बिन्दुको गाइनोएक्जाइल

प्रवीण राई जुमेली

त्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ  भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई उसले काटिदिइहाल्दथिई। ड-ले उनीहरु दुवैजनाको लागि फलको रस र पकौडा मगायो।

उनीहरुको गफमा त्यस्तो खासै गहिराइ थिएन। तर बिन्दु आज केही असहज जस्ती देखिन्थी। ड-ले उसको आइफोन हेर्दै ‘बजारमा आउने नयाँ-नय़ाँ ग्याजेटहरु तिम्रो क्रेज होइन?’ सोध्यो।

मुस्कुराई बिन्दु, त्यसपछि ‘रहर अब केको छ सोधन पनि भनी। ड-ले प्रश्नमय आँखाहरु बिन्दुको अनुहारभरि छरिदियो।

आइप्याड्को’, भन्दै छातीमा हात राखेर ‘थ्याङ्कयु एप्पल पनि जोडेकी थिई।

एप्पललाई चाहिँ किन थ्याङ्कयु?’, सोध्यो ड-ले।

आइप्याड्को सिर्जना नै त त्यसकै होइन अन्त?’ भनिनसक्दै बिन्दुको आइफोनमा म्यासेज-टोन बज्यो। ढ-ले ‘निष्ठुरी, अब म तिमी जहाँ छौ त्यहीं आउँदैछु’ भन्ने एसएसएस पठाएको रहेछ। बिन्दु सतर्क भई।

ड-ले उसको तनाउको कारण बुझे जस्तै गरी ‘कसको म्यासेज रहेछ?’ सोध्यो।

बिन्दुले उसको जन्मयसो नै ढ-सित पनि अफेयर चलाउँदै आएको कुरा सार्वजनिक विषय थियो। विशेषतः उसको जन्म नेपाली समाजमा भएकोले यी दुइभन्दा बाहेक अरुसित भने उसको लहसाइ थिएन भनिदिँदा असत्य हुँदैन। नेपाली स्त्रीहरुले बिन्दुबाट केही सिक्नपरे त्यही लहसाइको द्वैतताबाटै त्यस केहीलाई दोहन गर्न सक्दथे। जसरी पुरुषहरुले धेरैजना बिहा गर्दा पनि सहजै स्वीकार गरिने समाजमा द्रौपदीले पाँच-पाँचजना पुरुषहरुसित सम्बन्ध कायम राखेर अपवाद सिर्जना गर्ने साहस जुटाएकी थिई, त्यसै दृष्टान्तबाट हेर्दा बिन्दुको द्वैत सम्बन्ध कतै अजायज लाग्दैन। यसलाई हामी द्रौपदीको उछृङ्खलता भनेर परिभाषित नगरी वर्षौंसम्म स्थापित मूल्य र मान्यता भञ्जित भएको यथार्थको दूर्पिनबाट ह्ऱ्यौं भने केही पाउनसक्छौं। विशेषतः समाज बनिनुको प्रागैतिहासिक कालदेखि नै नारीमाथि शोषण गरिँदै आइनुको पितृसत्ता यहाँ चुनौतीको घेराभित्र बाँधिन पुग्दछ। वास्तवमा बिन्दुको ड  र ढ-सितको द्वैत सम्बन्ध पनि परम्पराको विनिर्माण थियो। परम्परा रुचाउनेहरु विनिर्माण, भञ्जन, परिवर्तन, ध्वंश आदि घटकहरुसित डराउँदछन्। यसलाई वर्जिनिया वुल्फले ‘कल्चर-कनडिसनिङ’ भनेकी छिन्। किनकि त्यसपछिको अनाम विस्व र व्यवस्था जानिएको हुँदैन। परम्पराले मानिसलाई अभ्यस्त बनाएको हुन्छ। विरोध र परिवर्तनको स्थापनाले नयाँहरुसित परिचित र अभ्यस्त बन्नपर्ने चुनौती थोपर्छ। चुनौतीका मोहीहरु कमै जन्मिन्छन् समाजमा। यसैले उनीहरु वर्षौंसम्म शोषण र पीडामा बाँचिरहन्छन्। हरेक जीवनको अर्थ मृत्यु नै हो भनेर जान्दा-जान्दै पनि मानिसहरुले  बाँच्नको निम्ति हजार कायरताहरु उमारेर बस्ने गर्दछन्। तर बिन्दु कायर छैन।

अहिले भने ड-तिर फर्की उ खिसिक्क मात्र हाँसी र ढ-को एसएमएसको उत्तर स्वरुप ‘म अहिले गान्तोक बाहिर जाँदैछु। फर्केर बात गरौंला’ फर्काई। ढ-को पानीखेदोबाट बाँच्ने उसले खोजेकी यो डिजिटल उपाय भनौं। त्यति गरेपछि उ ढुक्क भई र ड-ले मगाएको जुस र पकौडातिर जाइ लागी।

‘तिमी अब साँच्चै किताबहरुबाट उम्किएकी हो त?’, जुस पिउँदै सोध्यो ड-ले र फेरि ‘सुन्दैछु कम्प्युटरिकृत गर्ने क्रममा तिमीलाई त अर्कै keyमा जडान गरिएको छ अरे’ पनि थप्यो।

‘पृथ्वीबाट तारालाई तिमी के देख्छौ? पानीको अथवा माटोको सबैभन्दा सानो कणलाई के भन्छौ तिमी?’, सोधी बिन्दुले। सोधेर पकौडा चबाइरही, जुस पिएर अरु शब्द जोड्न मुख खोली, ‘उ त्यो स्त्रीको निधारको टीकालाई हेर। हेर उर्दुको फ़, ख़, क़ औ अङ्गरेजीको i र j लाई पनि। बिन्दुको बचाइको फाँटवार त्यहाँ-त्यहाँ पनि त पुगेकै छ।’ अझ बोल्दै गई उ, ‘तापनि म सोंच्दैछु यति र यसरी बाँच्नु मात्र पर्याप्त छैन मलाई। मैले मैभित्र उम्रिनलागेको विद्रोहको ताप बोध गर्दैछु अहिले-अहिले। म एउटा त्यस्तो आवाजको कल्पना गर्दैछु जो मबाटै जन्मियोस् र विस्वलाई थर्कमान पारोस्।’

‘आज मात्राहरुको बैठक बस्यो अरे यहींनेर। उनीहरुलाई तिम्रो निष्कासनले सतर्क बनाएको होला हगी?’ बिन्दु रोकिँदा अरु भन्दै गयो ड-ले र ‘के तिमीलाई आफू मात्रा औ वर्ण नहुनुको दुःख छ?’ पनि जोड्यो।

‘के तिमीलाई चाहिँ आफू वर्ण हुनुमा गर्व लाग्छ?सोधाइमाथि सोधाइ थपेर टेबलको सनग्लास र वालेट उठाउँदै दैलोतिर स्निकरयुक्त पयरहरु लम्काई बिन्दुले। फेरि केही पर पुगेर पछाडि फर्किँदै ‘प्लिज डोन्ट फर्गेट टु पे द बिल’ भनिराखी। ड-ले काउन्टरमा बिल तिरिसक्दा बाहिर एमजि मार्गमा लागेको टन्टलापुर घाममा सनग्लास चढाइएका उसका आँखाहरु पयरहरुभन्दा छिटो-छिटो कुद्नलागेका थिए। साथसाथै ’roundका मेस्कुलिन-आँखाहरु पनि उसले धरेकी जिन्स र टिसर्टमा टाँसिएर हिंडिरहेका थिए। ड-लाई पर्खिने उसित जँच्दो अर्थ थिएन। वल्लोपट्टिको ओह्रालो जाने सिंडी झरेर उ राजश्रीको छेउ हुँदै गुड बुक्सतिर गई।

‘मेरो किताब आइपुग्यो?’, सोधी पुगेर। काउन्टरको अनुहारले अहँ-सूचक टाउको हल्लायो। किन? – भन्ने प्रत्युत्तरमा शब्द अफालेन तर बिन्दुले। के-के सोंच्दै उ फर्की सडकमा। उसले ज्याक लकाँ र जुलिया क्रिसटेवाद्वारा साइकोएनालिसिस र न्युरोसिसमाथि लेखिएका किताबहरु मगाएकी थिई त्यहाँ जो तर कुनै कारणवश आइपुगेको थिएन। नआइपुग्नुको कारणमा उसको चासो छैन किनकि दोकानेहरु बहाना बनाउन खप्पिस् हुन्छन् र त्यस्ता बहानाबाजीको शब्दविनिमयबीच अल्झिरहनु समय खेर फाल्नु हो बिन्दुको दृष्टिकोणमा। ड  कतातिर लाग्यो होला – नसोंची हिंडिरह्यो उ।

पर्यटन कार्यालय अगाडि उभिएर उसले पुनः आफ्नो आइफोनमा एउटा नम्बर डायल गरी। अर्कोतिर ढ-को स्वर सुनियो। ‘म एमजि मार्गमै छु, आउँदैनौ……टुरिजम अफिस अगिल्तिर’ बिन्दुले भनी।

एकै मिनट पनि नबित्दै ढ बिन्दुको अगिल्तिर उपस्थित भयो र सोधिहाल्यो पनि, ‘अगि त कहाँ पो जाँदैछु भन्दैथ्यौ त?’

‘जोतिदिएको नी तिमीलाई त्यस्सै’, मुस्कुराई उ।

‘अब मेचीपारि तिम्रो अस्तित्व नै हराइसक्यो भन्दा पनि हुन्छ। यता वारि पनि तिम्रो निष्कासन र वरण सम्बन्धमा ठूलो विवाद चलिरहेको छ। हामी जस-जसले तिमीलाई माया गर्छौं……..तिम्रो वकालती र चाहना गरिबस्छौं’, ढ-ले उसको मन खोल्न चाह्यो।

‘जसको भाग्य कलमको निबमा अल्झिएर बसेको छ उनीहरुको न त बोली छ न त आग्रहको शक्ति नै। त्यसो त हामी पनि आफूलाई जड होइन भन्ने किटान गर्छौं भने भञ्जन र परिवर्तनलाई स्वीकार्न पनि तयार हुनु जरुरी छ होइन र? कुनै न कुनै रुपमा त अस्तित्व हाम्रो पनि रहिरहला नी!’ केही उदास स्वर झिकेर भनी बिन्दुले।

ढ  पनि त्यही ओवरटोनमा बोल्यो, ‘दुःख त केमा पो लाग्यो भने जोहरुले तिम्रो अस्तित्व बचाउने कुरा गरे उनीहरुले नै तिमीलाई भुले पनि।’

‘तिमीहरु बाँचे त भइगयो त होइन, अचानक बिन्दुले आफ्नो आवाज खिरिलो बनाई, वर्ण र मात्रा बिना नेपाली भाषाको लेखन कदापि पनि पूर्ण हुँदैन। यतिसम्म कि म जस्तै भएर पनि  रेफ, चन्द्रबिन्दु र अनुस्वरहरुको पनि केही महत्व त म भन्दा बेसी नै रहिरहेको छ। म पो कहाँ तिमीहरु जस्ता निजाङ्ग्रेहरुको  पुच्छरमा व्यर्थै झुन्डिनु पुगें त!’, हाँस्दै भनी बिन्दुले।

‘म त ब-को कथा पढेर छाँगाबाट खसेको थिएँ, बुझ्यौ? त्यहाँ त बिन्दु अहिले कोमामा छ बनेर पो लेखिएको छ त’, ढ- छक्क परेको अभिनयसित भन्दैथ्यो, ‘अनि तिमी चैँ किन हाँसिरहेकी त?’ पनि सोध्दै।

‘अन्त रोएर पनि त भएन होला नी साथी?’, शान्त भएरै बोली बिन्दु र ‘म अर्कै कुरा सोंच्दैछु। तिमी मलाई एउटा सानो कुराको सहयोग गर्छौ?’ पनि थप्दै गई।

‘के कुराको?’

‘म एउटा आइप्याड किन्न चाहन्छु। तिमी मलाई केही दिनको लागि केही सापटी दिनसक्छौ?’, सहजता कायमै छ बिन्दुको बोलीमा।

केहीक्षण नबोलिरहेको ढ-लाई यहाँ देखिरह्यो बिन्दुले। हजार कसम र मायाहरु रुपियाँको कथात्ममा आइपुग्दा धुलीसात बनेका उदाहरणहरूले झस्काइरह्यो उसलाई। मानिसले लेखेका गीत र कविताहरुले आत्मा, मन र पराभौतिकताको परिपाट लगाए तापनि सरीरको उपस्थितिबिना कसैले पनि उसको इच्छा र भोकको विपना पाएको छैन। बिन्दुले पनि एउटा सरीर बोकेकी छे जुन सरीर उमेरको ढल्काइसँगै स्थूल बनेर गइरहँदा ड  र ढ  झैं पुरुषहरुका माया पनि ढुङ्गा हुँदै गइरहन्छ। उमेर छँदै उनीहरुको त्यस्ता कायर इच्छा र लिप्साबाट केही दोहन गरिराख्ने स्वार्थ साँच्नु पनि आफ्नो यौवनको दुरुपयोग मात्र नभएर शोषणका अरु-अरु उपकथाहरु जोड्नु होइन कसरी नभन्नु र? बिन्दु सोंच्छे, यसैले, कि उसले आफूलाई आर्थिक परतन्त्रताको घेरा तोडेर बाहिर निकाल्नुपर्छ। त्यसले मात्रै उसलाई अरु शक्ति दिनेछ र कथित पितृसत्ताको विरोधमा आफ्नो अभियान जारी राख्न सक्नेछ पनि।

‘किन चाहियो नी तिमीलाई आइप्याड चाहिँ?’…….नबोलिएका केही क्षण बितेपछि ढ-ले प्रश्न गरेको सुनियो।

बिन्दुले वालेटबाट झिकेर केही लेखिएको कागजको टुक्रा देखाई जहाँ मारी वुल्सटोनक्राफ्ट, वर्जिनिया वुल्फ, सिमोन द ब्युवो, जुलिया क्रिस्टेवा, एलेन सुवाल्टर, केट मिलेट, टोरिल मोइ, गायत्री चक्रवर्ती स्पिवाक आदि अनेक नाम र उनीहरुद्वारा लिखित किताबहरुको सूची थियो। ढ  स्वयं लेखक होइन, न त पाठक नै हो उ। कतै एक नेपाली लेखक नै भए पनि उसले यस्ता तमाम किताबहरु पढेको हुनु सम्भव नभएको अवस्थामा हुनेथ्यो उ किनकि ती किताबहरु नेपाली भाषामा अनुवाद नभएको अथवा नलेखिएको जिँउदो अवस्थामा बाँचिरहेको छ उ। त्यसै पनि अङ्ग्रेजीको उपनिवेशी आतङ्कले व्याप्त समाजमा उ झैं वर्णको अस्तित्व नै पनि सङ्कटको घेराभित्र पसिसकेको छ। पाठ्यपुस्तकबाट गेसपेपर, चिट्ठीबाट एसएमएस र इमेल, ज्ञानबाट मनोरञ्जनतिर हाम फाल्दै गइरहेको समाजमा वर्ण, मात्रा र बिन्दु झैं डाइक्रिटिक्सको अस्तित्व सङ्कटमा पर्नु कुनै छक्क पर्नुपर्ने विषय होइन। अब महाकाव्य र हजार पृष्ठको उपन्यास लेखेर साहित्यको अलख जगाउने समय छैन। आज प्रायः मानिसहरु (लेखक र पाठक दुवै) पढेको ज्ञानभन्दा सुनेको ज्ञानको भरमा बोल्नथालेका छन्, ब  भन्थ्यो। कुनै नयाँ कुराको ’boutमा जान्नपरे आज मानिसहरु पुस्तकालय जाँदैनन् तर इन्टरनेट खोल्छन्। यस्तै लेखक र पाठक दुवै रुपमा असफल भएको ढ  अहिलेलाई बिन्दुको लागि खतरा उत्पादक थिएन।

लौ तिमी भन, यी किताबहरु किनेर सबै एकैपल्टमा बोकेर हिंड्न सक्छु म? तिमी हिंड्नसक्छौ?’ बिन्दुले भनी, ‘तर यी सबैलाई मैले आइबुक(पिडिएफ) फर्मेटमा कुनै ल्यापटप अथवा आइप्याडमा डाउनलोड गरेर त बोक्नसक्छु नी औ जहीँ र जतिबेला पनि खोलेर पढ्नसक्छु, होइन? अनि……मैले देखेको त्यो आइप्याड चाहिँ आइबुक कम्प्याटिबल रहेछ। भनूँ ठूलो आइफोन जस्तै।’

‘अनि यो तिम्रो आइफोनमा चाहिं त्यो सबै हुँदैन?’ ढ-ले व्यर्थ बहस गऱ्यो किनकि त्यसले बिन्दुको जिद्धीपनलाई कदापि पनि जित्ने होइन। ‘फेरि ल्यापटपले नै पनि त काम चल्र्ने रहेछ त?’ बहस अझ तन्काइरह्यो उसले।

केहीक्षण नबोलेकी भइरही बिन्दु। फेरि भनी केही गम्भिरतासित, ‘दिँदैनौ भने चाहिँ लामो गफ नछाटौं होला साथी! म हिंडें है।’

‘ए पर्ख, पर्ख न ए’, भन्ने ढ-को आग्रहले हिंडेका उसका पयरहरु थामिएका झैं भए। त्यो वाक्यले केही आशा उमारेको जस्तो थियो अथवा बिन्दुको त्यसरी हिंड्नु स्वयं पनि दोकानेसित भाउ नमिल्दा पल्लो दोकानतिर गई किनूँला भन्ने धम्की जस्तो मात्रै पो थियो कि? ड-सित बिन्दुले सद्भावनाको आशा गर्न सक्तिनँ, यसैले आइप्याडको निम्ति पनि ढ-सितै सापटी आग्रह गरिनु बिन्दुको वाद्यता पो थियो कि? खेल एउटी नारीद्वारा खेलिएको थियो, उसै केही ठोस भनिहाल्न नमिलेको भनूँ यसैले। बिन्दुको जाने अभिनय र उद्वारा भनिएको वाक्यले त्यसरी अल्झाउनुमा मनोरञ्जनको भास पाइरहेथ्यो ढ-ले।

‘दिऊँला नी, रिसाइहाल्नुपर्ने त थिएन त’, फेरि ढ-द्वारा बोलिएको यति वाक्य नै पर्याप्त भयो बिन्दुको अनुहारमा मुस्कान फर्काइल्याउन।

‘हाउ प्लेजरेबल’, बिन्दु हावामा उँडी, ‘यसलाई पो भन्छ त रियल एडमिरेसन। तिमी सफल भयौ ढ  तिम्रो परीक्षामा। थ्याङ्कयु वेरी मछ्।’ फेरि झन्डै अँगाली पनि ढ-लाई। ’roundबाट अनेकौं आखाहरु उनीहरुलाई ताक्न व्यस्त थिए, त्यसैको छ्यानले सतर्क गरायो दुवैलाई।

‘कम अन बोइ, यसको खुशीयालीमा म तिमीलाई आमिर खानको ‘पिपली लाइव’ देखाउँछु’, भन्दै हिंड्ने आग्रह गरी बिन्दुले ढ-लाई। दुवै नारायणदासको छेउ हुँदै डेन्जोङ सिनेमा-हल पुगे। १ बजिसकेको थियो तर २ बजेको ‘सो’को टिकट काट्नलाई १.४५सम्म पर्खिनुपर्ने रहेछ।

‘अब के गर्नु?’ सोध्यो ढ-ले।

‘यतै गफ गर्दै उभिबसौं न हुँदैन?’ भनी र हल अगिल्तिरको फलामे रेलिङमा ठडिन पुगी। ढ-ले पनि त्यसै गऱ्यो। ‘तिमीलाई थाहा छ…..यस सिनेमामा नत्थू झैं एक दलित-शोषित कमनम्यानको माध्यमद्वारा मिडिया र राजनीतिको असली चित्र देखाइएको छ। वा…व, आमिर इज जिनियस।’ पनि जोडी बिन्दुले।

‘तिमीले त हेरिसकेकी पो हो?’ ढ-ले केही अचम्भसित सोध्यो। ‘अम्म्म…..वेट फर वन मिनेट’, भन्दै उ अलिपरको पानदोकानतिर गई र केही प्याकेट चिप्स र जुस किनेर फर्की र अगिकैमा थपी, ‘फरक केही पर्दैन मिस्टर ढ.। मैले आजको दिन तिम्रो नाममा लेखिदिइसकें….अन्डरस्टुड?’

ढ-को मनमा आइप्याडको दामलाई लिएर उथलपुथल अगिदेखिनै थियो। तैपनि जिज्ञासा पोखाइहाल्दा फेरि बिन्दु तर्सुवा गाई झैं बन्ने पो हो कि…..भन्ने डरले त्यस’bout सोधिहाल्न नसकिरहेको थियो। उ सोंचिरहेथ्यो कि उसले जीवनमा खाई-नखाई गरेको बचतले ठूलो मूल्य राख्दछ। कतै सापटै नतिरी बिन्दु पनि चम्पटराम भई भने? कालो कमाइको ’boutमा त उसले हजारौं गफडाबाजी सुनेको भए तापनि आफ्नो पसिनाको कमाइ व्यर्थ खर्च गर्न मन नमानेको तथ्य पनि उसित छ। तथापि अर्कोतिर बिन्दुको इच्छाले उसको बाटो रोकिराखेको हुनु पनि तगारोकै रुपमा खडा छ अहिलेघडी। उसको के गरौं-को दोधारलाई तर बिन्दुको ‘निधारमा यी कस्ता धर्साहरु उमाऱ्यौ मिस्टर ढ?’ भन्ने प्रश्नले खज्मजाइदिएको थियो।

केही क्षण पर्खिनुपऱ्यो बिन्दुले उसकोबाट उत्तर पाउन।

‘केही होइन, म सोंच्दैथिएँ कि आइप्याडको दाम चाहिँ कति होला भनेर?’ केही घुमाएर भए पनि उसले कुरा चाहिँ भनिछाड्यो, ‘त्यति रकम ब्याङबाट झिक्नपर्ने भयो नी त, होइन?’

‘डलरमा भनूँ?’, तर उसको मनको हाउलाई हावा दिने जस्तो थिएन बिन्दुको उत्तर। सायद बाँकी दिने उ भएपछि त्यस चिजको मूल्य जान्नु पनि उसकै अधिकारभित्र पर्छ होला। बिन्दुलाई हेर्दै उ मुस्कुरायो। बिन्दुले वालेटबाट पेन झिकेर उसको हत्केलामा ‘$499’ लेखिदिई। त्यसलाई उसले मोबाइलको कन्वर्टरमा हालेर हेऱ्यो। ` २२९७२।

त्यसको भोलिपल्ट ढ-ले बिन्दुको हत्केलामा माथि उल्लेख गरिएको रकम ब्याङबाट झिकेर थम्याइदिएको थियो। त्यसको धेरै दिनपछि मात्र बिन्दुले ढ-लाई फोन गरेर एमजि मार्गमा बोलाई र त्यो आइप्याड देखाई। त्यो आइप्याड त थ्रिजि पनि रहेछ। अनि त्यसभित्र कैद गरिएका अनेकौं आइबुकहरू पनि देखाई। ढ-ले सर्सर्ती हेर्दा अ विन्डिकेसन अफ द राइट्स अफ वुमनरुम अफ वन्स ओन, द सेकेन्ड सेक्स, फेमिनिस्ट क्रिटिसिजम इन द वाइडरनेस आदि-आदि थाहा गऱ्यो।

केहीक्षणपछि ‘सबै अङ्ग्रेजी मात्रै रहेछ’ पनि भन्यो।

‘सबै अङ्ग्रेजी होइन, कतिपय अङ्ग्रेजीमा अनुवाद गरिएका हुन्’, जवाफ फर्काई बिन्दुले। त्यसपछि उसले प्याट्र्रि्यारकल, मेस्कुलिनिटी, जेन्डर-बायस, पर्सुएसन, विनिवोलेन्ट डिक्टेटरसिप, गाइनोक्रिटिसिज्म आदि अनेकौं शब्दहरुमाथि वक्तव्य छाँटी। त्यस दिन ढ  लाटो श्रोताको रुपमा अनुवाद भएर बसिरह्यो, बस् बसिरह्यो मात्रै। अन्तमा बिन्दुले ‘म विवाह कहिल्यै कसैसित गर्दिनँ’ पनि भनिराखी र बेपत्ता भई। उसको फोन नट-रिचेबल भयो र उसको इमेल प्रतिक्रियाहीन। एकदिन ड-ले उसलाई फोन गरेर भन्यो कि बिन्दुले उसकोबाट चलाएको सापटी त्यहाँ छाडिराखेकी छे भनेर।

‘हे मिस्टर ढ, म अब नेपाली वर्णहरुको रखैल रहिनँ। म डाइक्रिटिक्स भएँ।’ बितेका अनेकौं दिनहरुपछि फेरि ढ-ले यो खबर आफ्नो इमेलको इनबक्समा फेला पाऱ्यो। त्यसै दिन उसले मेट्रो-पोइन्ट नजिकै अवस्थित जैनको बुक्समा गएर भर्खरै छापिएको अक्सफोर्ड डिक्सनेरी किन्यो र घरमा गएर पल्टाउँदै हेऱ्यो। त्यहाँ हरेक i j को शीर-शीरमा र फूलस्टपहरुमा उभिएर आफ्नो गाइनोमुस्कान छरिरहेकी थिई बिन्दुले।

बिन्दुलाई हाम्रो खुट्टा-खुट्टामा झुन्ड्याउने व्यवस्था चाहिँ कसले बनायो होला?  विचरी, एउटी नेपाली अबला यसरी कति बिचल्नी भई?  नेपाली वर्णमालाको गुन्द्रीमाथि पल्टिएर सोंचिरह्यो ढ-ले चाहिँ।।

ritukhel2009@gmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: