घर (शृङ्खला कविता)

-केवलचन्द्र लामा, दार्जीलिङ।

घर-१

चरी बरीका ओठबाटै गीत खोसेर

परपरी भुट्यो उसले।

हावाको हातैबाट शीत खोसेर

आगोमा झोस्यो उसले।

ठूल्ठूला पाँसुला देखाएर आँगनभरि घुम्यो डँडाक उ।

आकाशभरि हातखुट्टा फैलाएर

लमतन्न प-यो नाथे

तानाशाह घाम।

 

ड्याम्म दैलाखिर्की थुनेर

उ ओछ्यानमा पल्टी।

 

कहिले फर्कने हो अब घर

मोरो पल्टने?

 

घर-२

मुटु राख्नलाई घर चाहिन्छ भन्छन्।

उसो भए बेघरबार भयो मेरो मुटु।

 

कसरी हुर्काउनु होला भविष्यत् काल

घर नभएको मान्छेले।

 

छुट्टिने बेलामा गाँउघर जम्मै बोकेर निस्के पनि

जम्काभेट हुँदा मुटु ढुकढुक हुने त्यो राम्री केटी

यो टाढामा हुँदैन रहेछ।

 

कस्तो सास्ती यो

घरबाट धेरै टाढा हुनु आफू

आफ्नै घरमा।

 

घर-३

सानोमा

मेरो सानो झ्यालमा

सानो आकाश टाँगिन्थ्यो।

म दौडेर आँगनमा निसकन्थें।

मेरो सानो झोलामा

मेरो भागको सानो आकाश भर्न चाहन्थें।

घरका सबै झोलामा पनि नअँट्ने हुन्थ्यो आकाश।

 

आज पनि

खोज्यो कि हराउँछ यो आकाश।

पाउने बेलामा चोरिन्छ त्यो आकाश।

 

वास्तवमा त्यो आकाशभन्दा

अलिकति ठूलो छ मेरो घर।

 

घर-४

अविवाहित घरको चकमन्नले

आमाको आँखामा टाँगिदिन्छ

बेकारी छोरोको सपनाको आकाश।

 

सपनाको आकाशमा

बुहारीलाई जूनको टीको लाइदिन्छिन् आमा।

 

सपनाको आकाशमा

नातिनीको जामामा तारामण्डल टाँसिदिन्छिन् आमा।

 

सपनाको आकाशलाई

नयाँ नयाँ प्याटर्न हालेर

ऊनीको सुइटर बुनिदिन्छिन् आमा

र लामोसुस्केराले सोध्छिन् आफैलाई

कहिले जाने होला

सपनाबाट यो हिउँद।

 

घर-५

औ जाऊँ

एउटा फूलबारी खोज्दै।

एक्लै छोड़िदिऊँ यो घरलाई।

हामीजस्तै होस्‌ न यो।

बोल्ने साथी नपाएर।

 

सुन त,

चिनी अलि बेसी हालेर हलूवा बनाऊ।

त्यो फ्लास्कमा चिया हाल।

हाम्रो दोकानमा बिस्कुट उधारो दिन्छ की?

जाऊँ ।

 

छोड़िदिऊँ आज दिनभरि एक्लै।

 

दशैंमा छोरीले ल्याइदिएकी साड़ी लगाऊ

म त्यो नयॉं पेन्ट लाउनुपर्‍यो।

एकछिन्‌ घर नबढ़ार त,

मेरो कुरा सुन त।

भनेजस्तो कोट पो छैन।

जुत्ता सिलायौ के?

 

हेर कस्तो मज्जले घाम लागेको छ।

मान्छे बॉंच्नु मात्र होइन आमा चैं

हॉंस्नु पनि पर्छ।

मान्छेलाई पूजापाठ मात्र होइन

रमाइलो पनि चाहिन्छ।

 

नाति-नातिनीको अवोध अनुहार भूल्न नसके पनि

मत्थु ज्वाइँको अनाचार

र छोरीको हाहाकार भुलिदेऊ।

एकछिन श्रम भुलौं। अपमान भुलौं।

दाह्रा ङिच्चाइ भुलौं।

 

फर्कँदा साथीभाइकोतिर निस्कौं।

मट्टितेल खोजौं। ग्यासको सिलिण्डर सोधौं।

 

माथि बड़ीआमालाई इस्कूसको मुन्टा माग है फर्कँदा।

 

लु लु छिटो गर।

फर्कंनुलाई घर त छँदै छ।

हामीले छोरा-छोरी

नाति नातिनी आउने दिन पर्खेजस्तो

पर्खोस न घरले हामीलाई।

 

मेरो सुगरको दवाइ

तिम्रो प्रेसरको

पनि त किन्नु छ।

 
घर-६
घरमा एकजना हिमाल बस्छ।

हिमाल अग्लो हुन्छ र शिर झुकाउँछ
ठूलाबड़ाको सामुन्ने।

घरमा फर्साइलो हिमाल बस्छ।

घरको हिमाल
मलामी जान्छ
जन्ती जान्छ
र घर फर्कँदा
वृद्दा गुरूआमाको सौदाको झोला बोकिदिन्छ।

घरमा मिचिक्क हॉंस्ने
झिल्के हिमाल बस्छ।

हिमाल सेतो हुन्छ।
हिमाल राति पनि सेतो हुन्छ।

घर-७
कोपिलाजस्तै खुशी घरमा बस्छ।
चिन्ताफिक्रीको डड़ॉंक बारूला घरमा बस्छ।

ह्वेलजत्रो खुशीको ऐनामा
घरको अनुहार हत्तपत्त अनुवाद हुँदैन
चोरजस्तो सुटुक्क पस्छ घरमा
चिनाजाना अफशोस।

श्रंगार गरिरहेको बेला
कुनै घाउ फर्केर
पछिल्लतिरबाट बोलाई पो हाल्छ की भन्ने पासोमा
जाकिरहन्छ घर।
घरले सहनुसक्छ-खास कुरा त्यति हो
र घर बॉंच्नुसक्छ स-साना खुशीहरूमा
-बा को पेन्सनको कुरा छिन्यो
आमा सञ्चै छिन्‌
केटा-केटी बिग्रेका छैनन्‌,पढ़्‌दैछन्‌….
कोपिलाजस्तै खुशीको रंगमा
क्या खुल्छ घर।

घर-८
एकपछि अर्को आउँदैछन्‌
घरमा अँध्याराहरू।
बत्तिएर कुद्ने बसमा आँउदैछ
चिसो हावा।

अँध्यारोको ख्वामितले पठाएको छ घामलाई
विदाबारीको सूचनापत्र।

छताछुल्ल छ विरामी घामको
रगतका फाल्साहरु
घरमाथिको आकाशमा।

एउटा आफ्नै घर बनाउनु नसकेकोमा
दिनभरि आकाश ताक्ने घामबूढ़ा खिन्न छ।
अवकाशग्रहण गरेर घर छोड़िजॉंदैछ बूढ़ा घाम।

सेवानिवृत भएर घर फर्केको छ
क्लान्त घरबूढ़ा।

दिनभरि छिचोलेको
टन्टलापूर सपनाको किताब
अन्तिमखेपलाई दोहोर्‍याउँदैछ बूढ़ा घाम।

उज्यालोको अन्तिम बिँड़ी सल्काएर
धुम्‌धुम्ती बसेको छ बूढ़ा चामे।
गौंथलीले तातो चिया दिएकी छैन।
सायद घरमा छैन गौंथली।
तयार भइरहेका होलान्‌
रात्री-पाठशालामा आउनु
अपरिचित तारागण।

हेलित घाम डुब्नु खोज्दैछ।
तर न कुनै सागर छ क्षतिजमा
न आँगनमा कुनै कुवा।

घर-घरमा
भखर्रै बलेका छन्‌
हष्टपुष्ट बत्तिहरू।

गौंथलीले सहारा दिएर
चामे बूढ़ालाई घरभित्र लगेकी छे
र ग्यास-चुह्लामा
पानी बसालेकी छे।

घर -९

बाहिर लखेटेको छ
घरले मलाई घरबाट।

ओछ्‌यानको मनतातो वक्षको लोभमा छु
वाहिर जाड़ोमा।

घरको मनोपस चुक्कुल खोल्ने
महोत्सवहरू छन्‌ मसित।

थकानले सेलिएको छ घरको देह।
फतक्क गलेको छ घरको गुलाबी कुर्कुच्चा।

मेरो छालाबाट उख्लिएको छ घर।
प्रेमपत्रका पङ्‌क्तिहरूबाट
पन्छाएको छ घरले मलाई।

भयानक भाल्टेज बड़ेको उज्यालोलाई
गोप्य कुनाकाप्चाको छिड़्‌किनी खोल्नु नदिनु
मेरो घरबाट।

घर-१०
दैलो छ एउटा
जसले मेरो घर थुन्दैन। थुन्नसक्दैन।
घर भाग्छ।

दॉंत फुक्लेको खिर्कीबाट हाम्‌ फालेर
घर भाग्छ।

अलि पर पुगेर घरले
मन्टो बटारेर हेर्छ घरलाई।

घर खोज्दा अलल्लिएको अँध्यारो कोठाभित्र
जताभावी ठोकिन्छ।

एउटा कोठाको रेसिङ कार
अर्को काठाको बुल्डोजरसंग ठोकिन्छ।
छर्ल्यामछुर्लुम हुन्छ देउताथानको दीयो।
हल्लाले सातो उड़ेर घर भाग्छ।

घरबाट घर भागेपछि
तरकारीबाट सुवास भाग्छ।

विस्तारै ओझेल हुन्छ
घरको आँखाबाट घर।

घर -११

घरमा वैभवको ब्लूप्रिन्ट बस्छ।
भर्खर छापिएको असुरक्षाको किताब
आफ्नो पूरानो संस्करणसित
घरमा बस्छ।

सुट्ठीसाह्रै भएर
घर विश्वभ्रमणमा निस्कन्छ
घरमै छोड़ेर बूढ़ा बा-आमा।

त्यसपछि
घरमा बा का सुस्केरा र थकान बस्छन्‌।
घरमा अमाको आँसु र सपना बस्छन्‌।

कहिले पॉंउछ हाला नी बुद्धत्व?

घर-१२

बित्नै मान्दैन घरको भूतकाल।

सम्झनाले कहिले घरमा रंगपचेरा गर्छ।
सम्झनाले कहिले दशैंलाई रुवाउँछ।

घरमा भविष्यत्‌काल पनि
वर्तमानकालसँग घोलिएर बस्छ।

डेरामा वास बसेको घरमा
कसरी हुर्काउनु नि
भविष्यतकाल?
फिकर गरिरहन्छ घर।

घर-१३

घरले सधैँ दख्ने सपनाहरू
यति टाढ़ा भए।
कि विराना भए।

भूलेको बिर्सेको सपना
एक दिन गाउँ घुम्नु आउँछ
पर्यटकझैं।
चिनेको चिनेको लागेर
घरको फोटो खिंच्छ।

घरले भूलिपठाउँछ नाउँ
आफैले जन्माएको सपनाको
बोलाऊँ भन्दा भन्दै…..।

घर-१४
चकमन्न भेटाएपछि घर बोल्छ।
सम्झनाहरू निकाल्छ,थन्काउँछ।
रहरहरू निकाल्छ,झारपुछ गर्छ।
चुपचाप बस्दा घर
घरभित्रको चकमन्न बोल्छ।

चकमन्नमा
घर चुपचाप हुँदा
पीड़ाको कुकुर्नी भूकिबस्छ
घाउको काग कराइबस्छ…..

घर-१५
घरबाट उख्लिएको छ
विभक्तिको छानु,
विभक्ति वास्तविक्ताको।

घर गएको छ सुटिङमा।
घर गएको छ पासो थाप्नु।
घर गएको छ सपनाको शिकार हुनु।

टेलिभिजन सिरियलको जस्तो हुनुलाई
ऐनाअघि घण्टौं खट्‌छ घर।
वाल्ट डिज्नीले एनिमेट गर्छ घरको रंग
थ्री डी सिनेमाजस्तो हुनुखोज्छ घर
र लटरी फँसेको डिजिटल सपना किनिहान्छ घर।

बिहानै दामी गाड़ी चड़ेर
कारखाना जान्छ पूँजीपति घर
र फाइवस्टार होटलमा फ्लट गर्नअघि
टिलिक्क क्याबिनमा गजधम्म बस्छ।
हरेक कोठामा डिजाइनर सुट फेर्छ घर।
(सुटिङमा व्यस्त छ घर)

करोड़ करोड़ रूपियॉंको चाखलाग्दो षड़यन्त्र बुन्छ घर।

सुटिङबाट फर्केर बल्ल निदाउँछ घर
आफ्नो अनुहार
सपनामा देख्छ घरले
मेकओवर नगरेको अनुहार।
हल्ला नगर निदाएको छ सुपरस्टार घर,
सपनामा छ सेलिब्रिटी घर।

घरभरि हतार छ अत्तालिएको बिहानको
भात पाक्नैपर्छ ठीक समयमा घरमा।
केट्‌केटी स्कूल टिफिनबाकस
बेड टी  टुथ ब्रस
र काममा जाने ठिक समयमा….
…..समयमा बॉंच्ने समय छैन घरमा…

आह! घर उठ्‌छ!
घर काममा जान्छ।

पसिनै पसिना भएर
फतक्क गलेर
आह! फर्किआउँछ घरमा
घरको छानु……

घर -१६

कसले थपिदिन्छ हँ स्वाद
घरको भुटुनमा?
कसले घोलिदिन्छ हँ मह
घरको रसमा?

पात झैं झर्छ
गीतको आँखाबाट
आँसुको फाल्सा।

झरिबस्छ पातजस्तै
घरको मुटु-कलेजोबाट
आँसुको फाल्सा।

घरले रहर हुर्काउनु थाक्दैन,
मरेकाटे थाक्दैन।
घरले सपना देख्नु छोड़्‌‌‌दैन,
ज्यान गए छोड़दैन।

कसले फुलाउँछ हँ ढकमक्क आशा
घरको रूखमा?

घर-१७

घरमा सपना पनि बस्छ।

एक कुनामा डल्लो परेर बसिरहन्छ।
उमेर निक्कै ढल्केपछि
घर छोड़ेर जान्छ।

घरको अघिल्लो खिर्कीबाट एउटा सपनाको ज्यान जान्छ।
घरको पछिल्लो दैलोबाट अर्को सपनाको प्राण जान्छ।

घरलाई फुल्साउन
सिँगारपटार गरेर
नयॉं सपना आउँछ।

घर-१८

बिखालु वर्खाका फौजले
छानुमा ढुङ्गामूढ़ा गरेकै छ।

चोटसरी खिर्कीको आँखामा
हुस्सेले पट्टी बॉंधिदिएको छ।

घरको पानीपेटभरि
पानीले पिटेका सुम्ला नै सुम्ला छन्‌ ।

झरिको वायुसेनाले ताकी ताकी हान्दैछ घरलाई
सिरेटेको मिसाइल।
खोल्सामा खोलामा नदीमा बग्दैछ
घरको रङ्गपचेरा। दिशाहीन बग्दै गइरहेको छ
बाकसबाट उद्वार गरेर
कुन कान्छीआमाले हुर्काउँछ अब
घरको कर्णवहादुरलाई।

दैलो खोलेर बाहिर निस्केको छ घर
र नाघेको छ लक्ष्मणरेखा
लामेतॉंत ओइरिएका
झरिका व्याकुल सेनालाई
एक गिलास पानीको भिक्षा दिनु।

घर-१९

दॉंत नमोलेको हावाले
फुकेर निभाएको छ
देउताथानको दियो।

आँगनको रूखमा काग-कागहरू
धुमधाम बाझ्दैछन्‌
पटेका पड्काउँदै।

सिलिड़मा बिरालो ङ्‌यरङुर गर्दैछ
र भस्कँदैछ
परेवाका गुँड़हरू।

घरको आँगनमा हिड़दैछ
कुरूप भूइँचालो।

घरको टाउको ओखलीमा छ
र छन्‌ पापी मनका
नानाभॉंतीका मुसलीहरू।

टेलिभिजन कराउँदैछ सहरभरि
सिरियल बम ब्लास्टका समाचार.
केटाकेटी र घरका बाबू घर फर्केकै छैन।

घर-२०

वुद्दु विद्यार्थीको खाताजस्तो
मैलो पन्नाजस्तो आकाश
घरको टाउकोमास्तिर छ।

खियासरिको क्लिपले चेपेको छ एउटा घाम
आकाशको पन्नामा।

पोहोर साल रड़ाको मचाएर गएकी
मुख्लानी वर्खा
फर्कने समय भएको छ।
त्यो बाह्रबाठी झरीले फुटाएका
छानु, खिर्की, आँगन,बारी
लगभग कॉंप्दैछन्‌।

त्यही घोप्टे आकाशमुन्तिर छ घर
टिचर नभएको कक्षाझैं मनपरी।

मत्थु व्यवस्थाको लात खाएर
फुँइकेर माइत हानिएकी छे
घरको गौंथली।
सुनको मृगकै पछि लागेको छ घरको चामे।

लेटनाइट टेलिभिजनको घुस्सीले
झरिदिसकेको छ
चामे र गौंथलीको
प्रेमलापको दॉंत।

हिँउदे विदाको गाउँले प्राथमिक पाठशालाझैं
चकमन्न छ घरको कुनाकाप्चा
बाबुको झोंक देखेर।

घरको शोकशभामा मौन छ
घर।
घर-२१

सॉंझछेक घरले एउटा गीत गाउँछ
एउटा केटौले प्रेमको गीत
रोगी घरले गीत गाइरहन्छ सॉंझछेक-

सॉंझछेक घरले एउटा चित्र बनाउँछ
एउटा पुरानो प्रेमको चित्र
बेरङ्ग घरले चित्र बनाइरहन्छ सॉंझछेक-
-जब त्यो याद बिउँझन्छ
र ओहोरदोहोर गर्छ
घरको चकमन्न मनमा
राम्री पीड़ा भएर।

सॉंझछेक मुसारिरहन्छन्‌ गीतहरू
आफ्ना घाउहरू
आफै भॉंचिएर।

घर-२२

आधा जिन्दगी बस्छ
आधा घरमा

एउटा डल्लै परिवारको।

घरमा बाबुको रिस बस्छ।
आमाको बिरामी बस्छ।

घरको आँखामा टॉंसिइरहन्छ
तेस्‌को अनुहारको पहेंलो निराश
र चर्किँदै गरेको तेसको छातीको फूल।
घरको ढुकुढुकमा बजारिरहन्छ
तेस्‌को कुलतको त्रास।

घरमा एउटा माघ बस्छ
र चिलिरहन्छ घरको चिसो।
घरमा एउटा बाघ बस्छ
र खाइरहन्छ घरको मन।

हावामहलहरूको सिरक गुम्लुङ ओड़ेर
डल्लो परिरहन्छ घर
जा़ड़ो न जोड़ो कोठामा।

कोही कोही बेला रमाउनु पाउँदा
हतार हतार हॉंसिरहन्छ घर।
आकाङ्‌क्षाको निम्नस्तरीय उल्थामा
उहीँ पर आउँदै हुन्छ
असुरक्षाको अर्को संस्करण।

रातभर सुत्नु हुँदैन घरलाई
फुटाएको खिर्कीबाट छिरिआएको
भविष्यत्‌कालको सिरेटोले।

घर-२३

पानी परेको परेकै छ।
झरी झरेको झरेकै छ।

ओरिपरिबाट निरङ्‌कुश सैन्यद्वारा घेरिएको
निःशस्त्र आतंकवादझैं
थर थर कॉंप्दैछ
भिरालोको एक्लो घर।

घर-२४

ढकम्क्क घाममा
घर फक्र्यो
बिहानै।

बिहानै उठेर घरले
खिर्की खोल्यो
र पढ्नु बस्यो।

जिस्किँदै स्कूल जाने फुच्चेहरूको
ड्रइङ्खाताजस्तो भयो घर-
छिर्बिरे।

आँगनको ऐनामा
घाम हॉंस्यो सुनजस्तै,
फूलहरूका गरगहना टल्किए।

घरको मन
आकाशमा छर्लङ्ग भयो
घमाइलो पाराले।

कति वषपछि घरले
खातामा सारिराख्यो
मनपरेको गीत।

घरजस्तै घर घरै भयो।
निको भएर आमा
अस्पतालबाट फर्किन्‌ ।

घर-२५

घरले बुझ्दैछ
घाममा आइसक्रिम  पग्लेजस्तो
पग्लनु हुँदैन मान्छेको मन।
तर अघिल्तिरबाट हिँड़्‌ने
चिन्नु न जान्नु अनुहारमा
मन छापिएको पढ़नुखोज्छ घर

घर अलि पुरानो ढॉंचेको छ।

बाली-बिरूवाको भाषा
कृषकले बुझ्छ भनेर किरिया हाल्छ घर।
फूलमा सॉंझ-बिहान पानी हाल्छ।

मुस्कानको निरङ्‌कुस सैन्यले
घाइते पारिहाल्छ घरलाई।

कहिलेकाहिँ चकमन्न खोज्दै
भित्र कोठामा सुस्ताउँछ घर।
घर अलि पुरानै ढॉंचाको छ।

घरले बुझ्दैछ
सम्झनाहरूले घर भर्नु हुँदैन।
तर सास फेर्ने अलि ठाउँ भेट्यो कि
बोजूको नक्साअघि उभेर
आँसुसरी भइहाल्छ घर।

आज पनि रेडियोमा नाटक सुन्छ घर।

घर अलि पुरानै ढॉंचाको छ।
घर-२६

हर झिसमिसेछेक
डिङ्गर रात
घरसँग सधैँ हार्छ

संसारले उज्यालैले हेर्छ घरलाई
उज्यालैमा हेर्छ घरलाई।

दर्गुदै आउँछ उज्यालो
लजाएर आँगनमा बसिरहन्छ
घरकी छोरीले खोलिदिन्छे दैलो
चिया खान्छ

अँध्यारोमा घरले
ओइलिनुको परिभाषा पढ्छ

तर हर झिसमिसेछेक
डिड्गर रात
घरसँग हार्छै हार्छ।

घर-२७

घरलाई अनुभव छ
कति चिल्ने हुन्छ
अधकल्चो भविष्यको गीतागायन।

छोरो स्कूल पढ़्‌दाको
मज्जा आउने कथाहरू
भुल्दै जॉंदैछ घरले ।
छोराछोरीकै अनुहारले टहटह हुन्छ
घरको जुनेली
घरले भन्नु छोड़ेको जतिक्कै छ।

बिहानै फतक्क गलेको हुन्छ घर।

करैले काममा जान्छ
टाउको दुखिरहने घर
पेनकिलर खाएर

छोरो सुध्रिन्छ एकदिन
-त्यो दिन आउँछ?
-हो बा आउँछ।

घरलाई अनुभव छ
कति गाह्रो हुन्छ
लाठे छोरोको पहेंलो अनुहार
र त्यहॉं आँसुको ताजा डाम
चर्किएको ऐनामा हेर्नु
एकाबिहानै……..

घर-२८

अँध्यारोले फोरिदिन्छ दैलो
र घरभित्र पस्छे
काली बेस्से रात।

पानीको सङ्लो अनुहारमा टॉंसिन्छन्‌
बाल्टीभरि कालो रङ्ग।

समर्पित हुन्छ घर कलुटी रातभरि
फुकालेर अभिमानको दौरा
खोलेर मर्यादाको सुरूवाल।

घरको अनुहारमा धोप्टिन्छ चुक।
घरको अनुहारमा पोतिन्छ मोसो।

कालो मजेत्रोले अनुहार छेलेर
धम्मरधुस डायनी आउँछे
र धिब्रीको सलेदो निचोर्छे।

घरको भुइँमा ऐंठनले
खिलहरू घोंच्छ।

धोकेबाज मसान्तको पेट बोकेकी
आकाशको चाकमुनि
चेप्टिन्छ घर।

आँगनको रूखमा गुँड़ बनॉंउछन्‌
कागहरूका प्रेतआत्माहरू र लुछिखान्छन्‌
अल्पलसंख्यक उज्यालाका भुराहरू।

आँखा चिम्म गर्छे खिनैटी जूनले।

घर-२९

घरको लागि
एउटै बाटो
दुइटा हुन्छ।

छातिमै च्यापिरहन्छ घरले
फर्कने बाटोको आशा।
मनमै टॉंसिराख्छ घरले।
जाने बाटोको नक्सा।

जाने बाटो नफर्कुञ्जेल
आउने बाटो नपुगुञ्जेल
घर गीत गाइरहन्छ।

घरले गीत गाउँछ
ओहोर-दोहोर गर्दा
नथाक्ने बाटोलाई धन्यवाद भन्नु।
घरले गीत गाउँछ
मन छाप्नु खोज्ने
भाषालाई धन्यवाद भन्नु।

घर सारङ्गी हो।
जति नै उकालो भए पनि जाने बाटो
जतिसुकै भिरालो भए पनि आउने बाटो
घरको सास बढ़्‌दैन।

…..घरले गाइरहन्छ।
संसारका दामी दामी गीतहरू।

घर-३०

नगरपालिकाको
मैला बोक्ने ट्रयाक्टरहरूको
काखी गह्नाउने हल्लाखल्लाले
तर्सेर उसको हातबाट
उज्यालोको रित्तो बोतल झरिफुट्‌छ।

घामको कानको जाली फुट्‌छ
हर एकाबिहानै।

एक कप्टेरो उज्यालो
खिर्कीबाट हाम फालेर
घरभित्र पस्छ।
कुनाकाप्चा रकरक गर्छ।

झगड़ालु भोल्युममा छिमेकी टिभी
चिच्याउँदै हुन्छ
क्रिकेट म्याचमा भारत हारेको समाचार।

फेरि एउटा बिहान हुन्छ घरमा ।

घर-३१

घरलाई हिंसा मन पर्दैन

घरमा फुलिरहन्छ हर समय
फक्रनुको सपना।

यो देशजति नै मुख्य

त्यो पाठशाला हो
र चाहिने कुरो
जाड़ोमा ओढ्ने कोट हो।

-भनिरहन्छ घर।

घरको कविताले
रगतपच्छे शब्द टिप्नै मान्दैन।

झ्यालदेखि मनभित्रसम्म पस्ने उज्यालो
आकाशबाट चिप्लेर झर्छ र मर्छ
हिंसामा।

हिंसामा-घरले गीत भूल्छ
र एउटा आकाशसित
एउटा हावा मर्छ।

हिंसामा-कविताको घुंघुरू चुँड़िन्छ
र एउटा मनोभावसित
एउटा रस मर्छ।

घरले गीत गाइरहन्छ
– पृथ्वीको संङ्गीत डरलाग्दो हुँदैन
संसारको रङ्ग क्रुर हुँदैन।

घरले हिंसा मनै पराउँदैन।

 

Advertisements

१ टिप्पणी (+add yours?)

  1. टेकबहादुर छेत्री
    जन 13, 2011 @ 14:33:13

    केवलचन्द्रज्यु
    तपाईंका कविताले एउटा यस्तो प्रवाह लिएको छ, जसद्वारा पाठक कहिल्यै विषयवस्तुदेखि विमुख बन्दैनन. पाठकलाई समाइराख्नु तपाईंका कविताका विशेषता हुन्.

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: