पराजित देवत्व

प्रवीण राई जुमेली

देशको सबैभन्दा अग्लो ठाँउमा थियो त्यो महल। शायद बनाउनेहरुले पनि देशको प्रथम पुरुषको निम्ति भनेर नै त्यो ठाँउलाई चयन गरेका थिए ! त्यो महलमा पाइला राख्नु कतै सजिलो थिएन, सयकडौं लडाईं जितेर मात्र त्यहाँ प्रवेश गर्नसकिन्थ्यो।

आफ्नो मानवतावादी सिद्धान्तले गर्दानै पहिलो सामन्ती-शासनको दमन गर्दै एउटा असाधारण व्यक्तित्वधारी देवता त्यो देशको सत्तामा पुगेको यो पहिलोपल्ट हो। यसभन्दा अघि आएका सबै शासनकर्ताहरु राक्षसी खलकबाट आएका शोषक र भ्रष्टाचारीहरु मात्र थिए। यसैले, त्यो देशको सत्तामा त्यसरी कुनै देवता शासक भएर पुग्नु ऐतिहासिक घटना मात्र नभएर स्वयं एउटा प्रश्नचिन्ह पनि बन्नगएको थियो। ऊ सत्तामा पुगेदेखि यता नौकरशाह, ठिकादार, व्यापारी, खेतीवाला, मजदूर इत्यादि पेशाधारीहरुले पनि खुशी व्यक्त गरेर उसको सत्तालाई स्वीकार गरेका थिए। तबसम्म एउटै सामन्तवादको चक्कामा पिसिँदा-पिसिँदा जनतामा पनि परिवर्तनको चाह आच्छन्न रहेको थियो भन्ने कुरा जाहेर भएको थियो त्यसरी; त्यसबेला नै उसले आफना सिद्धान्तका अमूर्त्त अण्डाहरुलाई पनि मुसारेको थियो। शायद ऊ यो विश्वासमा थियो कि भविष्यमा गएर ती अण्डाहरुबाट स्वस्थ चल्लाहरु निस्किनेछन् जसको निम्ति ऊ स्वयंले पनि तन, मन र धनले काम गर्नेछ।

समय बित्दै गयो। समयभित्र त्यो देश पनि बित्दै गयो। उसका सपनाहरु एकांश पनि पूर्ण हुनसकेनन्। उसले जति पनि देशका पीडित र निमुखावर्गका उत्थानको निम्ति योजनाहरु बनाएर कार्यान्वयन गर्नचाह्यो – तीहरुलाई हरतरहले निष्फल बनाउने कार्यहरु पनि त्यतिकै चलिरहे। उसले देशलाई विभिन्न कोण र प्रतिकोणबाट समृद्ध बनाउने प्रस्तावहरु राख्यो तर कुनै पनि वर्गबाट त्यसको सहमति भएन। ती विरोधहरुका रुपमा पनि त्यही नौकरशाह, ठिकादार, व्यापारी, र मज्दुरहरु नै आच्छन्न रहेका हुन्थे। यसैले, एकप्रकारले उसको मानवतावादी सत्ता नै निष्फल प्रतीत भइरहेथ्यो देशमा। अपितु, निरंकुशताको बाहुल्य रहेको त्यो देशमा सौन्दर्य र सत्यकै पक्षमा उसको लडाईं जारी रहिरह्यो। तर त्यत्रो परिश्रम र खिप्तिपश्चात पनि समाज र जन-समुदायको त्यही अपरिवर्तित रुप देखेर उसका उत्साहहरु वैलाउन थाले। यो एउटा आश्चर्य नै थियो कि ऊ स्वयं त्यो देशको राजा भएर पनि उसको इच्छा र विचारको त्यहाँ कुनै कदर थिएन र उसको समर्थनमा रमाउने र गाउनेहरु पनि छद्ममा अर्कै रुपधारीहरु थिए। एकदिन – उसले सौन्दर्य र सत्यका विरोधीहरुलाई दण्ड दिने संकल्प लियो र राजसभामा उक्त कुरा जनायो, तर पछिबाट भयानक जनान्दोलनको भनक पाएपछि उसलाई आफ्नो विचार परिवर्तन गर्न कर लाग्यो।

उसलाई लाग्यो कि देशमा कुनै पनि एउटा विचारलाई प्रयोग गर्नअघि नागरिकहरुको रुप र मनस्थिति पनि जान्नु आवश्यक छ। सम्बन्धमा, एकदिन उसले हिमालमा गएर एकजना सिद्धपुरुषसित भेट्यो। उसका सम्पूर्ण व्यथाकथा सुनेपछि उक्त सिद्धपुरुषले उसलाई एउटा प्वाँख दियो जोसित यो भनाइ पनि जोडिएको थियो कि यदि त्यस प्वाँखबाट कसैलाई हेरे त्यसको बाहिरी व्यक्तिले बोकेको भित्री रुपलाई पनि छर्लङ्ग देख्नसकिन्छ। अन्ततः त्यो प्वाँख बोकेर उ फर्क्यो अनि सबभन्दा पहिला उसले उसकै सहकर्मीहरुलाई हेऱ्यो र छक्क पऱ्यो : बाहिरबाट देखिने सुन्दर रुपाकारहरुभित्र त सिङ्ग, दाह्रा भएका भयानक अनुहारहरु पो देखिए ! ऊ अत्तालिएर बाहिर आयो अनि अघाडि भेटेका हरेकलाई नै त्यो प्वाँखबाट हेर्नलाग्यो : तर बाहिरी अनुहार जस्तै भित्री अनुहार भएको एउटै पनि नागरिक थिएन त्यो देशमा। त्यसपछि ऊ आफ्नो महलमा गएर बस्यो र धेरै समयसम्म बाहिर निस्केन।   

एकदिन, ऊ हाँस्दै दरबारबाट निस्क्यो र एउटा आकस्मिक सभा डाक्यो : जसमा उसले सौन्दर्य र सत्यको विरोधमा प्रस्तावहरु राख्यो। भेला भएका सबैले उसका प्रस्तावहरुको प्रशंसा गरे र तीहरुलाई झट्टैभन्दा झट्टै लागू गर्ने माग पनि राखे। तदोप्रान्त, उसको देशव्यापी जयजयकार भयो। उसको खुशीको पारावार रहेन।

त्यसपछि, निरङ्कुश शासनको चकचकी र जगजगी रह्यो देशभरि नै। क्रन्दन र चिच्याहटहरु त्यो देशको राष्ट्रिय राग बन्यो, रगत त्यहाँको प्रचलित पेय बन्यो र मानवाधिकारहरुलाई त्यहाँको आहार ठानियो। भ्रष्टाचार चाहिँ त्यहाँको संस्कृति मानियो।

फेरि एकदिन, उसले आफैलाई ऐनामा हेर्दा र उसलाई त्यो सिद्ध पुरुषले दिएको प्वाँखको सम्झना भयो। उसले प्वाँख लिएर आफैलाई ऐनामा हेऱ्यो : ओफ ! उसका पनि सिङ्ग, दाह्रा र भुत्लाहरु उस्रिसकेछन्। त्यस देशका अन्य नागरिकहरुका झैं उसको आच्छन्न व्यक्तित्वमा पनि राक्षसी लक्षणहरु प्रशस्त उस्रिन लागिहरेका रहेछन्। अनि त्यही दिन उसले त्यो प्वाँखलाई पनि डड़ाइदियो।।

साभार: निनादको निम्ति निनाद (२००१)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: