कथाका गाउँहरु

 

                                                                                                                                                                                                     प्रवीण राई जुमेली

नेपथ्य खण्ड

नेपथ्य

न यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो।

“अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ पात्रहरु हुनेछन्, बुझ्यौ?”

“अनि के हाम्रो स्मृति र गीतहरु पनि त्यो पर्दाले छोपिदिनेछ त?” पहिलोको प्रश्नसितै छोपिँदै गएका पात्रहरु हल्लाको झिझोमा भुलिँदै गइरहेका थिए।

“कति मायालाग्दो नी हामीहरु यसरी छोपिनु?” कसैले भन्दैथ्यो।

“त्यसरी हामी मात्र कहाँ छोपिन्छौं र? हामीद्वारा संरक्षित यो बनपाखा, मुरलीको धून र चराहरुका लोकगीतहरु पनि त छोपिएर जाने नै हुन् नी, बुडा!” दोस्रोको स्वर बज्दैहुन्छ।

“नयाँ हुद्दाको त भाषा पनि आफ्नै होला नी?” फेरि प्रश्न, अनि थपनी पनि, “कस्तो स्वरुप पाउला यो हाम्रो गाँउले?”

“के तिनीहरुले नेपथ्यको हाम्रो अस्तित्वलाई पनि सम्झना गर्लान् त?” गजमौरोमा अर्को प्रश्न फेरि।

उत्तर आएन। त्यसपछि भने पर्दाले उनीहरुलाई छोपिहाल्यो।

अघिल्तिर नयाँ मञ्च तयार भइसकेथ्यो। फेरि नयाँ पात्रहरु नयाँ खेलहरुसित पदार्पित भइसकेका थिए। कसैको हातमा बनपाखाको एकान्तको लाश थियो त कसैको हातमा धर्मग्रन्थका च्यातिएका पन्नाहरु थिए। नेपथ्यबाट रोएका स्वरहरु आइरहेका थिए।

समयले मात्र जान्दथ्यो, उनीहरुको लागि पनि एउटा भावी नेपथ्य प्रतीक्षारत थियो॥़

गाउँ १

गाउँले र पोस्टर

हेर्न है, पारितिर कोइरालो पनि फूल्नलागेछ,” सरमलालले त्यो दृश्य मकरेलाई देखायो सिम्बल डाँडा आइपुग्दा।

“त्यो पल्लो पाखाको डडेलो यता पनि सरयो भने चैं कोइरालो सोइरालो पनि काँ पुग्छ काँ,” मकरेले चाहीँ त्यसो भन्यो।

बाटोमुनि ठूलीहरुको घरबाट मकै भुटेको आवाज आइरहेथ्यो, नाम्लो मिलाउन उभिँदा दुवैले त्यो सुने। वर………चार फलैंचा आएर दुवैले आफ-आफ्नो अदुवाको भारी बिसाए। त्यही फलैंचामाथि ‘गरीबी हटाउन कटिवद्ध पार्टी’को नयाँ पोस्टर टाँसिएको थियो॥़

गाँउ २

त्यसले त्यसरी मुख लाग्नैपर्ने थियो

त्यसले जमिएर मुख लाग्यो त्यो कालो चश्माधारीसित। रीसले नै होला, त्यसले दाहिने मुड्की पनि घरि-घरि देब्रे हत्केलामा बजार्थ्यो। हुन पनि त………दाम मिलेन भनेर त्यस चश्माधारीले कसरी जम्मै स्कूस भुईंभरि छरिदिएको थियो ! अलकत्रमा बजारिँदा दुइ केजी जति त फुटेको पनि थियो। फलाएर मात्र होइन, बोकेर पनि ल्याएको हो त्यसले त्यत्रो भारी कुन्नि कुन चाहिं गाँउबाट। त्यसको पसिनाले भिजेको अनुहारमा त्यो सब लेखिएको थिएन। तर बाझेर-बाझेरै त्यसले त्यो चश्माधारीबाट आठ रुपियाँ केजीको दरले दुइ केजीको दाम सोह्र रुपियाँ लिइछाड्यो।

हेर त – जाँदै गरेको त्यसको पछाडि हेर न है ! त्यसरी त्यसको फाटेको कमिजमा एउटी बिरामी पत्नी, बुडो बाबु र तीनजना केटा-केटीहरुका आतुर अनुहारहरु कति छर्लङ्गसित टल्किरहेको नी?़

गाँउ ३

एउटा अमर कथा

नीहरुको मुक्तिदाताले उनीहरुलाई प्रगतिका मन्त्रहरु सिकाइरहेका थिए।

त्यो देश त्यसरी मुक्त हुनुको इतिहास दर्दनाक थियो। रगत र पसिनाको गन्ध थियो त्यहाँभरि। आजको हाँसोको साटो हिजपख ठूलो मूल्य चुकाइएको थियो। तिर्खाएका आँखाहरुले आशाको खेत जोतिरहेका थिए।

बित्नुको लागि उभिएको समय बितिनै रह्यो।

पहाडका रङ्गहरु बद्लिएनन्॥़

मञ्च खण्ड

मञ्च

नेपथ्य खण्डका कथा-पात्रहरुले जान्दैन थि‍ए कि उनीहरुको गाँउको भावी रुप कस्तो हुनेछ भनेर। त्यसलाई हामीले यसरी देखेका छौं :-

१ ‘गाँउले र पोस्टर’ शीर्षक कथाका पात्रद्वय सरमलाल र मकरेको बारीमा अहिले रिजर्ट बनिएको छ। बनाउनेले उनीहरुलाई राम्रै धनराशी दिएको हुनाले उनीहरुलाई पहिले जस्तो धौ-धौ छैन। उनीहरुले भारी बिसाउने त्यो ‘सिम्बल डाँडा’मा पनि विभिन्न कम्पनीहरुद्वारा मोबाइल टावरहरु ठड्याइएका छन्।

२ ‘त्यसले त्यसरी मुख लाग्नैपर्ने थिएछ’ कथाको पात्र स्कूस बोकेर बजार जानपर्दैन अचेल। गाँउमै ठेकारीहरु निस्किएकाले उ बारीमा उम्रिएका थोकहरु घरमै बेचेर पैसा थाप्छ। यति हो, छोराहरुमा बारीको बण्टा गरिदिनपरेकोले भने अहिले उसित तीन गरा जिउनी मात्रै बाँचेको छ।

३ ‘एउटा अमर कथा’का अनाम पात्रहरुले पहाडका रङ्ग यसरी बद्लिनेछन् भनी सोंचेका थिएनन् क्यारे, उनीहरु त्यसरी ‘बद्लिनु’को खेल देखेर अवाक छन्।

४ नरसिंङको बाबु घाँसको भारी बोकेर आँउदै हुन्छ। गोजीमा मोबाइल फोन बज्छ, घाँसको सोन्द्र्याङ-सोन्द्र्याङले रीङ्गटोन बजेको राम्ररी सुनिँदैन। भारी बिसाएर ‘हेल्लो’ भन्छ। नरसिङ्को ‘कल’ रहेछ। अहिले त्यो गान्तोकमा साइबर क्याफे खोलेर बसेको छ॥़

गाँउ ४

कविता गाँउ

गाँउलेहरु गाँउका कथाहरु सुनेर गाँउ हेर्न तम्सिरहेका थिए। गाँउमै बसेर पनि ‘कस्तो हुन्थ्यो होला गाँउ’का जिज्ञासाहरु उनीहरुको तिर्सना थियो।

एकदिन एउटी स्त्री आई र भनी, “सम्झनाको त्यो गाँउ बोकेर आएको छु।”

तर उसको रित्तो हात देखेर गाँउलेहरु अविश्वासमा डुबे।

“खै कहाँ छ तिम्रोमा हराएको हाम्रो गाँउ?” प्रश्नहरु थिए।

त्यस स्त्रीले झोलाबाट कविताका किताबहरु झिकेर बाँटी। गाँउ झैं गाँउका सम्झनाहरु शब्द-शब्दमा कुँदिएको थियो त्यहाँ।

शब्द सोकेस थियो : गाँउ त्यसभित्र बन्द सौन्दर्य॥़

गाँउ ५

विश्वासदंश

ङ्ग्रेजी स्कूलको बस आइपुग्यो।

कम्पाउण्डर, पोस्टमास्टर र फिटरका नानीहरुसितै सरकारी स्कूलको गुरुबाबुले पनि आप्नो नानी बसमा चडायो। भरै-भरै, स्कूल जानलाग्दा गुरुबाबुले देख्यो – अम्बरे र रामेका नानीहरु खेल्दै-खेल्दै सरकारी स्कूल आइरहेका थिए। न ता उनीहरुलाई बस थियो, न ता पुऱ्याउने अभिभावक नै॥़

गाँउ ६

क्षय

विताको बाबु र दीक्षाको बाबु दाज्यु-भाइ थिए।

एकदिन दुइजनाबीच राजनीतिक पार्टी विषय लिएर झगडा भयो। दुवै अलग-अलग पार्टीका समर्थकहरु थिए। अन्ततः दीक्षाको बाबुले कविताको बाबुलाई मरुञ्ज्याल कुट्यो।

स्कूलमा सधैं सँगै खेल्थे दीक्षा र कविता। भोलिपल्टदेखि दुवैजना अलग-अलग बसेर खेल्नथाले। बोल्न छाडे।

त्यसयता दुवैको अनुहारबाट सधैंको उज्यालो हराएर गयो॥़

गाँउ ७

छेपारो

विक्षुब्ध युवाहरुले नेताज्यूको गाडी खोल्सा ओह्रालो लडाइदिएछन्। पत्रकारको प्रश्नको उत्तर दिए नेताज्यूलेः “मेरो पासमा पैसा भए त मेरो लडेको गाडी उठाउने थिएँ तर जनताको विकास गर्नमै अहिलेसम्म तल्लिन छु। कसले बुझिदिने र यी कुराहरु?”

केही दिनपछि, एउटा अति महँगो दामको गाडीले नेताज्यू र उनैको कार्यालयमा काम गर्ने ठिटीलाई हवाइ अड्डासम्म पुरयाइराख्यो। हावाजहाज उड्नलाग्दा उनका ओठहरुमा खेलिरहेथ्यो एउटा रहस्यमय मुस्कान॥़

गाँउ ८

अर्को सामन्तको जन्म

सको घर र बारी पैह्रोले लगिदिएको थियो।

सरकारले घोषणा गरेको राहत राशी पाउन कम्ति खर्पन खप्नपरेन उसले तर। महकुमा कार्यालयको त्यो अधिकारीले उसको दुःख नै बुझिदिएन। घरको झिटिझाम्टी सकिएर पनि ऋण बोक्नपरेथ्यो उसले। अन्तमा त्यस राशीबाट केही अंश छुट्टाएर त्यस अधिकारीलाई दिएपछि मात्र उसले आफ्नो ‘पाउना’ रकम पायो।

संयोगवश, त्यस अधिकारीको नाम ‘हिटलर’ थियो।

त्यो पैसाबाट उसले एउटा घर बनायो र एउटा गोठालो पनि राख्यो। गोठालोको जन्मको नाम एउटा भए तापनि उसले त्यसको नाम फेरिदियो – गोठालोको नयाँ नाम ‘हिटलर’ भयो।

अनि उसले हरेक साँझ-बिहान गोठालोलाई त्यसको पछिल्लो नामबाट बोलाउँदै लात-घुस्सा कस्नथाल्यो॥़

गाँउ ९

टकबहादुर घाउ

कबहादुर राई गाउँको स्कूलमा पढाउँदा-पढाउँदै बुडो भइसकेको छ। अर्को साल निवृत्त हुनेछ उ सरकारी नोकरीबाट पनि।

उसले कहिले-काहीं आफ्नो छाती चिरेर घाममा सुकाउँथ्यो। त्यहाँ गाउँका सम्झनाहरु घाउका दागहरु झैं बसेका थिए। त्यसबेला गाउँलेहरु ती दागहरु हेर्न भेला हुन्थे।

ती दागहरु यस्ता थिएः

१ कमिटी स्कूल बनाउँदा उठेका ठेलाहरु झैं।

२ तिहारमा मारुनी नाच लगाउँदाका अनिद्राहरु झैं।

३ नाटक लेख्नु र खेल्नुका अविश्रान्त साँझहरु झैं।

ती गाँउका दुख:हरु यसकारण थिए – हिजका ती स्कूल कमिटीहरु पर्सन्टेजका दावेदारहरुबाट हारिसकेका थिए; मारूनी नाचहरु डिस्को र ऱ्यापहरुको स्वरमुनि दबिएका थिए; नाटकहरु पनि टेलिभिजन र सिनेमाहरुबाट लखेटिएका थिए।

यसैले टकबहादुर राई समयले कथेको ठूलो एउटा घाउ : र उसको छाती चाहिँ  अनेकौं  मसिना घाउहरु बोक्ने ढाकर॥़

२०१०

ritukhel2009@gmail.com

१ टिप्पणी (+add yours?)

  1. Hari Timaina
    Sep 15, 2010 @ 11:28:18

    tapai ko katha le mero man 6oyo. thank u

    जवाफ फर्काउनुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: