दीपेन्द्रको आत्महत्या

– बी पी बजगाईं, गान्तोक

पासो लगाएर युवकद्वारा आत्महत्या

बरबोट, ४ अगस्त: प्रेमविवाह गर्न नपाएको झोकमा बरबोटमा एक युवकले आत्महत्या गरेका छन्।
बरबोट बस्ने एस के राईको २४ वर्षीय छोरा दिपेन्द्रले गएराति आत्महत्या गरेको पुलिस सूत्रले जनाएको छ। लामो समयदेखि स्थानीय सञ्जु गुरुङसँग प्रेमसम्बन्धमा रहेको उनलाई परिवारले इच्छाविपरीत अर्कै युवतीसँग विवाह गर्न जोर गरेकोले गएराति आफू सुत्ने कोठामा पासो लगाई आत्महत्या गरेको सूत्रले बताएको छ। मृतक दिपेन्द्रको शव पोस्टमार्टमका लागि राज्य अस्पतालमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षकले बताएका छन्।

स्थानीय दैनिकमा छापिएको यस समाचारले मेरो आँखा अघि २४ वर्षीय पट्ठा जवानको अमूर्त स्वरुप उभिन पुग्छ। हिजो यो समाचार लेख्दा म बिचलित बन्न पुगेको थिएँ। पारिवारिक कलहमा परेकाहरु अनि समाजको नजरबाट तिरष्कृत भएको अनुभव गर्नेहरुले मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्ने गरेका हुन् की? मेरो मष्तिष्कमा मथिंगल मन्थन हुन्छ। किन तिरस्कृत अनुभव गर्न पुग्छन युवाहरु? यहाँदेखि म समाजको चौतारीमा उभिएर दिपेन्द्रको मृत्युलाई यथार्थभित्र देख्ने कोशिस गर्न पुग्छु।

***

देशको भविष्य युवाहरुको हातमा हुन्छ. भविष्य थाम्ने हातहरु नै पासो खोज्न थाल्छन भने भोलि हाम्रो गाउँ-समाज अनि देश कुन बाटो जाने हो…..?

***

म पेशाले पत्रकार परेको नाताले एउटा पत्रकार सम्मेलनमा पुग्छु। दिपेन्द्रको मृत्यु केन्द्रित विपक्षी राजनैतिक दलले बोलाएको उक्त पत्रकार सम्मेलन मेरो यथार्थ दृष्टि भन्दा पर उभिएको छ।

राज्यका थुप्रै दिपेन्द्रहरुले देख्न नपाएको आलिशान विपक्षी कार्यालयमा पार्टिका नेता बोल्दैछन।

“युवा अवस्था भनेको महत्वपुर्ण अवस्था हो। देशका कर्णधार युवा पिडीभित्र भएको शक्तिको सदुपयोगको लागि सरकारले उनिहरुलाई उचित अवसर दिने खालका योजनाहरु तयार गरेको हुनुपर्छ। केवल कागजमा क्षमता निर्माण कार्यक्रम बोकेर हिंड्दैमा युवाहरु क्षमतावान भएर स्वरोजगार हुने होइनन्। पार्टीको रंगमा काखी च्यापेर केवल मुठ्ठीभर युवालाई मात्र चार-पाँच विषयमा क्षमता निर्माण प्रशिक्षण दिए उसले कुन विषयको बाटो पक्रनु? युवा अवस्था जीवनको स्वर्णीम समय भएको हुँदा यो अवस्थाको सदुपयोग गर्ने काममा युवाहरुलाई लगाउनु सक्नु पर्दछ । जनताले सहि पार्टी छान्न नजान्दा आज राज्यमा युवाहरु बेरोजगार भएर आत्मग्लानी र मनोरोगको शिकार बन्दै आत्महत्या जस्तो जघन्य कृत्यमा लागेका छन्। हाम्रो सरकार हुँदो हो त राज्यले यस्तो अवस्था भोग्नुपर्ने थिएन”, विपक्षी नेता राज्यमा बढ्दो आत्महत्याको आँकडा देखाउँदै बोल्छन्।

***

विपक्षी राजनैतिक दलले बोलाएको पत्रकार सम्मेलनबाट फर्किएको म कार्यालयमा अघि नेताले भनेको कुराहरु चिन्तन गर्दै गरेको हुन्छु। “हिमाल जलेर ज्वाला भएछ, आशाहरु सब राख भएछन” बाँसुरी फिल्मको गीत मेरो मोबाइलको रिंगटोन बनेर बज्छ…, “भाग्य मेरो कता कता अल्झी…”

“नमस्कार…”

“नमस्कार भाइ, म सत्ताधारी दलको प्रेस सल्लाहकार बोल्दैछु, राज्यमा बढ्दो आत्महत्यामाथि हामीले पनि पत्रकार सम्मेलन डाकेका छौं। …, भरे बेलुकी चार बजे…., स्थान…, हाम्रै पार्टी अफिसमा…”

यसो घडी हेर्छु, एक बजेको रहेछ…, “हुन्छ, हुन्छ… म आइहाल्छु नी।”

दीपेन्द्र मृत्युपछि आज सत्ताधारी र विपक्षीको कार्यालयभित्र डेरा जमाउन सक्षम बनेको छ। मृत्युपूर्व उसलाई नेताहरुले कहिल्यै सम्झिएका थिएनन।

यसो विचार गर्छु, दुवै तर्फको वक्तव्य मिलाएर एंकर न्युज बनाउनु पर्ला। एकछिन बजार पनि निस्कने काम छ। कार्यालयबाट निस्किएर लाग्छु गान्तोक बजारको नवीकरण गरिएको एम जी मार्गतिर।

***

“दिपेन्द्र सफ्टवेयर इन्जीनियरिंगमा गोल्ड मेडलिस्ट थियो नी। पढेर आएर काम कतै पाएन। बेरोजगारिमा पिल्सिएर मानसिक रुपले बिक्षिप्त थियो अरे।”

“सञ्जुसँगको प्रेमसम्बन्धमा परिवारलाई आपत्ति थिएन अरे नी…”

“दिपेन्द्रको आमाले सञ्जुलाई कस्तो मन पराउँथिन, दुइजना सँगै बजार त आउँथे।”

“उसको बाबुले चाँहि सञ्जु मन पराउँदैन थिए अरे।”

“आत्महत्या गर्नु कायरता हो…”

बजारमा यत्र-तत्र दिपेन्द्र छाएको छ आज। एउटा गरीब आमाको मरेको सपना आज के गरीब के धनी सबैको मस्तिष्कभित्र चहल-पहल गर्दैछ।

“जमाल भाइ, मेरो पान बनाइदेउ त…” म संगम पान दोकान अघि उभिएको छु।

“आजकल त समाचार पत्रहरुमा दिनहुँ पो आत्महत्याको समाचार छापिन्छ त, यो के भएको सर?” जमाल भाइको प्रश्नको उत्तर छैन मसँग। कुरा अन्यत्रै मोडेर सोध्छु, “तिम्रो छोराले कलेजमा एडमिसन पायो?”

“हजूर पायो।”

पान दोकान अघिबाट आफूलाई झट्टै अन्यत्र सार्छु, जमालले पुनः प्रश्न गरे म सँग जवाब छैन।

***

“मान्छेहरूले स्वेच्छाले समस्याको समाधान हो भन्ने ठानेर गरिने प्राणत्याग नै आत्महत्या हो भन्छन् फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिम। तर समस्या के हो त भन्ने विषयमा हाम्रो चिन्तन किन चिसिन्छ त? के आर्थिक, सामाजिक एवं राजनैतिक रुपरेखा स्पष्ट नभएकोले  मानिसहरू जीवनदेखि भाग्न थालेका होइनन् र? राज्यमा देशका निर्माता र भविष्यका कर्णधार युवाहरुको आत्महत्याको दर बढ्नुमा के कुरा जिम्मेवार छ त? यसको मनोविश्लेषणात्मक पक्षहरु के हुन सक्छन? कि समाजको आधुनिक रंगीन जीवनशैली र चुलिँदो आकांक्षाहरू यसका कारण हुन त?…,” यी हरफहरु जमाल भाइको प्रश्नले मेरो मस्तिष्कमा जन्माएका हुन।

“आफ्नै धुनमा छेवैमा हिंड्दै गरेको मान्छे पनि नदेखी के सोच्दै हुनुहुन्छ?” प्रश्नले जन्माएको प्रश्नहरुबाट मलाई ब्युँझाउदै मेरो अघि उभिएर सोध्दैछन जोसेफ लेप्चा। गान्धी मूर्ति अघि मेरो अगाडी उभिएर म तिर हेरेर हाँस्दै गरेका उनी मेरा अन्तरंग मित्र हुन।

“अहो! म तपाईंलाई भेट्न भनेरै बजार आएको…, अस्ति हामीले खेलेको नाटकको फोटोहरु ल्याइदिएको छु। तपाईंको पत्रिकाको नयाँ अंकको लागी…”, मेरो विचार परिधिबाट निस्किएर बोल्छु।

“धन्यवाद, म नाटकमाथि एउटा विश्लेषण लेख्दैछु, यसैले तपाईंलाई फोटोहरु मागेको नी।”

“नाटकमा गरिएको सामाजिक चित्रणको निकै प्रसंशा भएछ नी, होइन?”

“हो त, तर दर्शक भएर प्रसंशा गर्नु र त्यस विचारमा समाहित भएर सामाजिक चिन्तन गर्नु बेग्ला-बेग्लै कुराहरु होइनन् र?”, जोसेफ बोल्छन।

“हो त, दीपेन्द्रको मृत्युको स्वरुपले प्रमाणित गर्दैछ।” मेरो मन मात्र बोल्छ, जोसेफले मेरो कुरा सुन्दैनन।

***

“सरकारले बेरोजगार युवाहरुले आफुलाई रोजगार बनाउन सकुन भनेर असंख्य योजनाहरु चलाएको छ। थुप्रै फ्याक्ट्रिहरु ल्याएको छ, जहाँ उनीहरुको निम्ती कर्मक्षेत्र प्रशस्तै छ, तर काम गर्ने इच्छा उनीहरुभित्र हामी हाल्न सक्दैनौं। क्षमता निर्माण कार्यक्रम हाम्रो सरकारले शुरु गरेको देशमा नै पहिलो हो।  त्यहाँ उनीहरुले प्रशिक्षण लिने चासो नदेखाए हामीले तानेर कसैलाई ल्याउन सक्दैनौं। दीपेन्द्रको मृत्युमा विपक्षीले राजनीति गर्नु भनेको संकीर्णताको शिकार हुन उनीहरु…” म सत्ताधारी दलको पार्टी कार्यालयमा छु, प्रेस सल्लाहकार बोल्दैछन। “आज उनीहरुले सरकारलाई दोष्याएको थाहा पायौं। बढ्दो आत्महत्या राजनीति गर्ने विषय होइन, यो त सामुहिक समस्या हो अनि समाधान गर्ने सबैको कर्तव्य हो,” उनी बोल्छन। उनी ठूला मान्छे हुन, उनलाई राज्यका असंख्य दिपेन्द्रहरुको चिन्ता छ। उनको पार्टी कार्यालयमा थुप्रै दिपेन्द्रहरु उन्मुक्तिको आशामा फायलहरुभित्र चेप्टिएर बसेका छन्।

***

दिपेन्द्र यो जान्न सक्दैन कि सबै उसको मृत्युमा चिन्तित छन भनेर। म स्वयं उसको मृत्यु पछि जन्मिएको स्तिथिले अन्योलमा छु। भोलिको समाचार पत्रको निम्ती के लेख्ने के नलेख्ने भनेर म सोच्दैछु।

आ…, हाम्रो काम जसले जे बोल्यो त्यहि लेख्ने त हो नी भनेर म सामाजिक कर्तव्यबाट पन्सिन सक्दिनँ,

कार्यालयमा म मेरो टेबलमा घोरिंदैछु। मेरा अर्का पत्रकार मित्र भनौं अथवा भाइ विशाल गुरुंगलाई फोन गर्छु, “भाइ, तपाईं सन्जुको गाउँले हो अरे नी…उसको मोबाइल नम्बर छ तपाईंसँग?”

“छ दाज्यू।”

“भनिदिनुहुन्छ?”

एकैछिन पर्खिनुहोस है, मेरो मोबाइलमा पो छ, हेरेर भन्छु…”

***

“हलो” नारी आवाज।

“तपाईं सञ्जु बोल्नु भएको हो?”

“हजुर।”

“म पत्रकार ……..,” मेरो परिचय दिंदै, “माफी चाहँदै सोध्छु, दीपेन्द्रको आत्महत्याको कारण तपाईंसँग बिहे गर्न नपाएकोले भन्ने सुनियो नी…?”

“यो कुरा सरासर गलत हो दाइ,” रुँदै भन्दैछिन सञ्जु, ““हामी युवाहरुले हातमा दहि जमाएर बस्नु हुँदैन भन्थे उनी, युवाहरुका लागि युवाले नै काम गर्नु पर्छ भन्दै राज्यका अरु बेरोजगार युवाहरुसँग सम्पर्क गर्न थालेका थिए उनले, युवालाई कसरी परिचालन गर्दा युवामुखी, विकासमुखी, जनमुखी, सामायिक अनि मानवीय मुद्दाहरु पार लाग्नेछन भनेर सोचिबस्दथिए उनी, अब आफैं भन्नुहोस त के यस्तो सोच्ने मान्छेले तुच्छ प्रेमको निम्ती आत्महत्या गर्नसक्छ?”

“यो मैले लगाएको अभियोग होइन सञ्जु, रिपोर्टमा यस्तो छ नी…”

“हामीलाई दुखिरहेको छ, रिपोर्ट यस्तो भएकोमा…”

“हामी भन्नाले…?”

“म, मेरो परिवार अनि दीपेन्द्रको परिवार।”

“उसोभए दीपेन्द्रको अर्कैसँग बिहे गरिदिन आँटेको कुरो झुटो हो त?”

“मेरो र दीपेन्द्रको प्रेमसम्बन्ध रहेको कुरा दीपेन्द्रको परिवारले प्रहरीलाई बताएको पक्का हो, तर दिपेन्द्रले आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्नुपर्छ भन्ने उसको बाबुको सोचाई थियो,” मेरो मथिंगलमा आत्महत्याको नयाँ आयाम थपिदिंदै बोलिन उनी। उनको रुवाईसँगै रुन्चे हिक्का अझै बढेर गएको बोध गरेँ मैले। “दीपेन्द्रलाई आफ्नो बेरोजगारीको चिन्ता थिएन, उसलाई चिन्ता थियो त अन्य उ जस्तै थुप्रै बेरो… बेरोजगारहरुको…उ….उसको सोचाई….उसको सोचाई….” फोनमा नै हिक्का छोडेर रुन थालिन उनी।

***

आखिर के हो त दीपेन्द्रको आत्महत्या? बेरोजगारिमा पिल्सिएका युवाहरुको चिन्तन गर्ने मान्छे मानसिक रुपले बिक्षिप्त हुनै सक्दैन। मान्छेको भौतिक र ऐतिहासिक परिवेशले उसको चैतन्यको संरचना बनाउने मार्क्सवादी विचारधारा भित्र रहेर आत्महत्याको परिवेश छाम्न मन लाग्छ मलाई। अदेखा निष्कर्ष मैले लेखनु उचित हुँदैन भनेर संग्रहित सूचनाहरुलाई मात्र समाचारको स्वरूप दिन्छु अनि कार्यालयबाट काम सिध्याएर निस्कन्छु।

***

भर्खरै साँझ बितेको रातको रमझम बोकेको सडकमा म रमझमबाट टाडा आफ्नै अन्तर्मनसँग गफिँदैछु। कस्तो स्तिथिबाट मृत्यु बोकेर जन्मन्छ आत्महत्या? आत्महत्या सुखदायक त पक्कै होइन। आखिर के हो त आत्महत्या? मौन बसेर च्याँखे थाप्ने संकीर्ण मानसिकताबाट माथि उठेको मान्छेले गरेको आत्महत्या कस्तो हुनु पर्ने?

***

व्यक्तिगत स्वार्थबाट अभिप्रेरित मृत्यु र कालहरु बजारमा असंख्य हिंडिरहेको देख्छु म। व्यक्तिगत स्वार्थ र इगो मुछेर सिद्धान्त र आदर्शलाई कुल्चेर हिँडेका चिनारु-अचिनारुहरु आत्महत्याका बैशाखी हुन कि जस्तो लाग्छ मलाई। बजारमा हिंडिरहेका प्रत्येकलाई एक्स-रे दृष्टि लगाएर हेर्छु, उनीहरुभित्र भएका आत्मा देख्ने कोशिष गर्छु। अहँ, कसैभित्र पनि आत्मा देख्दिनँ। देख्छु सडकमा हिडिरहेका प्रत्येक पाइलाहरु आत्माविहिन छन्, भनौं, आत्महत्या भएकाहरुमात्र हिंड्दैछन् रातको सडकमा। अब त प्रत्येक अनुहार दिपेन्द्र लाग्न थाल्छ मलाई। सडकमा लाम लगाएर उभ्याइएका ल्याम्प पोस्टहरुबाट आइरहेको प्रकाश मधुरो छ। म मधुरो प्रकाशमा पनि देख्दैछु असंख्य दिपेन्द्रहरु म तिर आइरहेका छन्…, किन हो कुन्नि मलाई त्यस स्तिथिबाट भाग्न मन लाग्छ।

***

कुनै पनि प्रणालीमा घट्ने आन्तरिक रुपको आवश्यक स्वतः स्फूर्त परिवर्तनलाई सार्विकतावादी चिन्तनले स्वीकार गर्दछ। तर यो चिन्तन नियतिवादभन्दा धेरै टाढ़ा रहन चाहन्छ।

वस्तुगत जगत मानवचेतनाभन्दा स्वतन्त्र रहने हुनाले भौतिक जगतको प्रक्रियालाई लिएर लेखिने सार्विकतावादमा चेतनाकोभविष्यप्रतिको परिकल्पित किटानलाई स्थान छैन। साहित्यमा समालोचनाको क्षेत्रमा भने यस वादलेकसैले पनि लेखेको भविष्यप्रतिको अपेक्षित सामाजिक संरचनालाई वर्तमान वास्तविकतासँगकोसम्बन्धमा अध्ययन चाहिँ गर्दछ।

यो कथा कल्पनाको शुद्ध स्तिथिबाट जन्मिएको हो। कथामा वर्णित पात्रहरु यथार्थसँग मिल्न गए त्यो तपाई-हाम्रो दैनन्दिनीको समिश्रण मात्र हो।

***

म भाग्दैछु, दिपेन्द्र पाइलाहरु मेरो पछि कुद्दैछन होला। म कायर होइन, तर भाग्दैछु, म आत्महत्या गर्न चाहन्न… अहँ, म आत्महत्या गर्न चाहन्न…।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: