निर्लज्ज वस्त्रबाट चिहाएर हेरेपछि

–         बी० पी० बजगाईं

कोही पनि नाङ्गो देखिनु हुँदैन भन्छ वस्त्र| लाज ढाक्ने ठेका लिएको छ वस्त्रले| उ अरुको नाङ्गोपन जोगाउने धेरै सुर्ता गर्छ| सबैको लाज ढाक्ने भएकोले उसको प्रतिष्ठा समाजमा निकै छ| वस्त्र महान छ| यस्तै के के सोच्दै हुन्छु म,

टक्…, टक्…, टक्…, सडकमा आफ्नै जुत्ताको आवाजले मेरो ध्यानाकर्षण गर्दछ| मलाई लाग्छ, जुत्ताले पनि उसको महत्व दर्शाउन खोज्दैछ| हो त, जुत्ताले पनि त नाङ्गो खुट्टालाई सडकका चुच्चे ढुँगा र काँचका फुटेका कणहरुबाट बलात्कृत हुनबाट जोगाउने गरेको छ| जुत्ता आफू खिइन्छ, कोत्रिन्छ, लत्रिन्छ तर नाङ्गो खुट्टालाई बलात्कृत हुनबाट जोगाउँछ|

गान्तोकको एम जी रोडमा हिड्दै छु म| वस्त्र अनि जुत्ताको चासो र चिन्तालाई उदेश्यसँग गाँसेर परिभाषित गर्ने कोशिषमा लागेको हुन्छु| मुखमा सुर्ती खाने पाइप च्यापेको, हेर्दा सम्भ्रान्त घरको देखिने चश्मा लगाएको मानिससँग ठोक्किन पुग्छु|

“तिमीले वस्त्र अनि जुत्ताको चासो मान्छे प्रति के छ भनेर सोच्दैछौ होइन?”

उक्त मान्छेको प्रश्नले छक्क पर्छु म| सोध्छु-

“तिमी को हो?”

आफ्नो परिचय दिने आवश्यकता ठान्दैन उ अनि भन्छ, “मान्छेलाई निर्देशित गर्ने मान्छेबाहेक अरु कुनै अतिरिक्त सत्ता, मूल्य वा आदर्श छैन, आफ्नो नियतिको स्रष्टा मान्छे आफै हो|”

म पुनः सोध्छु, “तिमीले कलेज पड्दा पढेको हो यो कुरा?”

“होइन यो मेरो आफ्नै विचार हो,” उ बोल्छ|

“म के सोच्दैछु भनेर तिमीलाई कसरी थाहा भयो त?”

“यो मान्छेसँग ठोक्किएँ भन्ने लागेको थियो होइन तिमीलाई? ठोक्किएको होइन, म तिम्रो विचारबाट छिरेर यतापट्टी आएको, यसैले तिम्रो विचार ग्राफ पढेको छु मैले|”

“तर मान्छेलाई निर्देशित गर्ने सत्ता, मूल्य वा आदर्शको कुरा त…”

“सात्रेको विचार हो यो”, उ आफैं भन्छ|

“त्यसो भए तिमी…”

“म सात्रे हो…”

“अहो त्यसो भए कहींकतै बसेर गफ गरौं होइन?”

हामी दुवै गान्तोकको एम जी रोडको बेकर्स केफेमा कफी पिउँदै कुरालाई निरन्तरता दिन्छौं| यस्तैमा एक नवविवाहित जोडी होलान्, हाम्रो टेबल नजिक आएर बस्छन| युवतीले त्यस पुरुषलाई आफ्नो सुरक्षा कवच ठानेर होला च्याप्प टाँसिएर बसेकी छे|

मेरो नयाँ जुत्ताले खुट्टा निक्कै चेप्दैछ|

“हाम्रो नाङ्गो खुट्टालाई सडकका चुच्चे ढुँगा र काँचका फुटेका कणहरुबाट बलात्कृत हुनबाट जोगाउने भरोसामा हामी ठगिएका त छैनौं? अरुबाट जोगाउँछु भन्दै आफले मात्रै च्याप्पै समातेर हाम्रो सम्पूर्ण खुट्टा आफैंभित्र समाहित गरेर यौन अनुभूतिलाई पेवा त बनाएको होइन जुत्ताले?” मेरो जिज्ञासामा सात्रेले उत्तर नफर्काएर हाम्रो टेबल नजिक बसेका नवविवाहित जोडीलाई हेर्छन| “भावना भित्रीय अवस्था पटक्कै होइन यो त अभिप्रायगत हुने गर्दछ, बाहिरी संसारसँग आफूलाई जोड्न| जुत्ता पनि त मान्छेले नै बनाएको हो, जुत्ताले खुट्टा चेप्यो भन्नु गम्भीर विषय होइन”, एकक्षण पछि बोल्छन उनी|

“के चेप्नु बोध होइन र?”, मेरो प्रश्न|

“हो, केवल बोध मात्रै यसको भौतिक अवस्था छैन|”

“परा भौतिक अवस्था त छ नी, र त चेप्नु र चेपिनुले अलग अलग अर्थ बोक्ने गरेका छन”, मेरो विचार पोख्छु|

ठण्डा महिना भएकोले होला, युवती अझै धेरै टाँसिंदैथी युवकसँग| चिसो भएर होला मेरो खुट्टा कट्कटि खाँदै थियो, जुत्ताले चेपेर| युवती शंकालु आँखाले यता-उति अन्य टेबलतिर घरि-घरि हेर्छे, कतै उसको पतिलाई अरु युवतीहरुले आँखा गाडेका छैनन्| नयाँको महत्व हो की सुरक्षाको सुरक्षा हो, उ ढुक्क हुन्छे, सबै आफ्नै धुनमा भएको देखेर| उसको परिवर्तित नव-जीवनमा अवस्थाको नयाँ स्वरुपलाई मेरो दुखाईले परिभाषित गर्दै थियो| युवकको ज्याकेटमा बटनहरु आधामात्र लागेका छन| भित्र टाइट शर्टमा उसको बलिष्ठ छाती देखिँदैछ| अरुले त्यो दृश्य पनि नदेखोस भन्ने ठानेर आफ्नो निजी सम्पत्ति बाकसमा हाले झैं युवतीले ज्याकेटको बटनहरु लगाईदिई| त्यो दृश्य हेर्दै म मुसुक्क हाँसें, सात्रेको जिज्ञासापूर्ण आँखा मसँग चार भए|

“तपाईंको मस्तिष्कमा ‘साइकोलजिकल डिफेन्स’ –को सिद्धान्त छरपष्ट भयो की क्या हो?”, उनले प्रश्न गरे|

“वस्त्रलाई चेतन स्वरुपमा राखेर हेरेको मात्रै…”, मेरो उत्तर|

“वस्त्र बनाउने पनि त मान्छे नै हो|”

“त्यसै र त वस्त्रले छोपेको लाजमा मानवीय चेतनाको चश्मा हुन्छ| अरुले नदेखोस भनेको शरीरका प्रत्येक अङ्गहरु वस्त्र आफैले भने देखिरहेको हुन्छ, ती अङ्गहरुसंग खेलिरहेको हुन्छ…” मेरो विचार पोख्छु|

युवती ढुक्क भएर क्वीन केक खाँदैछे| वस्त्रले युवकको शरीरको प्रत्येक अवयव चिहाएर हेरिरहेको छ भन्ने उसलाई थाहा छैन|

“नव-फ्रायडवादी चिन्तन हो यो?”

“होइन| अब्राहम कार्डिनर, एरिक फ्रोम, करेन होरने हिँडेको गोरेटोमा यसको गन्ध छैन| मैले त्यस युवकको वस्त्रमा मेरो चेतना टाँसेको मात्रै हो…”, कुरालाई अघि सार्दै भन्छु|

“वस्त्रमा चेतनाको अस्तित्व समायोजित भैहाल्यो भने त्यहाँ देखि उता के हुन्छ?”, ‘बिइङ्ग एण्ड नोथिङनेस’ –को परिधी भित्रबाट सोध्छन् उनी|

“अराजकता आउँछ…”, मेरो सहज उत्तर| वस्त्रले आलिंगन गरेको युवकलाई अँगालो मारेर युवती सक्दो टांसिएकी छे|

“अराजकता आउनु राम्रो हो र?”

“शब्दकोष पनि त मान्छेले नै बनाएको होइन र?”, केफेको बील तिर्दै उसको सूत्र उसैलाई प्रयोग गर्दै बोल्छु म|

“त्यो त हो…”, उ उठ्दै बोल्छ|

“शब्दकोशले अराजकता भनेको नियम प्रतिकूल भन्छ, तर सबै स्व नियन्त्रित रहेर कसैले कसैलाई शासन गर्न नपर्ने स्थापित नियम अनुकूल हुनु पनि त अराजकता हुनुपर्ने होइन र?”, मेरो प्रश्न|

“अस्वीकारको निम्ति गवाही छ तिम्रो?”, आफ्नै सिद्धान्त छाडेको छैन उसले|

“गवाही? तिमी चाहीं के हो त? मेरो निम्ति  अस्तित्वका पृष्ठाधार रहेका सबै रुपान्तरणहरु नै सौन्दर्य हुन्|”

हामी दुवै बेकर्स केफेबाट बाहिर निस्कन्छौं| युवकको ज्याकेट मेरो आँखामा पारदर्शी बनिसकेको थियो| त्यस जानकारीबाट अनभिज्ञ युवती युवकसँग अझै टाँसिएर बसेकी थिई| युवतीको प्रतिरोधात्मक क्रियाकलापमा प्रतिफलित उर्जाले वस्तुताको मान्यताहरुसँग अन्तरक्रिया गरिरहेको थियो, वस्तुको केन्द्रिय तत्वसँग मिलेर त्यसले नयाँ संरचनाको विकास गर्नेछ भन्ने मेरो विश्वास छ| थाहा छैन नयाँ अर्थ बोकेको अराजकता कहिले हुर्किने हो…|

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: