गान्तोकमा दुइ हलोम्यान

तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने त्यही हिजको‘अनुकरण’ नै थियो भनिदिँदा खेर नजाला। अनि वातावरणको त्यस‘अनुकरणात्मकता’भित्र खबरकागज, लटरी, टेन्डर, युवा, नोकरी र यस्तै-यस्तैहरु पनि आफ्ना युगीन सामासर्जामसित घन्किरहेथ्यो। त्यस्ता घन्काइ सुन्नेहरुको भूमिकालाई भने हामी वुल्फग्याङ आइजरले नामाकरण गरे झैं ‘वास्तविक पाठक’ र सुनाउनेहरुलाई चाहिं हामीले नै ‘वास्तविक पात्र’को नाम दिइराखौं होला ! तर यो पाठमा हुल्न लागिएको‘अदृश्य दुइ’को भूमिका भने गान्तोकमा सधैँ सल्बलाइरहने भीड भन्दा अलग नै छ। पल वरहोवनद्वारा निर्देशित २ घन्टा १० मिनेट लामो अङ्ग्रेजी सिनेमा ‘हलोम्यान’मा केविन बेकनले जस्तो गलाउने किसिमको अभिनय गरेको छ, यी ‘अदृश्य दुइ’को अभिनय भने त्योभन्दा अलग नै हुनेछ। यति चाहिँ पक्कै हो कि ‘हलोम्यान’को केविन बेकन झैं तिनीहरु पनि अदृश्य छन्। तर तिनीहरु त्यसरी अदृश्य हुनु चाहिँ कुनै वैज्ञानिक परिक्षणको प्रतिफल अवश्यै होइन। त्यसैले पनि आज यहाँ यो पाठको आवश्यकता महशूस गरिएको छ भनौं। तिनीहरु टाइटेनिक बिसाउनी पुगेपछि हामी उनीहरुको सम्वाद सुनेर पाठलाई अघि बढाउनेछौं। तिनीहरुको सम्वादले नै यस पाठको निर्मितिमा मुख्य भूमिका बेहोर्नपर्नेछ। अब सम्वादतिर लागौं।

‘ऐ……हामी अगिदेखि यो बाटोमा हिंडिरहेछौं, तर यी मान्छेहरुले किन हामीलाई देखे झैं गर्दैन त?’ एउटाले सोध्यो।

‘तिनीहरु जस्तो होइनौं हामी। बुझेको छैनस् अझ्झै?’ अर्कोले भन्यो, ‘हाम्रो नियति त नदेखिनु नै हो। नदेखिएर नै बाँचिरहनु बोधहरुमा!’ थप्दै।

‘के हाम्रो काया जस्तै हाम्रो स्वर पनि नसुनिने नै छ मान्छेहरुलाई?’ अघिल्लोले जिज्ञासा बोल्यो।

‘हो नी लठ्ठक।’

तिनीहरु फुटपाथमा हिंड्नेहरुसित ठिक्किँदा कुनै असर थिएन; गजब त यतिसम्म थियो कि तिनीहरु मान्छेका सरीरबाट वारपार छिर्न पनि सक्थे। त्यसो गर्दा मान्छेहरुले थाहै पनि पाउँदैन थिए। तर यो अनुभव तिनीहरुलाई पुरानो भएकोले त्यसमा कुनै‘चार्म’ बाँकी रहेको थिएन। बस् हिँड्दै बात मारिरहनु तिनीहरुको कार्यव्यापार थियो।

‘चुपचुप चुप……..’, तर तिनीहरुको बातचितको श्रृङ्खला अघि बढ्न पाएन। पछिल्लो अदृश्यले चुप बस्ने सतर्कता दिइहाल्यो; त्यसैका आँखाहरुलाई पछ्याउँदै अघिल्लोका आँखाहरु पनि टाइटेनिक बिसाउनीको एउटा पिठिकामा गएर रोकियो। त्यहाँ एकजना दाह्रीवाला मान्छे अर्को चस्मा लगाउने मान्छेसित गफिँदैथ्यो। ती दुइ ब. र प्र. थिए। दुवैले आफ्आफूलाई धुरन्धर लेखक हो ठान्थे र भेट्नसाथ आफ्आफ्ना महाविस्वासहरुको छाला उदार्ने कामतिर लागिहाल्थे। अब यी ब. र प्र.को उपस्थितिसित ती दुइ अदृश्यहरु त्रासित हुनुको कारण पनि ती दुइबाटै जानौं। साथसाथै ब. र प्र.को महाविस्वास बारे समीक्षा गर्न पनि ती अदृश्य दुइलाई नै लगाए हामी धेरै सन्तुष्ट हुन सकौंला! कसो त पाठकज्यू?

ब.का ओठहरुले सधैँको उसको परिहासपूर्ण मुस्कान टाँसेरै राखेको छ। प्र. सधैँ अट्कलिरहन्छ ब.लाई। ब.लाई मात्र होइन चिनिएका हरेकलाई नै। प्र. यस्तै नमुनाहरुबाट आफ्ना अलिखित कथाहरुको लागि पात्रत्वको जिस्ट बटुल्ने फिराकमा हुन्छ। यो उसको साहित्यिक धुर्त्याईं हो। नेपाली जनसमूह सद्दे साहित्यिक पाठकमा अनुवाद हुन नसक्नुले गर्दा उनीहरु यस धुर्त्याईंबाट अनभिज्ञ छन्। यसलाई हामी त्यस असमर्थताले जन्माएको प्रतिकूलता भनी अर्थ्याउन सक्छौं। यहाँ हामी रोमन याकब्सनसित साथ लागेर भन्नसक्छौं कि पाठ तबसम्म निरर्थक हुन्छ जबसम्म त्यसलाई पढिँदैन। पाठलाई अर्थ दिने पाठक नै हुन्छ किनकि अर्थ पाठमा निहित हुँदैन।प्र. इच्छाअनुरुपको पाठक अन्वेषण गर्न चाहन्छ। खै त्यो उसको इच्छा पूरा हुने हो/होइन भन्न चाहिँ यसै सकिन्न।

‘के यिनी दुइबाट भागेर बाँच्नसक्छौं हामी?’ पहिलो अदृश्यले साउतीमा सोध्यो।

‘किन सकिँदैन त, भन्न सक्छौ?’ दोस्रोले पनि प्रश्नै तेर्सायो।

‘यिनीहरुकै कलमले हाम्रो काया भर्ने गर्छ; स्वतन्त्र छौं लाग्छ हामीलाई स्वतन्त्र कहाँ छौं र हामी?’ प्रश्नैमा जवाब भन्यो पहिलोले फेरि। ‘आँखैले नदेख्दा पनि यिनीहरुले खेलाउँछ हामीलाई। यिनीहरुको पाठ भर्ने पूरकहरु भइदिएका हामी त’’, दोस्रो नबोलिरहँदा अलिक भरै यति थप्यो पहिलोले, ‘एउटा पाठ-लेखन तुरिँदा हाम्रो भूमिका तुरिँदैन। अर्को पाठ-लेखनको अवस्थासम्म मात्र हामी खाली भएका हुन्छौं; किनकि पाठ लेखनको समाप्तिसितै हाम्रो पात्रत्व पनि जढ भइसकेको हुन्छ त्यहाँ। त्यसोप्रान्त अर्थोत्पतिको जिम्मा पाठकको काँधमा पुग्छ। हाम्रो कायाले अर्को पाठको प्रतीक्षा गर्नपर्ने हुन्छ। बुझ्यौ?’

‘हामी दुइ मात्र किन त यस्तो वाद्यतामा?’ दोस्रो पोख्छ जिज्ञासा।

‘हामी जस्ता त कति छन् कति। अहिले प्र. एउटा पाठ तयार गर्ने तर्खरमा छ र हामीलाई उसैले यहाँ ल्याइएको बनाएको हो। हामी लेखक ब. र प्र.का महाविस्वास उधार्न यहाँ उपस्थित छौं। यी दुवै म को हूँअथवा म यो हूँको समस्याले जेलिएका छन, बुझ्यौ?’जवाब पहिलोको।

भन्नपर्ला की दोस्रोले पर्खिरहन्छ पहिलोको अरु स्पष्टिकरणलाई। पहिलो भने मज्जा मान्छ दोस्रोको जिज्ञासामा।

‘यी दुइको लडाईं वास्तवमा आफ्-आफ्ना विस्वासको हो; सङ्घर्ष’ त्यसैले उमारेको छ,’पहिलो बोल्छ, ‘प्र. आफ्नो विस्वासलाई भ्रम मान्छ। ब. त्यहाँ सापेक्षित यथार्थ्य देख्छ। विगतमा पनि यस्तै भ्रम खेती गर्ने कसैको छाला काढेको बहस ऊसित छ।’

‘यस्तै महाविस्वासमा रमिरहँदै आफ्-आफ्नो हिस्साको जीवन बाँचिजानु मानिसको यथार्थ्य हो भन्दै एउटा पाठ कोरेको छ जस्तो लाग्यो प्र.ले, होइन?’ अब दोस्रोले पनि एउटा अनुभव बोल्यो।

‘त्यस्तो पाठले केही नाप्दैन गठ्ठे! विस्वास भत्किनु भनेको मान्छे भत्किनु हो। जसरी सोह्रौं-सत्रहौं शताब्दीतिर देकार्तले आइ थिङ्क देयरफोर आइ एम भनी मानवको सर्वोच्चतालाई देखाउन खोजेका थिए त्यसैको विरोधमा नविन दर्शनको खेतमा उभेर लकाँले भने आइ थिङ व्हेर आइ एम नट, देयरफोर आइ एम व्हेर आइ डु नट थिङ्क। ढिलो-छिटो होला, तर पछिल्लो विस्वास उभिनुलाई अघिल्लो मर्नैपर्छ बुझिस्?’पहिलो यसरी घन्किन्छ।

‘हन अन्योल त यहाँ पो भयो पण्डित की दुवै बराबर जस्तै उमेरका भएर पनि मान्यताको विभिन्नता कसरी बाँचिरहेछन् ती दुइले?’ दोस्रो भने जिज्ञासाको मूलधारामै छ भनी जानौं।

‘कुरा प्र.ले उसको कथापाठ ‘ऋतुखेल’मा हामीलाई कथित भ्रमको निम्ति नचाएपछि उठेको हो। ब.ले कुनै समय भ्रमकै कुनै गायकलाई सापेक्षितताको डन्ठाले कुटेथ्यो अरे। उसले सम्झेथ्यो, भ्रम नमरे पनि त्यसका गायकहरु मरिसके। आज फेरि प्र.ले कुरा उठाएपछि ब.को स्वाभिमान दुखिउठेको होला! उसले प्र. लिखित एउटा पाठको खिल्ली उडाउँदै कथा पनि लेखेको छ’ पहिलोले बुझायो, ‘वास्तवमा प्र.को भ्रम ज्ञानको सन्दर्भमा हो। ब.ले उसको कथामा जस्तो १. भ्रम जरा समातेको भए बगाउने तर धन्न यथार्थ जरा समातेको रहेछ, २. तर पानी देऊ भनिनु भ्रम पटक्कै थिएन त्यो त सापेक्षित सत्य थियो आदि लेखेर जतिनै आफ्नो महाविस्वासको ढोल पिटोस् र प्र.को भ्रमको खिल्ली उँडाओस, ती सब मानिसको अस्तित्वलाई सङ्घर्षका केही नमुनाहरु मात्र हुन्। बुझिस?‘

दोस्रो बोलेन। पहिलोका अरु स्पष्टिकरणहरु पर्खिरहनु उसको नियति भयो। प्र. नै उनीहरुसित त्यहाँ भएका भए के भन्नेथ्यो होला? सोंचिरह्यो उसले। प्र. लिखित‘ऋतुखेल’का केही पाठहरु पढेपछि ब.ले पनि प्रतिक्रिया स्वरुप एउटा कथा ‘पानी, भ्रम अनि आककातीपासिका प्र.’ लेख्ने जमर्को गरेको थियो। ‘त्यस कथाको एउटा प्रतिलिपि प्र.लाई पनि दिऊँ’ भनी गोजीमा बोकेर हिंडेको धेरै दिनपछि मात्र किरण ड्राइक्लिनर्स अघिल्तिर उसलाई भेट्टाएर ब.ले त्यस कथाको प्रतिलिपि थम्याएथ्यो। यो हो १८.७. २००९को कुरा। त्यस अगि ब.ले लेखेको कथा कतै कसैले पढेको थिएन। आफ्नो अभिमानको रक्षाकै लागि उसले कथालेखनको दहमा हाम फालेको हो भने त्यो दुखाइले पार नपाउला! उनाइसौं शदीका वैज्ञानिक दृष्टिकोणहरु बीसौं शदीमा आइपुग्दा धेरैजसो परिवर्तित रुपमा थिए। ती दृष्टिकोणहरुले वस्तुनिष्ठ तथ्यहरुमाथि घडेरी बसालेको थियो। आइन्सटाइनको सापेक्षतावादले पनि खुबै विस्वाससित हुँकार गरेको थियो समयको त्यस खण्डमा। त्यो जानकारीबाट निश्चयनै प्र. पनि अलग थिएन। उ जान्दथ्यो कि प्रकृति सधैँ आफ्ना सत्यहरु लिएर स्थिर छ। मस्तिष्क, बोध र तर्कहरु लिएर मानिसले सिर्जेका ज्ञानहरु त्यसैले संशयको घेराभित्र गुँडुल्किएको हुन्छ। ती बोध र तर्कहरु मानिसदेखि मानिससम्म मात्र सिमित रहेको छ। पशुहरुले पनि आइन्सटाइन प्रदत्त वस्तुनिष्ठताको बोध गर्छन् तर तर्क र विमर्शमा हारेका छन्। ज्ञानका बोध र अर्थहरु सधैँ एकनास हुँदैन हरेक व्यक्तिलाई। सस्युर प्रदत्त ‘लाङ्ग’मा जब फाल हान्छौं हामी त्यहाँ अर्थको उपस्थिति पढ्छौं, जुन कुरा विरचनामा आइपुग्दा फेरि अर्थको स्थगन भनी पढ्छौं। सस्युर र डेरिडाको प्रभाव आफ्आफ्ना कालखण्डहरुमा प्रभावशाली थिए र छन्। भन्न नपर्ला कि अर्को विमर्श र तर्कको बेसमेन्ट पनि तर अघिल्लोकै टाउकोमा उभिएर बढेको देख्छौं। ज्ञानहरु जो मानव अभिमानको रक्षार्थ उभिएका छन् एक कालखण्डपछि अर्कोमा पुग्दा-नपुग्दै टुक्रिएका छन्, शङ्काको घेराभित्र परेका छन्। साधारण मान्छेले भोग्ने, सुन्ने र पालन गर्ने व्यवहारिकताहरुमा त्यो ज्ञानको भूमिका कुन रुपमा हुन्छ त्यो यसै भन्न सकिन्न। ‘बिइङ एन्ड टाइम’मा मार्टिन हाइडेगरले अस्तित्ववादको उकीलगिरी गर्दै भनेका छन् कि मानिसको अस्तित्व उसको ‘प्रदत्त’ हुनुमा छ जसलाई उनले दाजाइन भनी नामाकरण गरेका छन्। यसले यो तर्कलाई अगि सार्छ कि त्यस‘प्रदत्त हुनु’को अर्थले मानिसको स्वतन्त्रतालाई चुम्काइदिन्छ। ‘प्रदत्तता’ त्यो अवस्था हो जहाँसम्म मानिसको बोधले छुनसक्छ र त्यसभन्दा उता उसको अधिकार समाप्तिएर जान्छ। व्यवहारिक रुपमा भन्नपर्दा हामी आफ्-आफ्नो बोधभित्र र बोधसित मात्र खेलिरन्छौं। यस्तै खेलहरुले भ्रमका खेतहरु उमार्छ।

‘यो भ्रम पाठकको दृष्टिकोणबाट पनि छर्लङ्गिन्छ’, पहिलो अझ भन्दै हुन्छ, ‘यसलाई हामी हन्स रोबर्ट याउसद्वारा कथित प्याराडाइमको परिवर्तित रुपहरुले पनि बुझौं। एउटा तर्क एउटा प्याराडाइमको निर्मिति-क्रममा हुन्छ जो अर्को प्याराडाइममा पुग्दा-नपुग्दै प्रश्नचिन्ह भित्र पसिसकेको हुन्छ। विज्ञानका इतिहासकार थमस कनले उनको किताब दि इस्ट्रक्चर अफ साइन्टिफिक रिवोल्युसन्समा यस प्याराडाइमको व्याख्या गरेका थिए। कनले अरु सामाजिक विज्ञानहरुमा प्याराडाइम हुँदैन भने तापनि प्रथमपल्ट फर्डिनान्ड डि सस्युरले भाषाका समान्तर तत्वहरुको वर्ग  छुट्याउन प्याराडाइम शब्द चलाएका थिए। कन मुताबिक विज्ञानको प्याराडाइमले अभ्यासहरुको त्यो समुच्चयलाई बुझाउँछ जहाँ एउटा खास समयभित्रको वैज्ञानिक पद्वति परिभाषित हुन्छ।’

पहिलोले कुरा भनिसक्दैन। तर दोस्रो टाउको कन्याँउदै हुन्छ। जे भए तापनि प्याराडाइमहरु असङ्ख्य मात्रामा हुन्छन् भनी  बुझ्छ उसले र ती विभिन्न कालखण्डहरु हुन् पनि बुझ्छ। एउटा कालखण्डको आवेग, रुप र बोध जसरी अर्कोसित मिल्दैन त्यसरी नै प्याराडाइमका रङ्गहरु पनि भिन्न-भिन्नै हुने गर्छन्। यसैले प्याराडाइमहरु विरोधाभासी  हुन्छन्। यसको अनुरुपता हामी ‘थिङ्किङ आउटसाइड दि बक्स’ भन्ने वाक्यांशबाट पनि बुझ्नसक्छौं भन्ने कनहरुको भनाइ छ। विज्ञानमा ‘थिङ्किङ इन्साइड दि बक्स’ले साधारण विज्ञानलाई मात्र बुझाउँछ। जब हामी बक्सदेखि बाहिर जान्छौं त्यो रुप र बोध क्रान्तिकारी हुने गर्छ।

अब हामी ब.को तर्कको केन्द्रतिर पसौं।

प्याराडाइम सिफ्टलाई भौतिक-शास्त्रमा १९०० शदीको अन्ततिर नाटकीय रुपले बलियो भएको पाउँछौं हामी । जब लर्ड केविनले छाती फुकाएर भनेका थिए: ‘देयर एज नथिङ निउ टु बि डिस्कवर्ड इन फिजिक्स नाउ’। त्यसको लगत्तै पाँच वर्षपछि अल्बर्ट आइन्सटाइनले सापेक्षतावादमाथि उनको लेखन छपाएका थिए। त्यहाँ उनले न्युटनेलीयान्त्रीकीलाई चुनौती दिँदै अति साधारण विधिका समुच्चयहरुलाई प्रस्तुत गरेका थिएजसले शक्ति र गतिलाई लगभग २०० वर्ष यसो व्याख्या गर्दै आइरहेको थियो। यहाँ एउटा नयाँ प्याराडाइमले अर्को पुरानोलाई स्थानापन्न गऱ्यो। कनको भनाइलाई एक समाज-विज्ञानी मातिइ डोगनले पनि सकारे। जब बुद्धी र बोधले वर्तमान सोचाइको इलाकाभन्दा परतिर जान नकार्छ तब प्याराडाइम प्यारालाइसिसको उत्पति हुन्छ।उदाहरणको रुपमा ग्यालिलियोको हेलियोसेन्ट्रिक युनिवर्स, विद्युतिकृत फोटोग्राफी, जेरोग्राफी र क्वार्ज घढीहरुलाई लिनसक्छौं। यसरीनै नेपाली साहित्यमा इन्द्रबहादुर राईआदिका लेखनले लेखकीय प्याराडाइम सिफ्टलाई दर्शाउँछ भने वर्तमानमा सहजबुद्धी लेखन, रोमान्टिसिज्म र नयाँ-आलोचनाको मोह प्याराडाइम प्यारालाइसिस हो। कनको नकार हुँदा-हुँदै पनि एक हन्डा एम.एल.(१९८६)ले समाजिक प्याराडाइमका घटकहरुलाई चिन्हित गरेका छन्। उनले समाजमा शैक्षिक संस्थानहरुसितै अरु समाजिक संस्थानहरुकसरी बदलिन्थन्, त्यो देखाए। हन्डाले समाजमा संस्कृति र ऐतिहासिक पलहरुले कसरी मुख्य प्याराडाइमहरु कप्छ भन्ने कुरा दर्शाएका छन्। यसका कारकहरुमा व्यवसायी संस्थाहरु, जीवन्त नायकहरु, जर्नल र यसका सम्पादक, सरकारी अधिकर्ताहरु, शिक्षकहरु, फलप्रद सभा-सम्मेलनहरु, मिडियाका सूचनाहरु आदिलाई लिन सक्छौं पनि भनिएको छ। साँच्चै सरीर र मान्छेको जीवन्तता यसका सास र चालका नैरन्तर्यमा हुन्छ भने बदलाउहरु अनिवार्य भएर जान्छन्। गान्धी र मन्डेलाहरुलाई  हेरेर राजनीति श्रद्दा लाग्नु  एउटा कालखण्डको मोह मात्र हो, चौकमा उनीहरुका मूर्ति हेर्दा सहजता लाग्छ यसैले। आजका  राजनीतिज्ञहरु देख्दा कस्तो अनुभूति हुन्छ त ? सुधीर क्षेत्री कविता फ्याँक्छन्:

के लेखिबस्नु

यी पाखण्डीहरुबारे

सालाहरु

सुधीरको लेखकीय अर्थ-प्रक्षेपणमा श्रद्धाका मोहीहरु प्याराडाइम-प्यारालाइसिसमापछारिन  पुग्छन्। नयाँ समालोचनाको वकालती गर्दै जब आइ. ए. रिचर्ड्सले इट इज नेवर व्हाट अ पोएम सेज  व्हिच म्याटर्स, बट व्हाट इट इज भनेका थिए तब काव्यकृतिहरु पढ्न छाडिए र पुज्न थालिए। नेपाली कविताको युगान्तरले पनि तेस्रो-आयामी लेखनको दमनमा आफ्नो पठन-क्षमता हराउँदै  लगिरहेथ्यो। त्यसो त आयामी-लेखनले पनि अर्थ-प्रक्षेपणको दृष्टिकोणलाई अवहेलना त गरेन तर  नेपाली पाठकको अर्थ-अभिग्रहण क्षमता नै त्यहाँ निरस्त भएको थियो। अझै पनि अलङ्कार-शास्त्रमा  कविताका भग्नावशेष समाती हिक्का बाँध्नेहरु प्रशस्त भेट्छौं हामी। तर बदलाउको रङ्गमा वर्तमान  कविहरु पाठकलाई यथेष्ट ठाउँ दिन्छन्। रेमिका थापाका शब्दहरुले समाजिक हिपोक्रेसीलाई कसरी  उदाङ्गो देखाउँछ त्यो बोध गरौं:

मालिकहरु लन्च र डिनर बुझ्छन् भोक बुझ्दैनन्

सप्पै थरी ड्रिङ्कस बुझ्छन् तिर्खा बुझ्दैनन्

पर्फ्युम बुझ्छन् पसिना र माटोको गन्ध बुझ्दैनन्

तर यसको माने यो होइन कि पाठकमाथि पाठको सत्ता कायम हुन्छ। किताब लेखेरत्यसलाई आफ्नो सम्पति मान्ने मान्छे(अथर)को उपस्थिति जरुरी छैन भन्ने रोलाँ बार्थको व्याख्यानसितै पाठ एउटा नायकको रुपमा हुँकार गर्दै अगाडि आइहाल्दैन।लेखकीय व्याख्याले सम्पूर्ण अर्थ समेटेको  हुनसक्दैन। यसैले पाठकको अभिग्रहण-क्षमताले नै सम्पूर्ण पाठमा अर्थ-प्रक्षेपण गर्छ। सोही रुपले पाठले तयार पारेको सम्भावनाभन्दा पनि उता-उता जानसक्छ पाठक। इन्द्रबहादुर राई नामक पाठकलेपरालको आगो पाठमा अनेक अर्थहरु देखे। त्यसरी नै भानुभक्तले प्रेरणा अभिग्रहण गरेका घाँसीको जीवनमा अर्को अप्रेरक घाँसीको जीवन-पद्वति देखे। पाठमा(ज्ञानमा) भ्रम देख्नु पाठक इन्द्रबहादुर राईको जानकार-पाठक(स्टानले फिश)को भाषिक-सामर्थ्य(नाओम चम्स्की) हो। एक जानकार-पाठकले कम्तिभन्दा कम्ति पाठको पदयोजना र अर्थगत ज्ञान मात्रै नराखेर साहित्यिक परम्परा, विधि र सिद्धान्तहरुको पनि ज्ञान राख्नु जरुरी हुन्छ। यसरी नै पाठभित्र निहित शब्द-समायोजनले पनि अर्थ-अभिग्रहण प्रणालीमा फरक पार्छ। जस्तै सुधीर लिखित चिसो मृत्युको खोला स्वाट्ट पस्यो सहरबाट त्यसको शरीरभित्रले पाठकको बोधमा अनेक अर्थहरु निकास्छ जो एउटा पाठकको अभिग्रहण-क्षमता र अर्को पाठकको अभिग्रहण-क्षमता हुँदै अनेक पाठकहरुको अभिग्रहण-क्षमताहरुमा अलग-अलग अर्थहरुसहित उपस्थित हुन्छ। पाठभित्र अर्थको  बोध पाउन  हामी  घरि भाषा, घरि पाठ र घरि पाठकको  त्रिकोणीय  वृत्तमा घुमिरहन्छौं।  ज्ञानको  केन्द्रहीनता  यही  हो  जो  अनिश्चितिमा  सास फेर्छ। त्यसरी  नै उज्जवल बम्जन लिखित छरपस्ट छन् जहीं-तहीं आस्था हाँडीका टुक्राहरु र जय क्याक्टस प्रक्षेपित गीत पड्किन्छ धरतीको छातीमा एक टुक्रा समयलाई रगतपच्छे पारेरले पनि विचलनको पथगामी हौं  भन्दै यस्तै प्याराडाइम-सिफ्टको कथा बोक्छ।

‘ब. जान्दछ कि आइन्सटाइनको सापेक्षतावाद निउटनेली व्याख्यानको प्याराडाइम-सिफ्ट हो। सापेक्षतावाद स्वयं एउटा कालखण्डमा कैद भइसकेको छ भने यसमा हामीले एउटा ठाउँ राख्नैपर्छ कि अब जन्मिने सिफ्टहरुमा पनि हाम्रो जीवन्त उपस्थिति होस्’ यहाँ पहिलोले अगिकैमा थप्दै गरेको सुनिन्छ, ‘कि कसो गठ्ठे?’

‘म के जान्नु ती सब कुरा?’ दोस्रोले जवाब फर्काउँदै हुन्छ ‘म ता प्र.ले जसरी खेलाउँछ त्यसरी नै नाचिरहन्छु मात्रै। मलाई लाग्दैछ यी कुराहरु बखान्ने जिम्मा तिम्रो थियो होइन?’

‘खै कहाँ छ त प्र?’ पहिलो यहाँ ठाडो प्रश्न गर्छ ‘देखिएको त्यो प्र. होइन जो ब.सित बात मारिरहेछ। देखिएको त्यो ब. पनि ब. होइन, बुझियो?’

‘हन के भन्छ?’ दोस्रो असरल्ल पर्छ।

कुनै कुरा नजानेको हुनुमा जसरी मान्छेहरु मज्जा मान्छन् त्यो मज्जा यो पात्रको अनुहारमा पनि उभार्दा अलिकति प्र. प्याराडाइमको बदलाउतिर जाँदैन। अरु अरबौं जोहरुले अबदलाउलाई माया गरेका छन् त्यो भीड्मा अल्मलिनु उसलाई असजिलो लाग्छ। ब.को बुद्धी तीव्र छ। उ पनि  आइन्सटाइनलाई  समाइराख्न चाहँदैन। ब. यहाँ वुल्फगाङ इजर प्रस्तावित ‘अभिप्रेत-पाठक’को रुप धरेर  त्यस्तै बदलाउका कुराहरु सोंचिरहेछ जसले पाठका अर्थहरुमा रङ्ग पोत्छ। इजरको प्रसिद्ध भनाइ दि  टेक्स्ट प्रोपोजेस अर्इन्सट्रक्ट्स, दि रिडर डिस्पोजेस अर् कन्ट्रक्ट्ससित मोह राखेरैउसले दोस्रो  कथाको लागि केही वर्णहरु(अल्फाबेट्स) टिपेको छ जोहरुको त्रिकोणीय प्रेमको बखान प्र.ले अब  लेखिनेवाला कथामा गरोस् भन्ने उसको चाहना पनि छ। भन्न नपर्ला कि प्र.ले त्यो कथाको जिस्ट  ब.बाट लिइसकेको  छ।

अब यहाँ माथि कथाको पहिलो अदृश्य पात्रले एउटा रहस्य खोल्नेवाला छ। त्यो सुनेर  मात्रै  छुट्टिनपर्छ होला होइन ?

‘टाइटेनिक बिसाउनीमा बात मारिरहने यी दुइ प्र. र ब. कसरी होइन त?’ पहिलो अदृश्यको जिज्ञासा नमरेकै छ अझ पनि।

‘अब होइन नै चाहिँ भनेको होइन मैले। हुन त यी दुइ प्र. र ब. नै हुन् तर असली चाहिँ होइनन्। यी दुइ पनि हामी जस्तै हुन्। पात्रहरु मात्र। असली ब. त कुन्नी कहाँ छ अहिले त्यो भन्न सकिन्न तर असली प्र. चाहिँ उसको कोठामै छ काखे कम्प्युटरमा यो कथा लेखिरहेको।’ दोस्रोले पुष्टि गर्छ।

‘ओहो त्यसो भए त हामी त्यसै पो डराइरहेका थियौं त?’ भन्दै पहिलो रमाउँछ।

त पाठकज्यू, यहाँ आइपुगेर त्यस टाइटेनिक बिसाउनीमा देखिएका प्र. र ब.हरु असली होइनन् भन्ने सत्य उजागर भयो। कथालाई अबउसो लम्बित नगरौं। ब.ले दिएको जिस्टबाट अर्को कथा दोहन गर्नुछ प्र.ले। त्यही कथामा भेट्ने वाचा गर्दै छुट्टौं अहिलेलाई।।

जनवरी  २०१०

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: