शत्रु

एक बौद्धिक समारोहमा दौडदै आएको एक भुस तिघ्रेले एक मर्यान्च्याँसेलाई झाँगलझुँगल पारेर भकाभक भर्कुन थाल्यो । कसैले रोकेनन् । आफ्नो आवेग समाप्त पारेर ऊ बाहिरिन लाग्यो ।

“किन यसरी भकुरेको ?” एउटा बौद्धिक टाउको झोँकियो ।

“यसले मलाई नङ्ग्याएर थिल्थिलो हुने कुटेको छ । त्यसैको बदला हो यो ।” भुसतिघ्रेले जवाफ दियो ।

“कसरी सम्भव छ यस्तो मरन्च्याँसेले तपाईं जस्ता पहलमानलाई कुट्न ?” अर्को टाउकोले सोध्यो ।

“म यसको कथाको पात्र हुँ । यसले आफ्नो कथामा बहुत ज्यादती गरेको छ म उपर ।” यति भनेर ऊ बाहिरियो ।

“ढाडमा टेकेर टाउकोमा हान्नु पर्ने । जिस्काएर पो छाडेछन् आफ्नो कथामा ।” एउटा टाउकोले बोल्यो ।

“यस्ता चल्तापूर्जा पावरवाला मान्छेलाई नचलाउनु पर्ने । यस्ताको त गुन गाउनु पर्दछ । फाईदै–फाईदा हुन्छ ।” दोस्रो टाउकोले बोल्यो ।

“लौन अब के हुने हो ? हात खुट्टा पनि भाँचियो होला । कसरी हिँडडुल गर्नु हुन्छ ? कसरी लेख्नु हुन्छ होला ? यत्रो मानिसहरुको बीचमा त यत्रो हिम्मत गर्यो । अझ पछि एक्लै–दुक्लै भेट्यो भने मार्छ होला ।” तेस्रो टाउकोले बोल्यो ।

पहिलो क्रान्तिकारी लेखक, दोस्रो भाट लेखक र तेस्रो निराशावादी लेखक हुन् । ति सबै पीडित लेखकका जन्मजात शत्रु थिए ।

टिप्पणी छोड्नुहोस्