शिकारीहरु

खुसेन्द्र राई

जोरथाङ-मल्लीबीचको सर्पेलु सडकमा दीर्घ समय पश्चात अलकत्रा बिछाउने कार्य सुरु भएको छ। त्यो साल वनले ढाकेको एकलासे अलकत्रे बाटो बीच-बीचमा ठूला-मसिना खाल्डाखुल्डी परेर धेरै समयदेखि गाडीको यात्रालाई थप झर्कोलाग्दो बनाएको थियो। तल के भनूँ, यसो हात झारेर नीलो छुनसकिने रङ्गीत नदी जोरथाङ बजारदेखि नै सडकको पूर्वपट्टि लागेर कहीं पनि सडकदेखि ओझेल नभई गाडीसँग-सँगै दगुर्दै यात्रीलाई मानौं यसो भन्नखोज्छ – पथिक, मेरो नीलोपनमा डुब। सब दुःख दर्दहरु भुल। तर अफसोच, त्यसो भन्ने नीलो रङ्गीत नदी पनि सानो नानीले आफ्नो पल्टन फर्केको बाबुलाई केही परसम्म रुँदै पछ्याएपछि भुले जस्तो मात्र सत्ताइस किलोमिटरसम्म यात्रीलाई पछ्याउँदै त्रिवेणीमा पुगेपछि टिस्टा नदीमा चुपचाप समर्पित हुन्छ अनि जोरथाङ-मल्ली सडक पनि मल्ली पुल तरेपछि राष्ट्रिय राजमार्गको कोलाहलमा विलुप्त हुन्छ।

 त्यो जोरथाङ-मल्ली मार्ग झर्कोलाग्दो हुनुको असली कारण के हो भने, बाटो त एकलास अनि जङ्गलले ढाकेको छँदैछ, त्यैमाथि गन्तव्य पुगिञ्जेल न त बजारहरु भेटिन्छन् न त सानातिना गाउँहरु भएका कारणले मान्छेहरु नै देखिन्छन्। बाटामा भेटिएका या देखिएका भने साना-ठूला गाडीहरु मात्र हुन्छन्।

 अहिले त्यो एकलासे जोरथाङ-मल्ली मार्गमा ज्यान फर्केको जस्तो छ। ठाउँ-ठाउँ बाटोका छेउमा डेराहरु बनिएका छन्। हर जात अनि धर्मका कामगारहरु भेला भएका छन्। कति स्थानीय छन्, कति छिमेकी बङ्गालबाट आएका नेपाली अनि मुसलमानहरु छन् अनि कति सुदूर नेपालतिरबाट विस्थापित भएर बरालिँदै आएका छन्। विभिन्न रङ्ग-रुपका औरत अनि मरदहरुको समागम अनि उनीहरुबीचबाट गुञ्जायमान हल्लाखल्लाहरुले मौसममा एकाएक मादकता छाए जस्तो छ। तर वाह्य वातावरण भने अलकत्राको कालो धुवाँ अनि दुर्गन्धले भरिएको छ। सडकमा सोलिङ बुनिन्दैछ। रोडा थुपारिँदैछ। अलकत्रा पाक्दैछ। पाकेको अलकत्राको कालो धुवाँले वातावरणलाई नै कालो अँध्यारो पारिराखेको छ मानो भर्खरै यहाँबाट दार्जीलिङको सानो रेल कालो मुस्लो धुवाँ छाडेर गएको छ। पाकेको अलकत्रा र गिटी सोलिङमाथि बिछाइँदैछ। रोलरले सडकलाई पेल्दैछ। अनि रोलरका ठूला-ठूला फलामका चक्कालाई पानीले भिजेको बोराले भिजाउँदै रोलरकै सुस्त रफ्तारमा पछि-पछि हिंड्नपर्ने अल्छिलाग्दो काम चैं गङ्गा भन्ने बीस-पच्चीस वर्षकी केटीले पाएकी छे। तर त्यो केटीको अधरमा सदाबहार व्याप्त मुस्कान अनि केही-न-केही बोलिरहनुपर्ने बानीले त्यो अल्छिलाग्दो कामलाई रोचक बनाइदिएको छ। जो कोही पनि गङ्गासँग जिस्किन चाहन्छ तर गङ्गाको हाजिरी जवाबअगि टिक्न नसकेर भाग्न कर पर्छ। त्यो केटी डुवर्सतिरको कुनै बन्द चिया-कमानदेखि पलायन भएर बरालिँदै यहाँसम्म आइपुगेकी थिई र त्यसको उत्फुल्ल जीवनशैली हेर्दा त्यसले आफ्नो एकलासे अनि अनिश्चित भविष्यलाई सहर्ष स्वीकार गरिसकेकी रहिछ भन्नमिल्थ्यो।

 दिउँसोको बाह्र बज्यो। रोलर रोकियो। खाना खाने छुट्टी भयो एक घण्टालाई। सबै कामगारहरू हात-हतियार थन्काएर विस्तार-विस्तार आफ-आफ्नो डेरातर्फ लाग्नथाले। हात-मुख धोएर सबैभन्दापछि एकली अनि क्लान्त गङ्गा पनि डेरातर्फ लाग्दै थिई, यतिकैमा माथि सखुवाघारीमा लुकेर बसिरहेको शिव हस्याङ-पस्याङ हुँदै गङ्गाको अघि आएर उभियो। शिव स्थानीय सोरक गाउँको अविवाहित युवक हो। गङ्गा चुपचाप भुईं हेर्दै उभीरही।

 तिम्रो के विचार छ गङ्गा?’ गङ्गालाई हेर्दै शिवले सोध्यो।

 गङ्गा मौन उभीरही।

 किन यसरी दुःख गरिरहन्छौ? मैले भनें त, नपत्याए सोधखोज गरे हुन्छ।…….आफ्नो जमीन छ। घर छ। सुन्तलाबारी छ। अलिकति भए पनि खेतबारी छ। गाई छ। एकलो छोरा हूँ। दुःख हुँदैन। फेरि, मैले तिमीलाई दुःख दिनुलाई बिहे गर्छु भनेको पनि होइन नि। शिवले रङ्गीतको नीलोमा आँखा डुबाएर भन्यो।

 गङ्गाले केही भन्न खोजी तर ओंठ थर्थायो मात्र। कुनै शब्द निस्केन।

 किन नबोलेको? मलाई मन परेन?’ उदास जस्तो भएर शिवले सोध्यो।

 धेरै बेरको मौनतापछि फकाउने अन्दाजमा शिवले भन्यो, कहिलेसम्म यसरी एक्लै घुमिहिंड्छौ? आइमाई केटाकेटी भएर यसरी घुमिहिंड्दा मान्छेले राम्रो भन्छ? दुनियाँ चोर-डाकुहरुले भरिएको छ। मेरो कुरा मान गङ्गा नत्र दुःख पाउँछौ।‘

 गङ्गाको आँखाको कापमा आँसु रसाएर आयो। आफ्नो नजर शिवदेखि लुकाएर गङ्गाले दृढ् निर्णय सुनाई, तपाईं राम्रो मान्छे हुनुहुन्छ। राम्रो केटी खोजेर बिहे गर्नुहोला , अनि भक्कानो थामेर सुस्तरी भनी, ‘मलाई भुलिदिनू होला।

 बतासमा उँडेको पत्कर जस्तो नबन , शिवले मुस्किलसित यति मात्र भन्नसक्यो।

 कुनै जवाब नदिई गङ्गा घोप्टेर सुस्तरी-सुस्तरी अघि बड्दै गई। गङ्गा आकाशमा टाडा उँड्दै-उँड्दै गएको चङ्गा जस्तो शिवदेखि क्रमशः टाडा-टाडा हुँदै गई अनि डोरी चुँडेर विशाल आकाशमा हेर्दाहेर्दै हराएजस्तो मोढमा मोडिएर हराई पनि।

 एकाएक सडक जनशून्य देखियो। त्यो दुब्लाएको जस्तो तर गोरो, निधार ठूलो भएको शिवकुमार राईलाई घर जाने अन्तिम गाडी पनि छोडिपठाएर अलमल्ल परेको यात्री जस्तो देखियो जसको अनुहारमा निराशा र पीडाका धर्साहरु स्पष्ट देखिन्थे। दुःखको भारी बोकेर शिव पनि बिस्तारै सखुवाघारीभित्र विलुप्त भयो।

 एक बज्यो। विस्तार-विस्तार फेरि सबै कामगारहरु भेला भए अनि रोबोट जस्तो आफ्-आफ्नो कार्यमा लागे। अघि भर्खरै त्यहाँ गङ्गा र शिवले छाडिराखेका मिलन हुन नसक्नुको गहिरो पीडाको मौन उपस्थितिलाई कामगारहरुको शोरगुलले, मसिनको कर्कश आवाजले, अलकत्राको कालो धुवाँले कता उडाई लग्यो कता! सायद यसरी नै कुनै अज्ञात वाद्यताले कोमल भावनाको गला घोट्ने गर्छ अनि प्रेम कसैलाई दुर्भाग्य भएर जीवनभरि सताउने कारण बन्छ।

 चार बज्न लाग्दा तीनवटा सेता मारुती जिप्सी गाडीहरु धुलो उडाउँदै आएर साइटमा रोकिए। अघिल्लो सरकारी वाहनबाट जनकार्य विभागको कार्यकारी अभियन्ता अनि बीचको वाहनबाट सहायक र कनिष्ट अभियन्ता उत्रिए। अन्तिम गाडीबाट चैं घैंटोजत्रो भुँडी लिएर हर्के सरदार ओर्लियो अनि कार्यकारी अभियन्ताको अघि उभियो।

 सब काम ठीकठाक चल्दैछ, सरदारबाबु?’ टाइको नट मिलाएपछि खुबै रवाफिलो आवाजमा कार्यकारी अभियन्ताले सोध्यो।

 ‘एकदम ठीकठाक छ सर , हात जोडेर आरती गाएजस्तो लयात्मक स्वरमा हर्के सरदारले भन्यो।

 हात जोड्दा हर्के सरदारको दाहिने हातमा सधैँ झुन्डिरहने छालाको कालो हाते-बेग पनि कार्यकारी अभियन्ताको आँखाको समान्तर उठ्यो मानौं हर्के सरदारले मनमनै भन्दैछ, ‘यस्ता वाहियात कुरा किन सोध्नुहुन्छ? हजूरको अतिप्रिय भोजन हरियो घाँस त यो बेगभित्र छँदैछ नि।’

 यता-उताको कुरा हुँदैगर्दा कनिष्ट अभियन्ताले फिताद्वारा सडकको चौडाइ नाप्यो, भर्खरै बिछाइएको अलकत्रा कोट्याएर हेऱ्यो, मुन्शी बोलाएर दुइ-चारवटा प्रश्न गऱ्यो अनि यसो गर्नु, उसो गर्नु भनेर कडा हिदायत दियो।

 यस्तैमा कनिष्ट अभियन्ताले कार्यकारी अभियन्ताको आँखा छलेर सहायक अभियन्तालाई आँखा झिम्कायो। सहायक अभियन्ताले पनि कार्यकारी अभियन्ताको आँखा छलेर हर्के सरदारलाई आँखा झिम्कायो। कुरा बुझेपछि हर्के सरदारले खुबै तेलयुक्त स्वरमा कार्यकारी अभियन्तालाई भन्यो, सर, अब गेस्टहाउसतर्फ लागौं की! सब बन्दोबस्त उतै छ।

 ल जौं , अघिदेखि अधीर भइरहेको साहेबले भन्यो।

 अभियन्ताहरु फटाफट गाडीमा चडेर हिंडे। हर्के सरदारले रोलरको छेउमा उभिरहेकी गङ्गालाई बोलाएर सबैले सुन्नेगरी भन्यो, यता आइज गङ्गा! गेस्टहाउसमा पकाउने, बाँड्ने मान्छे छैन। तैँ फुर्तिलो छस्, हिंड्।

 गङ्गा चुपचाप आएर गाडीको पछिल्लो सिटमा बसी। हर्के सरदार पनि आफ्नो घैंटो जत्रो भुँडीसँग फुत्रुक्क उफ्रेर चालकको बराबर सिटमा बस्यो।

 गाडीले मोड काटेपछि हर्के सरदारले पछाडिपट्टि घिच्रो घुमाएर भन्यो, गङ्गा, आज पनि सापहरुलाई खुशी पार्नुपर्छ है!’

 त्यो सब भइहाल्छ तर मेरो भाउ बडेको छ नी , गङ्गाले छिल्लिएर भनी।

 त्यसको सुर्ता गर्नुपर्दैन। तर मातेर मुख-सुख छाडेर तमाशा देखाउनु चैं हैन नी , हर्के सरदारले पछाडि नफर्की गम्भिरतासित भन्यो।

 शेष यात्राभरि कोही केही बोलेन। अन्तमा शिरिषका सुन्दर अनि छायादार रुखहरुबीच भएर गाडी एउटा सुन्दर भवनअगि रोकियो।

 उनीहरु गेस्टहाउसभित्र प्रवेश गर्दा अभियन्ताहरुले पाहुना-कक्षमा आसन जमाइसकेका थिए। हर्के सरदारले भान्से केटालाई अगावै तयार स्कचको बोतल अनि गिलास ल्याउन अह्रायो। गङ्गालाई चैं भान्साघरबाट मासु अनि स्नेक्स ल्याउने खटन गऱ्यो। भान्से केटाले भनेबमोजिम ल्याएपछि हर्के सरदार आफैले स्कचको बोतल खोलेर क्रमैले कार्यकारी अभियन्ता, सहायक अभियन्ता अनि कनिष्ट अभियन्ताको गिलासमा खन्यायो।

 सरदार बाउ, तपाईं पनि लिनुहोस् , कार्यकारी अभियन्ताले आफ्नो गिलासमा पानी खन्याउँदै गरेको हर्के सरदारलाई भन्यो।

 साहबले भनेपछि मात्र हर्के सरदारले एउटा गिलासमा कम स्कच अनि बेसी पानी हालेर सोफाको एक छेउमा बस्यो।

 यतिकैमा गङ्गाले ट्रेमा विभिन्न प्लेटभरि मासु अनि स्नेक्सका परिकार लिएर कोठामा प्रवेश गरी। ट्रेबाट प्लेटहरुलाई खुबै होशियारीसाथ अभियन्ताहरुको टेबलअघि सजाएर राखेपछि गङ्गा पुनः भित्र पसी।

 स्कचको लामो-लामो घुटकी लिँदै कार्यकारी अभियन्ताले भन्यो, सरदार बाबु, स्कच मात्रै पिलाएर पठाउने कि कसो?’

 म हजूरको गुलाम हुँदाहुँदै किन सुर्ता गर्नुहुन्छ? हजूरको लागि सब प्रबन्ध छ। पहिला स्कच लिनुहोस्, मासु खानुहोस् अनि शरीरलाई मज्जाले गरम गर्नुहोस्। त्यसपछि पो असली आनन्द पाइन्छ त सर , सोफामाथि प्याट्ट हिर्काएर हर्के सरदारले भन्यो।

 सबैजना गललल हाँसे।   

 अश्लील गफको सिलसिलासँगै एउटा पुरै बोतल सकियो। सबैले ‘सरले लिनुभाकै छैन’ भन्दै हालिदिएको-हालिदिएकै कारण कार्यकारी अभियन्तालाई अरुभन्दा ज्यादा मात लागेको थियो।

 सरदार बाबु, तपाईं खत्तम मान्छे रैछ। खोइ?…….तपाईंले प्रबन्ध गरेको खोइ?’ हात नचाउँदै मातले चूर भएको कार्यकारी अभियन्ता चिच्यायो।

 ए त्यो सर? त्यो त छँदैछ नी, भनिराखेर हर्के सरदार भित्र पस्यो।

 एकक्षणपछि हर्के सरदार फर्केर आउँदा गङ्गा पनि साथमा थिई। नुहाई-धुहाई गरेर सफा लुगामा चिटिक्क परेर आएकी गङ्गाको उपस्थितिले वातावरणलाई अझ मादक बनायो। गङ्गाको शरीरबाट निस्केको मधुर सुवासनाले अभियन्ताहरुका शरीरमा करेन्ट लागेजस्तो भयो अनि उनीहरुका मातले निभ्नलागेका बत्तीजस्ता भएका आँखाहरु शीतका थोपाहरुमा घामको किरण परे जस्तो टिलिलि टल्किए।

 गङ्गा, साप रेस्ट गर्नुहुन्छ। भित्र कमरामा लिएर जाऊ त , हर्के सरदारले गङ्गालाई आदेश दियो।

 आज्ञाकारी बालक जस्तो कार्यकारी अभियन्ता पनि जानलाई उठ्यो। अभिनय गरेको हो कि साँच्चै हो, साहेब धर्खराएर लड्नखोज्यो तर गङ्गाले च्याप्प पाखुरामा समातेर आफूपट्टि तानी। त्यसपछि साहेबले गङ्गालाई पूरै अँगालेर भित्री कमरातर्फ लग्यो। हर्के सरदार पनि लगभग दौडँदै स्कचको बोतल र गिलास बोकेर पछि-पछि गयो। हर्के सरदार बाहिर निस्केपछि गङ्गाले चुकुल लगाई।

 हर्के सरदार आएर थचक्क सोफामाथि बस्यो। सहायक अभियन्ता र कनिष्ट अभियन्ता खिखिखि गरेर हाँसिरहे।

 कनिष्ट अभियन्ताले गोजीबाट नोटबुक झिकेर सहायक अभियन्तालाई सोध्यो, अब हिसाब-किताब गरौं होइन सर?’

 अँ त्यो काम गरिहाल्नुपर्छ भाइ, सहायक अभियन्ताले पनि सम्झेजस्तो गरेर भन्यो।

 कनिष्ट अभियन्ताले टेबलमा घोप्टेर हिसाब गर्नथाल्यो। हर्के सरदारले पनि आफ्नो दाहिने हातमा सधैँ झुन्डिरहने कालो छालाको बेगबाट नोटबुक अनि कागजको साना-ठूला पर्चीहरु निकालेर टोबलमाथि बिस्कुन सुकाएको जस्तो फैलायो। हिसाब गरिसकेर कनिष्ट अभियन्ताले नोटबुक सहायक अभियन्तालाई देखायो।

 एकपल्ट सर्सर्ति हेरेपछि सहायक अभियन्ताले भन्यो, हुन्छ, ठीक छ।

 कनिष्ट अभियन्ताले हर्के सरदारपट्टि फर्केर भन्यो, धेरथोर हिसाब-किताब त तपाईंलाई थाहै छ सरदार बाबु! हाम्रो पर्सन्टेज र सेभिङ मिलाएर पन्द्रह पेटी दिनुपऱ्यो।

 त्यो त मैले मानें नि सर तर गुरुङ सरले दुइ लगेको छ, छेत्री सरले एक लगेको छ, सोनाम सरले पनि एक लगेको छ, युथ केटाहरुलाई पनि डेड दिएको छु। प्रधान सरले पनि…….

 हर्के सरदारको कुरा पूरा हुन नपाई सहायक अभियन्ता कड्क्यो, तपाईंले कसलाई के-कति दिनुभयो त्यो म जान्दिनँ। हिसाब-किताब भनेको सफा हुनुपऱ्यो सरदार बाबु। तपाईंले कसैलाई दिनुअघि हामीलाई सोध्नुपर्दैन? आफूखुशी गरेको कुरा म जान्दिनँ।

 तपाईंले पनि त्यसो भन्नुभयो भने म त मरिहालें नी सर! हेर्नोस् मेरो लागि तपाईं पनि सर, गुरुङ सर पनि सर, सोनाम सर पनि सर। सबै सरै सर नी। तपाईंहरुले झट्ट लिएर आइजा भनेर अडर दिनुहुँदा मैले कहिले हुँदैन भनेको छु र? म त तपाईंहरुको गरीब सेवक हूँ। तपाईंहरु सबैको कृपाले दुइ टाइमको भात खाँदैछु। म आफ्नो पेटमा आफै लात्ती हान्ने कसरी मूर्खता गर्नसक्छु र?’ हर्के सरदारले हात जोडेर आफ्नो लाचारी व्यक्त गऱ्यो।

 तपाईंले जहिले पनि यस्तै गोलमाल गर्नुहुन्छ। हामीले अर्काको भारी कहिलेसम्म बोक्नुपर्ने हो कोनी!’ कनिष्ट अभियन्ता पनि रिसायो।

 निक्कै तातो अनि गरम बहस चलेपछि कुरा मिल्यो।

 हर्के सरदारले गाडीबाट सुटकेस मगायो। कालु ड्राइभरले लिएर आयो। हर्के सरदारले कनिष्ट अभियन्ताको हिसाब बमोजिम सुटकेसबाट पैसा निकालेर टेबलमाथि राखिदियो। कनिष्ट अभियन्ताले पैसा गनेर आफ्नो सुटकेसमा हाल्यो।

 यो बुढो अझै निस्किँदैन , सहायक अभियन्ता फत्फतायो।

 बुढो गोरु हो सर, छेउ-कुना मेलैमारी जोत्छ नी , हाँस्दै हर्के सरदारले भन्यो।

 दुवै अभियन्ताहरु मज्जाले हाँसे।

 स्कचको अर्को बोतल आधा हुनलाग्दा झुस्लुङ्ग केश पारेर कार्यकारी अभियन्ता कमराबाट निस्किआयो। सहायक र कनिष्ट अभियन्ताहरु लट्ठ परिसकेका भए पनि आदरको ख्याल गरी प्रतिक्रियाहीन बसिरहे। कसैलाई नहेरी सोफामा थ्याच्च बसेपछि साहेबले भन्यो, खोइ रक्सी खाऊ-खाऊँ

 सबै चीज बस्तीकै राम्रो हुन्छ है साप् , हर्के सरदारले साहेबको गिलासमा स्कच भर्दै थप्यो, ‘तपाईंहरु खाली पोल्ट्रीको मात्र खानुहुन्छ। यसो हेर्दा बाहिरबाट पोल्ट्रीको राम्रो देखिन्छ नी तर यसले शरीरलाई राम्रो गर्दैन है। बस्तीको चीज खाने गर्नुहोस् साप्, शरीर अनि मन सधैँ जवान हुन्छ।

 बस्तीको चीज सधैँभरि कहाँ पाइन्छ र सरदार बाबु!’ स्कच स्वाट्ट पारेर कार्यकारी अभियन्ताले भन्यो।

 यसको लागि म छँदैछु नी सर। मलाई सम्झिनुहोस् मात्र, मलाई हुकुम गर्नुहोस् मात्र हजूर , हर्के सरदारले झुकेर मुसलमान अन्दाजमा अभिनय गऱ्यो।

 कोठा हाँसोको गडगडाहटले एकपल्ट फेरि गुञ्जायमान भयो।

 यो बुढोसँग नसकिने रहेछ , कार्यकारी अभियन्ता सोफामा ढल्क्यो अनि सहायक अभियन्तापट्टि फर्केर भन्यो, हिसाब-किताब भयो होला!’

 भयो सर , सहायक अभियन्ताले भन्यो।

 अँ……अब मेरो जाने टाइम भयो , घढी हेर्दै कार्यकारी अभियन्ता उभियो अनि हल्का बतासमा सुरिलो रुख हल्लेजस्तो हल्लिरह्यो।

 सब आदरभावमा उभिए।

 भोलि बिहान हिसाब लिएर तपाईं मेरोमा आउनुहोस् है , हल्लँदै सहायक अभियन्ताको कुममा पक्रेर कार्यकारी अभियन्ताले भन्यो अनि हर्के सरदारपट्टि फर्कियो, सरदार साब, खानपिन एकदमै राम्रो बन्दोबस्त गर्नुभएछ। धन्यवाद छ। अँ, एई-जेई साबहरुलाई भनेर तपाईंको के-कति पेन्डिङ बिलहरु छ झट्टै ल्याउनुहोस्। म यसपाली सब क्लियर गरिदिन्छु।

 तपाईंको निगाह हजूर। यसपाली यस्तै लटरपटर भयो अर्कोपाली चैं इम्पोर्टेड जिनिस खिलाऊँला हजूरलाई, हर्के सरदारले पूरै तेल घस्यो, मरमसालासहित।

 मातेर धूत भई फर्केको जन्ती जस्तो पहिला कार्यकारी अभियन्ता अनि पछि-पछि लहर लागेर सहायक अभियन्ता, कनिष्ट अभियन्ता अनि हर्के सरदार हल्लँदै बाहिर निस्किए।

 रात छिप्पिँदै जाँदै थियो। गेस्टहाउस अघिको खाली मैदानमा मधुरो जलिरहेको एक्लो बिजुली बत्ती कुनै लङ्गडो अँध्यारोमा लालटिन लिएर उभिएजस्तो देखिन्थ्यो। झ्याम्म परेर फैलिएको शिरिषको रुखको अँध्यारोमा खडा आफ्नो सरकारी-वाहनमा चडेर कार्यकारी अभियन्ता हिंड्यो। वाहनको आवाजलाई पनि छिचोल्दै तिखो एकपल्ट कराएर त्यहाँ कुनै एउटा शिरिषको हाँगामा बसेको लाटकोसेरो पनि हानिएर उँधै गयो।

 रहल सबैजना भित्र पसेर सोफामा यता-उता ढले।

 बल्ल गयो बुढो , कनिष्ट अभियन्ताले लामो सास फेऱ्यो।

 हाम्रो हिसाब-किताब चैं बुडोलाई भन्ने काम छैन है , सहायक अभियन्ताले सरदार बाबुलाई खबरदार गऱ्यो।

 म पनि बुझ्छु नी सर , हर्के सरदारले भन्यो।

 एउटा कुरा नी सरदार बाबु, मलाई एक टाटा सिमेन्ट र रड सहायता गर्नुपऱ्यो है , सहायक अभियन्ताले भन्यो।

 सरले पनि घर त बनाएको बनाएकै हुनुहुन्छ , हर्के सरदारले भन्यो।

 दुइजना बुडीहरुलाई मिलाउँदा-मिलाउँदा हत्तु भइसकें। के गर्नु सरदार बाबु, नगर्ने काम गरिहालियो ,

सहायक अभियन्ताले लाचारीसित भन्यो।

 अर्को तेस्रोको पनि कुरा सुनेको थिएँ नी , रहस्यमय हाँसोसँग हर्के सरदारले भन्यो।

 हो नी सरदार बाबु…….तर त्यो चैं छुइपासो मात्र लागेको हो। घरमा सानो महाभारत भयो! बल्ल-बल्ल एक पेटी फालेर टक्टकाएँ। मेरो तेल काडेर छोड्यो त्यो रण्डीले स्साला , सहायक अभियन्ताले कुरा नलुकाई भन्यो।

 सरहरु पनि साह्रै बदमाशी गर्नुहुन्छ , मज्जा मानेर हाँस्दै हर्के सरदारले भन्यो।

 सर, यस्तो कुरालाई कसरी सही अन्जाम दिनुपर्छ हामीले सरदार बाबुबाट ट्रेनिङ लिनुपर्छ , कनिष्ट अभियन्ताले भन्यो।

 ‘कहाँ सर, एउटीले मेरो पनि निन्द्रा उँडाइदियो नी। बल्ल-बल्ल एउटा फ्ल्याट र सेकेन्ड-हेनको मारुती गाडी किनिदिएँ अनि थन्को लगाएँ , हर्के सरदारले आफ्नो पोल खोल्यो।

 केटीहरुले लुट्नसम्म लुट्यो हगि हामीलाई? हाम्रो मन कमलो भएर होला रण्डीहरुले फाइदा उठाइरहन्छ स्साला!’, सहायक अभियन्ताले मुख नमीठो पारेर भन्यो।

 केही सम्झेजस्तो गरेर हर्के सरदारले भन्यो, साँच्ची, माननीयहरुले धुरुक्क पारिसक्यो हौ सर!’

 फेरि के पुगेन अरे? त्यत्रो डल्लै घर बनाइदिएर पनि के पुगेन अरे? सहायक अभियन्ताले विरक्त भएर सोध्यो।

 ‘घरि पैसा यति-उति ले भनेर फोनमै धम्काउँछ। कहिले घरमै केटीहरु पैसा लिन आउँछन्। त्यति मात्र कहाँ हो र…..बुढोको केटाहरुले झन् धुरुक्क पारिसक्यो , खिन्न भएर हर्के सरदारले भन्यो।

 अब के गर्नु त! कपटको फेला परिएको छ’, दिग्दारीको साथ सहायक अभियन्ताले भन्यो।

 ‘साँच्ची सरदार बाबु, अब काम गर्दा चैं चङ्खो भएर गर्नुहोस् है। सब काम आफ्नो कन्फिडेन्सियल मान्छेलाई मात्र गराउनुहोस् है। समय ठीक छैन , कनिष्ट अभियन्ताले गम्भिरतासँग भन्यो।

अब मज्जाले चप्काउने एउटा मेलो निस्केको छ तर पाँच जस्तो पहिला नै फाल्नु तयार बस्नुहोस् है , मासुको टुक्रा मुखमा हालेर चपाउँदै सहायक अभियन्ताले भन्यो।

 तपाईंहरु हुनुहुन्छ र त म ढुक्क छु , हर्के सरदारले भन्यो अनि नयाँ स्कचको बोतल खोल्यो।

 सबैको लगभग खाली गिलासमा स्कच हालेपछि हर्के सरदारले सोध्यो, ‘साँच्ची, जेई साबको कान्छीको केस मिल्यो?’

 केको मिल्नु? जेठीलाई कुटेर खेदिदिएँ। यता मिलायो हुँदैन, उता मिलायो हुँदैन – के गर्नु त! अहिले कोर्टमा केस पुगेको छ। कहाँ टेर्छु र! ’, लापरवाहीको साथ कनिष्ट अभियन्ताले भन्यो।

 मेरो पनि यो गङ्गा गलाको पासो भएको छ। यसलाई पनि यो काम सकेपछि सिलगडीमा घर बनाइदिन्छु भनेर थम्थम्याएर राखेको छु। कसरी यो सब मिलाउनुपर्ने हो प्रभु!’ हात जोडेर हर्के सरदार बड्बडायो।

 तर एकक्षणपछि उत्साहित भएर हर्के सरदारले भन्यो, साप, तर चीज त एक नम्बर छ हगि! आँखा मृगको जस्तो छ। पछाडिपट्टिबाट हेर्दा यस्तो देखिन्छ कि कुनै बलियो मुडुली मृग छोटो पुच्छर हल्लाउँदै जङ्गलमा निष्फिक्री चरिरहेछ।

 अस्तिको बाजी मृगको शिकारमा कस्तो मज्जा आएको थियो हगि? फेरि एकदिन प्रोग्राम बनाउनुहोस् है सरदार बाबु। मृगको कुराले कनिष्ट अभियन्तालाई हिउँदमा शिकार खेल्न गएको सम्झना भयो।

 कुरा शिकारतर्फ मोडियो।

 बुडोको निशाना तर अब खत्तम भएछ , सहायक अभियन्ताले पुरानो कुरा याद गर्दै भन्यो, अस्तिको पाली बुडोले ठीक निशाना नलगाएर सखुवाघारीभित्र बाँदरजस्तो कम्ति दौडाएन। यो कुरा सम्झ्यो कि बुडोसँग रिस उठेर आउँछ।

 त्यस्तो कोहीबेला भइहाल्छ नी, हर्के सरदारले कुटिल मुस्कानको साथ भन्यो, सजिलैसँग मारेको शिकार पनि कुनै शिकार हो र? शिकारलाई विस्तार-विस्तार आफ्नो जालमा पार्नुपर्छ अनि निशाना साध्नुपर्छ। निशाना चुक्ने कुरै आउँदैन। म बुडो भएर पनि हजूरहरुलाई मज्जा-मज्जाको शिकार खिलाइहरेको छु। मेरो निशाना कस्तो छ त हजूरहरु?’

 तर अस्तिकोपल्ट त एउटा नयाँ एक्सपिरियन्स पनि गरियो। अङ्गेरीको झोडीमा लुकेको मृगलाई कुटेरै मारियो, कनिष्ट अभियन्ताले निर्दयतापूर्वक भन्यो।

 खुट्टा भाँचेर पनि मृग त्यस्तो वेगले दौडँदो रहेछ हगि!’, सहायक अभियन्ताले अचम्भ प्रकट गऱ्यो।

 ज्यानको माया त सबैलाई हुन्छ नी सर, कनिष्ट अभिय्नताले भन्यो।

 दया-माया गर्ने शिकारी हुन सक्दैन साप , हर्के सरदारले आफू शिकारी हुनुको धाक पिट्दै भन्यो, हाम्रा पुर्खाहरु शिकारी थिए त्यसैले हाम्रो खूनमा पनि शिकार खेल्नैपर्ने आदत बसेको छ।

 घढी हेरेपछि अधीर भएर कनिष्ट अभियन्ताले भन्यो, सर, एघार बजेछ। हिंडौं हैन?’

 जौं-जौं, भन्दै सहायक अभियन्ताले दुइ पेगजस्तो स्कच आफ्नो गिलासमा खन्यायो।

 सरहरुले चिकन लिनुहुन्न?’, हर्के सरदारले बन्द कमरातिर इशारा गऱ्यो।

 कनिष्ट अभियन्ताले हातको इशाराले इच्छा छैन भन्यो।

 सहायक अभियन्ताले चैं लरबराएको स्वरमा भन्यो, आज मैं बहुत थका हुआ हूँ। वैसे सरदार बाबु, हम लाइन में खडा नहीं होते।

 ठीकै भन्नुभयो सर! आजको शाम बुडोकै नाम। तपाईं-हाम्रो त छँदैछ नी। साँच्ची, एउटा गुड निउस छ है सर। मेरो नजरमा एउटा फ्रेस चिकनमा परेको छ , हर्के सरदारले यति भनेर प्रतिक्रिया हेर्न खोज्यो।

 रहल स्कच स्वाट्ट पारेर सहायक अभियन्ता धर्खरिँदै उठ्यो अनि मातले बोझिल भएका आँखा चिमचिम गर्दै भन्यो, त्यो पनि खाऊँला नी। हाम्रो प्रोभाइडर त तपाईं नै हुनुहुन्छ।

 लौ छुट्टौं सरदार बाबु, सहायक अभियन्ताले हर्के सरदारसँग हात मिलायो।

 कनिष्ट अभियन्ताले पनि हर्के सरदारसँग हात मिलायो अनि कालो सुटकेस हातमा झुन्डाएर कैंचीजस्तो खुट्टा टेक्दै सहायक अभियन्ताको पछि-पछि लाग्यो।

 दुइजना अभियन्ताहरुलाई विदा गरेपछि हर्के सरदार एक्लै कमरामा रह्यो। भुईंभरि सिग्रेटका ठुटाहरु छरपस्ट छन्। टेबलमाथि आधा खाएर छाडिएका मासु अनि स्नेक्सका प्लेटहरु छरपस्ट छन्। स्कचका आधा अनि खाली बोतलहरु यता-उता सलेङमलेङ छन्। र, यी सब चीजहरुबाट निस्केको मिश्रित दुर्गन्धमाझ बसिरहेको हर्के सरदारले विरक्तभावमा ड्राइभरलाई बोलाएर सोध्यो, त्यो गङ्गाले भित्र के गर्दैछ?’

 टन्न भएर लडिराको छ। पलङमाथि भमिट पनि गरेछ , ड्राइभरले भन्यो।

 तँ पनि लाइनमा लागिस कि क्या हो गधा ’, ठूलो आँखा फुकालेर ड्राइभरलाई हपारेपछि भन्यो, त्यसलाई तानेर बाहिर निकाल। अब हिंड्नुपर्छ।

 कालु रातो भएर भित्र पस्यो। एकक्षणपछि झुस्लुङ्ग परेको केश अनि अस्तव्यस्त पहिरनमा गङ्गा बाहिर निस्की अनि निहुरेर सोफामा बसी।

 के विचार छ सरदार बाबु?’, एकोहोरो हर्के सरदारलाई हेर्दै लरबराएको आवाजमा गङ्गाले सोधी।

 केही विचार छैन। अब जानुपर्छ , हर्के सरदारले शान्तभावमा भन्यो।

 खोइ, रक्सी ले, भनेर गङ्गाले टेबलमाथिको स्कच टिपेर ठाडो घाँटी लगाई।

 भक्कु धोकेछ। अब पूरै भाँडभैलो मच्चाउने भयो बेस्सेले, विरक्त मानेर हर्के सरदार बड्बडायो।

 के भनिस्? के भनिस्?’, आँखा फुकालेर गङ्गा चिच्चाई।

 चुप लाग् न गङ्गा चुप लाग्, गङ्गालाई समाएर हर्के सरदारले शान्त गर्नखोज्यो।

 म चुप लाग्दिनँ। म कराउँछु। म जोड-जोडले कराएर भन्छु कि तँ सरदार बाबु अनि साबहरु कति नीच छस्, कति पापी छस्। मेरो मुखलाई कसले थुन्नसक्दो रहेछ हेर्छु , आफ्नो पेटमा धाप मार्दै गङ्गाले भनी, सरदार बाबु, मैले तेरो भुँडी बोकेको छु। तैंले मलाई बिहे गरिनस् भने सब पोल खोलिदिन्छु, बुझिस्?’

 नकरा भनेको सुन्दैनस्, अघि नै रिसाइसकेको हर्के सरदारले गङ्गालाई एक थप्पड कस्यो।

 मलाई कुट्छस् ए……. चिच्चाएर गङ्गाले एकैचोटी हर्के सरदारलाई लुछ्नपुगी।

 गङ्गा र हर्के सरदारको खिंचातानीमा टेबलमाथिका खाली गिलासहरु अनि प्लेटहरु भईंभरि झरेर फुटे। हर्के सरदारले गङ्गालाई घचेटेर उत्तानो पाऱ्यो। यही ठेलाठेलमा हर्के सरदारको कमेज कुममा फाट्यो अनि दुइवटा बटनहरु पनि चुटिए। गङ्गाको चोलीको बटन चुटेर भित्री भाग ह्वात्त निस्कियो।

 तँलाई चाहिएको बेलामा चैं गाला मुसार्ने अहिले चैं लात हान्ने?’, गङ्गाले आफ्नो अवस्थालाई किञ्चित पनि पर्वाह नगरी लडेकै स्थानबाट चिच्चाई।

 हर्के सरदारले आफ्नो हुलिया जतिसक्दो दुरुस्त गऱ्यो अनि करायो, ‘ऐ कालु, यसलाई बोकेर गाडीमा हाल् त।

 कालुले जबरजस्ती बोकेरै गङ्गालाई गाडीको पछाडि सिटमा हाल्यो। हर्के सरदारले कालो छालाको बेग दाहिने हातमा झुन्ड्यायो, भान्से केटाको हातमा पाँचसयको नोट थम्याइदियो, मुख सिलाएर राख्नु भन्यो अनि उब्रेको स्कच दुइ-तीन घूँट गटागट पिएपछि बोतलसँगै गाडीमा चड्यो। गाडी हिंड्यो। गङ्गाले अनाप-सनाप बक्दै पछाडिपट्टिबाट हर्के सरदारको ढाँडमा हिर्काउन अनि केश लुछ्न थाली।

 मैले नगर् भन्दैछु है नगर्। अहिले टिपेर रङ्गीतमा फालिदिन्छु अनि चाल पाउँछस् , हर्के सरदारले दाह्रा किटेर भन्यो।

 लु फाल् त हेरूँ! तेरोमा कति दम छ, म पनि त हेरूँ-हेरूँ ए रण्डा , भन्दै गङ्गाले हर्के सरदारको केश समातेर झक्झकाउन थाली।

 असह्य भएपछि एकान्त जगहमा कालुलाई हर्के सरदारले गाडी रोक्न लगायो। गाडी रोकिएपछि हर्के सरदार गाडीबाट फुत्त निस्केर फत्फताइरहेकी गङ्गालाई जगल्टा समाई सडकमा जबरस्ती तानेर निकाल्यो। सडकमा झारेपछि जगल्टा समाएकै अवस्थामा निर्ममतापूर्वक चुच्चे जुत्ताले गङ्गाको भुँडीमा ड्याम्म हान्यो।

 आइयाsss!’…..चिच्चाएर गङ्गा नालीमा उत्तानो लडी।

 हर्के सरदारले भुँडी पक्रेर घोप्टो परेकी गङ्गालाई फेरि जमाएर पानीपेटमा लात्ती हान्यो। गङ्गा हँ….हँ भन्दै नाली-नाली घस्रिन थाली।

 को-कोसँग सुत्छस् स्साला रण्डी……मेरो भुँडी बोकिस् अरे?’, घस्रिँदै अलिक पर पुगेकी गङ्गालाई खेदेर गई पूरा शक्तिले गोल-किक हानेजस्तो हर्के सरदारले हान्यो।

 यसपल्ट गङ्गा चिच्चाउन पनि सकिन। घोप्टो परेको-परेकै भई। हर्के सरदारले गङ्गालाई घोंडा चडेर भक्कु कुटेपछि घाँटी निमोठ्न थाल्यो। के गरूँ, कसो गरूँ भएर अल्ललिएर ड्राइभरको सिटमा बसिरहेको कालु बाहिर निस्क्यो। सिक्कल जस्तो जूनको मधुरो प्रकाशमा हर्के सरदारले गङ्गाको छातीमा चडेर घाँटी निमोठिरहेको देखेपछि दगुरेर गई हर्के सरदारलाई तान्दै भन्यो, छाडिदिनोस्….छाडिदिनोस्। मर्छ सरदार बाबु।

 ‘यसलाई म नमारी छोड्दिनँ , हर्के सरदारले गङ्गालाई छाडी उभिएर लामो-लामो सास फेर्दै भन्यो।

 कालुले छेउमा गएर डराई-डराई गङ्गालाई हेऱ्यो। गङ्गाको अनुहार खूनले पुरिएको थियो। गङ्गाको शरीरलाई राम्ररी नियालेर हेर्दा कालुलाई सास फेर्न छाडेकी जस्तो लाग्यो। एउटा अज्ञात भयले कालुलाई झ्वाम्म छोप्यो।

 हर्के सरदार सडकको छेउमा बसेर स्कच पिउँदै थियो, छेउमा गएर कालुले काँप्दै भन्यो, सरदार बाबु, गङ्गाले सास फेरेको जस्तो छैन।

 हर्के सरदार भित्रबाटै तर्स्यो। तर तत्कालै कुनै प्रतिक्रिया नदेखाई घटाघट स्कच पिएपछि केही सम्हालिएर भन्यो, फेरि गएर राम्ररी हेर त।

 कालुले डराउँदै-डराउँदै गङ्गाको नाडी अनि छाती छाम्यो। गङ्गा अघिनै मरिसकेकी थिई। खङरङ्ग भयो कालु। केही बोल्न नसकेर थरथर काँप्दै उभिरह्यो।

 के मरेछ?’, कालु नबोलेपछि छेउमा गएर हर्के सरदारले सोध्यो।

 कालुले जवाब दिनखोज्यो तर मुखबाट कुनै शब्द पनि निस्कन मानेन। उसको आँखाअघि अँध्यारो छाएर आयो तर गाडीको पछाडिपट्टि अडेस लागेर आफूलाई लडिहाल्न चाहिँ दिएन।

 कालु होश-हवाश गुम भएर अल्ललिरह्यो भने हर्के सरदारको कमिना दिमागले द्रूत गतिमा काम गर्नथाल्यो। गङ्गा पक्कै मरेकी हो भन्ने विस्वास भएपछि जतिसक्दो छिटो लाशलाई ठेगान लाउने उद्देश्यसित उसले गाडीबाट बोरा निकालेर ल्यायो अनि भन्यो, ऐ कालु! भैंसीले जून हेरेजस्तो के हेरिरा को? यहाँ छिटो आइजा।

 दिनमा जोरथाङ-मल्लीबीचको बाटो वाहनहरुको आवत-जावतले व्यस्त रहे पनि रात पर्दैगएपछि क्रमशः कम अनि शून्य हुँदैजान्छ। अहिले ठाउँ-ठाउँमा कामगारहरुका डेराहरु बनिएका भए पनि त्यो जगह एकान्त खोंचमा थियो। रातको यस्तै बाह्र बज्दो हो त्यसैले पर-परसम्म कुनै वाहन अनि मान्छेको अत्तोपत्तो थिएन। औंसी आउन लागेकोले रात जुनेली भए पनि आफ्नो वरिपरिका चीजहरु स्पष्टसँग ठिम्याउन सकन्नथ्यो। बाटोमुनि अनि माथिका सैगुनका ठूला-ठूला पातहरु हावाका हल्का चलाइले विस्तार-विस्तार हात्तीका कानजस्ता हल्लँदै थिए अनि त्यो निर्जन वातावरणलाई विभिन्न किट-पतङ्गहरुको किर-किर, किट-किट, किरिरि…….आदि मिश्रित आवाजहरुले थप भयावहता थपिरहेको थियो। स्कचको मातको कारणले हर्के सरदार त्यति भयभित थिएन तर कालु शिशिर ऋतुको शुरुवाती दिनहरुको हल्का र पन्यालो शीतलतामा पनि लुगलुग काँपिरहेको थियो।

 दुइजना मिलेर गङ्गाको निर्जीव शरीरलाई बोरामा जबरजस्ती मऱ्याकमुरुक पारी खाँदेर मुख बाँधेपछि हर्के सरदारले लामो-लामो सास फेर्दै भन्यो, पानी मरुवा ड्राइभर स्साला! मौजमस्ती त तैंले पनि कम्ति गरिनस्, अहिले चैं सुरुवालमा मुत्छस्? यो रण्डीले भाँड्भैलो मच्चाएको भए म त बर्बाद हुन्थें-हुन्थें तँ चैं आरामले बस्न पाउँथिस् होला नी!’

 त्यसपछि दुइजनाले मिलेर गङ्गाको लाश खाँदिएको बोरालाई घिस्याउँदै सडकको छेउमा पुऱ्याएपछि पाइक परेको ठाउँ हेरी रङ्गीत नदीको जलधारामा फालिदिए। तल अँध्यारोबाट छप्लङ्ग-को आवाज आयो अनि अरु कुनै अस्वाभाविक आवाज आएन। एउटी मैली गङ्गाको शरीरलाई धोई-पखाली, पवित्र पारी गङ्गामा पुऱ्याउने जिम्मावारी पाएर शायद रङ्गीत नदी झन् द्रूत गतिमा बगेको जस्तो कराउन थाल्यो।

 यस्तैमा रङ्गीतपारि जङ्गलमा ड्याम्मsssss बन्दुक पड्क्यो अनि टर्चलाइटको प्रकाश पलाक-पिलिक जल्यो। बन्दुकको आवाज सुन्नसाथ प्यारापेटमा बसिरहेको हर्के सरदार जुरुक्क उठ्यो अनि रोमाञ्चित भएर चिच्यायो, शिकार ढल्यो। शिकार ढल्यो ।।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: