पानी, भ्रम अनि आ कका ती पासिका प्र

– बी पी बजगाईं, गान्तोक

आइन्सटाइनको e = mc2 -लाई छड़्के भ्रमण गर्न जानैपर्ने भयो प्र. को ब. लाई। प्र. लाई आफू प्र. भनिनु नै इच्छा छ भने ब. लाई यस्तो इच्छा छैन। आ बरू स्पष्टै भनिदिउँ बजगाईंलाई।

आफ्नै कथाका तीन पात्रहरूसित बसेका प्र. लाई अर्कैं कथाकारको पात्र हुन मन लागेको रहेछ।  कथाकारको नभनौं पाठकलाई कथाकार बनाएर आफू पात्र हुने रहर प्र. को। हन के साह्रो कन्फ्यूज्ड नाम। यो पनि स्पष्टै भनिदिउँ प्र. भनेको प्रवीण राई जुमेली। उनले उनका कथा सङ्गालो ऋतुखेलमा आफ्नै कथा ‘आ कका ती पासि’ -मा यसरी आग्रह गरेका छन्- “म कथा-लेखक भएको कारणले तपाईं पात्रहरूमाथि मेरो मनमानि चल्छ। यो त अन्याय भयो नी। अब यसो गरौं – तपाईंहरू कथा लेख्नुहोस्, म पात्र बन्छु यसो गर्दा तपाईंहरूले जे जसो गर्दा पनि भयो।”

टिपण-टापण, बटुल-बाटुल ज्ञान मानिएका अक्षर संग्रहहरूद्वारा बनाइने मसी कारखानामा आज म प्रवीण राई जुमेलीलाई तरलीकरण गर्दैछु।  करै लाग्यो, ’cause उनी कथाको पात्र बन्न चाहन्छन् भने पात्र बनिन अघि कलमभित्र पसेर मसीको रूपमा उनी बसेको हुनुपर्छ।

शक्तिकै अविनाशिताको सिद्धान्तभित्र तरलीकरण भएको प्र.मसीमा रूपान्तरण हुँदै पात्र शक्तिमा पदार्पण गर्दैछ।

“लेखकले मनमानी गर्ने अरे। कसरी गर्न सक्छ। अन्तराष्ट्रिय पात्र कानुनको अवमानना गर्ने लेखक को हो।”

मलाई कथा लेखुँ कि नलेखुँ भयो। मेरो कलमबाट पात्र प्र. शक्ति रूपान्तरण गर्दै निस्कन थालेपछि प्रश्नहरूको झरी नै मेरो अघि बर्सा भयो। लेखकले पात्रलाई होइन पात्रले लेखकलाई दबाउँछ भन्ने डर मेरो अघि आयो। घटनालाई ई.ब.रा. अनि प्र.-ले जस्तो भ्रम ठानेको भए कथा लेख्न मलाई साह्रो नपर्ने तर सापेक्षिक सत्यभित्रको टाइमफ्रेममा कैद म अनि मेरो पात्र प्र. भएकोले त्यस सापेक्षताभित्र प्र. को प्रश्नको झरी मेरो लागि भ्रम पटक्कै थिएन। दर्शनको म्यानिपुलेसन नै हो यो घटना पनि भन्नु सक्दिन। मेरो रहरले म्यानिपुलेसन गरेर प्र.लाई पात्र बनाएको होइन पो।  प्र. को आग्रह पाठकप्रति हुँदा प्र. लाई तरलीकरण गर्नुपरेको कुरा सापेक्षिक सत्य हो।

पात्र प्र.लाई थमथम्याउन मैले भन्न पऱ्यो- “मैले तिमीलाई चरित्रगत स्वरूप कथामा दिएकै छुइन, भर्खर कथाको थालनी हुँदैछ अनि तिमी चैं लेखकले पात्रलाई दबाउछ भन्ने पूर्वाग्रह लिएर जन्मँदा-जन्मँदै किन रिसाएको।”

प्र.- म रिसाएको कारण म लेखक हुँदाको धङधङीले पो हो कि।

म- ठीकै छ, अब नरिसाई कथाभित्र बाँचिदिनु, तिमीलाई अल्छी लाग्छ कि भनेर म लेखक स्वंय पात्र बनि कथाभित्रै आइदिन्छु नि।  अब भन त म लेखक आफै पात्र बनेपछि पात्रमाथि कसरी मनमानी गर्नु।

यहाँदेखि कथाको दोस्रो थालनी हुन्छ। प्र. को गाउँ जुममा पानीको असाध्य दु:ख छ। गाउँमा पानी कसरी ल्याउने भन्ने’bout प्र. ले चिन्तन गरेको धेरै भयो।

खोई कथा लेख्दा-लेख्दै कलमै रोक्ने गरी के साह्रो विचारहरू आएको। अब यहाँ आफ्नो विचार नराखी सक्दिन।  प्र. ले मलाई भनेको “मेरो गाउँ जुममा पनि पानीको दु:ख असाध्यै भएकोले यहाँ मानिसहरू त्यसलाई सर्वोत्कृष्ट बरदान ठान्छन्” बिर्सिएको छुइन। जुम प्र. को गाउँ हुनु भुलिनुको सञ्जाल मान्न सकिन।  बैरागी भएर प्र. ले जुम उसको गाउँ हुनु भ्रम हो सम्झिए मैले कथामा प्र. लाई गाउँ पठाउँदा जुम नपठाएर अन्यत्रै कहीँ पठाउनु पऱ्यो।  त्यसो गर्दा प्र. पात्रले लेखकले मलाई मनमानी गऱ्यो भनेर मुद्दा लगायो भने भन्ने डर पनि मैले राख्नु नै पर्छ।  मुद्दाको मारमा म जस्तो गरीब लेखकलाई पर्नु छैन।  ’cause मुद्दा लाग्नु भ्रम होइन।  मुद्दा नै नलागे पनि क्याक्टस ‘चम्पासरी’ भएर पात्र सृजना गर्दाका यथार्थहरू आलै छन् छात्तीभरि।  धन्न सार्विकतावादको भ्रूण ज्ञानले टेवा दिएको थियो।

फेरि एकमनले सोंचे। जब प्र. आफैले भुलिनलाई सञ्चालको पत्रै पत्रमा अल्झाएका छन् आफ्ना पात्र भक्तेलाई भने मेरो पात्र प्र. लाई पनि उसको गाउँ जुम हुनु भ्रम ठानेर अन्यत्रै पठाउने जमर्कैं गरें।  मैले प्र. पात्रलाई कखग गाउँमा पठाएँ। गाउँ हुनु भ्रम हो भने गाउँको नाम जे राखे पनि भयो।  गाउँ नै भ्रम बनेपछि नाम पनि भ्रम माने भयो। फेरि कथा बिग्रियो। मैले अघि भने गाउँमा पानी ल्याउन प्र. ले चिन्तन गर्दैछ भनेर। तर मैले प्र. पात्र पठाएको गाउँ कखगमा त सङ्लो र सफा पानीको कहिल्यै नसुक्ने ठूलो खोल्सा बग्दो रहेछ।  प्र. को चिन्तनको समाप्ति दिन पो उभिएको रहेछ कखग गाउँ। अब कथा नयाँ बन्यो।

प्र. को गाउँ कखग मा पानीको दु:ख छैन।  गाउँमा सङ्लो पानीको खोल्सा बढ़ेर खेतहरू बगाउँछ कि भन्ने त्राही छ प्र. लाई।  पानीको खोल्सा हैन खोल्साको पानी कसरी सुकाउने भन्ने प्र. ले चिन्तन गर्न थाल्यो।  आज प्र. लाई खोल्साले गाउँ बगाउँछ कि भन्ने डर पनि छ।  सिमसिम पानी पर्दा पनि प्र. रातभरि सुत्दैन।

प्र. – लेखकज्यू मलाई रातभरि निन्द्रा लाग्दैन, मलाई निदाउने बनाई दिनु होस् न।

प्र. को आग्रहलाई टार्न सकिनँ। कथाभित्र मैले टाढ़ा कहीं रातको शुन्यता तोड्न एउटा गाइनेलाई सारङ्गीको मिठो धुन बजाउन लगाएँ।  कता कता सुनिने त्यस मिठो धुनले प्र. लाई निन्द्रा लाग्न थाल्यो।

रातभरि मुसलधारे वर्षा भयो।  विहान चार बजेतिर कखग गाउँको खोल्सा अचानक बढ़ेर आयो।  प्र. को गाउँ बगाउन थाल्यो।  चिसो पानीको झ्वाम्म छोपाईले प्र. लाई सतर्क हुने मौकै दिएन अनि बगाउन थाल्यो।  बल्ल बल्ल एउटा रूखको जरा समात्यो प्र. ले।  भ्रम जरा समातेको भए बगाउने तर धन्न यथार्थ जरा समातेको रहेछ।  गाउँ बगेको देख्दैछ प्र. जरा त्यान्द्रो समातेर।  पानी कहिले सुक्दै जाने अनि नयाँ बिहानीको थालनीमा लाग्नु पर्ने भन्ने चिन्तनले पो समायो प्र.लाई।  यतिकैमा चर्कैं स्वरमा जुममा पानीको समस्या भएकोले एकजना राजनीतिज्ञ गाउँमा पुग्दा प्र. को भूतपूर्व छिमेकीले पानी देऊ भनेर चिच्याएको सुनिन्छ।  प्र. झसङ्ग हुन्छ उसको छेवैमा रेडियो बोल्दै गरेको हुन्छ अनि रेडियोमा जुममा पानी नभएको कथा पठन हुँदै गरेको हुन्छ।  प्र. बल्ल विश्वस्त हुन्छ अघि बगाएको कखग गाउँ बगाएकै छैन रहेछ।  त्यो त सपना पो थिएछ भनौं भ्रम।  तर पानी नभएर पानी देउ भनिनु भ्रम पटक्कै थिएन, त्यो त सापेक्षिक सत्य थियो। अब प्र. लाई कखग गाउँमा बस्न मन लाग्दैन।  ओछ्यानबाट जुरुकै उठेर मुखै नधुई उ जुमको खोजीमा बाहिरिन्छ।  जुम उसको आफ्नै गाउँ, यथार्थभित्र बाँचेको गाउँ।  बाल्यकालमा साथीहरूसित यथार्थमा खेलेको गाउँ।  आफू अवोध बन्दाको गाउँ अनि बोधित्व पाइसकेपछिको गाउँ प्र. को जुम।  यहाँ आएर कथा टुङ्याउँछु अनि मेरो पात्रलाई प्रश्न गर्छु – अब भन त तिमीलाई कखगेली भनिन मनपर्छ कि जुमेली भनिन मन पर्छ। यतिकैमा मेरो कलमको मसी सकिएछ पात्रको जवाब सायद उसैको मसीले पो दिने हो कि।

(प्रवीण राई जुमेलीका नयाँ कथा संग्रह ऋतुखेलभित्रका  कथा नम्बर ६ आ कका ती पासि आजको विश्वमा चलिरहेको लेखन पद्धतिभित्र एउटा उत्कृष्ट कथा हो। ऋतुखेलभित्र भएको यस एउटा कथाको समालोचना कथात्मक शैलीमा गर्न मेरो यो कथा जन्मिएको हो पद्धति एउटै भए तापनि आ कका ती पासि कथाभित्रका वैचारिक क्षेत्रफल अनि त्यस क्षेत्रफलभित्र रोपिनपर्ने विरूवाहरू माथि अलग्गै चिन्तन गर्न अलग्गै कथा लेखिएको हो- पानी, भ्रम अनि आ कका ती पासिका प्र। प्रवीण राई जुमेली आफ्नो कथा संग्रहभित्रका सबै कथाहरूभित्र सशक्त उभिएका छन्। उनी भोलिको नेपाली साहित्य विश्वमा चहकिलो धूव्रतारा हुन् भन्नमा दुइमत छैन। उनको लेखनशैली पारदर्शी छ, वारपार हेर्न सकिन्छ। आग्रह एउटै छ, त्यो हो कहिले काहीँ टाइमफ्रेमलाई फ्रिज गरेर हेर्ने गरौं भन्ने। – बी० पी० बजगाईं)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: