रुखसानाको धर्मयुद्ध

– बी पी बजगाईं, गान्तोक

(यो कथा आफ्नै जीवनमा घटेको सत्य घटनामा आधारित छ। कथामा भएका संवादहरु उर्दुयुक्त हिन्दीमा बोलिएको हुनाले यहाँ नेपाली लेखनमा पनि उर्दु शब्दहरु राखिएको छ- लेखक, सन् २०१०)

समाजको संरचना सुरक्षा गर्ने आफ्नै तरिका हुन्छ, राम्रो-नराम्रोलाई छुट्याउने प्रक्रियामा समाज निरन्तर लागिरहेको हुन्छ। रेलगाडी स्टेशनबाट बिस्तारै अघि बढ्दैछ। रातको एक बजे यो कुन स्टेशन हो मलाई थाहा छैन। म दिल्लीबाट अयोध्या जाँदैछु। त्यस समय म दिल्लीको एउटा समाचार पत्रमा कार्यरत छु। अयोध्याको विवादास्पद बाबरी मस्जिदमाथि विशेष रिपोर्ट बनाउन पर्ने कार्यालयको जिम्मेवारी बोकेर मेरो यात्रा अघि बढिरहेको छ। राती आफ्नो बाटोमा भएको एउटा सानो स्टेशनमा केही क्षण रोकेर रेलगाडी अघि बढ्दैछ। म देख्छु, एउटा सानो पोका बोकेकी कालो बुर्का ओढेकी युवती म भए तिर आउँदैछे, उसको सम्पूर्ण शरीर कालो वस्त्रले ढाकेको छ। उसको पछि पछि सेतो दाह्री भएको लगभग ६५ वर्षे मुसलमान वृद्ध पनि अघि बढ्दैछन्। सम्भवतः भर्खरैको स्टेशनमा चढेका हुन् दुवै।

सन् १९९० को घटना हो यो।

ठण्डा महिनाको राती। सुनसान रातलाई चिर्दै रेलगाडी अघि बढ्दैछ…, ग…च..छक… ग…च..छक… ग…च..छक…। अयोध्याको बाबरी मस्जिद तोड्ने धर्म युद्धको शुरुवात भइसकेको सकेको थियो। त्यस समय आडवाणीको रथ यात्रा चर्चामा पहिलो पंक्तिमा उभिन पुग्थ्यो।

म भएको कम्पार्टमेंटमा सबै भूस सुतेका छन्। म मात्र हिन्दी उपन्यासकार वेदप्रकाश शर्माद्वारा लिखित ‘कानुन का पण्डित’ नयाँ उपन्यास पडदैछु। यस उपन्यासमा उनले कानुन प्रति अविश्वास हुनेहरुको मनमा विश्वास जगाउने प्रयास गरेका छन्।

“बेटा, गुज़ारिश (अनुनय) गर्दछु, बस्नलाई सानो ठाउँ दिने?” सबै सुतेका छन रेलमा, बस्नलाई त के अडेसिने ठाउँसम्म छैन कम्पार्टमेंटमा। शायद म जागै रहेको देखेर होला, वृद्धले मलाई बेटा (छोरा) सम्बोधन गर्दै भने।

“ज़रूर जनाब (निस्संदेह श्रीमान),” भन्दै म ढल्किएको लोवर बर्थको मुनिबाट मेरो एउटा सानो तर बलियो सन्दुक निकाल्छु अनि उनलाई बस्ने इशारा गर्दछु। उनी बस्दछन् तर उनीसँग आउने युवती भने उभिरहेकी छे। बुर्काले अनुहार छेलेको भएता पनि म युवती भन्दैछु, किनभने उसको देखिँदै गरेको कलिलो हातहरुले उसको उमेर १७-१८ मात्र हो भनिरहेको छ। साइड बर्थमा पसारिएको मेरो खुट्टा खुम्च्याउँदै विपरितमा सानो ठाउँ बनाउँदै म बोल्छु, “बहन (बहिनी), तपाईं यहाँ बस्न सक्नु हुन्छ।”

“रुखसाना, तँ यता बस् म त्यहाँ बस्छु…” बृद्ध बोल्छन्। यस वाक्यले वृद्धले म प्रति शंका गरेको अनुभव गर्न पुग्छु म। जवान युवतीलाई मेरो नजिक आफू बसेकै सीटमा राखेर उनलाई अलग्गै राखेको त सोचेनन उनले कतै…, मेरो अन्तर्मन बोल्छ। मलाई झोंक चल्छ।

“तपाईं उठ्नुहोस् त,” वृद्धलाई भन्छु। उनी मेरो सन्दुकबाट उठेपछि म सन्दुक सीट मुनि हाल्छु अनि भन्छु, “अब म खुट्टा पनि पसार्छु, तपाईंहरु दुवै उभिएरै यात्रा गर्नु होला।”

“अहो तपाईं त रिसाउनु भयो नी।”

“अनि तपाईंले शंका गरेजस्तो गर्नु भयो नी”, मेरो जवाब।

“हैन, हैन। लौ त अघि जस्तै गरेर बसौं नी त…” उनको अनुहारमा अघि उनैले बोलेको वाक्यले ग्लानिबोध दर्शाएको छ। “अजनबी (अचिनारु परदेशी) हौं हामीहरु, त्यसैले छोरीको सुरक्षा बोलेको नी,” उनी बोल्छन।

“पाँचै औंला बराबर हुँदैनन,” म सन्दुक सीट मुनिबाट निकाल्दै बोल्छु।

रातको शुन्यतालाई भयानक आवाज निकालेर चिर्दैछ रेलगाडीले। अघिको घटना पछिको ख़जालत (लज्जाशालीनता) हुनसक्छ, वृद्ध धेरैबेर चुपचाप बस्छन्। यहाँदेखि अगाडी कथा लान पर्दा त्यस रात मैले के लगाएको थिएँ त्यो जान्न आवश्यक हुन्छ। दार्जीलिंगको सुनदहमा बस्ने मेरो एक मुसलमान साथीले मलाई केही महिना अघि ‘अल्लाह’ लेखिएको ‘लकेट’ दिएका थिए, छोटो पारेर बाँधिएको लकेट मेरो घाँटीमा झुन्डिएको थियो। लगभग २७ वसन्त पार गरेको अनि दाह्री पाल्ने रहर बोकेको हुनाले मेरो अनुहारमा चिउँडोको किनाराहरुमा मात्र उम्रिएको दाह्री पालेको थिएँ। रेलगाडीमा यात्रा गर्दा सजिलो हुन्छ भन्ने सोचेर मधेश खण्डमा लगाइने लुंगी लगाएको थिएँ अनि त्यो निलो कोठे लुंगी थियो। अब भन्नुहोस त म कस्तो देखिँदै थिएछु?

“हामी मुसलमानहरु एकजुट भएर हिन्दुहरु विरुद्ध मैदानमा उत्रिनु सक्नुपर्छ,” वृद्धले रात जागै काट्ने सोचेर होला धेरै बेरको मौनता तोड्दै मलाई मुसलमान ठानेर बोले। यति भनि सकेर केही शंकालु आँखाले कम्पार्टमेंटमा उनले अन्य यात्रीहरुतिर नज़र दौडाए, सबै गहिरो निन्द्रामा परेको देखेर अनुहार सामान्य बनाउँदै केही सानो स्वरले उनको भन्ने जारी राखे। “मुस्लिम अवाम (साधारण जनता) गरिबी, अशिक्षामा जेलिएको छ, कट्टरपन्थी हिन्दुहरुद्वारा बाबरी मस्जिद भत्काउने षडयन्त्र भइरहेको छ, प्रजातन्त्र मौन छ यस देशमा। एउटा अस्थिर वातावरणमा हाम्रो पुरै कौम (समुदाय) पस्दैछ। हामी आज नै जाग्न सकेनौं भने हाम्रो भोलि अँध्यारो छ,” उनले भने।

“अशिक्षाको कारण त इन्सान (मान्छे) आफै होइन र?” मेरो प्रश्न।

“तपाईंको कुरा पक्का हो, तर हामीले हाम्रो नानीहरुको भाग्य तब्दील (परिवर्तन) गर्न चाहेका हौं। अल्पसंख्यक भनेर बहुसंख्यकले हाम्रो भाग खोसेर खाँदैछन नी त…, उनीहरु त भारतमा हाम्रो नामो-निशान मेटाउन चाहन्छन, इतिहास मेटाउनमा लागि परेका छन्। के बाबरी मस्जिद ढाल्ने योजना हाम्रो ऐतिहासिक अस्तित्व मेटाउने षडयन्त्र होइन र?”

“………………….”

“यी हिन्दुहरु पनि त यहाँका होइनन् नी, यिनीहरु पनि त आजको पाकिस्तान भएरै आएका हुन् नी, इतिहासमा बाहिरबाट आएर हिन्दुस्तान हाम्रो हो भन्ने जिब्रोहरु काटेर फ्याँक्ने युद्ध शुरु गर्नुपर्छ हामी मुसलमानहरुले,” उनी कम्पार्टमेंटमा यता-उता हेर्छन, मानौं कुनै हिन्दुले उनको कुराहरु त सुनिरहेको छैन? सब मस्त सुतिरहेका छन। उनी ढुक्क भएर पुनः आफ्नो आक्रोश जारी राख्छन।

म चुपचाप सुनी रहेको छु। युवती पनि सुतेकी छैन। कुरा सुनिरहेकी छे। वृद्धले उसको शरीरको प्रत्येक कोशिकामा भरिएको हिन्दु विरोधी भावनाहरु असहनीय शब्दहरुमा पोख्दैछन। म बसेको कम्पार्टमेंटमा अधिकांश हिन्दुहरु छन्, निन्द्रामा मानिस आफ्नो वातावरणीय यथार्थ भन्दा पर हुने भएकोले होला, युवती र म वाहेक कसैले पनि वृद्धको कुरा सुनिरहेका छैनन्। रेलगाडी आफ्नै गतिमा निर्धारित गन्तव्यतिर बढ्दैछ। समय धेरै बितेर गयो, वृद्धको हिन्दु विरोधी आंग जिरिंग- जिरिंग पर्ने गफ सकिएको छैन।

धेरै बेर पछि, बिहानीको हल्का लालिमा झ्याल बाहिर पर क्षितिजमा देखिँदैछ। सुर्य उदाउनु भन्दा पहिले नै कट्टर मुसलमानहरुले नमाज पड्नु पर्छ। यसलाई उनीहरु नमाज-ए-फज़र भन्दछन। आफ्नो काँधमा भएको तौलिया जस्तो कपडा भुइँमा ओछ्याएर बृद्ध नमाजमा व्यस्त हुन्छन्। ठण्डा महिनाको चिसोले होला अन्य यात्रीहरु अझै गुडुल्किएर सुतिरहेका छन्।

“बेटा तपाईं नमाज अदा गर्दैन?” आफ्नो प्रार्थना सकेर उठेका वृद्ध मलाई प्रश्न गर्दछन।

“जनाब, तपाईंले अहिलेसम्म मेरो नाम त सोध्नु भएको छैन…” मेरो जवाब प्रति आश्चर्य मान्दै मलाई हेर्छन उनी।

“के हो तपाईंको नाम?”

“विष्णु…” म बोल्छु। मेरो नाम हिन्दु देउताको नाममा आधारित छ। किनभने म हिन्दु ब्राह्मण परिवारमा जन्मिएको हो। केवल मेरो रुपरंग हेरेर गफिन थालेका वृद्धको अनुहारमा भय र आतंकको बादल छाउँछ। मनोवैज्ञानिक चाप सिर्जना भएर होला उनी आफ्नो हिंडाइमा पनि भय प्रदर्शन गर्दै रेलगाडीको शौचालयमा पस्दछन।

आफ्नै काखमा हात राखेर बसेकी रुखसानाको कोमल हातमा बुर्काको भित्रबाट एक थोपा जलकण तप्किन्छ। मेरो दृष्टिबाट यो दृश्य ओझल पर्न सक्दैन।

“बहन (बहिनी), के तपाईं रुँदै हुनुहुन्छ?”

“मेरो अनुहारमा त मजहब (धर्म) –को पर्दा छ तर मेरो विचारमा जुन कालो पर्दा थियो त्यसैको पश्चतापमा यो आँसु हो भाइजान (दाज्यू)।”

“किन, त्यस्तो के भयो र?” मेरो सहज प्रश्न।

“हामीलाई सानैदेखि शिक्षा दिइन्थ्यो हिन्दुहरु काफिर हुन् भनेर। हिन्दुहरु असहिष्णु, उग्र, अल्लाह विरोधी, नापाक (अशुद्ध) हुन्छन्, यिनीहरुसँग मेलजोल बढाउनु अल्लाहको खिलाफ (विरुद्ध) जानु हो भन्ने हामीलाई सिकाइएको छ। तर आज थाहा भयो हिन्दुहरुमा अपार सहिष्णुता हुँदोरहेछ, उनीहरु अल्लाह विरोधी होइनन् तर आफ्नो छातीमा अल्लाह नाम राख्नसम्म नहिच्किचाउने हुँदोरहेनछ, एउटा मुसलमानले तपाईंको कौमको विरुद्धमा बोल्दा उसको उमेरलाई ध्यानमा राखेर आफ्नै समान माथि बस्न दिएर एक शब्द बोल्नु भएन तपाईं। तपाईंले बोलेको भए अनि यहाँ सुतेका मान्छेहरु उठेको भए आज मेरो अब्बु जानको के हालत हुने थियो? सुतेकाहरु उठ्छन की भन्ने डर राखेर तपाईंले बोल्नुसम्म भएन भने हिन्दु उग्र र नापाक हुन्छन भन्ने मलाई दिईएको शिक्षा गलत थियो भाइ जान,” उसको आँखाबाट झरेको आँशुको थोपाहरु कालो कपडामा ढल्किएको देख्दैछु म।

“नरुनु बहन, बरु खुशी हुनु आज मनको पर्दा उठ्यो भनेर। हामीलाई अल्लाह नमान्ने भनेर काफिर भनेका हुन्। वास्तवमा काफिर भनेको अस्विकार गर्ने भनेको हो, यदि स्वीकार नगर्ने काफिर हुन् भने हिन्दुत्व स्वीकार नगर्नेलाई पनि त्यहि शब्द प्रयोग हुनुपर्ने होइन र? हामी एक असहिष्णु समाजको हिस्सा हुन् सक्दैनौं। यो समस्या सबैमा छ, हिन्दुहरु पनि कट्टर छन्, उनीहरुले पनि सानाहरुलाई भड्काउने काम गर्छन्, मुसलमानले हामीलाई काफिर भने झैं उनीहरुले हामीलाई विधर्मी भन्न सिकाउँछन्। कट्टरपन्थीहरू जुनसुकै धर्मका हुन् उनीहरु घृणाका पात्र होइनन्, दयाका पात्र हुन्, कट्टरपना उनीहरुलाई लागेको रोग हो। धार्मिक दंगाको आगोमा मानवमात्रको सौहार्दता जलेर खरानी भएको छ। आज आम हिन्दु अनि मुसलमानको बिचमा धेरै गहिरो खाडल छ। किन दुवै पक्षबाट कसैले त्यस खाडललाई पूर्ण नचाहेको? यस दुनियाँमा तपाईं जे पनि गर्नुहोस् मान्छेहरुको भावना आहत हुनु भने नदिनुहोस।”

“मलाई, तपाईं होइन, तिमी भन्नु होस् भाइजान…, तपाईंले बोलेका कुराहरुले मेरो मनमा प्रवेश लिइसकेका छन्।”

“एउटा शर्तमा…, मेरो बहनको अनुहार मेरो मनमा कैद गरेर जान पाउँछु भने, अनि यसो गर्दा मेरो बहनको धार्मिक भावनामा चोट लाग्दैन भने मात्र…”

तबस्सुम (प्रसन्नचित्त भाव) -को प्रकाश छर्दै केही क्षणको निम्ती रुखसानाले बुर्का अनुहारमाथि सार्दछिन। यति सुन्दर अनुहार मैले जीवनमा पहिले कहिल्यै देखेको थिइनँ। गोरी, लामो नाक, गहिराई बोकेको नयन अनि त्यस नयनमा छल्किरहेको अश्रु तरंग। साँच्चै, यति सुन्दर अनुहार मैले पहिले कहिल्यै देखेको थिइनँ। बे नजीर (अनुपम, जसको कुनै बराबरी छैन) छिन उनी। मैले बुर्का पुनः लगाउने आँखाले इशारा गरें। बुर्का अनुहारमा झार्दै भन्दछिन, “तपाईंले मेरो विचारमा जुन परिवर्तन गरिदिनु भयो, म आजन्म ऋणी रहनेछु।”

यस्तैमा रेलगाडीको गति घट्दै गयो। सम्भवतः कुनै स्टेशन आइपुग्यो होला। झ्याल बाहिर भुकभुके उज्यालो खसेको छ। एकक्षणमा रेलगाडी रोकिन्छ।

“तिमीले आज दिएको विश्वासप्रति म पनि आजन्म तिमीप्रति ऋणी रहनेछु,” रुखसानालाई तिमी सम्बोधन गर्दै बोल्छु म।

यो नै मेरो उ प्रतिको पहिलो अनि अन्तिम ‘तिमी’ शब्द थियो।

धन्न बुर्का लगाउनमा रुखसाना छिटो भईन। परबाट वृद्ध हतारिएर आए। सम्भवत: उनी डरले यसै स्टेशनको प्रतिक्षामा शौचालयभित्र समय कुरेर बसेका थिए। उनी मतिर नहेरी छोरीको हात समातेर तान्छन्। केहीक्षणमा उनीहरु स्टेशनको एउटा बन्द ‘बुक स्टल’ अघि उभिएका हुन्छन्।

रेलगाडी फेरी विस्तारै गुड्न थाल्यो। पर बुक स्टलको अघि उभिएको अब्बुजानको पछिल्लतिर उभिएर अब्बुले नदेख्ने गरी रुखसानाले मलाई हात हल्लाई रहेकी छे। म जवाबी हात हल्लाउन सक्दिनँ, उसको बाबुले देख्यो भने…।

मेरो यात्रा विस्तारै अघि बढ्दैछ। यस घटनाको दुइ वर्षपछि ६ दिसम्बर, १९९२ मा बाबरी मस्जिद ध्वंस काण्डले रुखसानाको मनमा कस्तो परिवर्तन ल्यायो होला, उ जहाँ पनि होस् आज पनि मेरो मन भित्रबाट भाग्न सकेकी छैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: