किनाराको मन (कथा)

किनाराको मन (कथा)

-भगवती बस्नेत

अभावका  ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै  एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु ।

आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा  भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको छैन यी मेरा एकान्तका सारथीहरु ।

मेरो ल्याटपले मलाई कर्के नजरले हेरिरहे झैँ लाग्यो ।  उसलाई मायाले सुम्सुमाएँ,” छातीमा बेस्मारी टाँसे उसो त मेरो प्रिय मान्छेको उपहार हो यो ।”

यसैमा मैले मेरा सबै दु:ख सुख अनि गुनसा, जिज्ञासाहारु पोख्ने गरेको हुन्छु ! यसैले मेरो बेचैनीलाई, एक्लोपनलाई दुर गर्ने काम गरेको हुन्छ ! यस्लाई खोलेँ, मुसुँक्क मुस्कुँरायो उस्लाई हेरेर म पनि मनै देखि मुस्कुराएँ। हिजो तराइको बगरमा भैंसी चराउँदै  भैसीको आङमाथि बसेर गीत गाउदै हिंड्ने म आज सात समुन्द्रपारी एउटा कोठामा बसेर संसारलाई नियाली रहेछु ! अब नयाँपुस्ताले समयानुसार हिंड्न सक्यौ भने  नयाँयुग भेट्न कति नै समय लाग्ने रहेनछ। धुलैधुलो र माटै माटोमा रमाउँदै,धूलोमा नै औलाले कखरा सिकेको मान्छे आज तिनै औलाहरू किबोडमा नचाइरहेको छु। त्यो धुलो माटोको जीवनदेखि शुरू भएको यो दुरुहयात्राले  आजको यो भब्य र सभ्य शहरको रङ्रगिन दुनियाँमा बाँच्न र नाँच्न सिकाएको छ। गतिशिल समय, प्रगतिशील समाज, विचारशील दुनियाँसँग हातमा हात र साथमा साथ मिलाएर बामे सर्न खोजेको मेरो चुनौतिपूर्ण जीन्दगीका पाइलाहरू कष्टकर छन तर मैले यसलाइ सहजै लिएको छु।

वास्तबमा यो भर्चुअल दुनियाँ नि  कति विचित्रको छ ,त्यसमाथि चमत्कारी अनि  सम्पन्न मानव वस्तीहरु !!

आफ्नो दैनिक कार्य ब्यस्तताबाट बचेँको समयमा मलाई मनोरन्जन दिने म भुल्ने भनेको यही ल्यापट्पमा हो। वाइफाइ कनेक्सन गर्‍यो बिभिन्न वेब  साइटमा समाचार पढ्यो ।मुहारपुस्तिकामा विश्वभरिका मानिसहरुको धर्म संस्कृति बिचारहरु पढ्यो।कैले मायालुका यादभित्र  गुडुल्किदैँ त कैले मेलोडियस संगीत गुञ्जाउँदै आफ्नो दिनचर्या गुजारी रहेको छु ! धेरै समयपछि  फेरि यसै दुनियाँ मार्फत मेरो बाल्यकालको साथीसँग भेट भएको छ।  उमेर परिपक्क  भएपछिको भेट, बिपरित लिङ्गी प्रतिको आकर्षणले  पनि होला  उसका भावना बिचारले आजकाल उसैतिर आकर्षित हुदैँछु।उसैको   भावना अनि बिचारको आडमा आफू निर्धक्क फक्रिरहेको अनुभव गरिरहेको छु। समय र परिस्थितीको कठघरामा उभिएर आफ्नो भबिष्यको खोजिमा गन्तब्य पहिल्याउन आफ्नो मातृभूमिबाट टाढा भिन्न भूगोल अनि परिवेशमा परिश्रम गर्न वाध्य छौँ हामीहरू।

सधैंको निरासापन ,प्रवाशको उच्छ्वाशका नरमाइला क्षणहरू, आफन्तको सम्झनाले भिजाएका परेली, मनमा लागेका घाउहरुलाई भित्री मनको कठ्घरामामा छुपाएर अथाह वेदनाको खजानाले पुर्दै,कुण्ठित रहर अनि चाहनालाई दबाएर बनावटी  मुस्कान छर्दै जिउनै पर्ने बिबशतामा उसको साथले केहि राहत मिलेको छ।

आजभोलि लाग्छ उ नै हो मलाई बुझ्ने यो संसारमा ।जब जब म उनका आँखामा आफूलाई हेर्छु, एकदम गहिरो आत्मियता पाउँछु। लाग्छ ती आँखामा सधैँ हराइरहुँ ।सागरभित्रको मोति झै डुबेर ।यी आँखामा चमचमाउँदा चमक,उत्साह उमङ्ग सबै  उसको नै देन हो।मेरो आशा भरोसाहरूमा अझ बढी विश्वास थपिएको छ।  आश भरिरहने यी नयनमा अझ धेरै विश्वास अनि नयाँ नयाँ रहरका रेशाहरू सल्बलाएका छन् ।  धेरै बर्षपछिको अन्तरालमा केहि महिना मात्र भएको छ ,”भेट भएको तर उसले अथाह प्रेम बर्षाएर होला उसका आवाजहरू शुन्यतामा पनि  मीठो धून  बनेर मनमस्तिष्कमा गुन्जिरहन्छ।”

थाहा छैन उसका हरेक बोलाइ हेराइ वा विचार के कुराले मलाई उसै प्रति आकर्षित  गरिरहेछ !   उस्को बोलाई  हेराइ बिचार  सबैको भन्दा भिन्न लाग्छ ।  बाल्यकालमा रोपिएको हाम्रो प्रेमको मुना फेरि पलाउन  झाँगिन थालेका छ, उसको मायाले यसमा मलजल गरिरहेको छ।  धन्य छ यो प्रबिधी जस्ले”मेरो प्रथम प्रेमसँग, साइबर स्पेशमै किन नहोस, साक्षात्कार गराइदिएको छ | नोस्टाल्जियामा होला मेरो चुलबुले पना फिरेको छ । लाग्दैछ उ नै मेरो आत्माले खोजेको सच्चा प्रेमी  हो। प्रेममा आत्माले आत्मालाई चिन्नु पर्छ मनले मनको  पवित्र एवंम निश्चल भावनालाई  महसुस गर्न सक्नुपर्छ ।वास्तवमा प्रेम बिचार  अनि भावनाको समागम हो ! प्रेम स्वच्छन्द अनि स्वेच्छाले अन्त:स्करणबाट स्वत:स्फूर्त प्रकट हुने  स्वच्छ भावनाको  मीठो अनुभूति हो ।यो  प्राकृत, ब्याप्त र गतिशील हुन्छ ।संसारका सम्पूर्ण जिवात्माहरुलाई एकापसमा बाध्ने कडी  प्रेम नै हो !जुन हामी दुईको आत्ममा अजम्बरी भएर रहेको छ।

मलाई लाग्छ जीवनमा महत्व पनि उसलाई दिनुपर्छ जसले आफ्नो भावनालाई सम्मान र महसुस गर्छ । आजकल उसका हरेक बोलाई अनि बिचारहरुमा जीवनका दर्शन पाउछु ! मेरा हरेक शब्द अनि व्यबहारमा उसको सम्मान पाउँछु ! जहाँ माया हुन्छ त्यहा सबैकुरा हुने रहेछ ! एक  व्यक्ति सबै मानिसको लागि बनेको हुदैंन । म सोच्दै छु उ मेरो लागि बनेका हो उसको  निकटता र आफ्नोपनले मैले यही महसुस गराएको छ। सिमसिम पानी परेको छ जाडोले गर्द लुगलुग काम्दैँ झ्यालबाट बाहिर चियाउन मन लाग्छ पानीसँगै फुसफुस हिँउ पनि खसिरहेको छ नजिकै देखिने सानो पोखरी हिउँ भरिएर एकैछिनमा पुरिन्छ नजिकै हिमानी झार लत्रिएर पनि सौन्दर्य दिइरहेको छ । त्यही  झारलाइ हेर्दै परिस्थिती जस्तो आए पनि उसले मेरो साथ दिन्छ भन्ने कुरामा म ढुक्क छु।

दिन बित्दै गयो हामी जति टाढा भए नि हाम्रो माया उतिनै गाढा हुँदैँ गयो !! नेपालमा बिदामा जाने र भेटघाट गर्ने योजना बनायौँ।

जहाज  अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा  ओर्लियो।जब मेरा पाउहरूले जन्मभूमिको माटोको स्पर्श गर्यो मेरो मन खुसिले झुम्न थाल्यो। जहाजबाट ओर्लँदा एक किसिमको रमाइलो अनुभूति भयो ।आफ्नो माटोमा टेक्न पाउँदाको अपूर्व  खुसी र मुस्कानको उमङ्ग अहा !

जहाजबाट ओर्लिएर बिमानस्थलको सामान लिने ठाउँमा गए । हतार हतार समान लिएर बाहिरिएँ।  लामो समय पछि मातृभूमिको   चिरपरिचित  तर नुतन सुगन्धले त्यसै त्यसै मख्ख परेर मातेको ,मदहोसी आभास भइरहेको थियो।अझ आफन्त र उसको मिलको उमङ्ले म  भित्र भित्र बतासिएको थिए! उसलाई हेर्न आँखाहरु लालायित थिए !आँखा चारैतिर दौडाएँ  तर  उ कतै देखा परेन । आमा र भाई बाहिर मेरै प्रतिक्षामा बसिरहेको थिए। धेरै समय पछि छोरीलाई देखेर आमा खुशीले हर्षाआँशु बगाउँदै  अंगालेर धेरैबेर चुम्बन गरिरहनु भयो ।हामीले लामो अन्तरालमा   एकआपसमा आफ्नो माया साटिरह्यौ ।धेरै बेर उसको प्रतिक्षामा बस्यौ लामो समय सम्मको प्रतिक्षा निरर्थक भएपछि   अन्तत:  ट्याक्सी लिएर आफ्नो बासस्थानतिर  हुइकिँयौ।बाटोभरि  उ  किन आएन भनेर मनमा कुरा खेलिरहयो पछि  मात्र थाहा भयो ऊ कुनै महत्वपूर्ण काममा फसेको रहेछ।  भोलि भेटेर घुम्न जाने भन्दै फोन आयो !

“उसले भोली  बिहान् १० बजे चोभारको गेटमा भेटौँ ,अनि दक्षिणकाली घुम्न जाउँला भन्यौ”

कहिले बिहान होला भनेर बसिरहेँ, सानैमा देखेको कस्तो भयो होला भन्ने मनमा उत्सुकता जागेको थियो रातभरी खुल्ला झ्यालबाट झिलिमिली ताराहरु नियाल्दै उसैसँग भबिष्यको  योजना बनाउँदै, उसैको कल्पनामा कोल्टे  फेर्दा फेर्दै  रात बित्यो !

बिहान  सबेरै उठेँ उसलाई भेट्न आतुर मनहरू छटपटिदै थियो उसले भने अनुसारको ठाउँमा भेट भयौँ !

उसलाई देख्नासाथ  आँखा आँखा नै बोल्दै थिए ओठले मधुर मुस्कान फाल्दै थियो । वरिपरी लहरै सल्ला र धूपिका बोटहरु अनि अग्लो होचा पहाडहरु !’ हामीलाइ टुलुटुलु हेर्दै थिए।’ सिरिसिरी बतासले मौसम अझ मदहोस पारिरहेको थियो। दक्षिण कालीको मन्दिरमा गएर पूजा गर्यौ अनि  नजिकैको पार्कतिर लाग्यौ ऊ सँगको प्रत्यक्ष भेटमा म ज्यादै प्रसन्न थिएँ उ पनि निक्कै खुसि देखिन्थ्यो हामी  पार्कमा बसेर त्यहाँका हरियाली रंगीबिरङ्गी फूलबारीको,मनमोहक दृष्यावलोकनमा आफैँलाइ घण्टौ हराइरह्यौ। दिनभरि भलाकुसारी गर्दै प्रकृतिको मनोरम दृष्यहरू क्यामरामा कैद गर्न पनि भ्यायौ।,अनि  हाम्रा सुन्दर भविश्यका सुनौला  र अनुपम सपनाहरु कोरल्यौं। फेरि भेट्ने बाचामा छुटियौँ।

अर्को चोटि हामीले  घर नजिकैको पार्कमा भेट्ने योजन बनायौ !

आज असिम  भावुक , कौतुहल उत्सुक देखिन्थ्यो ।केहि समय मौन बसेर

उसले भन्यो:-

आज मेरो जिन्दगीको महत्वपूर्ण निर्णय तिमीलाई  सुनाउनु छ तिमीले त्यस्मा मलाई सहयोग गर्नु पर्छ !

मैले उत्सुक हुदै सोधे:- के हो त्यस्तो निर्णय  मैले सके र जानेसम्म अवश्य सहयोग गर्छु।

मेरो परिवारले मेरो विवाहको सोच राख्नु भएको रहेछ !

राम्रै हो नि समय भयो जुनसुकै बाबा सपना हुन्छ !!छोराको बिहे गर्नु बुहारी  भित्र्याउनु ! अनि तिमीले के उत्तर दियौ त म प्रति प्रश्न गर्छु!

उ अधिर हुदैँ भन्छ:-” म त तिमीलाई नै विवाह गर्न चाहन्छु,” तिमीले मलाई साथ दियौ भने मेरो चाहना पूरा हुनुको साथै हाम्रो प्रेम पनि अमर हुनेछ अनि मेरो मेर बाबा आमाको सपना पनि !!”

यसरी अचानक उसको विवाहको प्रस्तावले   सृजना गरेको हर्ष र खुशीले  मेरा परेली कतिबेला रसाइसकेछन्।, मेरो ठूलो सौभाग्य हो तिम्रो अर्धाङ्गिनी हुन पाउनु, जसलाइ मैले माया गरेको छु उसैलाई जिन्दगीभर मेरो बनाउन पाउनु ! तर म कति अभागी छु ! तिम्रो यत्रो विश्वाश अनि मायाले गरेको प्रस्तावलाई अहिले सहर्ष स्वीकार गर्न असमर्थ छु  ! म अहिले विवाह गर्न सक्दिन !’मेरा आफ्नै वाध्यता अनि बिवशताहरू छन् जो तिमीले पनि बुझेका छौ।

तिमीलाई अवगत नै छ मेरो बाबाको स्वर्गारोहण पश्चात मैले मेरो घरको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको छु।मेरो बूढी आमा र नाबालक भाइ बहिनीको रेखदेख गर्नै पर्छ ! उनीहरूलाइ ब्यवस्थित गर्ने जिम्मा मेरो काँधमा छ ।

मेरो भाई बहिनीहरुको जिन्दगी अनि भविश्य मेरै हातमा छ मैले मेरो मायाको आडमा उनीहरुको भबिष्य लथालिङ  पार्नु हुँदैन । यस्तो धृष्टता म कसरी गर्न सक्छु ? तिमी नै भनन  ?

मलाई तिमी प्रति पूर्ण विश्वाश अनि भरोशा छ !तिमिले मलाई अनि  मेरो वाध्यता र मजबुरीलाई तिमीले बुझ्ने छौ !

“प्रेममा नै परेर मान्छेले ताज महल खडा गरिदिन्छन्। प्रेमले मानिसको सोच र लक्ष्य बदलिदिन्छ। मेरो सोच र लक्ष्य पनि तिमीले बदली दिएकी छौ।भित्री आँखाले देख्ने जति सुन्दरता अनि भोग्ने जति निश्चलता, पवित्रता बाहिरी आँखाले कहिले पनि अनुभव अनि अनुभूति गर्न सकिदैँन अरुले दिएको बस्तुले प्रदान हुने सबै खुशीहरु क्षणिक हुन् ।आफ्नो मनले स्वेच्छाले, स्वविवेकले गरिने प्रत्येक कामले मात्र मानिसलाई सुख र आनन्द प्रदान गर्न सक्छ ।”म तिम्रो स्वकीय फैसलामा सहमत छु।म तिम्रो अवस्थासँग  पनि परिचित छु!मैले तिम्रो भावना नबुझिदिए अरू कस्ले पो बुझ्छ र ?तिम्रो भावना अनि निर्णयको सम्मान पनि गर्छु!”

उसको साकारात्मक  निर्णयले म बेहद खुशी भएँ,’ उसले मेरो भावना र अवस्थालाई सहजै बुझिदियो आफ्नो प्रेम प्रति आँफैलाई गर्व लाग्यो।’

गोधूँली साँझमा पर पर क्षितिजमा बादलका रङ्गीन धब्बाहरु  प्रज्वलित भइरहेका छन् । चराचुरुङीहरु आकाशमा स्वतन्त्र उडिरहेका छन्। आफ्नो गन्तब्यमा पुगेर आ–आफ्नो बासस्थान फर्किरहेका छन् । बर्षासँगै सडक वरिपरिका गुलाफहरू ढकम्क्क फुलेका छन्। वातावरण एकदमै रोमाञ्चक देखिन्छ, तर मेरो अनुहारमा असन्तुष्टीका आभाहरु छल्किएको छन्।

उसको बिछोडमा….

बिछोडको बेदना ,पीडा कति नमिठो हुँदोरहेछ नचाहेर पनि भोगिरहनुपर्ने । जुनीजुनीसँगै बाँच्ने बाचा- कसम हुँदा हुँदै पनि मिलनका कसमहरु पूरा गर्न नसक्दा  यो बिछोडको पलमा तडपिरहनुको बिकल्प भेट्न निक्कै  कठिन हुनेरहेछ।जब समय र परिस्थितिले अनौठो विवशता,अप्ठेराहरु अगाडि तेर्साउँछ अनि चुपचाप सहेर धैर्य गर्दै हिडन सक्नुपर्ने रहेछ। सधैँसँगै बस्ने  वाचा हुँदा पनि  बाध्यतावंश हाम्रो साथ छुट्यो  कुनै पनि कुराको सुनियोजित आरम्भ र अन्त्य नहुने रहेछ।हाम्रो मिलन बिछोडको कथा पनि यस्तै भइदियो।

 फेरि उहि आफ्नै  पुरानो काममा फर्किए उही निरासा उही सुन्यता एक्लोपनमा तर उसको  निस्सिम मायाले  जिन्दगीमा नयाँपनको आभास , हौसल्ला र प्रेरणाले  म जगमगाइरहेको अनुभूति गर्दै थिएँ।  दिनहुँ डिजिटल्ली हाम्रो भेटघाट भईरहन्थ्यो र भावनाहरुको सटासाट भईरहन्थियो !लगभग ६ महिनासम्म निरन्तर यहि प्रकृया चलिरह्यो।तर अनपेक्षाकृतरुपमा  एकाएक म भित्रको घाम सदा झै उदाउन छोडिदियो ! अनेकौ तर्कनाको आँधिहुरी म भित्र चल्न थाल्यो ! मा आश्चर्य  चकित भएँ, म फेरि तडपिएँ फेरि छटपिएँ मैले कारण बुझ्न धेरै कोशिश गरे  ! धेरै खोज तलास अनि लामो  प्रयास पछि उसको एउटा  मित्रबाट थाहा पाए उसले आफ्नै संसार बनाइ सकेछ आफ्नो घरजम गरिसकेछ  !

मायाप्रेम भौतिक शरीरको प्राप्ति र  विवाहको लागि  मात्र होइन भन्ने थाहा हुँदाहुँदै पनि थोरै समय त पागल झै भए रोएँ, कराएँ, बेहोस् झै भएर बर्बराउदै हिंडे, किनभने मैले  त आफ्नो श्रर्दा,आदर्शप्रेम,भक्ति,अनि सम्पूर्ण जीवन उसैमा समर्पित गरेकी थिएँ।

हरेक कुराको औषधी समय नै रहेछ !संसारलाई हेरेर धेरै समयपछि आफैले आफूलाई सझाएँ।यो संसारमा स्थायी रुपमा कोही कसैको हुन सक्दैन भन्ने महसुस गरेँ।जीवनमा कोहीसँग भेटिनु र छुट्टिनु त यौटा संयोगमात्र हो । जे जस्तो भए पनि उस्ले मलाई बिर्सन नसक्ने प्रेम दिएर गयो । म जति बिर्सन खोज्छु उसको याद उति नै मीठो बनेर मनमस्तिष्कमा सल्बलाउँछ।मैले सदैव माया गरेको मान्छेको जीवन सधैं सुखी र खुशी रहोस् म सधै यही कामना गर्छु अनि म पनि  एउटा नयाँ उमङ्ग बोकेर जिउनेछु, एउटा अर्कै  नयाँ जीवन ।

आज “भ्यालेनटाइन्स डे “अर्थात प्रेम दिवस !बर्सौ  देखि मनमा थाती राखेका मनका भावनाहरु एकर्कामा साट्न्  सबै आतुर देखिन्छन्। जताततै प्रेमकै चर्चा छ । यो भ्यालेनटाइनको प्रेममय उत्सबमा टेलिभिजन,सञ्चार माध्यम सबैतिर   राता गुलाबका  गुच्छा अनि रङिबिरङी पोष्टकार्डरुका उपहार  अनि प्रेमी प्रेमिकाको चहलपहल देखिन्छ। पटकाका उल्लासमय धुनहरु सुन्दा,हेर्दा आँफैलाई प्रश्न गर्छु,”  के  सबैले प्रेमदिवस मनाउँदा म चाँहि प्रेम दिवस मनाउँन  नालायक अनि असमर्थ छु र ? “अहँ म नालायक छैन ।

मैले पनि त  कसैसँग प्रेम गरेको थिएँ छु र गरिरहने छु।मेरो हृदयमा उसकै लागि मायाको भेल बगिरहेछ। समय बदलिए पनि परिस्थिति जे जस्तोसुकै  भए पनि  उसको  माया  मेरो मुटुमा अझै छचल्किरहेको छ।   म  चाहन्छु उ जहाँ भए पनि जस्तोसुकै अवस्थामा भएपनि उसको भौतिक शरीर मैले  नपाए पनि उसँगै सारा जीवन काट्न नपाए  पनि   मेरो हृदयमा मायाको सागर सधैँ उर्लिरहेकोछ सिर्फ उसैको लागि!माया कुनै वस्त्र होइन नयाँ छँदा लगायो पुरानो भएपछि फाल्यो । माया त आइसियुमा दिने  अक्सिजन जस्तै हो जसले मानिसको प्रतिकुल, कठोर एवं पीडादायी क्षणमा समेत खुशी र जीवन प्रदान गरिरहेको हुन्छ ! म उसको मायालाइ सदैव अटल राख्नेछु।मेरो मंगलमय कामनाले उसको जीवन  सधै फुलोस फलोस ! उसको आशा  अनि रहरहरू  अजम्बरी बनेर नमुर्झाउने गरी  सधै फक्रिरहोस युगौ युगसम्म।

सधैं मैले माया गरिरहेको नायक  उही मेरो  असिम हो !

उसको जीवन  निरन्तर बहिरहोस् भनेर कामना गर्ने किनाराको मन उर्फ म अदी  !

3 टिप्पणीहरु (+add yours?)

  1. बी पी बजगाईं
    Feb 09, 2012 @ 15:20:57

    भगवती जी, किनाराको मन भनेर तपाईंको कथा पढें, मनको किनारा रहेछ (पात्रको कारणले यसो भनेको, पात्राको कारणले होइन)| मैले हिजै भनें की प्रत्येक विशालभित्र सुक्ष्म अस्तित्व हुन्छ भने प्रत्येक सुक्ष्मताभित्र विशाल शक्ति हुन्छ भनेर| यहाँ पात्राले विशाल जीवनभित्र subconscious mind मा सुक्ष्म तर शक्तिशाली उही प्रिय राखेकी छिन भने विपरीत पात्रले शारीरिक मायाको सुक्ष्मता भित्र विशाल त्रास राखेको पाएँ| त्रासलाई कुलो लगाइयो भने ठूलो शक्ति हुनसक्छ भनेर थाहा नपाउनु पात्रको दुर्भाग्य हो|

    जवाफ फर्काउनुहोस्

  2. Dilip_abril@yahoo.com
    Feb 13, 2012 @ 09:46:49

    आत्मपरक कथा सुन्दर लाग्यो।

    जवाफ फर्काउनुहोस्

  3. कथा : किनाराको मन | साहित्य संग्रहालय
    Jan 24, 2014 @ 22:43:26

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: