‘उसको प्रेमी’

 ‘उसको प्रेमी’

कथाकारः म्याक्सिम गोर्की, सङ्कलन तथा सम्पादन: थोमास सेल्त्चर

(नेपाली अनुवादः होमर श्रेष्ठ)

मेरा मित्रले मलाई यो कथा सुनाए :

होमर श्रेष्ठ

म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे । ऊ अग्ली–अग्ली थिई, श्याम–वर्णकी, कपाल कालो, आँखीभौँ बाक्लो, मोहोडा लाम्चो र रुखो, बन्चरोको पासोमा मुखाकृति खोपेको जस्तो देखिन्थी । जनावरको जस्तो ट्वाल्ल परेका आँखा, घोर स्वर, ट्याक्सी ड्राइभरको जस्तो हिँडाइ, अजङको मांसल, माझी हुनलायक देखिन्थी ऊ । उसको त्यो स्वरुपले ममा घृणा उत्पन्न गराएको थियो । म त्यो घरको सिरानको तलामा बस्थेँ । मेरो कोठाको सामुन्ने थियो उसको माथिल्लो तलो । ऊ घर बसेको छ भन्ने थाहा पाएको दिन मैले कहिल्यै आफ्नो ढोका खुला राखिनँ, यद्दपी त्यस्तो घटना आक्कल-झुक्कल मात्र भएको  थियो । कहिलेकहीं संयोगवश भरयाङमा अथवा आँगनमा उसित मेरो जम्काभेट हुन्थ्यो र त्यतिखेर ऊ मलाई हेरेर यसरी मुस्कुराउँथी, उसको मुस्कुराहटमा धुर्त्याइँ र सन्देह लुकेको छर्लङ्गै देखिन्थ्यो । कहिलेकहीं  मैले उसलाई रक्सी लागेको अवस्थामा पनि भेटेको थिएँ— आधा खुलेका आँखा, छिरलिएको कपाल र विशेषतः विद्रोही मुस्कुराहट हुन्थ्यो त्यति बेला । त्यस्तो अवस्थामा ऊ मलाई यसो भन्थी—“हेलो विद्यार्थीजी, नमस्ते !”  अनि, त्यतिखेर ऊप्रतिको मेरो घृणाभावमाथि उसको सिल्ली अट्टहास अझ बढी केन्द्रित हुन्थ्यो । ऊसितको जम्काभेट र अभिवादन सामना गर्नु नपरोस् भन्नका निम्ति डेरा सर्न पाए हुन्थ्यो भन्ने मेरो मनमा लागेको थियो, तर मेरो सानो कोठो असाध्यै लोभलाग्दो थियो । मेरो झ्यालबाट ज्यादै विराट दृश्य देखिन्थ्यो । टोल शान्त थियो । त्यसैले मैले यी सब कुरा सहेर बसेको थिएँ ।

एक बिहान म सोफामा पल्टेर सोचिरहेको थिएँ— कक्षामा हाजिर हुन नसकेको घटनाबाट कसरी माफी पाउँला भनेर बाटो खोजिरहेको थिएँ, त्यतिखेर मेरो ढोका खुलै थियो । मेरो संघारमा टेरेसाको धोद्रो स्वर सुनियो: “तपाईंलाई सुस्वास्थ्यको कामना गर्दछु, विद्यार्थीजी !”

“तपाईंलाई के चाहियो?” मैले सोधेँ ।

मेरो दृष्टिमा उसको अनुहार किंकर्तव्यविमूढ़ तर विनीत थियो …उसको चेहरा अत्यन्तै असाधारण थियो ।

“सर, म तपाईंसित सहायता माग्छु, दिनुहुन्छ?”

म चुपचाप पल्टिरहेँ र मनमनै सोचेँ—“आश्चर्यजनक !…साहस गर, केटो !”

“म एउटा चिठी लेखाएर घर पठाउन चाहन्छु, कुरा त्यतिमात्र हो ।” उसले भनी ।

उसको आवाजमा विनम्रता र दकस थियो ।

मैले विचार गरेँ— “लौ, समस्या आइलाग्यो !” तर पनि म फुत्त उफ्रेर आफ्नो टेबुलअघिको मेचमा बस्नपुगेँ, एक पन्ना कागज लिएँ र भनेँ: “लौ, यता आउनुस्, बस्नुस्, चिठीमा के–के लेख्नु छ भनिहाल्नुस् !”

ऊ आई र बडो विचार पुरयाएर मेचमा बसी अनि लजाउँदै मलाई हेरी ।

“लौ भन्नुस्, कसलाई चिठी लेख्न चाहनुहुन्छ तपाईं?”

“स्वेतजियना नगर, वार्स–पथका बोलेसलभ कासपुटलाई…”

“लौ, के–के लेख्नु छ, भन्दैजानुस्!”

प्रिय बोलेस …

मेरो मुटुको धडकन…मेरा विश्वासिला प्रेमी । प्रभुकी माताले तिम्रो रक्षा गरून् ! सुनौलो हृदय भएका तिमीले तिम्री यो सानी दुःखी परेवी, टेरेसालाई यति लामो समयसम्म कसरी पत्र नलेखी बस्न सकेको ?”

उसको कुरा सुनेर मेरो मुखबाट झन्डैझन्डै अट्टहास विस्फोट भएको थियो ।

“बाफरे, दुखी सानी परेवी!” झन्डै साढे पाँच फिट अग्ली, अजङ ज्यान, अनुहार यति कालो थियो कि मानौँ, सानी परेवी जीवनभरि चिम्नीमा बसेकी थिई र कहिल्यै नुहाएकी थिइन!

आफूलाई सतर्क गराउँदै मैले सोधेँ: “को हो त्यो बोलेस्ट ?”

“बोलेस्ट होइन, बिद्यार्थीजी! ‘बोलेस’ हुन्, मेरा तन्नेरी ।”

मानौँ, मैले बोलेसको नाम अपभ्रंश गरेकोमा उसले त्यसको प्रतिरोध गरेझैँ बोलेकी थिई ।

“बाफरे, तन्नेरी!”

“तपाईं किन यसरी आश्चर्यचकित हुनुभएको, सर? के कुनै तरुनीको तन्नेरी हुन सक्तैनँ र ?”

अहो ! त्यस्ती पनि तरुनी रे !

“अँत नि, किन सक्तैन? यो दुनियामा असम्भव केही पनि छैन । अँ साँच्ची, ऊ तपाईंको तन्नेरी बनेको धेरै समय भैसक्यो कि ?” मैले प्रश्न गरेँ ।

“६ वर्ष भयो ।”

“आहा! लौ, अब तपाईंको चिठी लेख्न थालौँ …”

“अँ साँच्ची, म तपाईंलाई एउटा कुरा प्रष्ट भन्छु,— सायद, बोलेस र म यो कोठाबाट सरिसक्थेँ हुँला यदि उसलाई प्रेमपत्र लेखाउने नयनाभिराम टेरेसा नभएर कुनै कमसल महिला हुन्थी भने ।”

“तपाईंले गर्नुभएको दयामय मद्दतको निम्ति तपाईंप्रति म हृदयदेखि नै आभार प्रकट गर्छु, सर। सायद, म पनि तपाईंलाई कुनै सहायता गर्न सक्थेँ कि ?” टेरेसाले दुबै घुँडा टेकेर आदरपूर्वक मलाई भनी ।

“भयो पर्दैन, म तपाईंलाई यत्तिकै विनम्रतापूर्वक धन्यवाद व्यक्त गर्दछु ।”

“सर, सायद तपाईंको कमिज अथवा सुरुवालमा कतै टाल्नु–सिउनुपर्ने पो थियो कि?”

उसको त्यो उदाङ्ग पेटीकोटतुल्य अभिव्यक्तिले मेरा गाला रातो तुल्याएको अनुभूत गरेँ । त्यसपछि मैले स्पष्ट भाषामा भनेँ, मलाई उसको कुनै पनि प्रकारको सहयोग चाहिँदैन ।

त्यसपछि, ऊ त्यहाँबाट गई ।

एक–वा दुई हप्तापछि साँझपख म मेरो झ्यालमा सुसेली हालेर कसरी आफूलाई त्यो समस्याबाट मुक्ति दिलाउन सकूँला भनी उपाय सोचेर बसिरहेको थिएँ । न्यास्रिएको थिएँ म । मौसम सफा थिएन । कतै जाने मन पनि भएन । अत्यन्तै नरमाइलो लागेकोले आत्मविश्लेषण गर्न थालेँ, घोत्लिएँ । तर त्यो कार्य पनि मेरो निम्ति उच्चाटिलो बन्यो । मलाई यी कुनै कुराले पनि आकर्षित गरेन । यसैबीच अचानक मेरो ढोका घरयाक्क खुल्यो । लौ, भगवान ! कोही भित्र पस्यो ।

“ए विद्यार्थी महाशय, तपाईं ज्यादै व्यस्त त हुनुहुन्न नि, हगि ?”

छीः छी ! उही टेरेसा थिई ।

“होइन, के चाला हो यो?”

“सर, म तपाईंलाई अर्को एउटा पत्र लेखाउन चाहन्थेँ ।”

“अति राम्रो! त्यही बोलेसलाई त होला नि, होइन ?”

“होइन, होइन, यसपटकचाहिँ बोलेसको तर्फबाट… ”

“के रे !”

“ बिद्यार्थी महाशय, म अलिक मूर्ख छु ! यो चिठी मेरो निम्ति होइन । मलाई माफ गर्नुहोस्, यो चिठी मेरो साथीको निम्ति हो, अथवा भनौँ मेरो मित्रको निम्ति हो । उसकी एउटी प्रियसी छ, यो टरेसाजस्तै । त्यसैले म यहाँ आएकी । सर, त्यो टेरेसालाई एउटा पत्र लेखिदिनुहुन्छ कि ?”

मैले उसको अनुहार हेरेँ । ऊ थोरै डराइरहेकी थिई । उसका औँलाहरू काँपिरहेका थिए । पहिले त मेरा आँखा अलिकता धमिलिएका थिए, तर त्यसपछि यो कसरी भयो भन्ने’bout मैले अडकल काटेँ र भनेँ—“लौ सुन्नुस्, भद्र महिला, यहाँ बोलेस वा टेरेसा कोही पनि छैनन् । तपाईं मसित एकपछि अर्को झूटो कुरा गर्दैहुनुहुन्छ । तपाईं अबदेखि मलाई कचकच गर्न नआउनुस् ! तपाईंको मित्रको निम्ति के कसो गर्नुगराउनु छ त्यो मलाई मतलब छैन, कुरो बुझ्नुभो ?”

अचानक ऊ आश्चर्यजनक ढङ्गले आतङ्कित र उत्तेजित भई । ऊ आफू बसेको ठाउँबाट जुरुक्क उठेर नगई पाइलापाइला सार्दै गई र नाटकीय शैलीमा भुतभुताई, मानौँ ऊ केही कुरा भन्न चाहन्थी तर सकिरहेकी थिइन । अब निष्कर्ष के होला त भन्ने कुरो हेर्न म पर्खेँर बसेँ र अनूभूत गरेँ । यस्तो लाग्थ्यो, उसले मलाई ठीक बाटोबाट बेठीक बाटोतर्फ तान्न खोजेको आशङ्का गर्नु मेरो गम्भीर गल्ती थियो । यो कुरो टड्कारो रुपमै अलिक भिन्न थियो ।

“ए विद्यार्थी महाशय!” यति भनेर हठात् हात हल्लाउँदै ऊ ढोकातिर लागी र बाहिर निस्की । त्यसपछि, मलाई ज्यादै नरमाइलो लाग्यो । तल उसको कोठाको ढोका जोडले लागेको आवाज मैले सुनेँ । त्यो बिचरी तरुनी रिसले चुर भएकी थिई… । त्यस विषयमा मैले पुनर्विचार गरेँ— उसकहाँ जाने र उसलाई आफू कहाँ बोलाएर उसले भनेजस्तो चिठी लेखिदिने बिचार गरेँ ।

म उसको डेरामा गएँ र चारैतिर हेरेँ । ऊ दुवै कुइना टेबुलमा टेकाएर, दुइवटा हत्केलामा टाउको अडाएर झोक्राएर मेचमा बसिरहेकी थिई ।

“सुन्नुस्, म तपाईंलाई केही भन्न चाहन्छु!”, मैले भनेँ ।

जबजब म मेरो कथाको यो बिन्दुमा आइपुग्छु आफू भयङ्कर अप्ठ्यारो र मूर्खतापूर्ण अवस्थामा पुगेको अनुभूत गर्छु । केही छैन, यस्तै हो !

“लौ सुन्नुस्”, मैले भनेँ ।

ऊ बसेको ठाउँबाट उठी र आँखा झिम्क्याएर मतर्फ आएर मेरो कुममा हात राख्दै साउती मारी, अनि धोत्रो स्वरमा गनगनाउन थाली, “ल, अब मेरो कुरो सुन्नुहोस् ! यथार्थ कुरो यस्तो छ । यहाँ कुनै बोलेस छैन, टेरेसा पनि छैन । तर यो कुरोले तपाईंलाई के फरक पार्छ ? तपाईंको कलमले कागजमा लेख्न औधी गाह्रो भयो, हैन त ? तपाईं पनि त यति सुन्दर कपाल भएको तन्नेरी हुनुहुन्छ ! यहाँ कोही पनि छैन— न बोलेस छ, न त टेरेसा नै । केवल म छु । जो यहाँ तपाईंसँग छ यसले तपाईंलाई धेरै भलो गर्नसक्छ ।”

यसरी स्वागत गरिएपछि आश्चर्यचकित हुँदै मैले भनेँ—“मलाई क्षमा गर्नोस्, यी सब के हुन् ? तपाईं नै भन्नुहुन्छ यहाँ बोलेस छैन, हैन र ?”

“त्यसो होइन, बोलेस छ ।”

“अनि टेरेसा नि ?”

“यहाँ टेरेसा छैन । म छु ।”

मैले यो कुरो पटक्क बुझ्न सकिनँ । मैले उसलाई आँखा गाडेर हेरेँ र हामी दुईमध्ये कसले कसलाई बुझ्न नसकेका हौँ त्यो रहस्य पत्ता लगाउने प्रयत्न गरेँ । त्यसपछि ऊ आफ्नो टेबुलमा गई र केही चीज खोजेर मछेउ फर्की र आक्रमक स्वरमा भनी, “बोलेसलाई चिठी लेख्न तपाईंलाई यतिविधि गाह्रो भयो हैन त ? लौ यता हेर्नुस्, तपाईंको निम्ति चिठी छ, लिनोस् । मेरो निम्ति अरु कसैले लेखिदिने छ ।”

मैले त्यो पत्र हेरेँ । उसको हातमा भएको पत्र उही बोलेसलाई मैले लेखिदिएको चिठी थियो । आत्थु !

”लौ, भन्नुस् टेरेसाजी, यी सब कुराको गूढ अर्थ के हो? आखिर, मैले नै लेखिदिएको पत्र लेख्न तपाईंलाई अरु कोही व्यक्ति किन खोज्नुपरेको थियो ? अनि यो पत्र तपाईंले किन नपठाउनुभएको त ?”

”यो पत्र कहाँ पठाउने ?”

”किन, बोलेस … ।”

“त्यो व्यक्ति छैन ।”

मैले यो कुरो पटक्कै खुट्ट्याउन सकिनँ । रिसले भुनभुनाएर फर्कनुसिवाय मेरो निम्ति त्यहाँ अर्को विकल्प थिएन । तर त्यसपछि उसले मलाई आक्रमक ढङ्गले सम्झाउँदै गई: “यो सब के हो ? यहाँ त्यस्तो व्यक्ति नै छैन । म तपाईंलाई भन्दै छु ।” त्यसपछि उसले आफ्ना दुबै पाखुरा यसरी फैलाई, मानौँ यहाँ त्यस्तो व्यक्ति किन छैन वा किन हुनुपर्दैन भन्ने कुरो उसले पनि बुझेकी थिइन । उसले कुरो थपीः “तर ऊ हुनुपर्छ भन्ने मेरो चाहना हो … होइन भने के म मानव नै होइन त ? म मानव हुँ । यो कुरो मलाई थाहा छ । वास्तवमा मैले बुझेकी छु …मैले उसलाई लेखेको चिठीले कसैलाई पनि हानि पुरयाएको छैन भन्ने म जान्दछु…”

“कृपया, भन्नुस् त कसलाई लेखेको चिठीले ?”

“वास्तविक बोलेसलाई ।”

“तर ऊ त छँदै छैन नि !”

“अफसोस ! अफसोस ! ऊ नभएर के भो त ? उसको अस्तित्व छैन, तर हुनसक्थ्यो ! म उसलाई यसरी पत्र लेख्छु, मानौँ ऊ यहाँ छ । अनि टेरेसा, जो म यहीँ छु । उसले मलाई प्रत्युत्तर पठाउने छ र म उसलाई फेरि त्यसको प्रत्युत्तर लेख्ने छु …”

अन्ततः मैले कुरो बुझेँ । त्यसपछि मैले आफू ज्यादै भाउन्निएको अनूभूत गरेँ, ज्यादै दुखित भएँ र कुनै प्रकारले निकै लज्जित भएँ । मेरो आफ्नै नजिक पाँचहात पर, एउटा मानवजन्तु बस्थ्यो, जसलाई प्रेमपूर्वक, हार्दिकतापूर्वक व्यवहार गर्ने मान्छे यो संसारमा कोही थिएन । र, ऊ आफैले आफ्नो निम्ति एउटा साथी पत्ता लगाएकी थिई !

“ल अब ध्यान दिएर सुन्नुस् ! तपाईंले मेरो बोलेसको निम्ति एउटा पत्र लेख्नुभयो । त्यो पत्र मेरो निम्ति पढेर सुनाउन कसैलाई दिएँ । उसले त्यो पत्र पढेर सुनाएपछि बोलेस अवश्य यहाँ हुनुपर्छ भन्ने मलाई लाग्यो । त्यसैले बोलेसको तर्फबाट टेरेसालाई (मलाई) चिठी लेख्न तपाईंलाई मैले अनुरोध गरेँ । किनकि, जब कसैले मलाई यस्तो चिठी लेख्छ र बाचेर सुनाउँछ, तब मलाई बोलेस अवश्य यहीँ छ भन्ने पक्कापक्की हुन्छ । फलतः मेरो जीवन अलिक सरल ढङ्गले अघि बढ्छ ।”

यी सब कुरा सुनेपछि मैले आफूलाई भनेँ— “मूर्खको निम्ति कुरो अप्ठ्यारो छ !”

त्यसपछि, मैले नियमित रुपमा हप्तामा दुईवटा चिठी लेखेँ, एउटा बोलेसलाई र अर्को, बोलेसको तर्फबाट टेरेसालाई प्रत्युत्तर लेखेँ । मैले ती प्रत्युत्तरहरू मार्मिक ढङ्गले लेखेँ.।..उसले ती चिठी ध्यान दिएर सुनी र रोई, घोर आवाजमा डाँको छोडेर रोई । अनि मैले त्यसरी काल्पनिक बोलेसको तर्फबाट वास्तविक चिठी लेखिदिएर उसलाई रुवाएको बदलामा उसले मेरो प्वालपरेका मोजा, उध्रेका कमिज र अन्य लुगाफाटो टाल्ने सिउने गर्न थाली । यो इतिहास सुरु भएको लगभग तीन महिनापछि कुनै अभियोगमा उसलाई झ्यालखानामा थुनियो । निसन्देह, ऊ अहिलेसम्ममा मरिसकेकी हुनुपर्छ ।

मेरा मित्रले आफूले तान्दै गरेको सिगरेटको खरानी झारे, आकाशतर्फ हेरेर गम खाए र यस्तो निष्कर्ष  निकाले—

साँच्ची, मानवजन्तुले जतिजति तीतो चाख्दै जान्छ, त्यतित्यति उसमा जीवनप्रतिको मीठो भोक  जाग्दै जान्छ । यौन–नैतिकताको टालोले लपेटिएका, अरुको सम्बन्धमा आफ्नो आत्मविश्वासको धमिलो चश्माले गढेर हर्ने भएका हामीजस्ताको वशीकृत सार्वलौकिक पवित्रताले यो कुरो बुझ्न सक्तैन । फलतः हाम्रा यावत कुरा अत्यन्तै निर्दयी र मूर्खतापूर्ण बन्न पुग्छन् । हामी तल्लो वर्ग भन्छौँ, स्खलित वर्गको कुरा गर्छौँ तर त्यो तल्लो वर्ग कुन हो, म बुझ्न चाहन्छु ? सर्वप्रथम सबै हामीजस्तै मानव हुन्, हाड़मासु, रगत र नसाद्वारा निर्मित जीव हुन् । युगौँदेखि हामीले यो कुरो सुन्दै आएका छौँ । वास्तवमा, हामी सुन्छौँ, तर यी सब कुरा कति भयावह विद्रोही छन् भन्ने’bout कसलाई थाहा होला ! कतै हामी मानवता’bout उच्च स्वरमा उपदेश दिँदै हिँड्ने अनैतिक पाखण्डी त होइनौँ ? यथार्थमा, हामी पनि स्खलित जन्तु हौँ । जहाँसम्म मेरो बुझाइ छ, हामी हाम्रो उच्चताभासप्रतिको (अन्ध) विश्वास र दृढविश्वासको गहिरो खाडलमा नराम्ररी जाकिएका छौँ । यस्ता कुराहरू यथेष्ट भइसके । यी सब कुरा पहाडजस्तै पुराना भइसके, कति पुरानो भने यस’bout बोल्नसमेत लाज भैसक्यो । वास्तवमा, यो पनि त्यही प्राचीन प्रसङ्ग हो।

नोट: यो अनुदित कथा भृकुटी, पूर्णाङ्की, २०६७ प्रकाशित भईसकेको छ| ‘भृकुटी’ले यो कथा प्रकाशित गर्दा ‘दकस’-को ठाऊँमा ‘दहकिज’ (हिन्दी) राखेको रहेछ ! त्यसमा अनुवादकले आपत्ति गरेका थिए| अनुवादकको अनुमतिमा यो कथा विचार संकलनमा समावेश गर्दा अनुमति लिएर नै केही सामान्य सम्पादन गरिएको छ ।

Advertisements

2 टिप्पणीहरु (+add yours?)

  1. Homar shrestha
    मार्च 04, 2012 @ 09:32:34

    गोर्कीको यो क्ल्यासिक कथा ‘विचार सङ्कलन’मा प्रकाशित हुँदा मलाई औधी खुसी लागेको छ ।

    जवाफ फर्काउनुहोस्

  2. अनुदित कथा : उसको प्रेमी | साहित्य संग्रहालय
    जुलाई 11, 2014 @ 15:49:51

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: