भक्तेले स्कूटर किनेन

– प्रवीण राई जुमेली

‘आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’  बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।
‘जाँगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे ‘, प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।
तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा  केही  सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।
“अब कहाँ कुदेको हौ एति हतारसित?’, धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओर्ल्हीसकेथ्यो।
‘स्कूटर किन्ने मेलोमेसो गर्नु हौ ‘ भनेर हाँस्दै टाड़ियो भक्ते चाहिँ।
डाँड़ामा निस्केर स्कूलको प्रांगनतिर निक्कै चियो गर्दा उसले त्यहाँ थुप्रै मान्छेहरू सल्बलाइरहेको देख्यो। आज त्यहाँ उनीहरूको मन्त्री-महोदय आउनेवाला छ र गाउँलेहरूलाई चाहिँ आफ्-आफ्नो दुःखहरू सुनाउनुपर्ने सार्वजनिक निमन्त्रणा भएकोले नै उ पनि त्यतातिर जाँदैछ। मन्त्री-महोदय क्षेत्रीय विधायक पनि भएकाले गाउँलेहरूका ‘माङ’-हरू धेरथोर पूरा हुन्छ कि भन्ने आशा छ, भक्तेको मनमा।
भक्ते स्कूलको प्रांगनमा सेंसें र फेंफें भई पुग्दा प्रांगनभरि नै गाउँलेहरू झुण्ड-झुण्डमा बाँटिएर गफ गर्नमा मस्तराम देख्यो। तिनीहरूका व्यग्र आँखाहरू मन्त्री आउने सम्भावित दिशा – सिम्बल डाँड़ातिर घरिघरि उठिरहन्थे। अथवा मन्त्री आइपुग्नासाथ आफ्नो दुःखेसो  लिएर सबैभन्दा अघि पस्रिने व्यग्रता सबै चेहराहरूमा समान्तर रूपले बसेको देख्न पाइन्थ्यो। ती  झुण्डहरूमा पनि पञ्चायतहरू एकतर्फी, सरकारी नोकरीवालाहरू एकतर्फी, चेली मोर्चा एकतर्फी, लफङ्गे केटाहरू एकतर्फी र सिधा-साधा गाउँलेहरू एकतर्फी छुट्टिएर बसेका थिए। त्यहाँ भेला भएका सार्वजनिक अनुहारहरूले जात-जातका अभिव्यक्तिहरू बोकिराखेका थिए तापनि भक्तेलाई कता-कता थाहा थियो कि तिनीहरूका प्रवृत्तिमा समाविष्ट छद्म अनुहार भने एउटै छ। जुन भीड़मा उसले पनि आफ्नो अनुहार खोज्नलाई नै यसरी हाटबजारमा राम्ररी किनबेच पनि नगरी मन्त्री महोदयको एक झलक पाउने लालसासित यहाँ आइपुगेको  छ।
‘आइपुगेको छैन रैछ नि बूढ़ो?’  भक्तेले नजिकै उभिरहेको लालबहादुरलाई सोध्यो। लालबहादुरले चाहिँ ओंठ लोफ्राएर टाउको मात्रै हल्लायो, बोली फुटाएन। भक्ते घुम्दै पर पञ्चायतहरू उभिएका ठाउँमा पनि पुग्यो, पञ्चायतहरूले उसलाई सशङ्कित पाराले हेरे। ‘यहाँ सबैकै एउटा-एउटा दाउ छ। एउटाले अर्कोको भाग पो  खोसाइदिन्छ कि… अथवा अरूले थाहा नपाई भित्र-भित्रै गर्दै गरेको धाँदली पो चाल पाइहाल्छ कि? भनेर चंखो बस्नैपर्छ। म मात्रै लाटा भएछु, सरकार दाइने हुँदा पनि केइ त खोसाई खानै सकेको छुइनँ ‘ इत्यादि कुराहरू भक्तेले सोंच्यो।
‘मिनिस्टर सापको लागि एसो गेट्-सेट् बनाउनु पनि सल्लै पो भइना नि?’ भक्तेले केही मधुरो स्वरमा सोध्यो।
प्रत्युत्तरमा, पञ्चायत सचिवले नै ‘हिज-अस्तिसम्म गाउँमा पिरा पनि नपाउने मोरो – भाग्गेले मात्रै चौकी पाको हौ। केको गेट् र सेट्‌ चाहियो?’ भनिदियो।
भक्तेले अरू केही सोध्न सकेन र चेली-मोर्चाका कर्मठहरू बसेका पल्लोपट्टि डीलमा गएर एउटा बिँड़ी सल्कायो। गैह्री खोल्सामा झोड़ा बॉंध्ने विषय लिएर टी.बी. सरलाई लेख्न लगाएको अर्जीपत्र एकपल्ट खोलेर हेऱ्यो उसले। ‘त्यो काम पाए….?’ उसको पनि ठूलो सपना लुकेर बसेको छ त्यहॉं – स्कूटर किन्ने सपना। यो सरकार बहाली भएदेखि यता गाउँमा थुप्रै बेकारी केटाहरूले स्कूटर कुदाउन थालेको दश्य झल्झली आँखैमा छ उसको। स्वास्थ्य उप-केन्द्रमा खाँबोहरू नलाएर हुन्छ कि, पार्टीको मिटिङमा विधायकले दिएको मान्छे ओसार्ने गाड़ीको पैसा खाएर हुन्छ कि, मेलामा ‘हउजी’ खेलाएर हुन्छ कि, टेण्डर-सेन्डर हुँदा ‘युथ’ बॉंधिएर ‘पर्सन्टेज’ खाँदै हुन्छ कि – लाटा जनता र देशलाई नै लुट्नुपर्ने त रहेछ नि? खै, सरकारले पनि केही नगर्दो रहेछ त? उहिल्यै बाजे-बराजुको पालादेखि यता… बारीमा दशनंग्री खियाएर त कसले पो के गर्नसकेको छ र? यसरी लाटा भएर बसिरहॅंदा त सबैले नै पो छोड़िराख्ने रहेछ है…’, सोंच्दा सोंच्दै भित्रैदेखि हताश भएर आयो भक्ते। त्यसरी उसले एउटा बिँड़ीको आधाभन्दा बेसी भागलाई धुँआ बनाइसक्दा मात्र ‘मिनिस्टर साप आयो है’ भन्ने हल्ला सुन्यो। एकाध मान्छेहरू ग-र-र-र सिम्बल-डाँड़ातिर कुदेर पनि गए, एकाध चाहिँ सिरीमानको घरदेखि यतै अल्याङ-टल्याङ गर्दै बसे। केही क्षणपछि-कमिलाहरूले घेरिएको किरा झैं भएर मन्त्री-महोदय स्कूलको प्रांगनमा आइपुग्यो र.. पञ्चायत र युवामोर्चाले प्रबन्ध गरेको चौकीमा बसेको देख्यो भक्तेले, त्यसपछि त गाउँलेहरूले पूरै घेरिहाले। घेरिनु मात्रै होइन तर निम्न प्रकारका शब्दाक्रोशहरू पनि वैरिन थाले-
‘पञ्चेतले बनाको लिस्टी भइना, च्यादरको लागि नयाँ लिस्टी बनाउनुपर्छ।’
‘मन परेकोलाई मात्र दिएर हुँदैना, गरीबले पैला पाउनुपर्छ।’
‘नोकरीवालहरूले चाहिँ केइ पाउँदैन भने भोट पनि नहाल्दा भयो हैन?’
‘अम्लिसो रोप्ने लोन केना मैले पाइना?’
‘बिरुवा रोप्ने पैसा एक पैसा नबाँटी पञ्चेतले सप खाको छ।’
‘एमेले भएर गाउँमा के-के हुँदैछ केना खोज्दैनौ?’
‘भाषणमा त ठूल्ठूलो कुरा गर्थ्यो… खै पुऱ्याएको?’
‘भोट नसकिञ्जेल आऊ-आऊ, भोट सकेपछि जाऊ-जाऊ, क्याउ एस्तो?’
बिचरा, मन्त्री महोदय? प्रश्नहरूको यति भयानक दहमा फॅंसेका थिए कि उनको अस्तित्व नै डुब्न लागेको थियो। उनीसित आउने केही चम्चे र सुरक्षाकर्मीहरूको प्रयास पनि भिड़लाई साम्य पार्नुबाट नाकाम भएका थिए। फेरि एक्कासी… पञ्चायत, युवा-मोर्चा र चेली-मोर्चाबीच नै भयानक भनावैरी शुरू भयो र ‘ढ्याक ‘, ‘ढुक ‘, ‘प्ल्याट’ जस्ता इत्यादि हाथापाइका स्वरहरूसितै ‘अइया’, ‘आत्था’, र ‘माऱ्यो नि’ भन्ने शब्दहरू पनि भुइँका धूलोहरूसितै उछिटिँदै बाहिर आउनथाले। कमिलाको गोला फुटे झैं भीड़ छरपस्टिँदा मात्र मन्त्री महोदय पनि फुत्केर आफ्ना सहकर्मीहरूसित सिम्बल-डाँड़ातिर कुदे जहाँ उनको गाड़ी रोकिएको थियो। यता भीड़ले चाहिँ हाथपाइ छाड़ेर अब अश्लील गाली र किसिम-किसिमका आरोपहरूले एकार्कालाई हानाहान गर्न लागेका थिए। भुइँभरि सिफारिश पत्रहरू छरपस्टै लड़िरहेका थिए र मन्त्री महोदयको कालो चश्मा पनि एकातिर कच्चाक-कुचुक परेर लड़िरहेको थियो।
भक्ते, मनभरि आशंका र डरहरू लिई अघि नै कुदेर स्कूल माथिको किम्बूको रूख छेउमा पुगिसकेको थियो। उ त्यहीं फ्यात्त बस्यो, किंकर्तव्यविमूढ़ थियो उसको दिमाग। तर निक्कै-निक्कै बेरपछि उसले त्यहीं मुनितिर लड्न-लड्न आँटेको पुरानो स्कूललाई हेऱ्यो, जसको विषयमा चाहिँ कसैले केही-केही बोलेन। उसले गाउँलेहरूले भोग्नपरेको पानीको दुःखलाई सोंच्यो – जसको विषयमा पनि कसैले मन्त्री-महोदयलाई केही नै भनेन। उसले स्वास्थ्य उप-केन्द्रको हाल पनि झल्झली देख्यो जो एकजना गुरूबाबुको घरमा कुचुक्क परेर बसेको छ। गाउँको शीर्षमा अवस्थित आहाले जङ्गलको सुरक्षार्थ ‘मस्टर-रोल’-मा मान्छे राख्ने सम्बन्धमा, स्कूलमा गणित र विज्ञान पढ़ाउने शिक्षकहरूको अभाव विषयमा, बिरुवा रोप्ने सम्बन्धमा… अहॅं कसै-कसैले पनि सिफारिश गरेन। उसलाई लाग्यो-कहींबाट पनि आउन पर्दैन रहेछ भिखारीहरू यो देशमा, तिनीहरू त यहीँबाट पो उम्रिँदा रहेछन्। तर उसको कल्पनामा चाहिँ त्यति भयानक तस्वीर आजसम्म बन्नसकेको थिएन, जस्तो भर्खरै मात्र उसले देखिसकेको छ।
ओफ! अचानक भक्तेले हातमा अँठ्याएको अर्जी-पत्रहरू च्यातेर टुक्रा-टुक्रा पारिदियो र चुपचाप घरतिर लाग्यो। उ घर छेउसम्म आइपुग्दा पनि तल स्कूलको प्रांगनबाट चाहिँ चिच्चाहटका स्वरहरू आइरहेका थिए। बेलुकीको खाना खाएर धनमाया र नानीहरू ओछ्यानमा पस्दासम्म उ अगेनाको डीलमा नै आगो ताप्दै बसिरह्यो। समयको छ्यान उसलाई रहेन, सधैं ठट्टा गरिरहने भक्तेको आज त्यस्तो गम्भीर रूप देखेर धनमाया पनि छक्क पर्दै निदाई।
त्यसरी नै धेरै दिनहरू बितेर गए। आफ्नो दैनिक क्रियाकलापमा भक्ते हिज-अस्ति भन्दा ज्यादै खट्नथालेको तर.. सधैंभन्दा निकै कम्ति बोल्न थालेको कुराहरू धनमायाले पनि थाहा गरी। त्यसपछि पनि कतै-कतै मन्त्री-महोदयहरू आएका र आउनेवाला खबरहरू सुनेर पनि उ त्यतातिर गएन। प्रत्येक दिन नभए तापनि केही दिन बिराएर.. ‘स्कूटर’ किन्ने रहर दोहोऱ्याइरहने भक्तेले त्यसउसो त्यो कुरोलाई झिकेन, धनमाया छक्क पर्थी।
एकदिन भक्तेले उसको घरको सिकुवाको खाँबोमा झुण्डिरहेको सानो ऐनामा आफ्नो अनुहार हेऱ्यो। सधैंको भन्दा निकै अर्कै-अर्कै भइसकेछ ऊ… र हेर्दाहेर्दै उसको त्यो अनुहार बिस्तारी तन्किँदै र खुम्चिँदै घरि पञ्चायत-सचिवको जस्तो, घरि चेली मोर्चाको सभापतिको जस्तो, घरि मन्त्रीको चम्चेको जस्तो.. भइरह्यो। हॅं? उसले अनुहार झट्काएर ऐनामा राम्ररी हेऱ्यो र आवेशले गर्दा मुखभरि जमिएको थुक ऐनाभित्रको त्यो आफ्नै अनुहारतिर थुकिदियो… ‘थू’। अनुहारमा भने कुनै प्रतिक्रिया आएन तर थुक चाहिँ ऐनाको सतहमाथि बग्दै-बग्दै गएर भुइँसम्म चुह्यो…. तु-यु-यु-यु। अनि भक्तेले उसको अधुरो बाल्यकाल, अधुरो यौवनावस्था… र समग्रमा भन्नु हो भने उसको अधुरो जीवनलाई नै सोंच्यो।
‘धना!’ ओछ्यानमा पसेर बत्ती पनि निभाइसक्दा एकदिन भक्तेले धनमायालाई उसको फुलनामबाट बोलायो, ‘लालेले भन्थ्यो सिलगढी जान्दा प…रतिर सिभोक रोड भन्नेको छेउछाउ थुप्रै बाँदरहरू बसिरहेको हुन्छ अरे; मान्छेहरूले गाड़ीबाट फ्याँकिदिएका खानेकुराहरू पर्खिन्दै-पर्खिन्दै बसिरहन्छ अरे; फेरि.. कसैले फ्यँकिदियो भने बाझ्दै लुछाचुँड़ी गरेर खान्छन्‌ अरे; सुन्यौ? त्यहाँ एउटा लङ्गड़े बाँदर पनि छ अरे…र त्यसले चाहिँ त्यो खोसामारमा कहिले केही पाउँदैन अरे। के त्यतातिरको जङ्गलभित्र गिठा-भ्यागुरहरू छैन र?’
कहिल्यै सिलगढ़ी नगएकी र कहिल्यै ‘सिभोक रोड’-को वरिपरि फैलिएका पटेर जङ्गल नदेखेकी धनमायालाई भक्तेको त्यो प्रश्नको उत्तर दिन निक्कै चर्को पऱ्यो, तापनि पतिदेवको मन राखिदिन ‘किन नहुनु होला र?..। तरूल, कन्दमूल नभएको जङ्गल पनि कहीं हुन्छ र?’ भनिदिई।
‘हो’, केही बेर बिसाएपछि भक्तेले भन्यो, ‘ठीकै भन्यौ.. जङ्गली फल, तरूलहरू नभएको जङ्गल कहीं हुँदैन। हाम्रो बाबुले भन्थ्यो- उहिले हाम्रो गाउँमा बजारको बगड़ा खाने पनि कोही-कोही हुन्थेन अरे; बारीमै उमारेको अन्न र साग-सब्जीले मनग्गे पुग्थ्यो अरे, अनिकालमा मात्तै त मान्छेहरू यो माथिको आहाले जंगलमा गिट्ठा-भ्यागुर खन्न जान्थ्यो अरे; र पनि.. मान्छेलाई ठीकै थियो। सप्पै मान्छेहरू खुबै मिलेर बस्थे अरे गाउँमा पनि।’
बोल्दा-बोल्दै बिचमै रोकियो भक्ते। धनमायाले मात्र भक्तेको लामो निश्वासलाई सुनी। दुवै धेरै बेरसम्म केही बोलेनन्। निक्कै-निक्कै बेरपछि भक्तेले अघिकै कुरामा- ‘अहिले हेर, गाउँ-गाउँमा सरकारले विकास दिएको छ, सप्पै पढ़े-लेखेको छ, कुरा ठूल्ठूलो गर्छ… र पनि मान्छेहरू किन नमिलेको होला? किन पशुजस्तो भएको होला? हो, नभई नहुनेहरूले त पाउनैपर्छ तर पुगिसरी हुनेहरूले चैं लोभ र स्वार्थले गर्दा आफ्नो धर्म-कर्म, मान-मर्यादा सप्पै बिर्सिनु ठिक हो?’ भनेर थपनी जोड्यो।
‘तर… यो सब थाहा भएर पनि कसले बुझिदिन्छ र? कि आज धनराज सरदारले खोसाउँदा टीबी सर ठगिन्छ भनेर; टीबी सरले लिन्दा लाले पछिपर्छ भनेर; लालेले माग्दा म लुटिन्छु भनेर र… मैले थाप्दा थुलुङहरू मर्छ भनेर? ….बुझेरै पनि कसले कति छोड़िदिएको छ र?’ फेरि अचानक नै भक्तेले बत्ती जलायो। ‘के मेरो अनुहार माग्नेको जस्तो छ?’, उसले आफ्नो अनुहार धनमायातिर फर्काउँदै सोध्यो।
के भन्ने धनमायाले?  उसले चुपचाप सानो नानीलाई झैं भक्तेलाई सुताई र बत्ती पनि निभाई।
‘धना!’ अनि केहीक्षणपछि भक्तेले धनमायाको छात्तीभित्र मुख लुकाएर भन्यो, ‘म स्कूटर किन्दिनॅं ल?’ कुन्नि किन हो, धनमायाले भक्तेका आँखाहरू छाम्दा, भिजेका पाई।।

साभार : निनादके निम्ति निनाद (२००१)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: