गन्तव्यहीनता

बग्दै बग्दै बग्दै गाउँहरु यसैले

अनुवाद नहुनू सहरमा कहिल्यै

कोलाहलका घातहरुले मर्माहत भएर कुनै दिन

कुनैदिन डाम्रैडाम्रा बोकेर एकलोपनको

शीतलता खोज्दै फर्किने आत्माहरुलाई

गाउँतिर जाने बाटो निर्धक्क देखाइदिनू-

जहाँ उसकै बाटो कुरेर कुक्कुको संगीत बज्दै

नृत्यहरु नाच्दै पुतलीको

रुँदै पनि आमाको खुशीहरु ओतप्रोत

पर्खिरहेको हुनेछ हाम्रो अवहेलित गाउँले

मरणान्त पर्खिरहेको हुनेछ।।

हराएको अनुहार

सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ

बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन

जबरजस्ती ठेल्दै लगेपछि म-ले

बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ

तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ

उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ

म नै-म हुनुका बोधहरुले

सास फेर्न मात्र पनि धौधौ छ यहाँ

झ्याल-ढोकाविहीन कोठाभित्र थुनिएको कैदी म-लाई

चेखबको क्लर्क बाजीगरबाट उन्मुक्त म मर्दै जान्छु कोठाभित्रै

एउटा पराजित जीत लिएर एकदिन उन्मुक्तिको सुख आउनेछ

त्यो दुःस्वप्न छैन मसित

म नै चेखब हूँ म-लाई कैदी बनाउने

व्यर्थ छन् मेरा आँखाका दुर्बल प्रयासहरु मात्र समयको गति छाम्नलाई

त्यो अग्लो र सानो झ्यालबाट छिरेर आउने हरेक उज्यालोहरु हेरेर

त्यो सानो झ्यालबाट देखिने एक टुक्रा आकास

त्यति नै हो सम्वेदनाको मूक हात पनि

वितृष्णाका यी घाउहरु मुसारिरहने

कति कति हिंडाइसकेको छु तृषित सपनालाई

यो कोठा र त्यो आकाससम्मको दुरीभित्र

त्यो दुरीभित्र हिंडाइसकेको छु सपनाहरुलाई कति कति

तर पनि म-लाई तानेर आकाससम्म पुरयाउन नसकेका

ती बुढा सपनाहरु अचेल मृत्यु कुरिरहेछन् कोठाभित्रै

बाहिरका अश्लील खित्काहरु पनि कहिले छिरेर यो कोठासम्म आइदिन्छन्

कान थुनिइन्छु मभित्रका पर्खालहरुले

कति दुर्गन्धित भइसक्यो कोठा घृणाको वान्ता छरिएर भुईंभरि

निस्चय नै मरिसकेको हुनपर्छ अब त कुक्कुका आवाजहरु

म-लाई लुटेर जाने ती खित्काहरुमुनि चेप्टिएर

छिः एउटा अन्तहीन यन्त्रणा बाँच्नलाई बाध्य गराउँछन् तिनीहरु

त्यो सानो झ्यालबाट पेन्सिलका टुक्रा फेंकिदिएर सधैं

टुक्रा पेन्सिल समाएको दुर्बल म-

अझ अरु यन्त्रणा बाँच्नलाई बाध्य बनिदिन्छ

सुनसान कोठाको चिसो भुईंमा निस्सहाय म-ले

अलिपर बसेर बाँचिरहेको म-लाई हेरिरन्छ

हेरिरहन्छ म-लाई बाँचिरहेको।।

१ टिप्पणी (+add yours?)

  1. Kiran Pardasi Kancha
    Mar 17, 2011 @ 06:44:55

    खै जीवन
    जिवन केवलपानी नै भएको थियो भने
    म तिम्रो तिर्खा मेट्न खडेरी बनी आई दिन्थे
    तिम्रो सामु टुसाएको यौवन नपस्क है त्यसरी
    खडेरीको चापले तड्पिएको पवन बनि

    केवल चिच्याउनु मात्र जिवन होईन
    धैरताको बाँध बिष्फोट पनि हुन सक्छ
    आसा केवल बितृष्णमा नै सजाउने हो भने
    नैरस्यता केका लागि लिन्छौ ।

    जिवन सफल्ताको उपज हो
    चोरीएको खालि बैक बनाउन कोसिस नगर
    भावनामा नै जीवन लाई बगाउछौ भने
    सार्थक जीवन वनाउन कोसिस गर

    केवल मायाको प्रतिक परेवा मात्र होईन
    धैरताको बाँध नटुटाउने हो भने
    मानव जीवन नै आस्था र बिस्वासको उपज हो भने
    ्िथग्रिएकोे पानि जस्तो बन्न कोसिस ग्रदिनौ भने

    पथर र चट्टान सँग नै किन मितेरी जोड्नु पर्यो
    असल मायामा आस्था जोगाएकी छौ भने
    हुरी बतास सँग नै किन साईनु जोड्नु पर्यो
    मन चोराउन कोसिस नै गरेकी छैनौ भने
    चिच्चावटको आवाजमा किन रोमलिनु पर्यो

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: