ड़, ढ़ र बिन्दुको त्रिकोणीय प्रेम

– बी पी बजगाईं

यौन वासना भरपुर छ बिन्दुभित्र। उ कखग विश्वविद्ध्यालयमा अन्तिम वर्षको छात्रा। छात्रावासको एकोहोरो पूर्वनिर्धारित जीवन चक्रबाट उन्मुक्त हुने पर्खाई झनै बढेर गएको छ। धेरै अघिदेखि आफ्नै दुइ सहपाठी पुरुष साथीहरू ड र ढ जहाँ गए पनि सँगै हिड्ने साथी बनेको भएता पनि वासनाको निवेदन चडाउन सकेकी छैन विन्दुले। जीवनको आनन्द एक आवश्यक शर्त भए तापनि वासनाको निवेदनले कतै साथ छुट्ने पो हो की भन्ने डर छ|  ड र ढसँग सँगै हिँड़्न पाउनु, केफेटोरियामा बसेर सँगै कफी पिउनु, दुइजनाको बिचमा बसेर फिल्म हेर्नु, उद्यानमा रुखको छहारी मुनि बसेर कुम अथवा ढाड़ जोरेर पढ़नु, गफ गर्नु सबैमा असीमित यौन अनुभूति गर्ने गरेकी छिन उनी। यसलाई गुमाउन चाँहदिनन् उनी।

ड र ढ दुइ मिल्ने साथीहरू हुन्। सानैदेखि सँगै हुर्किएका, पढ़ेका, आजपनि सँगै पढ़दैछन। बिन्दुसँगको सहयात्रामा दुवै ढुक्कै छन। अव्यक्त प्रेम छ दुवैको। यहाँसम्म सँगै सुख-दुखमा हिँड़े तापनि प्रेमको सम्बन्धमा भने दुवै एक-अर्कालाई कुरा लुकाउँछन्।

ड सम्झन्छ, बिन्दुसँगको उसको हिमखिममा ढ-ले आँतको साथी हुनुको नाताले साथ दिइरहेको छ अनि त्यस्तै सम्झन्छ ढ पनि। आगो तीनैजनाभित्र सल्किएको छ। बिन्दुभित्र वासनाको आगो छ भने ड र ढभित्र प्रेमको आगो छ। अव्यक्त आगोले कथाको पात्रको दिशा निर्धारण गर्ने कोशिस गर्दैछ।

‘थ्री मस्क्युटोज़’, विश्वविद्ध्यालयमा अन्य सहपाठीहरूले उनीहरूको नाम राखिदिएका छन्। तीनजना कहिल्यै छुट्टिदैनन्। यहाँसम्म की फीस भर्नु, लाइब्रेरीमा पुस्तक लिनु सबैमा सँगै देखिन्छन्। अँ, राती भने ड र ढ छात्रवासमा हुन्छन् भने बिन्दु छात्रावासमा हुन्छिन्।

***

कथाको जन्म भन्नुपर्दा, ड़ र ढ़ –को गिद्रो जाँच गर्ने सल्लाह गर्छन ब र प्र। ब अनुरोध गर्छन प्र-लाई त्रिकोणीय प्रेमको आकार रच्ने। उनले लेख्दै पनि होलान्। ब-लाई हतार छ। अनि जन्मन्छ ड़, ढ़ र बिन्दुको त्रिकोणीय प्रेम। ब-लाई प्रतिक्षा छ प्र-को कथाको।

***

‘आमा सिकिस्त छिन, झट्टै घर आउनु’ डलाई तार आउँछ।

***

कथा संसारमा ढ र बिन्दुमात्र छन अब। यहाँदेखि सयौं कोश टाढ़ो घर जान लागेको डलाई  रेलगाड़ीमा चड़ाएर फर्किंदैछन ढ र बिन्दु।

देख्दैछु, कोनी किन बिन्दुको मन नियन्त्रित छैन।

‘नाइट शो फिल्म हेरौं होइन?’ घड़ी हेर्दै बिन्दु बोल्छिन्। सहमतिमा इशारा बोल्छ ढ। अचानक तिखारिएको आचरणले लाग्दैछ, बिन्दुको शब्द, सङ्केत अनि व्यवहारमा यौनप्रतिको चाहना अक्कासिएको छ। क्रियाशीलतामा रम्न चाहन्छ मन, यसैले तिर्खाको सक्रिय खोजतर्फ अभिप्रेरित दुवैजना आगोलाई रुपान्तरण गर्नै पर्ने अवस्थामा पुग्छन्।

***

दुवैजना आ-आफ्नो होस्टलमा थिएनन् रातभरी। लौ त यस घटनाको न्वारन गरौं, बिन्दुसँग एकाकार भएको ढको फेदमा बिन्दु जोडेर ‘ढ़’ लेखौं। अब अलग्गै परिचय बोकेर उभिएको छ ‘ढ़’, आफ्नो फेदमा भएको बिन्दु अब उसको परिचयको नितान्त आवश्यक विषय बन्यो। कुनै पनि परिस्थितिमा बिन्दु रहित बाँच्न सक्दैन ‘ढ़’, जीवन बोध भयो उसलाई। तर बिन्दुको निम्ति यस्तो वाध्यता केही छैन, भरपुर यौन वासनाको एउटा निष्काशन प्रयोग मात्र थियो त्यो रात।

***

धेरै टाढ़ा डको घरमा…

“नानी म त डाँड़ाको घाम भइसकें, बुहारीको अनुहार हेर्ने इच्छा छ मनभित्र…,” बिरामी आमा बोल्दछिन।

बिन्दुको सहयात्रा सम्झँदै ड बोल्छ, “आमा तपाईं लामो जीवन जिउनु हुनेछ, हामीलाई धेरै कुरा सिकाउनु छ।” दशैंमा बिन्दुसँगै बसेर छोरा बुहारीको रुपमा आमाको आशिर्वाद लिँदैगरेको कल्पना कल्पिन्छ उ।

***

केही दिनहरू बितिसके। अधुरो हिँड़दै थिए ढ र बिन्दु विश्वविद्ध्यालयमा अरुहरूको नजरमा। ढ र बिन्दु भने आफूलाई पूर्ण सम्झन्छन्। आमा निको भएपछि ड आइपुगेको छ।

***

आमाको वचनलाई ध्यानमा राखेर बिन्दुलाई एक्लै भेट्ने योजना छ डको। प्रेम प्रस्तावमा ढलाई अलग राख्न चाहन्छ उ। एक्लै भेट्न आवश्यक रहेको सुटुक्क भन्छ बिन्दुलाई। मनभित्र निरन्तर उठिरहेको संकल्प अनि विकल्पको ज्वारभित्र विकल्पको उँचाई अधिक रहेको मान्दछिन उनी। यौनानन्दको नयाँ ज्वार अनुभव गर्ने ठानेर चलाकी बुन्दै भन्दछिन, “मेरो रूम पार्टनर छुट्टीमा घर गएकी छे। राती सबै सुतिसकेपछि आउ न, म सुटुक्कै दैलो खोलिदिन्छु, त्यहीं भन्नु तिम्रो आवश्यकता।”

***

राती टाउको दुखेको बहाना गरेर दवाई किनेर ल्याउने बताउँदै ढलाई ढाँटेर निस्कन्छ ड। छात्रावासको एउटा कोठामा दुइजनामात्र छन्। एउटामा निवेदनको योजना छ भने अर्कोमा विकल्पको ज्वार छ। भविष्यको सँगिनी बनाउने प्रस्ताव कहाँबाट शुरु गर्नु भन्ने थालनी खोज्दैछ ड। थालनी नभेटाउन्जेल सानो आवाजमा यता-उताका गफहरू गर्दैछन दुवै। वैंशालु उमेरमा विपरीत लिंगीहरू एकान्तमा जति सानो आवाजमा बोल्छन् त्यति नै रोमान्टिक बन्दछ वातावरण।

समाजको दृष्टिबाट अलग यी दुइ बाँधिएको सामाजिक व्यवस्थाबाट अलग छन कोठामा।

एकातिर बिन्दु जन्मजात ओडिपस कम्प्लेक्स, ढसँग एकाकार भइसकेको सुखानुभूति आदिलाई सर्वोच्चता दिँदै ड सुख अनुभूति गर्न चाहन्छे। सबै मानसिक प्रवाहहरू झैं मनका आवेगहरू मस्तिष्कका उपजहरू हुन्, जसलाई मान्छेको वरिपरिको अवस्थाले बोकेको हुन्छ। यसरी नै पुरानो आवश्यकताहरू नयाँ आवश्यकतामा बदलिन्छन् वातावरण नियन्त्रित मस्तिष्कमा।

बाहिरबाट कोहिपनि अचानक पस्न नसकुन् भनेर बिन्दुले दैलो बन्द गरेर माथिल्लो चुकुल लगाउन खुट्टाका औंलाहरूको भरमा उचालिइएकी मात्र थिइ…

“आइया!” हात पछि लागेर ढाड़ छाम्न पुगि उ।

“के भयो?”

“ढाड़ सड़्के जस्तो भयो…”

ड अघि बढेर दैलो थुन्छ अनि बिन्दुलाई समातेर ओछ्यानमा ल्याएर सुताउँछ।

“खै कहाँ दुख्यो?”

“यहाँ,” घोप्टो पर्दै हात पछिल्लतिर लगेर देखाउँछे अनि भन्छे, “त्यहाँ टेबलमा मल्हम छ, लगाइदिनु न।”

***

बिन्दुको वस्त्र माथि सारिएको छ, डले केही संकोच मान्दै मल्हम दल्दै छ। मृदु-त्वचाको स्पर्श, ओछ्यानमा टाँसिएको छातीको छेउमा देखिँदै गरेको सौन्दर्य-प्ररोह अंग डको निम्ति नयाँ कुराहरू हुन्। ढाड़ सड़किनु पूर्वनियोजित बिन्दुचाल थियो की संयोग थियो त्यो डलाई थाहा छैन। सामाजिकता, संस्कार अनि सभ्यताको बाकसमा बन्द राखिएको यौन उर्जा पनि अवस्थाको चाबिले खोल्ने गर्दछ। ड अन्तर कम्पन अनुभव गर्छ। उभित्र भइरहेको यौन उर्जा संचारको बढ्दो गतिलाई फ्रायड इदमको सिद्धान्तभित्र राखेर हेर्छ उसले अनि सहज अभिव्यक्ति दिन चाहन्छ मनले विकृत स्वरुप नलिओस भनेर।

***

आमाको वचन धूमिल हुन्छ त्यस क्षण। लौ त यस घटनाको पनि न्वारन गरौं, बिन्दुसँग एकाकार भएको डको फेदमा बिन्दु जोडेर ‘ड़’ लेखौं। ‘ड़’ पनि अलग्गै परिचय बोकेर उभिन्छ अनि उसको पनि परिचयको नितान्त आवश्यक विषय बन्छ बिन्दु। ‘ड़’, जीवन बोध भएर होला उसलाई, अब उ पनि बिन्दु रहित बाँच्न सक्दैन ।

***

आजभोली ड र ढ सँगै हिँड़दैनन्। उनीहरू ‘ड़’ र ‘ढ़’ बनेर अलग-अलग अस्तित्व बोकेर हिँड़न थालेका छन्। आ-आफ्नो मनभित्र सशक्त रुपमा बिन्दुलाई टाँसेर राखेका छन दुवैले, बिन्दु दुवैजनासँग भएको यथार्थ थाहा छैन दुवैलाई।

***

केही महिना पश्चात…

रुपान्तरित ‘ड़’ र ‘ढ़’ सँगै नहिँडेको कारण थाहा पाउँछन सबैले। बिन्दुको दोहोरो चरित्र चर्चाको विषय बन्छ विश्वविद्ध्यालयमा। विस्तारै यो कुरा ‘ड़’ र ‘ढ़’ ले पनि चाल पाउँछन्, तर बिन्दुसँग सम्बन्ध विच्छेद गरे स्थापित अस्तित्व मेटिने डरले पाण्डवले एउटै द्रौपति बिहे गरे झैं स्वीकार्ने ठानेका छन दुवैले। यी दुइले थाहा पाएको बिन्दुले चाल पाउँछे। अपेक्षा समय सापेक्ष भएकोले हिजोको उसको वासनाको रंगप्रति आज घृणा हुन् थाल्छ उसलाई। लोक-लाज, ग्लानी, पश्चाताप आदिको भल चल्छ उभित्र, उसलाई सबैथोक असहनीय लाग्न थाल्छ। उसको कोठाको प्रत्येक बिन्दुले उसैको अन्तर्मनभित्र बसेर घृणा गरिरहेको अनुभव गर्छे।

***

बिहान नौ बजे…, आकाश कालो बादलले छेकेको छ, वर्षाकण चुहुन लागेको छ। लेक वर्षिएकोले होला नजिकै खोला भीषण आवाजमा उर्लिएको सुनिँदैछ। आवाजविहीन सुक्खा बिजुली चम्कँदैछ। सबै छात्रावास अघि भेला भएका छन्। राती बिन्दुले ग्लानी बोध गरेर भावावेगमा आत्महत्या गर्ने प्रयास गरिछे। लक्ष्यहरूका चयन तथा तिनका उपलब्धिहरू’bout सम्भवतः उसले सोचेकी थिइन।

‘ड़’ र ‘ढ़’ महाभारतको अन्त होला झैं छ। बिन्दुविहिन ‘ड़’ र ‘ढ़’-को संसारमा सबै थोक हराउने सम्भावना छ। आज आकाश बादल ठोक्किँदा गड़्याङ गुड़ुङ आवाज निकाल्न डराएको छ। ’cause आज ‘ड़’-को बिन्दु अचेत छ। नजिकै खोलामा आएको बाढ़ रोकिएको छ, ‘ढ़’-ले अँगालेको बिन्दुले होश हराएको छ।

‘ड़’ र ‘ढ़’ -ले बिन्दु हराए भने थुप्रै कुराहरू प्रभावित हुनसक्छन् यसपाली…

बिन्दुको मृत्युले विस्मात मानेर यसपालीदेखि चाड़ रोकिन सक्छ…

चाँड़ोले बिन्दु अभावमा मन्द स्वरुप लिनसक्छ, डाँड़ा-काँढ़ा हराएर सबै मैदान बन्न सक्छ्न्, अब उसो दृढ़ता कसैमा नहुन सक्छ, केही अघि बढ़ने छैन, शिक्षार्थीहरू पढ़ने छैनन्, जोड़िने हैन सबै टुक्रिन थाल्नेछन्।

यी घटनाहरूमा साक्षी बनेका ‘ड़’ र ‘ढ़’-का साथीहरू हलन्त, ह्रस्व, दीर्घ आदि सबै डराएका छन्। सबै टुक्रिन थाले भने हाम्रो अस्तित्व के हुनेछ भन्ने शंकामा पिरोलिँदैछन उनीहरू। अंग्रेजी कुखुराले कुकुरी काँ भन्न नसकेर कक्-अ-डुडल-डू भन्नु परे जस्तै हुने होकि भनेर त्रस्त छन उनीहरू। अक्षर विविधताको श्रृंखला भंग हुने डरले ‘ड़’ र ‘ढ़’-का वर्णमाला मित्रहरू चिन्तित छन आज।

***

कथामा देखापरेका मानसिक क्रियाहरू स्वयंमेव होइनन्, बाह्य जगतसँग सम्बन्धित अनि संसाधित आवश्यकताहरू हुन्। तर यसमा भएका बिन्दु समस्या भने ध्वनि जगतको वस्तुगत आवश्यकता हुन्। म यो मान्दछु की देवनागरीमा ‘ड़’ र ‘ढ़’ विदेशज् शब्द होइनन् अनि होइनन् संस्कृत पनि। तर जम्मै नेपाली उच्चारण पनि त संस्कृत होइनन्। त्यसोभए के नेपाली नबोल्नु? यसलाई उर्दुबाट आएको भन्न सकिन्न, उर्दुमा – क़, ख़, ग़, फ़, अनि ज़ मात्र बिन्दुसँग छन्। भाषा भनेको लेखन सजिलो बन्नका लागी होइनन्, बोल्न सजिलोका लागी हुन्। अक्षरभन्दा ध्वनि जेठो छ। ध्वनि नै मासिएर गए कथामा वर्णित त्रिकोणीय प्रेमको परिणाम हामीले भोग्नुपर्ने छ भन्ने म मान्दछु। बिन्दु अहिले कोमामा छे।

(नोट: वर्ष २००८ मा गान्तोकमा नेपाली हिज्जे र शब्दावलीको मानकीकरणमाथि चार दिवसीय सम्मेलन अनि कार्यशाला दुइ चरणमा सम्पन्न भयो। पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, गुवाहटी अनि सिक्किम अकादमीको आयोजनामा भएको उक्त सम्मेलनमा धेरै आयामहरूमा चर्चा-परिचर्चाहरू भए। ति मध्ये ‘ड़’ र ‘ढ़’-बाट बिन्दु हटाउने’bout पनि धेरै नेपाली साहित्यकार तथा बुद्धिजीविहरूको मत देखियो। त्यसैलाई ध्यानमा राखेर अहिले यो कथा लेखिएको हो। –लेखक, अंग्रेजी साल २०१०)

१ टिप्पणी (+add yours?)

  1. pavitra
    अगस्ट 28, 2010 @ 06:42:52

    नेपाली भाषाको मानीकिकरण गर्ने उद्देश्यले यसरी बिन्दुलाई पन्छाउदा भाषाको पनि मृत्यु निश्चित हुन्छ भन्ने कुरा नेपाली साहित्यकारहरुले अझै पनि बुझ्न सकिरहेका छैनन्। हो भाषाको मानिकीकरण हुन आवश्यक छ तर भाषालाई नै मारेर मानिकीकरण गर्ने हो भने हाम्रो भाषाको मृत्यु निश्चित छ।

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: