मृत्यु पछिको पात्रले लेख्नेछ कथा

– बी० पी० बजगाईं

“कालले लान नसकेको बुडो…, मर्दैन पनि, लेख्न छोड्दैन पनि…, तिमी ठूलो लेखक बन्न सक्दैनौ भन्दा पनि लेख्न छोड्दैन| हाम्रो गोरख धन्दाको पर्दाफाश गर्ने नै हो की क्या हो…” निर्मलाको आक्रोश| कारण भरे थाहा हुनेछ|

उनले कलम समातेको औंलाहरु केवल उनका हातका अंशहरु मात्र होइनन्| मशिन बनिसकेका ती औंलाहरुले थुप्रै कथा-कविता लेखिसकेका छन्| जीवनको दुइ तिहाई जति बाटो हिडिसकेका मानव काकाले थुप्रै लेखे तर उनलाई गोष्ठी हुँदो कसैले पनि देखेनन्| उनका कथाहरु स्तरीय छन् तर धेरै कमले मात्र पढेका छन्| उनका कविताहरुले वर्तमानलाई उछिनेर भविष्यको टाइम मशिनमा यात्रा गर्दैछन्| धेरै साहित्यकारहरुलाई यो कुरा थाहा छैन| थाहा हुँदैन पनि| उनले सरकारी पाठशालामा शिक्षक काम गरेर पाएको तनाखाले अहिलेसम्म दुइवटा कथा संग्रह अनि दुइवटा कविता संग्रह प्रकाशित भएका छन्| प्रत्येक संग्रह मेहनतको पसिना चुहाएर कमाएको रकमबाट केवल १००० प्रतिको संख्यामा प्रकाशित भएका छन्| ती मध्ये ३०० प्रति जस्तो आफन्त छिमेकि र भेट्न आउनेहरुलाई दिने गरेकाछन् अनि रहल पुस्तक विक्रेताकोबाट कहिल्यै फर्केर आएन| पुस्तकको दाम पनि केही आए केही आएनन्| तर उनी खुशी छन् विभिन्न राजनैतिक अनि सामाजिक चापले उमेर छँदा बोल्न नसकेका कुराहरु अहिले कलमलाई माध्यम बनाएर पोख्दैछन|

“किन रिसाएको? तिमी रिसायौ भने त उनले थाहा पाउनेछन्| अनि त उनलाई कसरी दिग्भ्रमित गर्नु? हाम्रो खेल उनले थाहा पाउनु हुँदैन| कथंकाल उनले राज्य पुरस्कार पाइहाले हाम्रो दुर्गति हुन्छ|” निर्मलाको मिल्ने साथी नयन कृष्णले सम्झायो|

“त्यसो भए के गर्ने त?” निर्मलाको जिज्ञासा|

“के गर्ने र? उनको प्रशंसामा लेखहरु छाप्ने|” नयन कृष्ण बोल्छ|

“किन र?”

“अनि त उनको नजिकमा पुगिन्छ| हामी उनको विश्वास जित्छौं| नाम चलेका लेखकहरुसँग सल्लाह गरेर उनीहरुको नाममा विरोध बोल्ने छौं अनि विश्वास पात्र बन्नेछौं|”

“त्यसो गर्दा के हुन्छ?”

त्यसो गर्दा हामीले जे भन्यो उनले त्यहि मान्ने छन् अनि हाम्रो विश्वासमा पर्ने छन्| अनि त मिसगाइड गर्न सजिलो हुन्छ| नयाँ समालोचकहरू पनि जन्मन सक्ने छैनन्| वर्तमान लेखकहरु पनि बाँचिरहने छन्|”

“नयाँ समालोचक भन्नाले?”

“अनुराग क्या त?” नयन कृष्ण बोल्छ|

“ए…, हिजो अस्ति कवि समुहबाट छुट्टिएर नयाँ समालोचक बन्यो भन्ने मान्छे?”

“अँ, त्यहि|”

“अनि उसको मानव शिक्षकसँग के सरोकार?”

“किन छैन, त्यो बुडो शिक्षकले उसको अनुभव दिनसक्छ| उसको पाठकहरुलाई नयाँ समालोचकको समालोचना पड्ने प्रेरणा दिन सक्छ|” अनि त्यसो भएको खण्डमा उनीहरु एकार्कामा बलियो हुनसक्छन| हुनसक्छ भोलि मानव शिक्षकले अकादमी पुरस्कार पाउलान अथवा नयाँ समालोचक अनुरागले राम्रो समालोचना लेखेकोमा राज्य पुरस्कार पाउला| लेखेर भ्रमको जाल ओडाएको हाम्रो नाटकीय संसारमा अनि त आगो लाग्दैन? यसैले हेर निर्मला हाम्रो लेख्ने बेपार जिउँदो राख्ने भए यहाँ लेखक र समालोचक भेट हुनु दिनुहुँदैन| बाह्र-सत्ताइस नाटक गरेर भए पनि फुकाउनै पर्छ यस्ता गाँठोहरु….” एक सासमा बोल्छ नयन कृष्ण|

मानव काकालाई केही थाहा छैन| उनी कथा लेखिरहन्छन्| अनुराग पनि समालोचना लेख्न व्यस्त छ| मानव काकाको लेखन शैली अर्कै छ, यथार्थवादी चिन्तन बोकेको अनि अनुरागको समालोचना लेख्ने शैलीले वर्तमान युवा-पिडीले नयाँपन बोकेको साहित्य पडन थालेका छन्|

***

“अब त अति नै भयो| दरबारको विरोधमा के साह्रो लेखेको हौ….”

एउटा कोठामा ज्याला थापेर लेखिदिने थुप्रै लेखकहरु भेला भएका छन्| अब त यी दुइलाई थन्काउनु ठूलै योजना बनाउनु पर्ला जस्तो छ,” सहदेव निबन्धकारले उसको दाज्यूलाई भन्छ|

“अँ हो, ठूलै योजना बनाउनु पर्छ| त्यसको निम्ति तपाईंहरुले मलाई ठूलो लेखकको रुपमा प्रतिस्थापित गर्नुपर्छ,” उसको दाज्यू बोल्छ|

त्यस सभामा सहदेव निबन्धकार, नयन कृष्ण, निर्मला, भोट कुमार, चन्द्रदेव, पुरूषोत्तम जस्ता अवसरवादी साहित्यकारहरु सबै छन| सबैको सहमतिमा मानव काकाको पाठकहरुलाई लोभ र लालच देखाएर आफू तर्फ पार्ने षडयन्त्र बनिन्छ| यसको जिम्मा चन्द्रदेवले लिन्छ|

***

चन्द्रदेवले साम र दामको राग अलाप्न थाल्दछन्| मानव काकाको धानानन्द भन्ने पाठक रागमा मस्त भई नाँच्न थाल्दछ| उसले अक्षय, सूर्य जस्ता मानव पाठकहरुलाई सामवेदको अर्थ सम्झाउँछन्| पाठक घटोस् की बढोस् मानव काकालाई सरोकार छैन| अनुराग पनि शान्त वातावरणमा बसेर समालोचना लेख्न व्यस्त छ|

***

मानव काकाको कलमबाट निस्किएर अनुरागको समालोचनाहरुका विषय बनेका कथाहरुका अक्षरहरु किताबका पानाहरुमा शहिद भएर भोलिको सुन्दर समाज खिप्दैछ्न| मरेर शहिद बनेका कथाका अक्षरहरुलाई असह्य हुन्छ अघिको घटना| शक्तिको अपप्रयोग उनीहरुलाई मन पर्दैन|

***

कहिले काँही नेताले चुनाव जित्दा गाउँ हारेको हुन्छ| यसरी नै कहिले काँही नेताले चुनाव हार्दा गाउँले जितेको हुन्छ| एउटा अभेद्य घरको बार्दलीमा बसेर साँझमा मानव काका र अनुरागको नाँच्न नजान्ने पाठकहरु मुग्ध भएर परको शान्त उभिएको हरियो बाँसको झ्याँग अनि त्यसको नजिकै भएको पोखरीको दृश्य हेर्दै थिए| अचानक बाँसको झ्याँग जोरले हल्लन थाल्यो| शक्तिशाली हावाले भुँवरीको रुप लिएर कताबाट आयो कोनी हल्लिएका बाँसका हाँगाहरुबाट बास बसेका चराहरु कराउँदै उडे| पोखरीको पानीमा तरंग उठेको टाडाबाटै देखे उनीहरुले| हत्तपत्त झ्याल ढोका थुनेर सबैले भित्र बैठक कोठामा बसेर टी भी हेर्न थाले|

एउटा चितुवाले एक हुल मिर्गलाई खेददैछ| उसले कमजोर मिर्गलाई आफ्नो निशाना बनाएर त्यसलाई एक्लै पार्ने चालमा हुल भित्र पसेर छुट्टयाउँछ| अनि झम्टन्छ| त्यस मिर्गलाई चितुवाले शिकार बनाएरै छाड्छ| यो दृश्य देखेर केही बुझे जस्तो लाग्छ मानव काका र अनुरागको पाठकहरुलाई| उनीहरुले टी भी बन्द गर्छन|

अब ज्याला थापेर लेखिदिने लेखकहरुका छन्द र अलंकार बुझेका छन् यिनीहरुले| यस्तैमा अर्कोतिर शहिद अक्षरहरु उठेर विद्रोह बोल्छन| “हाम्रो मृत्युको मुल्यांकन हुनै पर्छ” बोलिएका अक्षर आवाजहरु गगनभेदी बन्छन अनि बाँसका हाँगाहरुबाट उडेका चराहरुका आवाजसँग मिल्न पुग्छन्|

***

अक्षरहरुले सल्लाह गरेका छन्, किताबका पानाहरुबाट बौरिउठेका यिनीहरुले आ-आफै समायोजित भएर नयाँ शब्दहरु, नयाँ वाक्यहरु अनि नयाँ कथा र नयाँ समालोचना बनिने अठोट गरे| साँचो साहित्यको जगेरा भएमात्र अक्षरहरुको मूल्य रहने ठानेर अब उनीहरुले मानव काका र अनुरागलाई पात्र बनाउने अठोट गरेका छन्| अक्षर स्वयंले लेखेको पुस्तकको प्रतिक्षामा सबैले धैर्य धारण गरेका छन्| साम-दामको पञ्जाबाट अस्मितालाई जोगाउन अक्षरहरु लामबद्द हुनथालेका छन्| हावाको वेग रोकिएको छ, वातावरण फेरी शान्त बनेको छ|

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: