सार्विकतावादका जनक बी० पी० बजगाईंसँग कुराकानी

सार्विकतावादका जनक बी० पी० बजगाईंसँग कुराकानी

पदम पराजुली, भाषा विशेषज्ञ (नेपाली विभाग)
उत्तर बंगाल विश्वविद्यालय, सिलगडी, भारत|
(बी० पी० बजगाईंज्यूले वर्ष २००१ मा घोषणा गर्नु भएको  सार्विकतावाद  आज  आएर  इ-साहित्यको माध्यमबाट पुनः चर्चामा आएको छ| हुन त घोषणाकालमा नै विभिन्न पत्र-पत्रिकामा यसको चर्चा चलेको थियो| तर स्वयम् बजगाईं ज्यू नै केही वर्षहरुका लागि साहित्य जगतमा मौन धारण गरेर बस्नु भयो| पहिले खस-किरात संस्कृति, लीलालेखन, गोर्खाल्याण्ड आन्दोलनको शल्यक्रिया, भुटान आन्दोलनको शल्यक्रिया, भारतीय नेपालीको राष्ट्रियताको प्रश्न जस्ता विभिन्न गम्भीर विषयहरुमा समालोचना लेखेर उत्तर-पूर्वी भारतको नेपाली साहित्य जगतमा चर्चित उनी आज धेरै अन्तराल पछि अचानक मौनता तोड्दै नयाँ प्रयोग बोकेको कथा, कविता अनि समालोचनाहरुमा पुनः देखापरेका छन्| यसै परिप्रेक्ष्यमा उत्तर बंगाल विश्वविद्यालयका नेपाली विभागका भाषा विशेषज्ञ पदमा कार्यरत पदम पराजुलीले उनी समक्ष सर्विकतावाद सम्बन्धमा आधारमूलक केही प्रश्नहरु राखेका छन| उक्त अन्तर्वार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत छ|)

 

कसरी जन्मियो सार्विकतावाद?

वर्ष २००० को कुरा हो| म ब्रेन ट्युमरले पिडित थिएँ| शल्यक्रिया गर्नु नै पर्ने भयो| बाँचिने हो की होइन भन्ने शंका थियो| त्यसताक आफ्नै जीवनलाई नजिकबाट हेरेँ अनि भोलि आउने समाजप्रति मेरो जिम्मेवारीलाई बोध गरेँ| लेख्न बसेँ| त्यसै बेला सिलगडी, भारतबाट प्रकाशित हुने सुनचरी नेपाली दैनिकमा मेरो बौद्धिक कलम युध्द लिला लेखनको विरोधमा सशक्त रुपमा चल्दै थियो| यस युद्धका यात्रीहरु डा० ऋषिराज बराल, प्रा० शान्तिराज शर्मा, डा० मोतिबिर राई, राजेन्द्र भण्डारी, पेम्पा तामांग, भीमा राई, दिल श्रेष्ठ अनि स्वयम् इन्द्र बहादुर राई थिए| यस युद्धमा बाह्य जगतलाई बुझ्ने र बुझेको मेरो मस्तिष्क अनि जीवन बोधको मेरो चेतना ठूलो हतियार थियो| वातावरण लेखनको निम्ति अनुकूल थियो भने मेरो शरीर लेखनको निम्ति प्रतिकूल थियो| एउटा पुस्तकको पाण्डुलिपि तयार भयो| त्यो पाण्डुलिपि मेरो परिचित दाई पार्थ छेत्रीलाई उनको वासस्थान चम्पासरी, सिलगडी स्थित घरमा लगेर देखाएँ| उनी त्यसताक नेपालको माओवादी आन्दोलनमा सक्रीय थिए| उनले यो त वाद जस्तो बनेछ भन्नुभयो| घरमा आएर घोरिएँ| पाण्डुलिपिको आधारमा किताब मोटो बन्ने थियो| छाप्ने धनको अभाव थियो| किताब छाप्ने धनले त मेरो ब्रेन ट्युमरको शल्यक्रिया हुने खर्चमा सहयोग दिनेछ भन्ने मेरो चिन्तन थियो| यसैले त्यस पाण्डुलिपिलाई विचारका सूत्रहरु मर्न नदिई कम भन्दा कम शब्दमा लेख्ने कोशिस गरेँ अनि १६ पृष्ठको सार्विकतावाद्को घोषणा-पत्र तयार भयो र छापियो| १४ जनवरी २००१ मा सिलगडीको देवकोटा संघमा परिचित साहित्यकार बन्धुहरुलाई बोलाएर यसको विधिवत घोषणा गरेँ अनि भने आगामी १८ तारिक म ब्रेन ट्युमरको शल्यक्रिया गर्न दिल्ली जाँदैछु, २४ जनवरीमा शल्यक्रियाको मिति तय भएको छ| यदि म फर्कन सकिनं भने यस घोषणा-पत्रमा काम लाग्ने केही भए प्रयोग गर्नुहोला, प्रचार-प्रसार गरिदिनु होला अनि म फर्केर सकुशल आउन सके यसको पालन पोषण म स्वयम् गर्नेछु, सबैको सहयोग लिएर| मार्चको अन्ततिर म पूर्णरुपले स्वास्थ्यलाभ गरेर फर्किए तापनि साहित्यमा क्षेत्रीय रुपमा उम्रने बाधाहरूले यसको धेरै वर्षसम्म पालन-पोषण गर्न सकिएन| यति हो नजिकका बन्धु-बान्धवहरुले मेरो उत्साहमा भने कमी आउन दिएनन्| अहिले लामो चिन्तन पछि साहित्य जगतमा मात्र नभएर जीवन दर्शनमा पनि यसको परिचय र प्रयोग बोकेर उभिएको छु| डायोस्पोरामा चिन्तनको सूत्र खोज्दैछु|

किन चाहिन्छ सार्विकतावाद?

उपयोगी साहित्य पनि आउँदैछन हामीमाझ अनि अनुर्वर र अनुत्पादक साहित्य पनि कोरिँदैछन| चिन्तन प्रक्रिया आज भविष्यप्रतिको अपेक्षित सामाजिक संरचनाबाट टाडा भाग्दै जाँदैछ| जीवन आधारको स्थायी संयोजनहरुको समग्रतामा सम्बन्ध विश्रृंखल हुँदै गएको छ| यस्ता विश्रृंखलताहरुबाट मानव समाज र साहित्यलाई जोगाउन सार्विकतावाद चाहिन्छ भन्ने मेरो चिन्तन हो|

के हो त सार्विकतावाद?

बोधको निम्ति दर्शन, विज्ञान, मनोविज्ञान र राजनीतिको संयोजन आवश्यक छ| भाषा त्यसको संवाहक हो भने प्रयोग आवश्यक शर्त हो| संयोजन हुन उपरोक्त कुराहरुको अलग अलग अस्तित्वको पहिचान गरिनु पर्छ| यसरी संयोजित  वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको हुन्छ| यसरी नियोजित मुर्त स्वरुपलाई हेरिनु नै सार्विकतावाद हो|

यस वादले लीलालेखनको विरोध गर्नुको कारण के हो?

जीवनमा कहिले काँही पैँचो आवश्यक बन्छ| तर पैँचो मागे पछि मागेको वस्तु काम लाग्ने हुनु परयो| इमानुअल कान्टको फेनोमेनालिज्मको मतबाट प्रभावित संशयवादी विचार लीलालेखनको हृदय हो| यसले रुपक र अलंकारहरूको मायाजाल फैलाएर अन्धविश्वासको पक्षपोषण गर्छ| यसैले पैँचो मागी-मागी ल्याएको मत र लेखन पद्दतिले केवल भ्रम बोध गराउने भए त्यो समाजको निम्ति उपयोगी वस्तु होइन| वस्तुगत जगत, त्यसको सार तथा नियमहरुलाई जान्ने सम्भावनाहरुलाई स्वीकार नगर्ने अज्ञेयवादी खोल ओढेको फेनोमेनालिज्मको संशय उपजले हाम्रो समाजलाई दिग्भ्रमित गर्दै गरेको देख्दा मैले विरोध बोल्नु परेको हो|

यस वादले उत्तर-आधुनिकवादको पनि विरोध गरेको छ नी हैन?

हो| आधुनिक भनेको वर्तमान हो| मानवीय सामाजिक जीवन प्रक्रियामा वर्तमानको पनि वर्तमान सम्भव छैन| उत्तर-आधुनिक भनेको वर्तमानभन्दा अघाड़ि बढेको स्थिति हो| वर्तमानभन्दा अघाड़ि बढेको स्थिति भनेको भविष्य हो| यसैले उत्तर-आधुनिकवाद भनेको भविष्य सम्बन्धी वाद भनेको हो| तर उत्तर-आधुनिकवादको प्रवृत्ति भने भविष्य सम्बन्धमा ठयाम्मै मेल खाँदैन| यसैले उत्तर-आधुनिकवाद विरुद्ध सार्विकतावादले गरेको विरोधलाई विरोधको रुपमा नहेरेर वस्तुताको अध्ययन गर्ने कसीको रुपमा हेरिदिने आग्रह गर्छु सबैलाई| पश्चिमी मुलुकहरुले स्वीकारेका सबै कुराहरु सहि हुन्छन् भनेर मान्नु पूर्वीय चिन्तनलाई थान्को लाउनु बाहेक केही होइन|

सार्विकतावादी चिन्तनको पहिलो दृष्टि के हो?

सौन्दर्य हो| प्रत्येक वस्तुको वस्तुताको आफ्नै सौन्दर्य हुन्छ| सौन्दर्यले नै वस्तुको आकार दिएको हुन्छ| यसको दर्शन के हो भन्ने हो भने चाहिँ सार्विकतावादले यसलाई वैज्ञानिक आधार दिएको छ| यस सम्बन्धमा सार्विकतावादको सूत्र यस्तो छ- परम  शून्य सम्भव छैन, कारण परम शून्यमा गति सम्भव छैन| गतिविहीन भूत द्रव्य पनि सम्भव छैन| यसैले गतिको शक्तिको कारक तत्वहरु सर्वशक्तिशाली हुन्छन्|

गतिसँग सम्वद्ध घर्षणबाट रुपान्तरित भएकोले तत्कालीन स्थिति नै शक्तिको कारकतत्व हो| यसैले गति र शक्ति परमसम्बद्ध रहेर नै अस्तित्वमान छन्| यसरी अस्तित्वका पृष्ठाधार रहेका सबै रुपान्तरणहरु नै सौन्दर्य हुन्| विनिर्माण बारे यहि चिन्तन सार्विकतावादको रहेको छ|

विनिर्माणमा रुपान्तरण के हो त?

विनिर्माणले स्वरुपमा परिवर्तन ल्याए पनि वस्तुता आफ्नै रङ्गमा हुन्छ| यसैले वस्तुतालाई स्थिर राखेर हेर्दा विनिर्माण भनेको अर्थक्रियात्मक विरचना हो| विरचना पनि नवरचनाको प्रमुख संघटक अवस्था भएकोले विनिर्माणलाई पनि व्यावहारिकतावादकै सममूल्यभित्र सर्विकतावादले हेर्दछ|

साहित्यमा यस वादको प्रयोग कसरी गर्नु?

वस्तुगत अस्तित्व बाँच्नु हो भने उसको वस्तुताले सापेक्षिक वस्तुगत वातावरणको समग्रतालाई आफूभित्र समायोजन गरेको हुनु नै पर्नेछ| त्यहि मूल्यभित्र बाँधिएर साहित्य लेखिँदा विषयको वस्तुगत वातावरणको समग्रतालाई बोकेर अघि बढ्नु पर्छ| वस्तुता असम्बद्द लेखन गरिनु हुँदैन| चाहे हाइकु लेखन नै किन नहोस् त्यहाँ पनि विषयको वस्तुगत वातावरणले समग्रतामा न्याय पाएको हुनुपर्छ|

मेरो कथा “रुखसानाको धर्मयुद्ध”-मा मूल पात्रले नबोलेर नै जति अर्थ्याएको छ त्यो ‘मौनता’-भित्र लुकेको वस्तुता हो| मौनता पनि यहाँ प्रतिरोधात्मक क्रियाकलापमा प्रतिफलित उर्जा हो अनि हो यो कथामा अन्तर्निहित सौन्दर्य|

यसरी नै मेरो कविता ‘सौन्दर्य’ –को निम्न तीन पंक्ति हेरौं:

भाँचिएका ती ठूटाहरुबाट

झ्याँगिएर आए थुप्रै थुप्रै हाँगाहरु

मौलाएर आए पातहरु”

यस उद्धरणले  निर्माण हुन् गइरहेका वस्तुहरु पूर्वनियोजित हुन्छन् परिकल्पित हुँदैनन् भन्ने सार्विकतावादी सूत्र बोकेको छ अनि सुषुप्त सौन्दर्यलाई देख्ने प्रयास गरेको छ|

हुन त यस कुरालाई यति सहजै बुझाउन गाह्रो छ| चाँडै नै प्रयोग सूत्र भएको मेरो नयाँ कथा साहित्यप्रेमी बन्धुहरुले पडन पाउनु हुनेछ| त्यसमा म धेरै कुरा प्रष्ट्याउने छु|

%d bloggers like this: