लक्ष्मी पूजाको साँझमा मेरो उनीसँगको भेट

– बी पी बजगाईं, गान्तोक

आज लक्ष्मी पूजा| लगभग ९२ करोड हिन्दु भक्तहरुले आज आ-आफ्नो घरमा लक्ष्मी बोलाउने छन्| आजको साँझ माता लक्ष्मीको लागि हतारमय छ| उनी सबैको घरमा पुग्नु छ| जीवनको आधा गोरेटो हिंडिसकेको मेरो जीवनमा मेरो संघारमा कहिल्यै लक्ष्मीसँग साक्षात्कार भएन| प्रत्येक लक्ष्मी पूजामा दियोमा तेल हालेर घर वरिपरी झिलिमिली बत्ती बाल्ने गरेको भए तापनि….अहँ! कहिल्यै उनीसँग भेट भएन| आधा राततिर दियोमा तेल सकिन्थ्यो र निभ्थ्यो, म बिहानसम्म भैलेनी खेल्नेहरुलाई दान दिईरहन्थें| पुनः भन्दछु, अहँ! कहिल्यै लक्ष्मीसँग भेट भएन|

आज किन हो कोनी मलाई बत्ती बाल्ने नियमित रहर जागेन| मलाई लक्ष्मीसँग साक्षात्कार गर्ने अरु नै उपाय खोज्न मन लाग्यो| सोचें, बरु बाटोमा निस्किएर ध्यान पुरयाए पक्कै कतै लक्ष्मी भेटिने छ| सत्तर प्रतिशत हिन्दुहरु भएको मेरो शहर सिलगडीमा भक्तहरुकोमा जाँदै गरेको उनलाई म कहीं न कहीं त भेट्न सक्छु होला नी भन्ने मेरो नयाँ विश्वास बोकेर निस्कन्छु अनिर्दिष्ट बाटोमा|

हतारमा बाटोमा हिंडिरहेकी युवतीहरु नै मेरो दृष्टिको उदेश्य बनेको छ आज…. करोडौं भक्तको घरमा पुग्नु पर्ने हुनाले हतारमा हिडिरहेकी युवतीहरु मध्ये कोही लक्ष्मी त कतै होइन भन्ने जिज्ञासा छ|

‘प्याँकु – प्याँकु’ शब्द गर्दै मेरो पछाडीबाट एउटा रिक्शा आउँछ अनि मलाई उछिनेर अघि बढ्छ.

“कतै रिक्शामा लक्ष्मी त थिइनन्?” मेरो स्वभाविक जिज्ञासा|

“अहँ, रिक्शामा चढेर उनले ९२ करोड मान्छेहरुको निम्तो भ्याउन सक्दिनन्”, मेरो आफ्नै सान्तवना आफैलाई|

अब बाटो छेउको घरहरुको ढोकाहरु मेरो दृष्टिको नयाँ उदेश्य बन्छ| कतै लक्ष्मी पस्दै गरेको अथवा निस्कँदै गरेको देख्छु की भन्ने मेरो नयाँ विश्वास|

“ओ भैया, मरना है क्या?” (ए भाइ, मर्नु मन लाग्यो?), च्याँ…….क्क….., गाडी ब्रेकको आवाज र ड्राइभरको स्वरले म झसंगै हुन्छु| सडकको माझमा रहेछु, उनीसँग भेट्ने रहरमा सम्मोहित मेरो ध्यानले अन्य दृश्य देख्न छोडेको रहेछ| म सडक किनार पक्रन्छु|

मेरो लक्ष्मी केन्द्रित पैदल यात्राले चम्पासरी मोड, प्रधान नगर, गुरुङ बस्ती, एयरभिउ चोक, वर्धमान सडक हुँदै सिलगडीको वेश्यालय तर्फ जाने बाटोमा गति लिएको छ.

“अरे ओ बाबु, हमें भी तो देखो एक नजर….” (ए हजूर, हामीलाई पनि त हेर्नुस एक नजर)

“आइए जनाब, आपको हम जन्नत का सैर कराएंगे…” (आउनुहोस हजूर, तपाईंलाई म स्वर्गको भ्रमण गराउने छु)

आ-आफ्नो कोठाको अघिल्लतिर सजिएर उभिएकी केही वेश्याहरु बाटोमा हिंडिरहेका मान्छेहरुलाई ग्राहक बनाउने आशामा बोलाईरहेकी थिइ भने केही वेश्याहरु लक्ष्मी पूजाको निम्ती झ्याल-ढोकाहरु सजाउने काममा व्यस्त छन्| वेश्याका कोखहरुबाट योजनाविहीन कर्मगतिमा जन्मिन पुगेका केही बालक-बालिकाहरु दियोमा तेल भर्दैछन्, सलेदो लगाउँदैछन्, कोही मोमबत्ती बोकेर यता-उता कुददै छन्| आफ्नो भविष्यप्रति अनभिज्ञ एउटा तीन-चार वर्षिया वेश्यापुत्री बालिका भने कलिलो हातमा झिरझिरे बालेर समाउन पाउँदा धेरै खुसी भइरहेकी छे| सुन्तले रङ्गको साडी लगाएकी एक वेश्या जो झिरझिरे समाएकी बालिकाको आमा होला सायद, नजिकै एउटा ढोकामा उभिएर म तर्फ इशारा गरेर बोलाउँदैछे…

“ए पथिक, यता आउनुहोस, दिपावलीको साँझ बत्ती बलेको छ, मेरो बोहनी तपाईंले गरिदिनुहोस| आजको साँझ मेरो बोहनी खराब जानु हुँदैन नत्र लोधर लाग्छ…”

मेरा पाइलाहरु टक्क रोकिन्छन्, सडकमा सिधा फर्किएका पाइलाहरु तेर्सो बन्छन्|

जब नेताले शान्तिको कुरा गर्छ तब आम मानिसहरुलाई थाहा हुन्छ युद्ध अति नजिक आइसकेको छ’ भनेर बर्टोल्ट ब्रेख्तले भने झैं दिपावलीको साँझ बत्ती पछिको बोहनी भन्नुले

मेरो साधारण मस्तिष्कले थाहा पाउँछ, बोहनी खराब गयो भने उबाट लक्ष्मी टाडिनेछिन|

झिरझिरे बालेर रमाईरहेकी सानी वेश्यापुत्री आफ्नै धूनमा खुशीले कुददै अघि आई अनि म सँग ठोक्किन पुगि| उसको झिरझिरेले मेरो कमेजको एक छेउ अलिकति डढ़छ, उ मतिर हेरेर डराउँछे| संघर्षमा नै मानव जीवनको गति छ भन्दै सात्रे चिन्तन बोकेर मेरा हातहरु उसको शिरमाथि जीवन-स्पर्श गर्न पुग्छन्| उसको डर केही हराउँछ अनि फेरी नयाँ झिरझिरे बोकेर बलेको दियोतिर कुद्छे|

मेरा पाइलाहरु सुन्तले रङ्गको साडी लगाएकी वेश्या अघि गएर अडिन्छन्| सुन्दर अनुहार, आँखामा बोहनी प्राप्तिको चमक, अँध्यारोमा बलिरहेका थुप्रै दियोहरुले दिएको पहेंलो प्रकाशमा सुन्तले साडीले उसलाई दीप्तिमय बनाएको छ| लक्ष्मी शक्तिको एक रुप| त्यसरी नै क्षुधा अनि तृष्णा पनि शक्तिको नै रुप| उसको आँखाको चमकमा देखिएको क्षुधाको यथार्थ सानी वेश्यापुत्रीभित्र लुकेको थियो| तृष्णाको यथार्थ बोहनी हुनै पर्ने कोठाको नियमले बोकेको थियो| धर्म, जात, भाषा, लिङ्ग, क्षेत्र इत्यादिको पृष्टपोषक बन्न नसकेकी तर अति आध्यात्मवादी र अति भौतिकवादी आडम्बर भन्दा भिन्न मध्यस्थ मार्गमा  कोठाभित्रको जीवन-चक्र बाँच्नुपर्ने वेश्याको मेरो अघिको प्रस्तुतिले आज लक्ष्मीको परिभाषाको गाँठो खोल्दै गएको अनुभव गर्छु|

“यहाँ उभिएर मेरो रुपरस पान गर्नु भन्दा भित्रै गएर……” उनी बोल्दै गर्दा अनायासै मेरा हातहरु वेश्या-चरण तर्फ झुक्छन्| उनी झस्किएर दुइ कदम पछि सर्दछिन|

आज लक्ष्मीलाई पुरुष भेषमा देख्दैछु म, अनि देख्दैछु स्वयमभित्र| वेश्याहरुले किन लक्ष्मी पूजा गर्दैछन्? ’cause धनको रुपमा लक्ष्मी पाउनु छ उनीहरुले| धनको रुपमा कसरी आउँछिन त लक्ष्मी? ग्राहकको भेषमा| अनि उसले मलाई ग्राहक देख्दैछिन अर्थात् लक्ष्मी देख्दैछिन| आज लक्ष्मी पुजाको राति नारी लक्ष्मी खोज्न हिँडेको म आफैभित्र भएको पुरुष लक्ष्मीसँग साक्षात्कार गर्दैछु|

वस्तुको इन्द्रियग्राही सत्यलाई नमानेर दृश्य सत्यभन्दा परको कुनै मनोमय अगोचर अस्तित्व यथार्थबोध गरेको आदर्शवाद झैं देखिने यी विचारहरुलाई आदर्शवादको चोला ओडाउन म तयार छुइन| बरु यसलाई जीवनको सापेक्षिक सत्यको सार्विक तथ्यको रुपमा नै रहन दिए जीवन परिभाषाको अन्य गाँठोहरु फुकाल्दै लाने कुरामा म स्वयम् विश्वस्त छु| मैले सर्विकतावादको घोषणापत्रमा भनेकै छु की सर्विकतावादभित्र रुमानी लेखन प्रयोग पनि हुनेछ तर लेखनको अवस्थाले पाठकहरुमा रोमान्चकता स्वरुप मनोरन्जनमात्र दिएर त्यसको सन्देशमा भने कल्पनाभन्दा वर आएका वस्तुतासँग घटेको निर्णायक परिणाममात्र दर्शाउने छ.

उफ! लक्ष्मीको स्वरुप पनि कस्तो-कस्तो हुँदो रहेछ….

मलाई लक्ष्मी दर्शन गराउन सक्ने विदुषी मेरो अघि वेश्याको रुपमा उभिएकी छिन| मेरो आधा जीवनको लक्ष्मी पूजामा देवी दर्शन नपाएको अनि ज्ञानी साधु-सन्तले दर्शन गराउन नसकेको लक्ष्मी आज म स्वयमभित्र दर्शन गराएकोमा गुरु सम्मान दिन मेरा तीन औंलाहरुले उनले टेकेको माटोमा भएको पाइलाहरुको छापबाट चरण-धुली टिप्दछ….. अनि लगाउँछु माटोको टिका मेरो निधारमा| गुरु-दक्षिणामा निस्किएका मेरा आँखाका डोबहरु भरिएको आँसु गुरुरुपी उनलाई देखाउने साहस हुँदैन मसँग….यसैले उनलाई पिठ्यूँ देखाएर फर्कन्छु| मेरा पाइलाहरु द्रुत गतिमा अघि बढ्न थाल्छ| धन-लक्ष्मी, बोहनी, काम-क्षुधा, ग्राहक, कोठाको नियम अनि मेरो व्यवहारको उनीमाथि के प्रभाव परयो भनेर मलाई आजसम्म थाहा छैन|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: