यथार्थ

– बी पी बजगाईं

पी के उसको चल्ती नाम| उसलाई आज केवल गाउँ, राज्य र राष्ट्रमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा चिन्न थालेका छन| पी के –ले खिंचेका फोटाहरु चर्चाका विषयहरु बन्न थाले, राष्ट्रिय अनि अन्तराष्ट्रिय पत्रिकाहरुमा छापिन थाले| पुरस्कारहरु पनि निकै थापेको छ उसले| आज पी के केवल नाम होइन, फोटोग्राफीको संसारमा एउटा परिचय हो, राम्रो उदाहरण हो अनि यस पेशामा लाग्न चाहनेहरुका निम्ति प्रेरणाको स्रोत हो अनि हो फोटोग्राफी पुरस्कारको पर्याय|

उ फोटो जर्नालिस्ट| एउटा गरीब परिवारमा जन्मेको, हुर्केको अनि उसको बाबुलाई कसैले अँधियामा पाल्न दिएको गाईको दुध बजारमा बेचेर पढेको १५ वर्ष बितिसकेछ|

***

१५ वर्ष अघि…

आमा रोगले थला परेकी, बाबु बिहानै गाईको दुध दुहेर घाँस काट्न जानु पर्ने दैनिन्दिनी| दिउँसो मुखिया बाजेकोमा खेताला जानु पर्छ| अघि बाबुले दुहेको दुध बजार पुरयाउनु छ अनि त्यता त्यतै बजारको सरकारी पाठशालामा पुग्नुपर्छ उ| यसैले स्कुले युनिफर्ममा नै दुध बोक्ने गरेको छ उसले| त्यसताक बालश्रम अपराध हो भन्ने कुराको जानकारी गाउँ पुगेकै थिएन, अहिले पनि कतिपय गाउँमा पुगेको छैन| पड़नमा अव्वल भएकोले पाएको छात्रवृत्तिले उ अघि बढ्दै गयो|

***

केही वर्ष अघि उसले घुम ओडेको एउटा स्कुले बालक मैला युनिफर्म लगाएको, एउटा हातमा पानी-सिसा (छ्यांग-छ्यांग देखिने प्लास्टिक) -मा खाता-किताब बोकेको अनि अर्को हातमा दुधको क्यान बोकेर खेतको आलीमा हिँड्दै गरेको फोटो खिचेको थियो| ‘बालश्रम’ शीर्षक भएको त्यो फोटो त्यस वर्षको उसको पुरस्कृत फोटो थियो|

***

आजभोलि उ गाउँ आउँदैन| सानो टुक्रा माटो किनेर त्यहाँ घर बनाइदिएको छ उसले, वृद्ध भइसकेका आमा-बाबु त्यसै घरमा बस्छन्| फुर्सद नभएर हो अथवा नचाहेर हो उ गाउँ आउँदैन| आमा-बाबुलाई दिनहुँ दुइ छाक टार्ने रकम भने महिनै पिच्छे मनि-अर्डर आउँछ गाउँको डाकघरमा| दशैंमा उनीहरुले लेमिनेसन गरेको छोराको ठूलो फोटोमा टिका लगाईदिँदै गहभरी आँशु राखेर आशिर्वाद दिनथालेको निकै वर्ष भयो| उनीहरुको छिमेकि मन बहादुर पौरखी छ| गाइ-बाख्रा धेरै पालेको छ उसले| दिनभरीका सबै कामहरु सकेर बेलुकी पी के -को आमा बाबुको नियास्रोपन मेटाउन संधै गफ गर्न आउँछ उ| हिजो-आज गाउँको नजिकैको जङ्गलमा भालुहरु निकै बढेको गफ सुनाउने गरेको छ| सायद सरकारको ग्रीन मिशनले गर्दा होला उसले ठानेको छ|

***

पी के चप्रमारी जङ्गलमा हिड्दैछ| महँगो स्टील क्यामेरा घाँटीमा झुन्ड्याएको छ| आवश्यक परिहाल्छ की भनेर उसले ढाडमा महँगो ट्राइपोड लगायत अन्य आवश्यक सामानहरु बोकेको छ| यो जङ्गल वन्य जीव संरक्षित क्षेत्र हो| विशेष गरी यो जङ्गलमा हात्ति निकै पाइन्छ| उसले आफ्नो “रोयल इनफिल्ड” मोटर साइकल चप्रमारी रेल्वे क्रसिंगभन्दा केही अघि लगेर जंगलभित्र एउटा ठूलो झाडीभित्र लुकाएर राखेको छ| बिहानीको समय भएकोले होला जङ्गलमा लुइंचे (वन कुखुरा) निकै देखिँदैछ|

उ सडकदेखि धेरै भित्र जङ्गलमा पुगेको छ| पी के –लाई जङ्गली जन्तुहरु मात्र होइन केहीसँग डर लाग्दैन, प्रत्येक वर्ष पुरस्कार जित्ने सपना बोकेको आँखामा डरलाई पुरस्कारले छेकेको छ|

“क्वाँªªªªªª…”

केही पर हात्ती कराएको आवाज सुनिन्छ| उ जोगिएर बिस्तारै अघि बढ्छ| निकै पर जङ्गलको छाती चिरेर गएको रेलको लीकमा हात्तीहरुको झुण्ड देख्छ उ| उ नडराई अझै अघि बढ्छ| केही अघि गएर एउटा तेर्सो परेको ठूलो रुखमा चड्छ र माथिबाट हेर्छ| हात्तीको एउटा छावा (बच्चा) रेलको लीकमा अड्किएको छ| सायद शिकारीले थापेको तारको पासोमा अल्झिएको उक्त छावा खुट्टामा तारसँगै हिड्दा रेलको लीकमा अल्झिएको हुनुपर्छ, उसले लख काट्छ| माउ हात्तीहरुले तमाशा हेर्नु बाहेक अरु केही गर्न सकेका छैनन्| उसले एक मनले सोच्छ, त्यस स्थानबाट नजिकको स्टेशन गएर खबर गर्नुपर्छ भन्ने, अर्को मनले सोच्छ रेलले छावालाई हिर्काउँदै गरेको फोटो| उसलाई चर्चित बनाउने यो भन्दा राम्रो अर्को अवसर सायद उसले कहिल्यै पाउने छैन| त्यहि रुखको ठूलो हाँगामा मिनी ट्राइपोड निकालेर रुखमाथि नै क्यामेरा सेट गर्छ अनि हात्तीको छावामाथि क्यामेरा जूम गरेर रेल आउने प्रतिक्षा गर्छ| बिहानीको चिसो हावा उसलाई आनन्ददायक लागिरहेको छ|

***

बिहानको मिर्मिरेमा नै एक भारि घाँस ल्याईसकेर अर्को भारि घाँस ल्याउन मन बहादुर घरबाट निस्कन्छ| जङ्गली भालु गाउँ पसेको रहेछ, आफ्नै आँगनमा जम्का भेट हुन्छ भालु र मन बहादुरको| उसले सोच्न पाएको हुँदैन भालुले झम्टेर आक्रमण गर्छ| मन बहादुरका हातहरु अनायासै उचालिएर अघि आउँछन| हातमा भएको डाले घाँस काट्न बोकेको खुकुरी सिधै भालुको छातीमा रोपिन पुग्छ| गाउँ भरि हल्ला फैलिन्छ  मन बहादुरले भालु मारयो भनेर|

***

लगभग डेढ़ घण्टाको पर्खाई पछि रेल कराएको ध्वनि सुनिन्छ| द्रुतगतिमा रेल आउँदैछ, रेलको गडगडाहटले उत्पन्न गरेको डरले होला हात्तीको छावा जोरले कराउन थालेको छ| पी के –का औंलाहरु क्यामेराको शटरमा तैनात बन्छन्|

***

ग…च…छक…… ग…च…छक…… ग…च…छक……कूँ… ग…च…छक…… ग…च…छक……

क्लिक! क्वाँªªªªªª……….

छ्याक…ढुक… ग…च…छक…… ग…च…छक…… ग…च…छक……

***

हिजोको घटना पछि…

बिहान| आज एउटा राष्ट्रिय दैनिकमा पी के –ले खिचेको फोटो छापिएको छ| रेलले हिर्काएर आधा उछिटिन लागेको हात्तीको छावा, अघिल्लतिर हात्तीको असहाय माउ सूँड़ उचालेर कराइरहेको मार्मिक दृश्य छ फोटोमा, तलतिर लेखिएको छ…, “फोटो: पी के” अनि शटर स्पीड, समय, एपर्चर जस्ता अन्य जानकारीहरु|

***

बेलुकी…

गाउँमा वनपालेहरुसँग वन अधिकारीहरु पनि आएका छन| उनीहरुले भालु मारेको अभियोगमा वन्यजीव अधिनियम अन्तर्गत मन बहादुरलाई पक्राउ गरेर लाँदैछन्| पी के –को आमा-बाबुको एउटै सहारा बनेको छिमेकि मन बहादुर पक्रेर लाँदैगरेको दृश्यले दुवै जनाले हृदय भरि आँसु पोख्दैछन्|

***

समाचार पत्रमा वन्यजीवको हृदयविदारक फोटो छापिएकोमा उसलाई यस वर्षको राष्ट्रिय फोटोग्राफर पुरस्कारले सम्मान जनाउने पुरस्कार कमिटिले दिनभरिमा नै निर्णय लिएको छ| पुरस्कार दिनेलाई हिजो-आज दिनु हतार भएको देख्छु म| बेलुकी यो जानकारी टेलिफोन मार्फत पी के –ले पाउँछ|

***

बेलुकीको ठूलो साँझमा…

आफ्नो संधैको नियास्रोपन मेटाउने सुख-दुखको सहयात्री मन बहादुरको अभावमा भोक मेटिएको छ पी के -को आमा बाबुको| पुरस्कारको निम्ति चयन भएकोमा शहरमा फेरी एउटा पार्टी दिएको छ साथी भाइलाई पी के –ले| उसको आमा बाबुले आज केही खाएका छैनन्, मन बहादुरलाई के हुन्छ होला? चिन्तित छन उनीहरु|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: